मानिस जन्मँदा रित्तो आउँछ। ऊसँग न भाषा हुन्छ, न हिँड्ने सामर्थ्य, न त आफ्नो नामको पहिचान नै। जीवनको यो रित्तो क्यानभासमा पहिलो रङ भर्ने काम आमाबुबाले गर्नुहुन्छ।
आफ्ना अनगिन्ती रहरहरूलाई थाती राखेर, रातभरिको निद्रा र दिनभरिको थकानलाई चटक्कै बिर्सेर हामीलाई ताते-ताते गर्न सिकाउनुभयो, ओठबाट पहिलो शब्द 'आमा' र 'बा' प्रस्फुटित गराउनुभयो।
जीवनको यात्रामा हामीले धेरै गुरुहरू भेट्छौँ। कोही विद्यालयका कक्षाकोठामा भेटिन्छन्, कोही विश्वविद्यालयका कक्षमा त कोही पुस्तकका मोटा पानाभित्र। तर जीवनको सबैभन्दा महान् र आदिम विश्वविद्यालय हाम्रै घरभित्र हुन्छ र त्यसका कुलपति हाम्रा आमाबुबा हुन्।
हाम्रो पहिलो अक्षरदेखि आँसुसम्म र पहिलो असफलतादेखि सफलताको शिखरसम्म,आमाबुबा हाम्रो स्मृतिको सबैभन्दा उज्यालो अध्याय हुन्। तर समय सधैँ एकैनासले बग्दैन। समय चक्रको एउटा यस्तो मोड आउँछ, जहाँ हाम्रा ती अजम्मरी खम्बाहरू बिस्तारै कमजोर हुन थाल्छन् र हामीले कक्षाकोठा वा पुस्तकमा पढेका सिद्धान्तहरू भन्दा फरक, जीवनको एउटा नयाँ र व्यावहारिक परीक्षा सुरु हुन्छ।
शिक्षण जीवनका २७ वसन्त पार गर्दै गर्दा मैले हजारौँ विद्यार्थीलाई नेपाली भाषा मात्र पढाइनँ, विद्यालय रुपी समाजबाट सिकेका जीवनका केही सामान्य लाग्ने अमूल्य विषयवस्तुहरू पनि सिकाउने प्रयास गरेँ।
म सधैँ भन्थेँ, ‘असल मानिस बन्नु भनेको ठुलो पदमा पुग्नु मात्र होइन; आफ्ना आमाबुबालाई सम्मान गर्न जान्नु, बालबालिकालाई माया गर्नु र दुःखमा परेकाको हात समाउन जान्नु पनि हो।’
यस्ता कुरा सिकाउन पाउँदा मनमा एउटा अदृश्य सन्तोष पलाउँथ्यो। लाग्थ्यो, मैले समाजलाई केही उज्यालो सोच हस्तान्तरण गरिरहेकी छु। तर समयले मलाई आफ्नै आदर्शको सबैभन्दा कठिन परीक्षा लिइरहेको छ, जहाँ हिजो मैले विद्यार्थीलाई सिकाएको 'आमाबुबाको सम्मान र हेरचाहको विषयवस्तुहरूको पाठ म आफैँले व्यवहारमा उतारेर मनन गरेर उत्तीर्ण हुनुपर्ने बेला आएको छ।
समय असाध्यै बलवान् र रहस्यमयी छ। मलाई हिजोझैँ लाग्छ, सानो छँदा विद्यालयबाट र ठुलो भएपछि कामबाट फर्किन थोरै ढिलो हुँदा आमा कहिले ढोकाको संघार त कहिले आँगनको डिलमा उभिएर बाटो हेरिरहनुहुन्थ्यो। उहाँका आँखामा एउटा छटपटी हुन्थ्यो, तर त्यो छटपटीभित्र अगाध ममता लुकेको हुन्थ्यो। म टाढैबाट कुद्दै आएको देख्दा उहाँको अनुहारमा जुन चमक आउँथ्यो, त्यो दृश्य त्यति बेला सामान्य लाग्थ्यो तर आज त्यो मेरो जीवनकै सबैभन्दा अमूल्य र पवित्र स्मृति बनेको छ।
आज वर्षहरू फेरिएका छन्। अनगिन्ती हन्डर र दुःखहरू खेपेर पनि नदी जसरी निरन्तर शान्त भएर बगिरहन्छ, आज म पनि त्यसरी नै शान्त र धैर्यवान् भएर त्यही ढोकाको सँघार र आँगनको डिलमा उभिन्छु, जहाँ कुनै समय मेरी आमा मलाई पर्खेर उभिनुहुन्थ्यो। आज समयले प्रतीक्षा गर्ने पात्र बदलिदिएको छ। म उहाँका लागि त्यो सँघार ननाघ्ने एउटा सुरक्षात्मक 'सीमा रक्षक' जस्तै भएर उभिएकी छु।
