हरेक वर्ष मे २० मा विश्व मौरी दिवस मनाइन्छ। यस दिवसले मौरी तथा अन्य परागसेचक जीवहरूको महत्त्वबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्दछ। संयुक्त राष्ट्र संघले सन् २०१८ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालेपछि मौरी संरक्षणको विषय अन्तर्राष्ट्रिय नीति बहसको महत्त्वपूर्ण एजेन्डा बनेको छ। विश्व मौरी दिवस २०२६ को मूल सन्देश मानव र मौरीबिच हजारौँ वर्षदेखि कायम सहकार्य, सहअस्तित्व र पारिस्थितिक सम्बन्धलाई सम्मान गर्नु हो।
यस वर्षको विषयले मौरीपालन ज्ञान, आधुनिक प्रविधि, महिला तथा युवाको सहभागिता, दिगो कृषि प्रणाली, खाद्य सुरक्षा तथा जैविक विविधताको संरक्षणमा मौरीको भूमिकालाई विशेष जोड दिएको छ। यो विषयवस्तु नेपालजस्तो हिमाली देशका लागि अझ बढी सान्दर्भिक छ किनकि यहाँ मौरी प्रकृति, कृषि, संस्कृति र ग्रामीण जीवनसँग प्रत्यक्ष जोडिएको छ।
नेपालको हिमाली क्षेत्रमा पाइने भिरमौरी (एपिस ल्याबोरिओसा) संसारकै सबैभन्दा ठुलो मौरी प्रजाति हो। यसको वैज्ञानिक तथा पारिस्थितिक महत्त्व विश्व स्तरमै विशिष्ट मानिन्छ। हिमाली क्षेत्रका वनस्पति, जडीबुटी, फलफूल तथा वनजन्य प्रजातिहरूको परागसेचनमा यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। परागसेचनमार्फत यसले केवल वनस्पतिको पुनरुत्पादन मात्र होइन, सम्पूर्ण पारिस्थितिक प्रणालीको स्थायित्व कायम राख्न योगदान पुर्याउँछ।
भिरमौरीले प्रायः अग्ला चट्टान र भिरमुनि ठुलो चाका बनाउँछ। एउटा भिरमा दर्जनौँ मौरी गोलाहरू एकैसाथ देख्न सकिन्छ। यसको आकार अन्य मौरीभन्दा निकै ठुलो हुन्छ र यो उच्च हिमाली तथा चिसो वातावरणीय अवस्थासँग अनुकूलित भएको छ। पहिले यसलाई तराई तथा तल्लो भूभागमा पाइने सिन्कुस (एपिस डर्सेटा) को उपप्रजाति मानिन्थ्यो। तर पछिल्ला दशकहरूमा गरिएको वैज्ञानिक अध्ययनले हिमाली भेगमा पाइने भिरमौरीलाई छुट्टै मौरी प्रजातिका रूपमा स्थापित गरेको छ। यसको व्यवहार, आनुवंशिक संरचना, वासस्थान, घार बनाउने शैली तथा बसाइँसराइको ढाँचा अन्य मौरीभन्दा फरक पाइन्छ।
(भिरमौरीको मह संकलन गर्दै लमजुङका मह सिकारी। फोटो: सुरेश बराल)
यो मौरी मुख्यतः नेपाल, भुटान, उत्तरी भारत, चीन, म्यानमार र भियतनामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइन्छ। नेपालमा विशेष गरी कास्की, लमजुङ, मनाङ, म्याग्दी, रोल्पा, रुकुम, जाजरकोट, बझाङ, बाजुरा, दार्चुला लगायतका जिल्लामा यसको उपस्थिति उल्लेखनीय छ।
भिरमौरी: हिमाली पारिस्थितिक प्रणालीको आधार
वैज्ञानिकहरू भिरमौरीलाई अत्यन्त महत्त्वपूर्ण परागसेचक प्रजाति मान्छन्। यसको अर्थ, यदि यो प्रजाति घट्यो वा हरायो भने त्यसको असर सम्पूर्ण हिमाली पारिस्थितिक प्रणालीमा पर्न सक्छ।
विश्वव्यापी रूपमा करिब ७५ प्रतिशत खाद्यबाली कुनै न कुनै रूपमा परागसेचक जीवमा निर्भर छन्। विभिन्न अध्ययनहरूले जनावरद्वारा हुने परागसेचन सेवामा कमी आउँदा विश्व कृषि उत्पादनमा ठुलो गिरावट आउने देखाएको छ। परागसेचन सेवाले विश्व अर्थतन्त्रमा वार्षिक सयौँ अर्ब डलर बराबरको योगदान पुर्याउँछ। नेपालमा परागसेचनको योगदान प्रतिवर्ष करिब ४७ करोड ७० लाख अमेरिकी डलर रहेको अनुमान गरिएको छ।
