कहिलेकाहीँ जिन्दगीमा पैसा भन्दा ठुलो कुरा ‘साथ’ हुँदो रहेछ। हामी ११ जना स्नातक अन्तिम वर्षका विद्यार्थी म लगायत मेरा साथीहरू सबैका सपना आ–आफ्नै थिए तर गोजी भने प्रायः उस्तै खाली। कलेजका असाइनमेन्ट, भविष्यको चिन्ता, घरबाट आउने सीमित खर्च अनि भोलिको अन्योलबीच कहिलेकाहीँ मन निकै थाक्थ्यो। तर सायद युवावस्था भनेकै त्यही हो, अभावमै पनि खुसी खोज्ने कला।
एक साँझ अचानक कसैले भन्यो, ‘मस्ताङ जाऔँ न!’ सबैले एकअर्काको अनुहार हेर्यौँ। गोजीमा पैसा कम थियो तर मनमा यात्रा गर्ने हुटहुटी असाध्यै धेरै। अनि सुरु भयो हाम्रो अविस्मरणीय यात्रा।
वैशाखको महिना भए पनि आकाश रोइरहेको थियो। बिहानै झरी परिरहेको थियो। हामी झोलाभन्दा बढी सपना बोकेर हिँडिरहेका थियौँ। रिजर्भ इभी गाडी चढ्न तलसम्म झरीमा भिज्दै ओरालो झर्दाको त्यो क्षण अहिले सम्झिँदा पनि मन मुस्कुराउँछ। कसैले चप्पल चिप्लाइरहेका थिए, कसैले झरीलाई गाली गर्दै ठट्टा गरिरहेका थिए।
त्यो यात्राको पहिलो मिठास बन्यो— ‘भण्डारी बा’को बिहानको खाना। त्यहाँको मिठो आतिथ्यले हामीलाई यात्राभरि ऊर्जा दियो। गाडीभित्र गीत, हाँसो, जिस्काइ, फोटो अनि कहिलेकाहीँ भविष्यका गम्भीर कुरा… हामी सडकसँगै बगिरहेका थियौँ।
मुस्ताङको बाटो जति उकालो लाग्थ्यो, मन त्यति नै हलुका हुँदै गइरहेको थियो। बेलुका हामी मुस्ताङको होमस्टे पुग्यौँ। त्यहाँ पुग्दा चिसो हावा, हिमालको काख र अपरिचित गाउँले वातावरणले मन एकाएक शान्त बनायो। तर हामी जस्ता हल्लाखोर युवाहरू धेरै बेर अपरिचित भएर बस्न सकेनौँ। केही समयमै त्यहाँका स्थानीय मानिसहरूसँग घुलमिल भइसकेका थियौँ। संयोगले त्यही गाउँमा बिहे पनि रहेछ। गफगाफकै बीच बिहेमा निम्तो आयो।
राति करिब ११ बजे म र मेरा दुई जना साथी बिहेमा पुग्यौँ। त्यहाँ न कुनै चिनजानको सीमा थियो, न कुनै औपचारिकता। हामी पनि उनीहरूसँगै मिसियौँ, उनीहरूकै शैलीमा नाच्यौँ, गीत गाइयो, रमाइलो गरियो। त्यो रातले एउटा कुरा सिकायो खुसी भाषाले होइन, मनले बुझिन्छ।
भोलिपल्ट बिहानै हाम्रो यात्रा मुक्तिनाथतर्फ मोडियो। मुक्तिनाथ पुग्दा लाग्यो शब्दहरू साना हुन्छन्, प्रकृति ठुलो। वरिपरि सेता हिमाल, शान्त हावा, अनि आकाश यति नजिक कि हात बढाउँदा छुने जस्तो। त्यहाँ उभिँदा मनभित्रका धेरै थकान हराए। हामी घुम्यौँ, हाँस्यौँ, तस्बिर खिच्यौँ, तर भित्र कतै सबै चुपचाप प्रकृतिसँग कुरा गरिरहेका थियौँ। त्यो दृश्य साँच्चै स्वर्गभन्दा पनि माथिको कुनै संसारजस्तो थियो।
हिमालको काखबाट फर्कँदै गर्दा साँझ बाग्लुङ पुगियो। थकान थियो तर यात्राको उत्साह अझै बाँकी नै। भोलिपल्ट बिहानै बाग्लुङ कालिका दर्शन गरियो। मन्दिरको शान्त वातावरणले फेरि मनलाई एक किसिमको ऊर्जा दियो। त्यसपछि नजिकै रहेको लामो झोलुङ्गे पुल पुग्दा त झन् हामी फेरि बच्चा बन्यौँ।
कोही पुल हल्लाउँदै डर देखाइरहेका थिए, कोही भिडियो बनाउँदै चिच्याइरहेका थिए। त्यो पुलमाथिको हावा अझै सम्झनामा ताजा छ। त्यसपछि हाम्रो पाइला पञ्चकोटतिर मोडियो। त्यहाँको धार्मिकता र शान्त वातावरणले यात्रालाई अर्को स्वाद दियो। अनि फेरि पुगियो हाम्रो प्रिय ‘भण्डारी बा’कहाँ।
त्यहाँको खाना अब केवल खाना थिएन, यात्राको एउटा भावनात्मक हिस्सा बनिसकेको थियो।
अन्तिम गन्तव्य बन्यो पोखरा। फेवातालको किनारमा पुग्दा यात्रा सकिन लागेको महसुस भयो।
तर बाँकी थियो एउटा सुन्दर अध्याय कायाकिङ। हामी पानीमाथि डुलिरहेका थियौँ तर मन चाहिँ ती दिनहरूलाई रोक्न खोजिरहेको थियो। तालको पानीमा हिमालको प्रतिबिम्ब देखिन्थ्यो, अनि हाम्रो मित्रताको पनि। सायद भविष्यमा हामी सबै आ–आफ्नो बाटो लाग्नेछौँ। कोही विदेश जालान्, कोही जागिरमा हराउलान्, कोही जिम्मेवारीमा अल्झेलान्।
तर यो यात्रा केवल मुस्ताङ पुग्ने यात्रा थिएन। यो अभावबाट केही समयका लागि स्वतन्त्र हुने यात्रा थियो। यो मित्रताको वास्तविक अर्थ बुझ्ने यात्रा थियो। यो जिन्दगीको सबैभन्दा सुन्दर उमेरलाई बाँच्छु भनेर बाँचिएको यात्रा थियो। र आज पनि मनले भन्छ धनी हुनु भनेको धेरै पैसा हुनु होइन, ११ जना साथीको हाँसोभित्र आफूलाई सबैभन्दा भाग्यमानी महसुस गर्नु रहेछ।