सन् २०२५ बाट हेर्दा क्यानेडियन सरकारले विद्यार्थीको संख्यामा केही सीमा (क्याप) लगाएको देखिन्छ। त्योभन्दा अघि ठूलो संख्यामा विद्यार्थी गएका थिए।
त्यसपछि विद्यार्थीका लागि आवास (हाउजिङ) को समस्या देखिएकाले सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा सीमा तोकेको हो।
सन् २०२५ देखि करिब १ लाख ५५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन सकिने व्यवस्था गरिएको छ। नेपालका लागि छुट्टै कोटा तोकिएको छैन, यो विश्वव्यापी सीमा हो। ठूलो जनसंख्या भएका देशबाट धेरै विद्यार्थी जानु स्वाभाविक हो भने हाम्रो जस्तो देशबाट तुलनात्मक रूपमा कम विद्यार्थी जानु पनि स्वाभाविक हो।
अहिलेको अवस्थामा विद्यार्थी भिसाका लागि आवेदन दिनुअघि केही कुरामा राम्रो तयारी गर्नु आवश्यक छ। सबैभन्दा पहिले कुन प्रदेश, कुन सहर, कुन विश्वविद्यालय र कुन कार्यक्रम रोज्ने भन्ने विषयमा पर्याप्त अनुसन्धान गरेर मात्रै निर्णय गर्नु राम्रो हुन्छ। साथीभाइको लहलहैमा मात्र लागेर जाँदा पछि दुःख पर्न सक्छ।
विशेषगरी भर्खर १२ कक्षा पास गरेका विद्यार्थी मानसिक र शारीरिक रूपमा पूर्ण परिपक्व भइसकेका हुँदैनन्। उनीहरू भावनात्मक रूपमा पनि बलिया हुनुपर्छ। आफूलाई सहयोग गर्ने नजिकको कोही नभए अझ व्यवस्थित योजना बनाएर जानुपर्छ।
पर्याप्त अनुसन्धान गरियो भने क्यानडा पुगेपछि कम्तीमा ५–६ महिनासम्म जागिर नपाए पनि आफूलाई अघि बढाउन सक्ने आर्थिक र मानसिक तयारी हुनुपर्छ। त्यहाँ पुगेपछि जुनसुकै प्रकारको काम गर्न पनि तयार हुनुपर्छ।
कुनै विशेष सीप नभए पनि त्यहाँको मौसम लगायत अन्य परिस्थितिसँग जुध्न सक्ने क्षमता आवश्यक हुन्छ। परिवारबाट टाढा बस्नुपर्ने, नेपालमा कडा परिश्रम गर्ने बानी नपरेको अवस्था तथा नयाँ वातावरणका कारण धेरै विद्यार्थी आत्तिने र काम नपाउँदा मानसिक रूपमा तनावमा पर्ने गरेका छन्।
कस्ता विद्यार्थी क्यानडा जान सक्छन् भन्ने जिज्ञासा आउन सक्छ। क्यानडा जुनसुकै तहका विद्यार्थी जान सक्छन्। तर तुलनात्मक रूपमा स्नातक (ब्याचलर) वा स्नातकोत्तर (मास्टर्स) गरेका विद्यार्थीलाई सहज हुन्छ। उनीहरू मानसिक रूपमा पनि परिपक्व हुने भएकाले विभिन्न प्रकारका काम गर्न सहज हुन्छ।
१२ कक्षा पास गरेका विद्यार्थी पनि जान सक्छन्, तर उनीहरूले थप तयारी गर्न आवश्यक हुन्छ। न्यूनतम भाषा योग्यता, आर्थिक क्षमता तथा आफू त्यहाँ गएर के गर्न सक्छु भन्ने स्पष्ट योजना हुनुपर्छ।
