अभिलेख, अभिलेखन तथा दस्तावेजीकरणलाई धेरैले इतिहाससँग मात्र जोडेर हेर्ने गर्दछन् तर यसलाई यत्तिमा मात्र सीमित राख्नु हुँदैन। हरेकको पहिचान, अनुशासन, व्यवस्थापन तथा भविष्यसँग जोडिएको यस विषयलाई नेपालमा त्यति चासो दिइएको पाइँदैन भने यस विषयमा काम गर्नेहरूलाई पनि वास्ता गरिएको देखिँदैन। यस्तो अवस्था देखिँदा पनि राज्यसँगै यो कार्य व्यक्तिगत, पारिवारिक, निजी, संस्थागतरूपमा पनि भइरहेका छन्।
सरकारी तवरबाट विसं २००७ सालपश्चात् नेपालमा अभिलेखनको सुरुवात भएको भएतापनि विसं २०१६ मा घोषणा भई औपचारिक रूपमा भने २०२४ सालबाट राष्ट्रिय अभिलेखालयको स्थापनापश्चात् भएको देखिन्छ। नेपालमा हाल अभिलेख संरक्षण (पहिलो संशोधन) ऐन, २०८१ तथा अभिलेख संरक्षण नियमावली २०६३ हाल कार्यान्वयनमा छन्। देशका सबै सार्वजनिक निकायले आफ्ना कागजातहरूलाई महत्त्वका आधारमा वर्गीकरण गरी ऐतिहासिक महत्त्वका कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने हो तर यी ऐन, नियमावलीलगायतका कानुन प्रभावकारी कार्यान्वयनमा देशका सबै सार्वजनिक निकाय मौन छन्। धेरै निकायका सरोकारी व्यक्तिलाई यी ऐन, नियमावलीको ज्ञान पनि छैन।
राष्ट्रिय अभिलेखालयले पनि कानुनले गरेको व्यवस्था कार्यान्वयनमा बारम्बार ताकेता गरिरहनुपर्छ। हरेक निकायमा अभिलेख शाखाको व्यवस्था र अभिलेख संरक्षण गर्ने व्यक्ति वा अधिकारी तोकिनुपर्दछ।
जबसम्म नेपाल सरकारले विभिन्न कार्यालय, विभाग र मन्त्रालयबाट सरकारी कामकारबाही सम्बन्धी कागजात राष्ट्रिय अभिलेखालयमा निरन्तररूपमा पठाउने व्यवस्था गर्दैन तबसम्म यस अभिलेखालयले पूर्णता पाउन सक्दैन। तसर्थ प्रत्येक सरकारी निकायमा रेकर्ड रुमको व्यवस्था गरी दैनिक कामकाज र प्रयोगबाट मुक्त भएका कागजातको राम्ररी अभिलेखन गरी संरक्षण गरेर केही समयपछि निरन्तररूपमा राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्ने व्यवस्था हुनु अति नै आवश्यक छ।
डाटा होम नेपालका संस्थापक संवेदन कोइरालाका अनुसार अभिलेख र अभिलेखनले पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउँछ। अभिलेख बिना नीति निरन्तरता, उत्तरदायित्व निर्धारण र नागरिकलाई समयमै सूचना उपलब्ध गराउन कठिन हुन्छ। पछिल्ला वर्षहरूमा विद्युतीय सेवा, डिजिटल रेकर्ड तथा सूचना प्रणालीको प्रयोग उल्लेखनीयरूपमा बढेको छ, जसले अभिलेखनलाई छरितो, सुरक्षित र पहुँचयोग्य बनाएको छ। साथै डिजिटल माध्यमले तथ्यको खोज, अद्यावधिक र संरक्षणलाई पनि सहज बनाएको छ। तर यति हुँदाहुँदै पनि सबै निकायमा अभिलेख र अभिलेखनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। अभिलेख व्यवस्थापनको कमजोरी, गुणस्तरमा असमानता, अन्तरनिकाय समन्वयको अभाव र साइबर सुरक्षा चुनौती अझै विद्यमान छन्। त्यसैले प्रविधिको विस्तारसँगै व्यवस्थित, भरपर्दो र दिगो अभिलेख प्रणाली विकासमा थप ध्यान दिन आवश्यक देखिन्छ।