यदि मौरी तथा अन्य परागसेचक जीवहरूको संख्या घट्दै गएमा कृषि उत्पादन, पोषण सुरक्षा र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ। फलफूल तथा पोषक तत्त्वयुक्त खाद्य पदार्थको उत्पादन घट्दा दीर्घकालीन रूपमा कुपोषण र स्वास्थ्य समस्याहरू बढ्न सक्छन्। अध्ययनहरूले नेपालमा करिब ४० प्रतिशत भिटामिन-ए र १४ प्रतिशत भिटामिन-सी परागसेचित बालीहरूबाट प्राप्त हुने देखाएका छन्।
परागसेचन केवल मौरीमा सीमित छैन। चरा, पुतली, भँवरा, बिटल र विभिन्न प्रजातिका किराहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। विभिन्न उचाइ र पारिस्थितिक क्षेत्रमा परागसेचकहरूको संरचना फरक हुन सक्छ, तर यी सबै मिलेर पारिस्थितिक सन्तुलन कायम राख्छन्। तैपनि फलफूल, तरकारी, तेलबाली, जडीबुटी तथा वनस्पतिहरूको उत्पादनमा मौरीको भूमिका केन्द्रीय नै रहन्छ। नेपालको व्यावसायिक खेतीमा पर्याप्त परागसेचन नहुँदा प्रतिव्यक्ति वार्षिक २५० डलर बराबरको क्षति बेहोर्नु परेको एक अध्ययनले देखाएको छ।
परम्परा, संस्कृति र भिर मह सिकार
भिरमौरीसँग नेपालको सांस्कृतिक सम्बन्ध हजारौँ वर्ष पुरानो छ। नेपालका विभिन्न समुदायहरूले पुस्तौँदेखि भिर मह सिकार गर्दै आएका छन्। अग्ला भिरमा डोरीको भरमा झुन्डिएर मह निकाल्ने यो परम्परा संसारकै अनौठो सांस्कृतिक अभ्यासमध्ये एक मानिन्छ।
भिर मह सिकार केवल आर्थिक गतिविधि मात्र होइन; यो प्रकृतिसँगको सहअस्तित्व, सामुदायिक ज्ञान, साहस र सांस्कृतिक पहिचानको प्रतीक हो। मह सिकारका क्रममा प्रयोग हुने परम्परागत उपकरण, गीत, पूजाआजा, सामुदायिक नियम तथा विधिहरूले स्थानीय समाजको गहिरो पारिस्थितिक ज्ञानलाई प्रतिबिम्बित गर्छ।
परम्परागत रूपमा मह संकलनका निश्चित नियमहरू थिए। कुन मौसममा मह निकाल्ने, कति मात्रामा संकलन गर्ने, सबै चाकाबाट एकैपटक मह ननिकाल्ने जस्ता अभ्यासले मौरी संरक्षणमा सहयोग पुर्याउँथे। तर पछिल्ला दशकहरूमा सामाजिक तथा आर्थिक परिवर्तनका कारण यी परम्परागत संस्थाहरू कमजोर बन्दै गएका छन्। युवाहरूको बसाइँसराइ, बजारमुखी सोच, परम्परागत ज्ञानको हस्तान्तरणमा कमी तथा व्यावसायिक दबाबले दिगो अभ्यासमा असर पारेको छ।
भिरमौरी जनसंख्यामा दबाब
स्थानीय समुदायका अनुभव र केही अध्ययनहरूले मौरी भएका भिरको संख्या, प्रतिभिरमौरी गोला र चाकाको आकार घट्दै गएको संकेत गर्छन्। यद्यपि दीर्घकालीन वैज्ञानिक तथ्यांक अझै सीमित छन्।
भिरमौरी घट्नुका प्रमुख कारणहरूमा निम्न प्रकार छन्:
१. असन्तुलित मह संकलन
मह काढ्दा भिरमा भएका मौरीको चिलाइ बट बच्न अत्यधिक मात्रामा धुवाँ प्रयोग गरिन्छ। जसले गर्दा मौरी चाका छोडेर अन्यत्रै जान्छन् । मह संकलन गर्दा बच्चा (ब्रुड) सहितको चाकामा क्षति पुग्ने र मौरी नासिने अभ्यासले मौरी गोला को संख्या घटेको देखिन्छ ।
