ठिक दुई वर्षअघि ‘हाँगामा बसेर सिन्दुरे आँपको स्वाद लिएका ती दिनहरू’ शीर्षकको मेरो लेख प्रकाशन भएको थियो। गाउँमा कुन याममा के फल्छ-पाक्छ भन्ने कुराको सम्झना टाढा बस्दा पनि अड्कल हुने गर्छ। मलाई गाउँमा आँप पाक्ने यस यामको सम्झना नआउने कुरा हुँदैन।
२०३५ सालअघि हाम्रा पिताजीले प्युठानको सदरमुकाम खलंगाबाट आँप, अब्बा, कागतीको एक-एक कलमी बिरूवा ल्याएर आँगन छेउको खाली जग्गामा रोप्नुभएको मलाई राम्ररी सम्झना छ। असारमा रोपिएको सो कलमी आँप माघको आधाआधीतिर फुलेको थियो।
हाम्रो गाउँघरमा श्रीपञ्चमी आसपासमा आँपले मुजुरा लगाउँछ अर्थात् फुल्छ। कलमी आँपको डेढ दुई फिटको सानो बिरूवा फुलेको देखेर हामी अचम्ममा परेका थियौं। आँपको बोटले ठूलो आकार लिएपछि मात्र फुल्छ भन्ने हाम्रो सोचाइ केवल सोचाइ मात्र रह्यो।
त्यति सानो आँपको बोटमा फूल लागेपछि गाउँका धेरै मान्छेले निकै चासोपूर्वक कलमी आँपको सो बोटलाई हेरेर अचम्म परेको कुरा मैले बिर्सेको छैन। रोपेको साल कलमी आँप फुल्यो, तर अम्बा अर्थात् बेलौती र कागती भने फुल्न दुई/चार वर्ष लाग्यो। कागतीलाई माकुराको जालोले निकै अवरोध गर्ने गरेको थियो। जालो हटाए पनि माकुराले पटक पटक जालो लगाइहाल्थ्यो।
अम्बा फलेपछि फलको आकार भने रैथाने अम्बाको भन्दा नितान्त फरक र ठूलो आकार अनि भद्दा स्वरूपको हुन्थ्यो। फलको स्वरूप आकर्षक नदेखिए पनि एक दाना एक पाउदेखि आधा केजीसम्मको वजनमा फल्ने गर्दथ्यो। सो अम्बाको भित्री भागमा खासै गेडा देखिँदैनथ्यो। गुदीभित्रको गर्भमा सानो खाली अंशमा थोरै अनौठो खैरो रङको वस्तु देखिन्थ्यो भने कुनै कुनै दानामा दुई/चार वटा स्वस्थ गेडा भेटिन्थ्यो।
कलमी कागतीले भने फल दिन सकेन। २०४० सालमा काठमाडौं आउनुअघि मैले घरको पछाडि पट्टिको करेसाबारीको माथितिर कान्लामा एउटा कागतीको बिरूवा रोपेकोमा त्यो राम्रोसँग फल्यो। कलमी आँपको नामले चिनिने आँपको कोया मैले २०४० सालअघि अलिक छेउमा रोपेकोमा केही वर्षमा फलेको थियो, तर दाना कलमी आँपको भन्दा सानो आकारमा फल्यो। कलमी आँपभन्दा अलिक अमिलो हुने सो आँपको रूखको आकार कलमी आँपको भन्दा ठूलो छ।
विशेष गरी असारको तेस्रो सातादेखि मेरो जन्मथलो रोल्पाको खुंग्रीमा आँप पाक्न सुरू गर्छ। समुद्र सतहबाट ७०० मिटरदेखि ३५०० मिटरसम्मको उचाइमा रहेको रोल्पामा प्राकृतिक विविधमा पाइन्छ। रोल्पाका कुनै ठाउँमा आँप फल्छ, सुन्तला फल्दैन भने कुनै ठाउँमा सुन्तला फल्छ तर आँप फल्दैन। रोल्पामा आँप फल्ने स्थानहरू कमै छन्।
रोल्पाको सबैभन्दा समथर र गर्मी हुने ठाउँ नै हाम्रो गाउँ हो। साबिक खुंग्री गाविसमा रहेको धारापानी मेरो जन्मथलो हो। त्यहाँ रहेका आँपका बोटका नामहरू आकार र स्वादका आधारमा राखिएका थिए। आँपका नाम सिन्दुरे आँप, लोहोरे आँप, डल्ले आँप, जगल्टे आँप, नुनढिके आँप, कल्लीकोसे आँप, चिनी आँप, मिठी आँप, बम्बै आँप, चुका आँप, बान्धे आँप, दियाले आँप, सुपारे आँप, भदौरे आँप राखिएका थिए।