उदाहरणका लागि २०८२ को प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरूका बारेमा कुरा गरौँ। जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरूका हरेक गतिविधि तस्बिर, भिडियो, अडियो, अक्षर आदिमार्फत अभिलेखन हुनुपर्दछ। यसले उनीहरूलाई जिम्मेवार, अनुशासित मात्र बनाउँदैन देशको महत्त्वपूर्ण कानुन/नीति निर्माणमा पनि सहयोग गर्दछ भने अर्कोतर्फ इतिहासको यथार्थताबोध र इतिहास लेखनमा पनि सहयोग गर्दछ। यस्तो महत्त्वपूर्ण विषयमा व्यवस्थापिकाका सदस्यमात्र नभई कार्यपालिकाका सदस्यहरूलेसमेत उचित ध्यान दिनुपर्दछ। तर बिडम्बना यस विषयमा उनीहरू (विगत र हालका) ले कहिल्यै ध्यान दिएको देखिँदैन। सचिवालयमा नियुक्तहरूलाई पनि यस कुरामा जिम्मेवार बनाउनुपर्दछ। आवश्यक परे जनशक्ति थप पनि गर्नुपर्दछ र अभिलेखनको कार्य गर्नुपर्दछ। सचिवालयमा नियुक्त भएकाहरूको काम सांसद, मन्त्री वा अरू कोहीसँग सँगसँगै वा अघिपछि हिँड्ने, फोन उठाउने, झोला, डायरी बोक्ने र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने मात्र हुनुहुँदैन। उनीहरूका हरेक गतिविधिलाई महत्त्वका आधारमा विस्तृत विवरणसहित एकीकृतरूपमा अभिलेखन गरी व्यवस्थापन पनि गर्ने हुनुपर्दछ र जुनसुकै समयमा खोज्दा सजिलै भेट्न उपलब्ध गराउन सकिने गरी राख्ने गर्नुपर्दछ।
अहिलेको युग यस्तो भइसकेको छ कि यहाँ अरूको इतिहास कसैले लेख्दैन, आफैले लेख्ने हो र यसका लागि हामीले अहिलेबाटै अभिलेख, अभिलेखन तथा दस्तावेजीकरणको काम सुरु गर्नुपर्छ। यसले एकातर्फ व्यक्तिगत र राज्यको तहबाट राखिने छुट्टाछुट्टै अभिलेख, दस्तावेजले अनुमानित/काल्पनिक तथ्याङ्क तथा विषयवस्तुमा आधारित नभई भोलिको प्रमाणिक इतिहास लेखनको लागि महत्त्वपूर्ण कार्य गर्दछ भने अर्कोतर्फ कुनै पनि कामलाई छिटो, छरितो, योजनागत र व्यवस्थितरूपमा सम्पन्न गर्न पनि ठूलो सहयोग गर्दछ। कसैले आफ्नो पाको उमेरमा गएर इतिहास लेख्न सुरु गर्दा धेरै कुरा बिर्सिसकेको हुन्छ। ती बिर्सिसकेका कुराहरूलाई काल्पनिकता थपेर लेख्दा त्यसले जीवन्तता पाउँदैन र उनीहरूका कुरा प्रभावहीन बन्दछन्। समाजले पत्याउँदैन। यसर्थ, यथार्थतालाई प्रामाणिकरूपमा प्रस्तुत गर्नु अभिलेख, अभिलेखन तथा दस्तावेजीकरणको काम प्रत्येक व्यक्तिले गर्नुपर्दछ।
दस्तावेजीकरणको हालसम्मको नेपाली अभ्यासलाई हेर्ने हो भने त्यो एकदमै कमजोर देखिन्छ। कतै दस्तावेजलाई अत्यन्तै महत्त्व दिए झैँ गरी तिनलाई सार्वजनिक नगरीकन गुपचुपका साथ राखिएको पाइन्छ त कतै महत्त्वहीन सम्झिएर संरक्षण नगरीकन अस्तव्यस्त अवस्थामा पुर्याएको पाइन्छ। एकातिर आवश्यक दस्तावेज खोज्दा कसैले पनि फेला पार्न नसकिने, अर्कोतिर दस्तावेज नष्ट भइसक्ने अवस्था समेत छ। प्रस्ट रूपमा भन्नुपर्दा हाम्रो राज्य दस्तावेज सहज गराउनेमा निकै कठोर छ र पहुँचको प्रक्रिया झन्झटिलो छ।
