मानव सभ्यताको विकाससँगै प्रविधिले जीवनका हरेक क्षेत्रमा परिवर्तन ल्याउँदै आएको छ।
कुनै समय हातले गरिने काम मेसिनले गर्न थाल्यो, औद्योगिक क्रान्तिले उत्पादनको स्वरूप फेरियो र कम्प्युटर तथा इन्टरनेटले संसारलाई एकै सञ्जालमा जोडिदियो।
प्रत्येक नयाँ प्रविधिले मानिसको जीवनलाई सहज बनायो, नयाँ सम्भावना सिर्जना गर्यो र पुराना कार्यपद्धतिलाई विस्थापित पनि गर्यो। तर अहिलेको कृत्रिम बौद्धिकता अर्थात् एआईले ल्याएको परिवर्तन अघिल्लाभन्दा फरक छ। यसपटक चुनौती मानिसको शारीरिक श्रममा मात्र सीमित छैन, उसको विचार, कल्पना, संवेदना र सिर्जनशीलतामै पुगेको छ।
कुनै समय कविता लेख्न, कथा सिर्जना गर्न, चित्र बनाउन वा संगीत रचना गर्न वर्षौँको अभ्यास, अध्ययन र जीवनअनुभव आवश्यक पर्थ्यो। एउटा राम्रो रचना जन्मिनुअघि लेखकले अनेकौँ पुस्तक पढ्नुपर्थ्यो, समाज बुझ्नुपर्थ्यो र आफ्ना अनुभूतिलाई शब्दमा ढाल्नुपर्थ्यो।
आज भने केही शब्द लेखेर केही सेकेन्डमै कविता, कथा, निबन्ध, चित्र वा संगीत तयार गर्न सकिन्छ। यसले प्रविधिको असाधारण क्षमता देखाएको छ, तर सँगै एउटा गम्भीर प्रश्न पनि जन्माएको छ। सिर्जनाको मूल्य अब कहाँ रहन्छ। वर्षौँको साधना र केही सेकेन्डको उत्पादनलाई एउटै तराजुमा राखेर मूल्याङ्कन गर्न मिल्छ कि मिल्दैन।
आज बिहान उठेदेखि राति सुत्दासम्म हाम्रो दैनिक जीवन कुनै न कुनै रूपमा एआईसँग जोडिएको छ।
मोबाइलमा आउने सुझाव, सामाजिक सञ्जालका सामग्री, अनुवाद, खोज, लेखन, तस्बिर सम्पादन र भिडियो निर्माणसम्म एआईको प्रभाव विस्तार हुँदै गएको छ। यसले कामलाई छिटो र सहज बनाएको छ। तर सुविधा बढ्दै जाँदा मानिस आफैँ सोच्ने, खोज्ने र सिर्जना गर्ने बानीबाट टाढिँदै जाने खतरा पनि बढिरहेको छ। जब हरेक प्रश्नको उत्तर तयार अवस्थामा उपलब्ध हुन्छ, तब उत्तर खोज्ने धैर्य, अध्ययन गर्ने बानी र गहिरो चिन्तन क्रमशः कमजोर हुन थाल्छ।
यसको प्रभाव हाम्रो पठन संस्कृतिमा पनि देखिन थालेको छ। कुनै बेला शब्दको अर्थ खोज्न शब्दकोश पल्टाइन्थ्यो, विषय बुझ्न पुस्तकालय पुगिन्थ्यो र पत्रपत्रिकाका विचार लेखहरू ध्यान दिएर पढिन्थे। अहिले धेरैका लागि मोबाइलको स्क्रिन नै ज्ञानको प्रमुख स्रोत बनेको छ। माध्यम परिवर्तन हुनु स्वाभाविक हो, तर गहिरो अध्ययनको स्थान सतही सूचनाले लिन थालेपछि चिन्तनको स्तरमा पनि असर पर्छ। केही मिनेटको भिडियो वा केही हरफको सारांशले पुस्तक पढेर प्राप्त हुने बौद्धिक आनन्द र अनुभवको स्थान लिन सक्दैन। पढ्ने संस्कृतिको ह्राससँगै सिर्जनशीलताको आधार पनि कमजोर बन्दै जान्छ।
साहित्य र कलाको क्षेत्रमा यसको प्रभाव अझ स्पष्ट देखिन्छ। कुनै लेखकले महिनौँ लगाएर तयार पारेको पुस्तक र एआईले केही सेकेन्डमा उत्पादन गरेको सामग्री एउटै डिजिटल बजारमा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रकाशन, विज्ञापन, सामग्री निर्माण र डिजाइनजस्ता क्षेत्रमा लागत घटाउने उद्देश्यले एआईको प्रयोग तीव्र रूपमा बढिरहेको छ। यसले सिर्जनात्मक श्रमको मूल्यलाई नयाँ चुनौती दिएको छ।