अब म आमालाई ‘एक्लै बाहिर नजानुस् है’ भन्दै बाटो छेकिरहेकी हुन्छु। समयले केवल उमेर मात्र बदलेन, हाम्रो भूमिकालाई पनि उल्टाइदियो। हिजो जसले औँला समातेर हामीलाई संसार चिन्न र हिँड्न सिकाउनुभयो, आज उहाँलाई नै औँला समातेर डोर्याउनुपर्ने जीवनको सबैभन्दा भावुक मोडमा म आइपुगेकी छु।
मेरी आमा सदैव एउटा अनुशासित र व्यवस्थित जीवनको प्रतीक हो। समयमा औषधि खानु, नियमित स्वास्थ्य परीक्षण गराउनु र हामीलाई पनि स्वास्थ्यप्रति सजग गराउनु उहाँको दैनिकी थियो। तर उमेरको ढल्किँदो समयसँगै उहाँको शारीरिक स्वास्थ्यमा मात्र होइन, स्मृतिमा पनि परिवर्तन आउन थाल्यो। एक दिन उहाँले अलमलिँदै सोध्नुभयो, ‘मैले आज औषधि खाएँ कि खाइनँ? मैले आज खाना खाएँ कि खाइनँ?’
त्यो एउटा सामान्य सोधाइले मेरो मुटुमा चिसो पसायो। उहाँ बिस्तारै अल्जाइमर्स वा डिमेन्सिया (बिर्सने रोग) को आक्रमणमा पर्दै जानुभएको रहेछ। त्यसपछि उहाँलाई सजिलो होस् भनेर बिहान, दिउँसो र बेलुकाका लागि फरक-फरक रङका औषधिका बट्टाहरू बनाएँ। त्यसमा ठुला अक्षरले मिति र समय लेखेँ। प्रत्येक गोलीलाई चिन्न सजिलो होस् भनेर एउटा सानो नयाँ बाटो सिर्जना गरेँ। तर त्यो गर्दागर्दै मैले एउटा कठोर सत्य बुझेँ। संसारमा औषधिभन्दा महत्त्वपूर्ण कुरा ढल्कँदो उमेरका आमाबाको संघर्षका कथा सुन्नु र आत्मिक साथ हो।
आमा अचेल आफ्नै स्मृतिसँग एउटा मौन युद्ध लडिरहनुभएको छ। उहाँको मनमा कहिले अनाम बेचैनी उर्लिन्छ, कहिले एउटै कुरा पटक-पटक दोहोरिन्छ, त कहिले भर्खरै घटेका घटनाहरू पनि मानसपटलबाट गायब हुन्छन्। उहाँको नजानिँदो रिस र आवेगले म सोचमग्न हुन्छु तर उत्तर पाउँदिनँ, मात्रै मन बुझाउँछु।
कहिलेकाहीँ उहाँका टोलाइरहेका आँखाहरूमा म एउटा निःशब्द प्रश्न देख्छु- आमालाई के भइरहेको छ? दुःखको कुरा, त्यो प्रश्नको उत्तर मसँग भएर पनि म उहाँलाई बुझाउन सक्दिनँ। शरीरका रोगहरू त कराउँछन्, पीडा ओकल्छन्, सबैको आँखाले देखिन्छन् तर मन र स्मृतिका रोगहरूले एउटा भयानक मौनता जन्माउँदा रहेछन्। यो मौनता केवल बिरामीको मात्र हुँदैन, सिंगो परिवारको हुन पुग्दो रहेछ।
हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्य र बुढ्यौलीका समस्याहरूलाई खुला रूपमा स्विकार्ने संस्कार विकास भइसकेको छैन। जब कुनै वृद्धवृद्धाको स्मृति कमजोर हुन्छ वा व्यवहारमा चिडचिडापन र परिवर्तन आउँछ, तब समाजले सहज रूपमा लिँदैन। उमेर ढल्किँदै जाँदा, विशेष गरी साठी, सत्तरी वर्ष नाघेपछि स्मरणशक्ति कमजोर हुने, बुद्धिविवेक घट्ने र व्यवहारमा केटाकेटीपन देखिने प्राकृतिक अवस्थालाई हाम्रो समाजले ‘यिनीहरू त सठ्याएका हुन्’ भनी एउटा नमिठो ट्याग भिराइदिन्छ।