विश्वका थुप्रै देशले अभिलेख तथा अभिलेखनको विषयलाई राष्ट्रिय सुरक्षा, खोज, अनुसन्धानसँग पनि जोडी आवश्यक पूर्वतयारी पनि गरेका छन् तर हाम्रो देशमा त्यो एउटा कथाजस्तै बनेको छ। हाम्रो अनुभवका आधारमा भन्ने हो भने यस विषयमा विदेशीहरू निकै संवेदनशील छन्। त्यसैकारण उनीहरूको देशमा ती कार्य देशको सबैभन्दा ठुलो प्राथमिकतामा परेको छ। हाम्रो छिमेकी मित्रराष्ट्रहरू भारत र चीनको अभ्यास हेर्ने हो भने पनि त्यो अत्यन्तै लोभलाग्दो देखिन्छ। उनीहरूले हरेक विषय, विधा, क्षेत्रसँग सम्बन्धित अभिलेखलाई डिजिटलाइज्ड गरी सबैको पहुँचमा मात्र राखेका छैनन्, त्यसको सुरक्षाको ग्यारेन्टी पनि लिएका छन्। यसले उनीहरूलाई देश र जनताप्रति प्रतिबद्ध र गौरवान्वित तुल्याएको देखिन्छ।
मैले विगत १५ वर्षदेखि नेपाली गीत–सङ्गीत, कला, साहित्य, संस्कृति, चलचित्र, जीवनशैली, इतिहास लगायतका विविध विधाअन्तर्गत रहेर सम्बन्धित व्यक्तिका अन्तर्वार्ता, समाचार, लेख, गीतसङ्गीत, पत्रपत्रिका, म्यागेजिन, अडियो, भिडियो, तस्बिर, पुस्तक, डायरी आदिलाई डिजिटल अभिलेख, अभिलेखनको कार्य गरिरहँदा उक्त आर्काइभमा हालसम्म ८ टिबी (८ हजार जिबी) भन्दा बढी डिजिटल सामग्री र थुप्रै हार्डकपी सङ्ग्रहित भएका छन् र थपिइरहेका पनि छन्। आगामी पुस्ताका लागि महत्त्वपूर्ण अध्ययन सामग्रीका रूपमा रहनेछन्।
त्यस्तै, २०८२ भदौ २४ गतेको घटनामा राज्यसँगै विभिन्न व्यक्ति, निकाय, संस्था आदिका महत्त्वपूर्ण कागजातहरू नष्ट भएको देख्दा धेरैले डिजिटल अभिलेख र अभिलेखनको महत्त्वका बारेमा चर्चा गरेको सुनिन्छ। अब चर्चा गर्ने मात्र होइन देशका अभिलेख र अभिलेखनका विषयमा राज्यसँगै सरोकारी निकायलाई प्रश्न गर्नुपर्छ भने उनीहरूले पनि यसको बारेमा यथार्थ जानकारी बाहिर ल्याउनुपर्दछ। यस बारेमा जान्नु प्रत्येक नागरिकको अधिकार हो। प्राकृतिक र मानवीय कारणले घट्ने विभिन्न घटनाबाट हाम्रो विविध विधा तथा क्षेत्रका इतिहास जोगाउन पनि अभिलेख तथा अभिलेखनको कार्य सबैको चेतनामा पर्नुपर्दछ।
हाम्रा गाउँ-घरमा पनि अभिलेखीकरण गरिनुपर्ने धेरै विषय तथा सामग्रीहरू छन्। त्यसलाई उचित ध्यान नदिँदा कतिपय सामग्री त्यसै थन्किएका छन् भने कतिपय हराएर गएका छन्। अहिले साधारण लागेको कुरा भोलि महत्त्वपूर्ण अध्ययन सामग्री बन्न सक्छ भन्ने हेक्का सबैले राख्न आवश्यक छ। यस विषयमा सङ्घ, प्रदेश तथा स्थानीय सरकार सजग हुनुपर्दछ।
(अभिलेख तथा अभिलेखनको कार्य विगत १५ वर्षदेखि गर्दै आएका लेखक बडाल हाल कला, संस्कृतिका विविध विधाको खोज, अनुसन्धानमा सक्रिय छन्।)