जब बजारको प्राथमिकता गुणस्तरभन्दा गति र सस्तो उत्पादनमा केन्द्रित हुन्छ, तब मौलिक सिर्जनाले आफ्नो उचित स्थान गुमाउने जोखिम बढ्छ। यसरी सिर्जनात्मक श्रमलाई समय, अध्ययन र अनुभूतिबाट जन्मिएको कृतिका रूपमा नभई सजिलै प्रतिस्थापन गर्न सकिने वस्तुका रूपमा हेर्न थालिन्छ।
नेपाल पनि यस परिवर्तनबाट अलग छैन। विद्यालय, विश्वविद्यालय, सञ्चारमाध्यम, प्रकाशन गृह र डिजिटल सामग्री निर्माण गर्ने संस्थाहरूमा एआईको प्रयोग दिनप्रतिदिन बढिरहेको छ।
विद्यार्थीले गृहकार्यदेखि अनुसन्धानसम्म एआईको सहारा लिन थालेका छन्। कतिपय अवस्थामा यसले सिकाइलाई सहज बनाएको छ, तर मौलिक अध्ययन र स्वतन्त्र चिन्तन कमजोर बनाउने जोखिम पनि उत्तिकै बढेको छ। यदि नयाँ पुस्ताले खोज, अध्ययन र विश्लेषणभन्दा तयार सामग्रीमा निर्भर हुने बानी बसाल्यो भने त्यसको असर भविष्यको बौद्धिक समाजमा देखिनु स्वाभाविक हुनेछ।
अर्कोतर्फ, एआईको विस्तारसँगै विश्वासको संकट पनि गहिरिँदै गएको छ। आज कुनै राम्रो लेख, प्रभावशाली चित्र वा संगीत सार्वजनिक हुँदा धेरैको पहिलो प्रतिक्रिया हुन्छ, 'कतै यो एआईले त बनाएको होइन ?' यो प्रश्न सामान्य जिज्ञासा मात्र होइन, स्रष्टाप्रतिको विश्वास कमजोर हुँदै गएको संकेत पनि हो।
वर्षौँको अध्ययन, अनुभव र साधनाबाट जन्मिएको मौलिक सिर्जनालाई समेत शङ्काको दृष्टिले हेरिनु आफैँमा चिन्ताको विषय हो। सिर्जना अब केवल गुणस्तरका आधारमा मात्र होइन, त्यसको स्रोतका आधारमा पनि मूल्याङ्कन हुन थालेको छ। यसले वास्तविक स्रष्टाको आत्मविश्वास र सम्मानमा समेत असर पुर्याइरहेको छ।
यससँगै बौद्धिक सम्पत्तिको प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ। एआई प्रणालीहरू लाखौँ पुस्तक, लेख, चित्र र अन्य सिर्जनात्मक सामग्रीबाट सिकेर विकसित भएका हुन्छन्। ती सामग्रीका वास्तविक स्रष्टाले आफ्नो कृतिको प्रयोगबारे जानकारी नपाउने वा उचित श्रेय र प्रतिफल नपाउने अवस्था सिर्जना भयो भने त्यसले सिर्जनात्मक क्षेत्रलाई दीर्घकालीन रूपमा कमजोर बनाउन सक्छ।
कुनै पनि समाजमा लेखक, कलाकार र अनुसन्धानकर्ताको श्रम सुरक्षित भएन भने नयाँ सिर्जना गर्ने उत्साह पनि क्रमशः घट्दै जान्छ। त्यसैले प्रविधिको विकाससँगै बौद्धिक सम्पत्तिको संरक्षण र स्रष्टाको अधिकार सुनिश्चित गर्ने स्पष्ट नीति अपरिहार्य बनेको छ।
सिर्जनात्मक क्षेत्र आर्थिक रूपमा पनि चुनौतीपूर्ण मोडमा पुगेको छ। धेरै प्रकाशन संस्था, विज्ञापन कम्पनी र डिजिटल प्लेटफर्मले कम लागतमा धेरै सामग्री उत्पादन गर्न सकिने भएकाले एआईतर्फ आकर्षित हुन थालेका छन्।