वृद्धावस्थामा पुगेपछि मानिसको बुझ्ने क्षमता र निर्णय लिने शक्तिमा आउने ह्रासलाई ‘धेरै सोचेर यस्तो भएको हो’ वा ‘बुढेसकालको कचकच’ भनेर हल्का रूपमा बेवास्ता गरिन्छ। कतिपय अवस्थामा त यसलाई पूर्वजन्मको पाप, भाग्य वा अन्धविश्वाससँग समेत जोडेर हेरिने रहेछ। परिणामस्वरूप बिरामीले समयमै पाउनुपर्ने चिकित्सकीय परामर्श र उचित उपचारमा ढिलाइ हुन्छ, जसका कारण सिंगो परिवारले भोग्नुपर्ने मानसिक सास्ती र भित्री पीडा बयान गरिसाध्य हुँदैन।
अर्कोतर्फ, आज हामी प्रविधिको चरम उत्कर्षमा रमिरहेका छौँ। हामी 'आर्टिफिसियल इन्टेलिजेन्स' (कृत्रिम बुद्धिमत्ता) सँग घण्टौँसम्म गम्भीर र जीवन्त संवाद गर्न सक्छौँ, संसारभरिका समाचार र घटनाहरू एकै पलमा हातको स्क्रिनमा ल्याउन सक्छौँ अनि फेसबुक र इन्स्टाग्रामका अभौतिक पर्दाहरूमा हजारौँ अपरिचित साथीहरूसँग जोडिन सक्छौँ। तर कस्तो विडम्बना! आफ्नै घरको चौघेरामा टोलाइरहेका वृद्ध आमाबाबुसँग दिनको १० मिनेट मात्रै बसेर आत्मीय भलाकुसारी गर्ने समय हामीसँग छैन।
हामी उहाँहरूलाई महँगा अस्पताल पुर्याउँछौँ, औषधि र भिटामिनका चक्कीहरू किनिदिन्छौँ र आफ्नो कर्तव्य पूरा भएको भ्रम पाल्छौँ तर उहाँहरूको मनभित्र मडारिइरहेको त्यो विशाल एक्लोपनको चित्कार सुन्न बिर्सन्छौँ। हामीले यो हेक्का राख्न सकेनौँ कि, उहाँहरूलाई जीवनको यो उत्तरार्द्धमा औषधिको चक्कीभन्दा बढी आफ्नै छोराछोरीको न्यानो स्पर्श, सामीप्य र 'म छु नि' भन्ने भरोसा चाहिएको छ
यो केवल बिर्सने रोग होइन, वास्तवमा यो त हामी तमाम छोराछोरीलाई बितेका दिनहरू 'सम्झाउने' समय आएको हो। समयले हाम्रो चेतनालाई घचघच्याउँदै आमाबुबाले हाम्रो बाल्यकाललाई सुरक्षित र सुन्दर बनाउन कति अनिदा रातहरू काटेका थिए, हाम्रो भोक मेटाउन कति छाक भोकभोकै बसेका थिए, त्यो त्याग सम्झाइरहेको छ। मलाई घरीघरी कवि कृष्णप्रसाद भट्टराईको 'आमा' कविताका अमूल्य हरफहरू याद आउँछ:
‘झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्।’
यो मुटु भक्कानिने कवितामा हरेक आमाले आफ्ना सन्तानलाई संरक्षण गर्नुभएको विशाल र अगाध महिमा गाइएको छ। हो, आमाको गुन साँच्चै नै ब्रह्माण्डभन्दा बढी विशाल छ। हाम्रो भविष्यको उज्यालोका लागि उहाँहरूले आफ्ना कति रहर, चाहना र सपनाहरूलाई मौनताको अँध्यारोमा विसर्जन गरिदिनुभयो त्यो गुन सम्झने, वृद्धावस्था कुनै कमजोरी, सजाय वा लाजको विषय होइन। यो त जीवनको संवेदनशील खण्ड हो जहाँ उहाँहरूलाई ओखतीका चक्कीहरू मात्र होइन, असीमित धैर्य, आदर, सम्मान र स्नेह चाहिन्छ भन्ने अकाट्य सत्य सम्झने समय आयो।
म कैयौँ रातहरू आमाको बेचैनी र छटपटीसँगै जागेकी छु। धेरै बिहानहरू उहाँको अनिदो मायाले भरिएको अनुहारमा हराएको शान्ति खोज्न दिदीबहिनी, दाजुभाइ आफन्त र साथीभाइको साथ लिने प्रयास गरेकी छु। कहिलेकाहीँ मान्छे नै त हुँ, निरन्तरको दौडधुपले मन थाक्छ, आँखाहरू विवशताले भरिएर आउँछन् र आफ्नो मायाममता अर्थविहीन भइदिँदा ऐना हेरेर आँखाको डिलमा टलपल गरेर भरिएका आँसु झारेर कोकोहोलो हालेर रुन मन लाग्छ।