ती आँपका बोटहरूमध्ये अहिले कतिपय ढालिए दाउरा र घर निर्माण गर्न काठपात प्रयोजनका लागि। हाम्रो धारापानीमा पाकेको आँप सकिनै लाग्दा अलिक उचाइमा रहेको धनचौरमा पाक्न थाल्छ भने धनचौरमा पाकेर सकिनै लाग्दा त्योभन्दा उचाइमा रहेको खुंग्रीकोटमा पाक्छ। यसरी हाम्रो गाउँमा असारको तेस्रो हप्तादेखि भदौसम्म आँप खान पाइन्छ।
हाम्रो गाउँमा फल्ने अन्य फलफूलहरूमा कालिगेडी वा करौँती वा कालोचुत्रो, बयर, कमै, भलायो, प्यार अर्थात् सानो भलायो, आरु, अनार वा दारिम, बेलौती वा अम्बा हुन्। भेट्नातिर चुच्चो परेको र सानो आकारको रैथाने अम्बा अरू अम्बाको तुलनामा मीठो र सुगन्धित हुन्छ।
तिँदू वा तिँजुका कुरा
तिँदूको बोट उम्रिएर हुर्किएको धेरै वर्षपछि मात्र फल्ने एक फल हो। काँचोमा निकै टर्रो र पाकेपछि मीठो अनि स्वादिलोका साथै सुगन्ध समेत आउने रैथाने फल हो। यो फल काठमाडौँको बजारमा देखिँदैन। सानो छँदा हामी काँचो तिँदू फोडेर त्यसभित्रको भातको सिता जस्तो देखिने गेडा खाने गर्थ्यौँ। पाकेको तिँदूको गेडालाई टुक्र्याएर सुपारीको रूपमा मुखमा राखिरहन्थ्यौँ।
चिउरी
हाम्रो गाउँमा वैशाखमा पाक्ने वैशाखे चिउरी र साउनमा पाक्ने साउने चिउरीका बोट छन्। जेठ र असारमा पाक्ने चिउरीका बोटका नाम भने राखिएको छैन। कुनै पनि फलफूल मध्य यामको भन्दा सुरुको र अन्तिम यामको मीठो लाग्ने गर्छ, सायद मुस्किलले उपलब्ध हुने भएर होला।
भुइँ काफल
झट्ट हेर्दा काफल झैँ देखिने र भुइँमा फल्ने यस फललाई कसैले भुइँ काफल त कसैले भुइँ ऐसेलु पनि भन्ने गरेको पाइन्छ। यो खासै गुलियो हुँदैन, खल्लो हुन्छ। गाउँघरमा यो खाएमा गर्मी हट्छ भनिन्छ। यो स्थानीय वा रैथाने स्ट्रबेरी हो।
काफल अन्तबाट बेच्न ल्याइने
उहिले हाम्रो गाउँमा गाडीको सुविधा नहुँदा प्युठानको स्वर्गद्वारीमा रहेको खाल नामको ठाउँबाट काफल बेच्न ल्याउँथे। चामल, धान, मास लगायतका अनाज र दलहनसँग बराबर वा दोब्बर हिसाबले साटिन्थ्यो। यस्तो कारोबारलाई बार्टर सिस्टम अर्थात् वस्तु विनिमय प्रणाली भनिन्छ। लेकतिरबाट सिमीको दाल र निगुरो ल्याउनेले चामल लैजाने चलन थियो।
तित्री वा इमली
तित्री वा इमली पनि हाम्रो गाउँमा पाइने एक फल हो। इमली कसै-कसैको घर छेउमा रहेको बोटमा फलेका हुन्थे। यसको पात पनि अमिलो हुन्छ, किशोरावस्थामा हामीले यसको पात चपाएर खाने गर्दथ्यौँ। काठमाडौँको एक ठुलो व्यापारिक केन्द्रमा मैले पहिलो पटक थाइल्यान्डको इमली वा तित्री किन्दा आधा किलोको चार सय पचास खर्चेको थिएँ। सो आयातित इमली हाम्रो गाउँको जस्तो अमिलो नभएर केही गुलियो थियो। पोहोर र यसपालि मैले तरकारी थोक विक्री केन्द्रबाट इमली किलोको तीन सयमा किनेँ।
तिमिलो वा निमारो
अंग्रेजीमा फिग र हिन्दीमा अन्जिर भनिने फललाई हाम्रो भेगतिर तिमिलो भनिन्छ भने काठमाडौँ र आसपासका ठाउँहरूमा निमारो भनिन्छ। तिमिलो हाम्रो गाउँतिर दुई किसिमको हुन्छ। एउटा सानो दाना हुने र पहेँलो भएर पाक्ने, त्यसको आकार सुपारी जत्रो हुन्छ। अर्को तिमिलो भने कागती जत्रो र दाना गुलाबी रङको भएर पाक्ने हुन्छ। गाई-भैँसीलाई सानो तिमिलोको घाँस खुवाइन्छ। भरखर ब्याएको गाईभैँसीका लागि उपयुक्त ठानिने सानो तिमिलोको घाँस काट्दा दूध जस्तो चोप निस्कन्छ। सायद दूध जस्तो चोप आउने हुँदा त्यो दुधालु डालेघाँसमा गनिन्छ।
