गत वर्षको पुस तिर म ‘अफिसियल’ कामको लागि वर्तमान अर्थमन्त्रीको निवास पुगेको थिएँ। काम सकिएपछि उहाँले चिया प्रस्ताव गर्नु भयो। उहाँको सरल र स्पष्ट विचार को म प्रशंसक बने। ‘अरू भन्नुस्’ भन्ने उहाँको थेगो जस्तै छ।
हल्का मुस्कान सहित मैले यसपालि पहाडको पराल नबिकेको भनेँ। विश्व बुझेको भनेर प्रचार गरिएका व्यक्तिसँग के कुरा गरे होला भन्ने सोच्नु भएको होला। उहाँले पनि साधारण भाव सहित ‘है’ भन्नु भयो।
मैले अघि बढ्दै भनेँ– ‘स्वर्णिम सर, कुश्मा पुग्दा ख्याल गर्नुहोला, कुश्माको दक्षिणतर्फ पारिको गाउँ मेरो घर ज्ञादी हो। त्यहाँ मेरो उचाइभन्दा अग्लो भएर जेठोबूढो र एक्ले धान फल्छ। लामो र रसिलो हुनाले त्यहाँको परालको सधैँ उच्च माग हुन्थ्यो। कोरोना महामारी अघि गाउँ र छिमेकी गाउँहरूमा धेरै नै गाई र भैँसी फर्महरू खुलेका थिए। कोरोना कहरले आपूर्ति श्रृंखला बिगारिदियो भने बैंकहरूले करिब दुई गुणा ब्याजदर वृद्धि गरे। जसको कारण दोहोरो मारमा परेका सबै सञ्चालकहरूले फर्महरू परल मूल्यमा विस्थापन गरे भने कतिपय कालो सूचिमा परे। असफलताको चोट भुल्न घरखेत गरेर डंकी मार्गबाट अमेरिका तथा युरोप पुगे। कहिलेकाहीँ सामाजिक संजालमा देखिने तिनीहरू यता हुँदा भन्दा हृष्टपुष्ट देखिन्छन्। हाम्रा स्रोत साधनहरू यति किन सस्ता भए सर?’
‘म कतै न कतै तपाइको यो कुरा कोट गर्छु’ भन्नुभयो। गर्न चाहिँ के गर्न भो मलाई थाहा भएन।
उहाँको निवासबाट निस्किँदा कोरियन राजदूतावासमा डिपेन्डेन्ट भिसा एप्लाई गर्न आफ्नो पालो पर्खेका नवविवाहिताहरूको लामो लाइन थियो।
हामीले दुई दशक पूरै शान्ति, अधिकार र संविधान भनेर सक्यौँ। मेरा उमेरका सबैको दुई दशक यति मात्रै सुनेर बित्यो। म अबको पुस्ताले सबै कुरा बिर्सेर विकासको अभियान सुरु गरोस् भन्ने चाहन्छु तर सुशासन र भ्रष्टाचार मै अड्किने जस्तो गर्दै छन्। सुखी नेपाली समृद्ध नेपालको सफलताका मानकमा टेकेर असफलताका परिणामलाई अब विकासको नयाँ परिभाषामा बदल्नुपर्नेछ।
विकासलाई जरोबाटै बुझौँ भनेर मैले शब्दार्थ, नेपाली शब्द सागरमा विकासको अर्थ खोजेँ– पेज नं १२२७, विकास –( सं, पूं) बढ्दै जान, वृद्धि हुनू। परिवर्तन हुनू। फैलनु। फूल आदी फुल्नू।
त्यस्तै, प्रा. नीलमणि ढुंगानाले तयार पार्नु भएको व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोशमा–पेज नं– ११०३ मा विकास– (पूं) विकसनम विपतृकास कस गतौ इति धातो भावे ३.३.१८ इति धञ
१– क्रमशः बढ्नु, वृद्धि हुनू, उन्नति हुनू, विस्तार फैलावट
२– प्रदर्शन, प्रकाश
३– एकान्त
भनी व्याख्या गरिएको रहेछ।
शब्दको भावसँग मिल्ने गरी देशमा विकास हन नसकेकोले अब विकासलाई शब्दकै मर्म अनुकूल हुने गरी गरिनुपर्छ। वर्तमान समयमा विकासका आधार मानिएका चार आधारको वरिपरि रहेर लेख थप विस्तार गर्दछु। खेती, बिजुली, आइटी र पर्यटनका आधारभूत र विशिष्ट क्षमता र तिनीहरूको प्रयोग बारे कुरा गरौँ।