तर ठिक त्यही निरशाको क्षणमा मेरो भित्री मनको कुनाबाट एउटा प्रश्न ब्युँझिन्छ- ‘म सानो छँदा बिरामी पर्दा मेरी आमा कति रात नसुती, मेरो तातो निधार छामेर, सिरानीमा आँसु खसाउँदै बस्नुभएको थियो होला?’ त्यो प्रश्नको उत्तर कुनै शब्दमा खोज्नुपर्दैन, उहाँको त्यो निःस्वार्थ अतीतको सम्झनाले नै मलाई पुनः उठ्ने ऊर्जा र साहस दिन काफी हुन्छ।
आमाले मलाई बाल्यकालमा तोते बोलीसँगै ताते-ताते गराउँदै, घरपरिवार र समाज चिनाएर यो संसार पढ्न सक्ने बनाउनुभयो। आज आफैँले तिनै घरपरिवार, आफन्त र समाजलाई बिस्तारै बिर्सिँदै जाँदा, मलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण ज्ञान सिकाइरहनुभएको छ- त्यो हो 'मानवता'। उहाँको यो अशक्त मौनताले मलाई धैर्यको गहन भाषा मात्र सिकाएको छैन, बरु सन्तान हुनुको असली कर्तव्य र धर्मको जीवन्त पाठ पनि पढाइरहेको छ।
बाल्यकालमा उहाँ मेरो सहारा बन्नुहुन्थ्यो, आज म उहाँको मलम बन्न प्रयासरत छु। उहाँका ती मायालु खस्रा हात, डगमगाउँदा पाइलाहरूले करुणा र प्रेमको वास्तविक अर्थ बुझाउँदै, एउटी छोरी हुनुको निष्ठा र पवित्र कर्तव्य बोध गराइरहेका छन्। उहाँको बिराम मेरो लागि बोझ होइन, माया दिन पाउने भाग्यशाली छोरी मानेको छु।
मैले कुनै व्यक्तिगत पीडा वा रोदन प्रदर्शन गर्न लेखेकी होइन। यो त वर्तमान आधुनिक समाजका हरेक घरको प्रतिनिधित्व गर्ने एउटा प्रतिनिधि घटना हो र म एउटी छोरी, शिक्षक एवं सचेत नागरिकको तर्फबाट समाजलाई गरिएको एउटा विनम्र आग्रह हो।
आगामी दिनहरूमा कुनै पनि घरका आमाबाबुले एक्लोपनको आँसु बगाउनु नपरोस्, कुनै पनि छोराछोरीले आफ्ना अभिभावकको मानसिक पीडालाई ढिलो गरी थाहा पाउने कहालीलाग्दो पछुतोको आगोमा जल्नु नपरोस्।
हामी आधुनिक मानवले पाल्ने सबैभन्दा घातक भ्रम नै 'हामीसँग थोरै समय छ आफ्नो लागि गर्ने अहिले नै हो भनेर आमाबुबालाई बिर्सन्छौँ, नबिर्सौँ।' आमाबुबालाई माया, सेवा गर्ने सबैभन्दा उत्तम दिन 'भोलि' होइन, 'आज' नै हो। उहाँहरूसँग बसेर कुरा गर्ने उपयुक्त समय 'फुर्सद भएपछि' होइन, 'अहिले' नै हो। किनकि उहाँहरूको स्मृतिले पूर्ण रूपमा साथ छोड्नु अगावै हामीले फर्काउनुपर्ने प्रेम र कृतज्ञता अगाडि नै हो।
हामीले आमाबुबाको अस्वस्थता, चाहना, फरक व्यवहारलाई बोझ होइन, घरको पवित्र र महत्त्वपूर्ण कामका रूपमा स्विकार्न थाल्यौँ भने म मेरो यो लेखन र आफ्नो जीवनको यो कठिन परीक्षा दुवै सफल भएको ठान्नेछु।
समयको निष्ठुरी चक्र निरन्तर घुमिरहन्छ, भोलि हामी पनि दुरुस्तै यही स्थानमा र यही अवस्थामा नपुगौँला भन्न सकिन्न। समयको वेगसँगै स्मृति क्षीण हुन सक्छ, शरीर गल्न सक्छ, उमेर ढल्कन्छ तर प्रेम, कृतज्ञता, धैर्य र मानवता कहिल्यै बुढो हुँदैनन्। त्यसैले आमाबुबाको त्यो मलिन आशातीत अनुहारमा उज्यालो दिऊँ न्यानो हातले स्पर्श गरौँ, छातीमा शिर राखौँ र भनौँ। ‘तपाईंहरू हुनुहुन्छ, त्यसैले त म छु।’