क्यानडा जाने विद्यार्थीले कम्तीमा ६ महिनाका लागि आर्थिक जोहो गरेर जानु उचित हुन्छ। त्यो अवधिसम्म काम नपाए पनि आफ्नो खर्च धान्न सक्ने तयारी हुनुपर्छ। त्योभन्दा अघि काम पाइयो भने राम्रो हो, तर गएको पहिलो महिनामै काम पाइहाल्छ भन्ने अपेक्षा गर्नु उचित हुँदैन।
क्यानडाको नियम अनुसार विद्यार्थीले पार्टटाइम काम गर्न सक्छन्। क्याम्पस बाहिर हप्तामा २४ घण्टासम्म काम गर्न पाइन्छ भने क्याम्पसभित्र काम गर्ने समयको कुनै सीमा हुँदैन। काम पाइयो भने क्याम्पसभित्र जति पनि काम गर्न सकिन्छ।
डिपेन्डेन्टका सम्बन्धमा पनि केही नियम छन्। स्नातक (ब्याचलर) तहका सबै विद्यार्थीले यो सुविधा पाउँदैनन्। शिक्षा (एजुकेसन) र नर्सिङ विषय अध्ययन गर्नेहरूले डिपेन्डेन्ट लैजान पाउँछन्।
त्यस्तै, कम्तीमा १८ महिनादेखि दुई वर्ष अवधिका मास्टर्स गर्नेहरूले पनि यो सुविधा पाउँछन्।
डिपेन्डेन्टमा जानेहरूले भने काम पाए अनुसार गर्न सक्छन्। उनीहरूका लागि काम गर्ने समयको सीमा हुँदैन।
क्यानडा गएर काम पाउन नेपालमै केही सीप सिकेर जानु राम्रो हुन्छ।
उदाहरणका लागि, तन्दुरी नान बनाउन सिकेर गयो भने सजिलै काम पाउन सकिन्छ। इन्डियन करी बनाउन जान्नेहरूका लागि पनि अवसर राम्रो छ। यसबाहेक कफी सप, स्टोर, ग्रोसरी लगायतका क्षेत्रमा पनि काम पाइन्छ।
नेपालमै प्लम्बर, इलेक्ट्रिसियन, वेल्डर वा कार्पेन्टरको सीप भएका व्यक्तिले क्यानडामा सहायकका रूपमा काम पाउन सक्छन्। त्यहाँ गएर सम्बन्धित लाइसेन्स लिएपछि स्वतन्त्र रूपमा पनि काम गर्न सकिन्छ।
भर्खर १२ कक्षा पास गरेर जानेहरूले हेल्थ केयर सम्बन्धी कोर्स रोजे भविष्यका लागि राम्रो हुन सक्छ। मास्टर्सका लागि जानेहरूले डेटा साइन्स, बिजनेस एनालिस्ट लगायत विषय अध्ययन गर्दा राम्रो अवसर पाउन सक्छन्। कृषि अध्ययन गर्नेहरूका लागि पनि सम्भावना राम्रो छ।
अहिलेको अवस्था हेर्दा सन् २०२७ देखि केही सहज हुन सक्ने देखिन्छ। अहिले विश्वविद्यालयहरूमा विद्यार्थीको संख्या निकै कम भएकाले आगामी दिनमा केही सहज वातावरण बन्न सक्ने अनुमान छ।
क्यानडाका लागि आवेदन दिने विद्यार्थीले पर्याप्त समय लिएर आर्थिक कागजातदेखि अन्य सबै आवश्यक प्रक्रिया राम्रोसँग तयारी गर्नुपर्छ।
हतारमा आवेदन गर्दा कहिलेकाहीँ भिसा अस्वीकृत हुन सक्छ। आफ्नो अध्ययन योजना स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ। पढ्न जाने विश्वविद्यालय, सहर, त्यहाँको हावापानी, रोजेको विषय र किन त्यो विषय पढ्न चाहेको हो भन्ने कुरा पनि स्पष्ट रूपमा उल्लेख गर्नु आवश्यक हुन्छ।
(रघुनाथ ढकाल एक्सपर्ट एजुकेसनका क्यानडा निर्देशक र रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट हुन्।)