हाम्रो देशको आजसम्मको दुर्भाग्य के हो भने सबै क्षेत्रको सबैभन्दा सतहमा रहेर जग अडाइदिएको तह नै सबैभन्दा बढी हेपिएको छ। कृषिमा कृषक, निर्माणमा कामदार, शिक्षामा शिक्षक, सूचना प्रविधिमा सेवाग्राही एवं पर्यटनमा भरिया र पथ प्रदर्शक हेपिएका छन्। देशले अब विकासतर्फ अग्रसर हुने नै हो भने यिनै आधारभूत तहका नागरिकसँग माफी मागेर सम्मानको वातावरण तय गर्नुपर्छ।
वर्षा याममा देशभरका निजी तथा सरकारी आयोजनाबाट गरी ४०८६ मेगावाट बिजुली उत्पादन गर्छन् भने हिउँदमा १७०० देखि १८०० सम्म हुने गरेको छ। हाम्रोमा विद्युतको औसत माग २५०० मेगावाट जति रहन्छ। त्योभन्दा माथिको उत्पादन भारतमा, उसले चाहेको साधारण मूल्यमा बिक्री हुन्छ।
च्च हुँदाको अवस्थामा ४६५ युनिट प्रतिव्यक्ति खपत हुने गरेको वर्तमानमा यो खपत बढाउन सके त्यो सित्तैमा बेचिने बिजुलीको देशभित्र नै महँगो प्रयोग गर्न सकिन्छ। भारत जसको कूल जडित क्षमता ५ लाख २१ हजार मेगावाट छ र पनि भारतको प्रतिव्यक्ति खपत १२५० युनिट मात्र छ, बरु भुटानमा ५००० युनिटभन्दा माथि छ।
म यो कुरा किन गर्दै छु भने, विद्युत् खपत दरले त्यो देशका नागरिकको जीवनशैली कत्तिको प्रविधिमैत्री छ भन्ने जनाउँछ। मैले यो सन्दर्भ किन भन्दै छु भने प्रति मेगावाट २० करोडमा उत्पादन हुने विद्युत् हिउँदमा अचाक्ली महँगोमा किन्ने र वर्षामा तिन सित्तीमा बेच्नुभन्दा हामीले विकासको अर्को आधार खेतीलाई बनाउन जरुरी र विवेकपूर्ण छ।
सतहमा नल्याएका मात्र हुन्, अहिले अधिकांश विद्युत् आयोजनाहरूले वर्षाभरि कमाएको पैसा हिउँदभरि जरिवाना तिरिरहेका छन्। यसरी लगानीकर्ता पनि खासै लाभमा छैनन्। सामाग्रीहरूबाट कमिसन प्राप्त हुन छोडेको दिन यो क्षेत्र लगानीकर्ताको आकर्षक क्षेत्र हुनेछैन। विद्युत् उत्पादन पछि बिक्रीको कुरा पनि उस्तो सजिलो छैन।
अघिल्लो वर्ष चिनिया लगानीका आयोजनाको विद्युत् भारतले किन्न अस्वीकार गर्यो। अब घर जग्गा जस्तै नदी प्रवाहमा आधारित आयोजनाको कारण जलविद्युत क्षेत्र पनि स्याचुरेटेड फेजमा पुगिसकेको छ। त्यसैले आफ्नो देशभित्रको न्यूनतम आवश्यकता बाहेक हाइड्रोको एकोहोरो रट लगाउन छोडौँ। बरु त्यो लगानी कृषितर्फ आकर्षित गरौँ।
आधारभूत परम्परागत ज्ञान, ठुलो जनसङ्ख्यालाई एकै पटक प्रयोग गर्न मिल्ने तथा तुरुन्तै प्रतिफल दिने खेती क्षेत्र सधैँ उपेक्षामा छ। सरदरमा प्रत्येक तीन महिनामा एउटा बाली प्रणाली पूर्ण हुन्छ। एउटा विद्युत् आयोजना पूर्ण हुन औसतमा ५ वर्ष लाग्छ यो अवधिमा हामीले २० वटा खेती प्रणाली पूरा गर्न सक्छौँ भने त्यस्तो ठुलो लगानीको पनि आवश्यकता हुँदैन।
हामीले आयात गरेर जीविका गरेको कृषिको मूल्य ४ खर्ब आसपासको छ। भात र रक्सी (चामल र कनिका बराबर आयात हुने र कनिका रक्सी बनाउन प्रयोग हुने रहिछ) बराबर खाने आँकडा चामल र कनिका आयातको तथ्यांकले प्रस्ट पार्छ।
हामीले अहिले निर्यात गरेका तेलहन, दलहन र काँचो छाला तथ्याङ्कमा देखिए पनि हाम्रा आफ्ना उत्पादन होइनन्। यसले पनि सम्भावित र वर्तमान बजारको विराटता प्रदर्शित गर्छ। बाँझो जमिनमा अब सामूहिक पशुपालनको अभियानसहित सरकार हिमाल, पहाड र तराई क्षेत्रमा साधारण बचतको निश्चितता मात्रै बनाइदिए पनि मान्छेहरू लाभ लिन आज नै तयार भएको देखिन्छ। तुलनात्मक लाभ कम भए पनि आधारभूत रूपमा आधार तय गर्नमा खेतीले वर्तमानमा ठुलो भूमिका स्पष्टसँग निर्वाह गर्न सक्छ।
