चितवनमा जंगली ध्रुवे हात्तीको आक्रमणबाट एक आमा र उनका छोराको दुःखद मृत्यु भएको घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।
यो केवल दुई नागरिकको मृत्यु मात्र होइन, मानव–वन्यजन्तु सम्बन्धमाथि पुनः गम्भीर प्रश्न उठाउने घटना पनि हो।
मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, अब हाम्रो बहस भावनामा होइन, समाधानमा केन्द्रित हुनुपर्छ।
घटनापछि सामाजिक सञ्जाल र सार्वजनिक बहसमा ध्रुवे हात्तीलाई तत्काल मार्नुपर्ने माग तीव्र रूपमा उठेको छ। केहीले यसलाई मानव सुरक्षाको एकमात्र उपायका रूपमा प्रस्तुत गरेका छन्। तर अर्को पक्षले भने वैज्ञानिक अध्ययन, कानुनी प्रक्रिया र दीर्घकालीन संरक्षणका आधारमा मात्र यस्तो निर्णय हुनुपर्ने तर्क गरिरहेको छ।
यहीँबाट एउटा मूल प्रश्न उठ्छ। कुनै जङ्गली जनावरले बारम्बार मानवसँग द्वन्द्वमा परेपछि उसको अन्तिम गन्तव्य गोली नै हुनुपर्छ त?
हात्ती पृथ्वीका सबैभन्दा बुद्धिमान, सामाजिक र स्मरणशक्ति बलिया स्तनधारीमध्ये एक हो। प्रजनन कालमा भाले हात्तीमा देखिने ‘मात’ (Musth) पूर्णतः प्राकृतिक जैविक अवस्था हो। यस अवधिमा टेस्टोस्टेरोनको मात्रा अत्यधिक बढ्ने भएकाले केही समय उसका गतिविधि बढी आक्रामक हुन सक्छन्। तर यो स्थायी अवस्था होइन। त्यसैले कुनै पनि घटनाको मूल्याङ्कन गर्दा तत्कालको आक्रोशभन्दा वैज्ञानिक तथ्यलाई प्राथमिकता दिनुपर्छ।
नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको संरक्षणलाई कानुनी आधार दिएको छ। तर मानव जीवनमा तत्काल गम्भीर जोखिम उत्पन्न भएको अवस्थामा सम्बन्धित निकायले आवश्यक नियन्त्रणात्मक उपाय अपनाउन सक्ने व्यवस्था पनि रहेको छ। यसको अर्थ, कुनै पनि वन्यजन्तुलाई मार्ने निर्णय पहिलो विकल्प होइन, अन्तिम विकल्प हुनुपर्छ। त्यो पनि वैज्ञानिक मूल्यांकन, जोखिम विश्लेषण, कानुनी प्रक्रिया र विज्ञहरूको सिफारिसपछि मात्र।
विश्वका धेरै देशले पनि यही सिद्धान्त अपनाएका छन्।
भारतमा मानव–हात्ती द्वन्द्व दक्षिण एसियाकै ठूलो चुनौतीमध्ये एक हो। त्यहाँ धेरै राज्यहरूले प्रारम्भिक चेतावनी प्रणाली, रेडियो कलरिङ, समुदायमा सूचना प्रवाह, हात्ती करिडोर संरक्षण र द्रुत उद्धार टोलीमार्फत द्वन्द्व न्यूनीकरणलाई प्राथमिकता दिएका छन्। अत्यधिक जोखिम सिर्जना गर्ने केही हात्तीलाई नियन्त्रणमा लिने वा स्थानान्तरण गर्ने प्रयास गरिए पनि मार्ने निर्णय अत्यन्त दुर्लभ र अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गरिन्छ।
श्रीलंकामा पनि प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मानिस र हात्ती दुवैले ज्यान गुमाउने गरेका छन्। त्यहाँको अनुभवले देखाएको छ कि केवल हात्ती मारेर समस्या समाधान हुँदैन। बासस्थानको संरक्षण, मानव गतिविधिको उचित व्यवस्थापन र समुदायको सहभागिताविना द्वन्द्व फेरि दोहोरिन्छ।
