नेपालको शेयर बजारमा अहिले एउटा बहस चलिरहेको छ; सिंगल आइएसआइएन (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) कि डबल आइएसआइएन? केन्द्रीय निक्षेप सेवा (सिडिएससी) ले ‘धितोपत्र डिमटेरियलाइजेसन सञ्चालन निर्देशिका, २०८२’ मार्फत सबै सूचीकृत कम्पनीहरूका लागि प्रोमोटर र पब्लिक शेयरलाई छुट्टाछुट्टै आइएसआइएन दिने प्रस्ताव अघि सारेपछि यो विवाद झन् तातेको छ।
प्रस्तावित निर्देशिका स्वीकृत नभइसकेको अवस्थामा पनि यो बहसले सिंगल आइएसआइएन लाई ‘अन्तर्राष्ट्रिय अभ्यास’ को नाममा एक मात्र विकल्प ठान्नेहरूको तर्कलाई चुनौती दिइरहेको छ। तर सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्न अझै सोधिएको छैन— हाम्रो बजारको संरचना नै विकसित देशहरू जस्तो छ त? यो प्रश्नको जवाफ खोज्दा हामी प्रोमोटर शेयरको मौलिक प्रकृतिमा पुग्छौँ, जुन नेपालको सन्दर्भमा विश्व बजारभन्दा पूर्ण रूपमा फरक छ।
प्रोमोटर शेयर: नेपालको आफ्नै नियन्त्रण संरचना
नेपालमा प्रोमोटर शेयर केवल लगानी होइन, कम्पनीको नियन्त्रण र स्थिरताको माध्यम हो। यी शेयरहरू लामो समयसम्म लक-इनमा रहन्छन्, खुला बजारमा स्वतन्त्र रूपमा किनबेच गर्न सकिँदैन र कम्पनीको निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्छन्।
बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा त यो प्रणाली वर्षौँदेखि छ। तर हाइड्रोपावर, उत्पादनमूलक र अन्य क्षेत्रका कम्पनीहरूमा लक-इन सकिएपछि प्रोमोटर शेयर स्वतः पब्लिक शेयरमा रूपान्तरण हुने (सिंगल आइएसआइएन) अभ्यास छ। यसले स्पष्ट पार्छ कि प्रोमोटर शेयर ‘ट्रेडिङका लागि’ होइन, ‘कन्ट्रोलका लागि’ हो।
एउटै कम्पनीभित्र दुई फरक प्रकृतिका शेयरहरू सहअस्तित्वमा छन्: एकातिर स्वतन्त्र रूपमा किनबेच हुने पब्लिक शेयर, अर्कोतिर प्रतिबन्धित र नियन्त्रणमुखी प्रोमोटर शेयर। यस यथार्थलाई अस्वीकार गर्दै सिंगल आइएसआइएनलाई जबरजस्ती लागू गर्नु भनेको बजारको संरचनागत असन्तुलनलाई ढाकछोप गर्नु मात्र हो।
‘आइओएससिओ’को सिद्धान्त: लगानीकर्ता सुरक्षा पहिलो प्राथमिकता
अन्तर्राष्ट्रिय नियामक निकाय इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन्स (आइओएससिओ) ले धितोपत्र नियमनका तीन मुख्य उद्देश्य स्पष्ट रूपमा उल्लेख गरेको छ: (१) लगानीकर्ताको सुरक्षा, (२) निष्पक्ष, प्रभावकारी र पारदर्शी बजार सुनिश्चित गर्नु र (३) प्रणालीगत जोखिम घटाउनु।
आइओएससिओले कतै पनि ‘हरेक अवस्थामा सिंगल आइएसआइएन नै हुनुपर्छ’ भनेको छैन। यसको जोड संरचनागत एकरूपताभन्दा बढी न्याय, पारदर्शिता र सुरक्षा माथि छ। हाम्रो सन्दर्भमा प्रोमोटर शेयरको दीर्घकालीन लक-इन र सूचना असमानतालाई हेर्दा डबल आइएसआइएनले नै यी उद्देश्य पूरा गर्न सक्छ।
विश्व बजार र नेपाल: संरचना फरक, समाधान पनि फरक
विकसित बजारहरूमा अधिकांश शेयरहरू स्वतन्त्र रूपमा किनबेच हुन्छन्, लक-इन अस्थायी हुन्छ, नियामक सक्रिय हुन्छ र इनसाइडर ट्रेडिङमा कडा कारबाही हुन्छ। त्यसैले त्यहाँ सिंगल आइएसआइएनले बजारलाई थप तरल र प्रभावकारी बनाउँछ।