ठूलो तिमिलो हाम्रो गाउँघरका पाखा-कान्लामा फलेर पाकेर भुइँमा झरेर त्यसै खेर गइरहेको हुन्छ, यो पाकेको समयमा रुखबाट टिपेर कसै-कसैले मात्र चासो दिएर खाने गर्छन्। यो बाहिर आकर्षक गुलाबी रङको देखिन्छ भने भित्र हेर्दा महको ढिक्का जस्तो देखिन्छ, जुन गुलियो र स्वादिलो हुन्छ।
यता काठमाडौंमा एउटा अन्जिर अर्थात् तिमिलोको सुकुटी एउटाको तीस-पैँतीस रुपैयाँ पर्छ, जुन आयातित हो। गाउँघरमा पाइने यस्ता फलतिर हामीले खासै चासो दिएका हुँदैनौं, नजिकको तीर्थ हेला भने झैँ।
हाम्रो सियालीपाटो नामको बारीको कुनामा एउटा चार/पाँच फिट अग्लो तिमिलोको बोट थियो, त्यस बोटमा मैले एक दिन गुँडमा जुरेलोको फुल देखेको थिएँ दुई/तीन वटा। तीन/चार दिनपछि सो फूल हेर्न जाँदा त्यहाँ सानो खालको सर्प गुँडुल्किएर बसेको रहेछ, झन्डै सर्पको थुतुनो र मेरो नाक आमने सामने भएको थियो। केही बेर मेरो मुटु नै ढुकढुक भएर खुट्टा नै काँप्ने अवस्था आएको थियो। सर्पदंशका कारण हाम्रो गाउँमा केहीले ज्यान गुमाइसकेका छन्। अति विषालु सर्प पनि पाइन्छ हाम्रो गाउँमा।
रूख कटहर
हाम्रो गाउँमा रुख कटहरका बोटहरू पनि छन्। बाटो बिस्तारको क्रममा विष्टटोलमा बाटोको बिचमा परेको एउटा कटहरको बोट पछिसम्म पनि थियो। हाम्रो माहिला बुवाको घरमा रहेको कटहरको तरकारी निकै खाइयो र पाकेपछि फलको रूपमा पनि खाने काम भयो। पछि उहाँले सो घर र बारी सबै बिक्री गरेर परिवारै दाङमा बसाइ सर्यो। तर पनि सो घरजग्गा किन्नेबाट अहिले पनि कटहर पाइन्छ कोसेलीको रूपमा। हाम्रो गाउँमा भुइँकटहर रोप्ने चलन छैन।
नासपाती
हामी सानो छँदा साउन लागेपछि कसै-कसैको घर छेउमा नासपाती फलेको र खानका लागि परिपक्व भएको बखत एक/दुइटा पाउनका लागि घरमा रहेका मान्छेलाई आग्रह गर्दथ्यौँ। मागेपछि नपाइने भन्ने कुरा हुँदैनथ्यो। जसले पनि बालबालिकालाई माया गरेर केही न केही खान दिने चलन थियो गाउँमा। गाउँलेहरू धर्म पालना गर्न हिचकिचाउँदैन थिए। पछिल्ला दिनहरूमा गाउँघरमा पहिले झैँ धर्म पालना गर्ने सोच घट्दै गएको पाइन्छ।
२०३३/३४ सालमा आँप उपलब्ध नहुने स्थानका मान्छेहरूले हाम्रो गाउँबाट तीन/चार वटा आँपको एक रुपैयाँको दरले किनेर लैजान्थे। केरा पनि दर्जनको दुई रुपैयाँमा बिक्री हुन्थ्यो। हाम्रो गाउँ सुन्तला नफल्ने ठाउँ भएकोले सदरमुकाम लिबाङ गएको बखत एक रुपैयाँको तीन/चार वटा सुन्तला किनेर ल्याउँथ्यौँ। त्यस्ता मिठा र अति नै रसदार सुन्तला काठमाडौँ सहरमा पाउन मुस्किल छ।
त्यस बखत हाम्रो घरभित्र कहिल्यै पनि पाकेको केराको अभाव हुँदैनथ्यो। पाकेर बढी भएको केरालाई काटेर चाना बनाई ढुंगेछानाको धुरीमाथि आमाले सुकाउनुहुन्थ्यो। सुकेपछि केराको चाना अति नै मिठो लाग्दथ्यो। केरा नहुने ठाउँमा जाँदा कोसेलीको रूपमा केराको सुकाइएको चाना लिएर जाने चलन थियो गाउँमा।