यसले नयाँ लेखक, अनुवादक, चित्रकार, सम्पादक र सामग्री निर्माता सबैलाई प्रत्यक्ष असर पुर्याउन सक्छ। सिर्जनात्मक कामलाई केवल खर्च घटाउने माध्यमका रूपमा हेरियो भने गुणस्तरीय र मौलिक कृतिको उत्पादन क्रमशः घट्ने जोखिम रहन्छ। बजारलाई तत्काल सस्तो सामग्री त प्राप्त होला, तर दीर्घकालमा समाजले मौलिक विचार र सिर्जनात्मक नेतृत्व गुमाउन सक्छ।
यद्यपि यसको अर्थ एआईको विरोध गर्नु आवश्यक छ भन्ने होइन। प्रविधि आफैमा न राम्रो हुन्छ, न नराम्रो। त्यसको प्रभाव प्रयोग गर्ने मानिसको चेतना र उद्देश्यले निर्धारण गर्छ। अनुसन्धान, शिक्षा, स्वास्थ्य, विज्ञान र प्रशासनजस्ता क्षेत्रमा एआईले उल्लेखनीय योगदान पुर्याइरहेको छ।
लेखक र अनुसन्धानकर्ताका लागि पनि यसले सन्दर्भ खोज्न, तथ्य व्यवस्थित गर्न वा भाषागत त्रुटि सच्याउन सहयोग गर्न सक्छ। तर सहयोगी र विकल्पबीचको भिन्नता बुझ्न आवश्यक छ। एआईले सहजीकरण गर्न सक्छ, तर अनुभव, संवेदना, नैतिक जिम्मेवारी र जीवनदृष्टिको स्थान लिन सक्दैन।
सिर्जना केवल शब्दहरूको संयोजन होइन। त्यो मानिसले देखेको समाज, भोगेको समय, अनुभूत गरेको पीडा, महसुस गरेको प्रेम र बुझेको यथार्थको अभिव्यक्ति हो।
एउटै घटनालाई दुई लेखकले फरक ढङ्गले प्रस्तुत गर्नुको कारण उनीहरूको जीवनअनुभव फरक हुनु हो। यही अनुभवले साहित्यलाई जीवन्त बनाउँछ, कलालाई आत्मा दिन्छ र विचारलाई गहिराइ प्रदान गर्छ। मेसिनले भाषाको संरचना सिक्न सक्छ, शैलीको अनुकरण गर्न सक्छ, तर मानिसले जस्तो जीवन भोगेर त्यसलाई अर्थ दिन सक्दैन।
यसैले एआईको युगमा हाम्रो सबैभन्दा ठूलो जिम्मेवारी प्रविधिसँग युद्ध गर्नु होइन, सिर्जनशीलतालाई अझ बलियो बनाउनु हो। विद्यालय र विश्वविद्यालयमा आलोचनात्मक सोच, अध्ययन संस्कृति र मौलिक लेखनलाई प्रोत्साहन दिनुपर्छ। सञ्चारमाध्यम र प्रकाशन संस्थाले पनि मौलिक सिर्जनाको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ। साथै, राज्यले बौद्धिक सम्पत्तिको संरक्षण, एआईको नैतिक प्रयोग र स्रष्टाको अधिकार सुनिश्चित गर्ने स्पष्ट नीति निर्माण गर्न ढिलाइ गर्नु हुँदैन।
अन्ततः समाजको प्रगति केवल अत्याधुनिक प्रविधिको विकासले मात्र मापन हुँदैन। त्यसको वास्तविक मापन सिर्जनात्मक चेतना, बौद्धिक स्वतन्त्रता र सांस्कृतिक समृद्धिले पनि हुन्छ।
प्रविधि जति विकसित भए पनि त्यसलाई सही दिशामा उपयोग गर्ने विवेक मानिसमै निर्भर रहन्छ। त्यसैले एआईको युगमा सबैभन्दा ठूलो चुनौती मेसिनभन्दा छिटो सिर्जना गर्नु होइन, आफ्नो मौलिकता, संवेदना र मानवीय चेतनालाई जोगाइराख्नु हो। किनभने मेसिनले शब्द लेख्न सक्छ, चित्र बनाउन सक्छ र संगीत पनि सिर्जना गर्न सक्छ, तर जीवन भोगेर त्यसलाई अर्थ दिने क्षमता आज पनि मानिससँग मात्रै छ। यही कारण एआईको तीव्र विस्तारसँगै स्रष्टाको सम्मान, मौलिकता र सिर्जनशीलताको संरक्षण आजको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी बनेको छ।