बौद्धिक जाँचको औसतमान हाम्रो ४२ अंक हो, जसले हाम्रो समाजका सबै पक्षहरू कति कमजोर छन् भन्ने कुराको निर्धारण गर्छ। यति साधारण ज्ञान र ज्ञानको तह लिएर हामीले अहिले संसारले अभ्यास गरिरहेको प्रविधि फड्कोमा साधारण जंघार पनि तर्न सक्दैनौँ।
उनीहरूले छोडेका वा गर्न नभ्याएका साधारण एसाइन्मेन्ट, वेभ डिजाइनिङ, कोडिङ र च्याटबक्स जस्ता खुद्रा कुराहरू नै हामीलाई अवसर जस्तो लागेको आइटी क्षेत्र चाहिँ सम्भावनाको क्षेत्र भएर पनि दीर्घकालीन र दिगो आधार भने होइन जस्तो लाग्छ। यसै पनि हामीसँग आइपुग्दा सबै प्राविधिक कुरा एक्सपायर भइसकेका हुन्छन्। अथवा हामीले एउटा कुरा सिकी नसक्दै सूचना प्रविधिले अर्को फड्को मारिसकेको हुन्छ।
त्यसैले समयले सृजना गरी ल्याएको अवसरको क्षणिक र अवसर लाभलाई स्विकारौँ तर यो भन्दा श्रद्धा, सम्मान र सेवाद्वारा सृजना गरिएको पर्यटन उद्योग नै हाम्रो दिगो र विश्वासिलो तथा माटो सुहाउँदो आधार हो। डाटा सेन्टर स्थापनाको कुरा एउटा सानो हाइड्रो पावर सञ्चालन गर्न ५–६ वटा बैंकहरूले लगानी गर्नुपर्ने अवस्थाको आर्थिक क्षमता भएको अर्थतन्त्रमा सजिलो कुरा होइन।
उसै पनि जलवायु परिवर्तनको सबैभन्दा पहिलो असर खेप्नुपर्ने मुलुक हो हाम्रो। ऊर्जाको स्तर र नियमित आपूर्तिको लागि हाम्रो भूगोल सजिलो छैन। चिसो देशको लागि हटकेक अपरच्युनिटी भनेर भनेजस्तो प्राविधिक रूपले सजिलो कुरा होइन। त्यसैले नकार्नै नसकेता पनि तत्कालको लागि यस्ता कुरा हाइपोथेटिकल कुरा हुन्, चुच्चे रेल र पानी जहाज जस्तै।
हाम्रो पूर्वीय दर्शन र जीवनको आधारभूत मान्यता यति व्यापक छ, यति सहृदयी छ यसमा पुरै संसार अटेर पनि अलिकति ठाउँ अझै खाली नै रहन्छ। यसको अन्तर्राष्ट्रिय जगतमा चर्चा पनि छ भने हाम्रो क्षेत्र पनि यही नै हो, यसैलाई बनाऊ।
शालीन सभ्यतामा हुर्केका हामीले हाम्रै आफ्नै शैलीमा पूर्वाधार स्थापनामा मन लगाऊँ र संसारलाई मातृत्व र भातृत्वको ज्ञान सहितको आत्मीयता बाँडौँ। संसारभरिका मान्छेलाई एक पटक पुग्नै पर्ने देशको रूपमा स्थापना गर्नु सकिने हाम्रा सांस्कृतिक तथा प्राकृतिक वैभव संसारको कुनै पनि उच्च प्रविधिले स्थापना गर्न सक्दैन।
खाली मौद्रिकीकरणको नजरियाबाट मात्र सबै क्षेत्रलाई नहेरौँ। आर्थिक लाभ र भौतिक सम्पन्नताले मात्र मानवीय सभ्यता यहाँसम्म आइपुगेको होइन। लाभ हानीलाई पनि आदर्शपूर्ण बनाउन सकिन्छ। खासमा हामीले सधैँ अरूले नै तयार गरिदिएका वा भन्दिएका आधारहरूमा उभिएर हेर्न खोज्छौँ। यस्ता आधार महत्त्वपूर्ण मानिए पनि हाम्रै होइनन् जुन जति बेला पनि विघटित हुन सक्छन्।
जरा जमिनमा नै जोडिनुपर्छ। हामीले तत्काल केही नयाँपन सहित विद्युतभन्दा खेती र आइटीभन्दा पर्यटनमा अर्जन दृष्टि राखौँ। आफ्ना अनुकूलता र सम्भावनालाई सफलता र नतिजामा परिणत गरौँ। समयले जस्ता सुकै अवसर सृजना गरे पनि खाना र सम्मानमा प्रविधिले खुसी पार्न सक्दैन। देश बनाउनका लागि अरूका सापटी योजना उधारोमा नकिनौँ बरु यसै ठिक छ।