केन्यामा संरक्षणलाई पर्यटनसँग जोडिएको राष्ट्रिय सम्पत्तिका रूपमा हेरिन्छ। त्यहाँ पनि जोखिमयुक्त हात्तीको निगरानी, स्थानान्तरण, समुदायसँग सहकार्य, प्रविधिमा आधारित अनुगमन र क्षतिपूर्ति प्रणालीमार्फत सहअस्तित्वलाई सुदृढ बनाउने प्रयास गरिएको छ।
यी सबै अनुभवले एउटा साझा सन्देश दिन्छन् । मानव–हात्ती द्वन्द्वको दिगो समाधान गोली होइन, प्रभावकारी व्यवस्थापन हो।
नेपालमा पनि यही दृष्टिकोण आवश्यक छ। चितवन, बर्दिया, कोशी टप्पु वा अन्य संरक्षित क्षेत्र आसपास मानव बस्ती विस्तार, वन क्षेत्रको खण्डीकरण, जैविक करिडोरमा अवरोध तथा वन्यजन्तुको प्राकृतिक आवतजावतमा आएको परिवर्तनले द्वन्द्व बढ्दै गएको छ। यस्तो अवस्थामा एउटा हात्तीलाई हटाएर मात्र समस्या समाधान हुँदैन। मूल कारण समाधान गर्न सकिएन भने अर्को हात्ती फेरि त्यही स्थानमा पुग्न सक्छ।
स्थानीय समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। हात्तीको गतिविधिबारे समयमै सूचना आदानप्रदान, सामुदायिक निगरानी, जोखिमयुक्त समयमा रातिको आवतजावत व्यवस्थापन, सुरक्षित पूर्वाधार निर्माण तथा निकुञ्ज प्रशासनसँग नियमित समन्वयले धेरै घटना रोक्न सकिन्छ। सहअस्तित्वको अर्थ वन्यजन्तुलाई मात्र बदलिन भन्नु होइन। मानिसले पनि जोखिम कम गर्ने व्यवहार अपनाउनु हो।
सरकारले पनि अब परम्परागत प्रतिक्रियात्मक दृष्टिकोणभन्दा अघि बढ्नुपर्छ। प्रारम्भिक चेतावनी प्रणाली, ड्रोन तथा जिपीएसमार्फत निगरानी, हात्ती करिडोर संरक्षण, वैज्ञानिक अनुसन्धान, समुदायमा जनचेतना, उद्धार तथा द्रुत प्रतिक्रिया टोली र प्रभावकारी क्षतिपूर्ति प्रणालीमा लगानी बढाउनु आवश्यक छ। संरक्षण र मानव सुरक्षालाई एउटै नीतिको दुई पाटा मान्ने समय आएको छ।
ध्रुवे हात्ती आज विवादको केन्द्रमा छ। तर वास्तविक प्रश्न एउटै हात्तीको जीवन वा मृत्यु होइन। प्रश्न नेपालको संरक्षण नीतिको परिपक्वताको हो। हामी प्रत्येक दुःखद घटनापछि भावनामा बगेर निर्णय गर्छौं कि वैज्ञानिक प्रमाण, कानुनी प्रक्रिया र दीर्घकालीन राष्ट्रिय हितका आधारमा समाधान खोज्छौं?
नेपाल विश्वमै वन्यजन्तु संरक्षणको सफल उदाहरणका रूपमा चिनिन्छ। एकसिङ्गे गैँडा, बाघ र अन्य दुर्लभ प्रजातिको संरक्षणमा हासिल गरेको सफलता हाम्रो गौरव हो। अब यही सफलतालाई मानव–वन्यजन्तु सहअस्तित्वको क्षेत्रमा पनि विस्तार गर्ने चुनौती हाम्रो सामु छ।
मानिसको जीवन सर्वोपरि हो। त्यसमा कुनै विवाद छैन। तर प्रकृतिको सन्तुलन जोगाउँदै मानव सुरक्षा सुनिश्चित गर्ने नीति नै सभ्य समाजको पहिचान हो। ध्रुवे हात्तीको भविष्यभन्दा ठूलो प्रश्न हाम्रो निर्णय गर्ने शैली हो। हामी प्रतिशोध रोज्छौँ कि विवेक ? हत्या रोज्छौँ कि सहअस्तित्व ?
त्यसको उत्तरले केवल एउटा हात्तीको होइन, नेपालको संरक्षण दर्शनको भविष्य निर्धारण गर्नेछ।