२. वासस्थान परिवर्तन
सडक निर्माण, जलविद्युत आयोजना, पर्यटन पूर्वाधार र वन विनाशले भिरमौरीको प्राकृतिक वासस्थानमा परिवर्तन ल्याएको छ। पहिरो सँगै भिर खस्दा पनि मौरी गोला नष्ट भएको देखिन्छ।
३. जलवायु परिवर्तन
तापक्रम, वर्षाको ढाँचा र फूल फुल्ने समयको परिवर्तनले मौरीको मौसमी गतिविधि र आहार (पुष्परस एवं कुट) उपलब्धतामा असर पारिरहेको छ।
४. वन डढेलो
वन डढेलोले वनस्पति स्रोत नष्ट गर्नुका साथै कतिपय अवस्थामा प्रत्यक्ष रूपमा मौरीका गोलाहरूमा क्षति पुर्याउँछ।
५. रोग तथा परजीवी
केही क्षेत्रहरूमा मौरीमा रोग र परजीवीको प्रभाव देखिन थालेको छ, यद्यपि यसको व्यापकता अझ स्पष्ट रूपमा अध्ययन गर्न आवश्यक छ।
भिरमौरीका उत्पादनहरूको निर्यात सम्भावना र चुनौती
भिरमौरीको मह, विशेष गरी लालीगुराँस परिवारका वनस्पतिबाट संकलित, ग्रायानोटक्सिन युक्त हुन सक्छ, जसलाई ‘म्याड हनी’ भनेर बिक्री गरिन्छ। यसलाई सीमित मात्रामा प्रयोग गर्दा केही औषधीय गुणहरू भएको मानिन्छ। तर अनियन्त्रित सेवनले स्वास्थ्य जोखिम निम्त्याउन सक्छ, जस्तै चक्कर लाग्ने, बान्ता, मुटुको धड्कन कम हुने वा बेहोस हुने अवस्था। स्वास्थ्य सरोकारलाई राम्ररी सम्बोधन गर्न सक्यो भने ‘म्याड हनी’ को पनि छुट्टै विशिष्ट माग छ। हाल नेपालमा यस महको ट्रेसबिलिटी र प्रमाणीकरण प्रणाली विकास भइसकेको छैन।
यदि ग्रायानोटक्सिनको अनुपस्थिति प्रमाणित गरी महमा रहेका अन्य वनस्पतिजन्य तत्त्वहरूको पहिचान गर्न सकिए, यसको निर्यातको सम्भावना प्रचुर छ। हिमाली जैविक विविधतासँग जोडिएको विशेष महको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो छ। उदाहरणका लागि, चिनमा गरिएको एक अनुसन्धानमा कटुसको मह रोग विरुद्ध लड्ने क्षमता भेटिएको छ। यसमा भएको क्यनुरेनिक एसिडले एन्टिबायोटिक काम गर्ने देखिएको छ। कटुस जस्ता बिरुवा नेपालमा पनि प्रशस्तै पाइन्छन्।
तर यस सम्भावनालाई वास्तविक आर्थिक अवसरमा रूपान्तरण गर्न गुणस्तर मापदण्डको अभाव, उत्पादनको अस्थिरता, प्रशोधन तथा प्याकेजिङको कमजोरी, प्रमाणीकरण र ट्रेसबिलिटीको कमी तथा खाद्य सुरक्षा परीक्षण प्रणालीको दुर्बलता जस्ता चुनौतीहरू पार गर्नु अनिवार्य छ।
अन्तर्राष्ट्रिय मापदण्डहरू मुख्यतः युरोपेली मौरी (एपिस मेलिफेरा) मा आधारित भएकाले भिरमौरी लगायत अन्य रैथाने मौरीको महका विशेषता पर्याप्त रूपमा समेटिएका छैनन्। भिरमौरीको जीवनचक्र, बसाइँसराइ, प्रजनन, रोग तथा जनसंख्या अवस्थाबारे अझै धेरै वैज्ञानिक अस्पष्टता छन्। त्यसैले दीर्घकालीन अनुसन्धान र अनुगमन, स्थानीय ज्ञानको दस्तावेजीकरण र समुदायमा आधारित सहकार्यमार्फत संरक्षणउन्मुख व्यवस्थापन प्रणाली लागु गर्न ढिला गर्नु हुँदैन।
विश्व मौरी दिवस २०२६ ले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ— मौरीको भविष्य सुरक्षित नगरी मानव जीवन, खाद्य सुरक्षा र जैविक विविधताको भविष्य सुरक्षित हुन सक्दैन।
(लेखक मह र मौरीका अध्येयता हुन्।)