तर नेपालमा स्थिति ठिक उल्टो छ। प्रोमोटर शेयर दीर्घकालीन रूपमा बन्द रहन्छ, पब्लिक फ्लोट सीमित छ, सूचना असमानता उच्च छ र नियामक कार्यान्वयन कमजोर छ। हालैको तथ्यांकअनुसार डबल आइएसआइएन लागू गर्दा प्रभावित हुने प्रोमोटर शेयरको मूल्य १२८ अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान छ। यस्तो अवस्थामा सिंगल आइएसआइएनले पारदर्शिता बढाउँछ भन्नु भन्दा असमानतालाई ढाक्ने ‘कस्मेटिक युनिफर्मिटी’ बन्ने खतरा बढी छ।
बैंक तथा बिमा क्षेत्रमा वर्षौँदेखि डबल आइएसआइएन लागू छ र त्यहाँ प्रोमोटर शेयरको रूपान्तरणका लागि नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति चाहिन्छ। यो प्रणालीले लगानीकर्तालाई ‘प्रोमोटर डम्पिङ’ बाट जोगाएको छ। अब अन्य क्षेत्रमा पनि यही यथार्थ स्वीकार गर्नुपर्ने बेला आएको छ।
डबल आइएसआइएन: विचलन होइन, स्थानीय यथार्थको स्वीकार
डबल आइएसआइएन कुनै आदर्श समाधान होइन, तर यो नेपालको बजार संरचनाको यथार्थप्रतिको स्वीकारोक्ति हो। जब एउटा शेयर स्वतन्त्र रूपमा ट्रेड हुन्छ र अर्को संरचनागत रूपमा प्रतिबन्धित हुन्छ, तब तिनलाई एउटै मापदण्डमा राख्नु सैद्धान्तिक रूपमा आकर्षक लाग्न सक्छ तर व्यवहारिक रूपमा जोखिमपूर्ण हुन्छ।
सिडिएससीको प्रस्तावले प्रोमोटर शेयरलाई अलग आइएसआइएन दिएर पनि सामान्य सभामार्फत मर्ज गर्न सकिने प्रावधान राखेको छ। यसले ‘स्थायी बन्द’ होइन, ‘पारदर्शी नियन्त्रण’ को बाटो खोल्छ। यो अन्तर्राष्ट्रिय अभ्यासविरुद्ध होइन, हाम्रो मौलिक संरचनाअनुसारको अनुकूलन (एडप्टेसन) हो।
एकरूपताको भ्रम र यथार्थ
सिंगल आइएसआइएनले देखाउने सैद्धान्तिक कुरा एकरूपता। तर बजारभित्रको असमानता लुकाउने? यदि प्रणालीले वास्तविक भिन्नतालाई स्वीकार गर्दैन भने त्यो पारदर्शिता होइन, देखावटी समानता मात्र हो।
हालैका घटनाहरू (जस्तै: इमर्जिङ नेपाल लिमिटेड, एनआरआर इन्फ्रास्ट्रक्चर) ले देखाएका छन् कि सिंगल आइएसआइएनले प्रोमोटर शेयरलाई लक-इन सकिएपछि सहजै पब्लिकमा मिसाउँदा लगानीकर्तामा भ्रम र अनुचित लाभको जोखिम बढ्छ। डबल आइएसआइएनले यस्ता जोखिमलाई न्यूनीकरण गर्छ र नियामकलाई स्पष्ट ट्र्याकिङको अवसर दिन्छ।
सिद्धान्तभन्दा अगाडि सुरक्षा
नेपालको पुँजी बजार सुधारको बहसमा अन्तर्राष्ट्रिय सन्दर्भ उपयोगी छन्, तर तिनलाई जस्ताको तस्तै कपी गर्नु हुँदैन। हाम्रो बजारमा प्रोमोटर शेयरको प्रकृति फरक छ, संरचनागत असन्तुलन छ र नियामक कार्यान्वयन कमजोर छ। यस्तो सन्दर्भमा समाधान पनि फरक हुनुपर्छ।
एसइबिओएन (सेबोन)ले सिडिएससीको निर्देशिका स्वीकृत गर्दा वा नगर्दा जे निर्णय गरे पनि, मूल प्रश्न एउटै छ त्यो के हो भने हामी सिद्धान्त जोगाउने कि लगानीकर्ताको सुरक्षा गर्ने?
किनभने बजारको अन्तिम सत्य यही हो- आदर्शभन्दा अगाडि सुरक्षा आउँछ। डबल आइएसआइएनले यो यथार्थलाई स्वीकार गर्दै लगानीकर्तालाई सशक्त बनाउने बाटो हो, न कि अन्तर्राष्ट्रिय अभ्यासको नाममा यथार्थलाई उपेक्षा गर्ने।
(लेखक नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव हुन्।)