असार २५ गते मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरिरहँदा म सञ्जीव उप्रेतीको पुस्तक 'संरचनात्मक लाभांश' पढ्दै थिएँ।
भोलिपल्ट गणेशको मृत्युको खबर सार्वजनिक भयो। त्यो खबरले काठमाडौंमा केही हदसम्म तरंग ल्यायो।
सबै प्रमुख दलका नेता र मिडियाहरूले गणेशको मृत्युबारे दुःख व्यक्त गरे। कतिपयले सरकारी रवैयामाथि औंला उठाएए। सरकार भने काठमाडौं महानगरपालिकाका नगर प्रहरीमाथि दोष थोपरेर पन्छियो।
भोलिपल्ट कान्तिपुर, अनलाइन खबर लगायत मिडिया हाउसका साथै नेपाली कांग्रेस सभापति गगन थापाको घरअगाडि अपरिचित गाडीहरू तेर्स्याइयो। केही घन्टा कोलाहल सरह नै भयो। कसैले नभन्दै आम नेपालीले सरकारको परोक्ष हरकतबारे थाहा पाए।
तर यो लेखमा मैले सरकारको त्यो हरकतबारे होइन, हाम्रो समाज र राज्यको नजरमा गणेश नेपालीहरूको अस्तित्वबारे सोच्दै, लेख्ने प्रयत्न गरेको छु।
गणेश नेपालीका समाचारहरूमा एउटा प्रसंगको खुबै उल्लेख भयो — प्रेमप्रसाद आचार्यको आत्मदाह।
२०७९ माघ १० गते संघीय संसद अगाडि (काठमाडौंको बानेश्वरमा) इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए।
लेखक सञ्जीव उप्रेतीले आफ्नो पुस्तकको अन्तिम अध्यायमा उनै प्रेमप्रसादको आत्मदाहबारे बहुआयामिक विश्लेषण गरेका छन् — काठमाडौंमा आचार्यले आत्मदाह गर्नुको कारण आर्थिक समस्या थियो। ऋणमा डुब्नु थियो। तर त्यसकै १० दिनपछि सप्तरीका रामदेव मरिक डोमले पनि आर्थिक समस्या, सहकारीको ऋणकै कारण आत्महत्या गरेका रहेछन्, जुन काठमाडौंका मिडिया हाउस, विश्लेषक, बुद्धिजीवीहरूको नजरमा खासै पर्न सकेको थिएन।
उप्रेतीले थप लेखेका छन् —
'समाजको संरचना लुडो खेलको बोर्ड जस्तो छ। लुडोमा भर्याङ भेटेमा माथि उक्लेर टुप्पोमा पुग्न सजिलो हुन्छ। सर्पले निलेमा तल पिँधमा पुग्ने खतरा पनि उत्तिकै हुन्छ। जीवनमा पनि प्रशस्त संरचनात्मक लाभांश पाएकाहरूले चाँडै भर्याङ भेट्छन्। केही गरी गल्ती गरेर सर्पले निलेमा पनि चाँडै अर्को भर्याङ भेटेर माथि उक्लने सम्भावना रहिरहन्छ।
वर्गीय, जातीय, लैंगिक र भौगोलिक लगायत अन्य लाभांश पाएकाहरू भ्रष्टाचार गरेर समातिँदा पनि अपराधबाट उम्किन्छन्। भ्रष्टाचारबाट सबभन्दा बढी फाइदा संरचनाको टुप्पोमा हुनेले उठाएका छन् भने पिँधमा परेकाहरू यसको मारबाट सबैभन्दा बढी पिल्सिएका छन्। प्रेमप्रसाद आचार्यको जीवनमा विभिन्न किसिमका सर्परूपी तगाराहरू आइरहे। उनलाई वित्तीय संस्थाहरूले ठगे, सुपरमार्केटहरूले ठगे, नेताहरूले ठगे। हरेकपल्ट सर्पले निल्दै गए पनि उनी भर्याङहरू खोजिरहे। अन्त्यमा भर्याङ भेट्न नसकेर संरचनाको पिँधमा पुगेपछि आत्मदाहको बाटो रोजे।
रामदेव मरिक डोमले पनि भर्याङ खोज्ने अनेक प्रयास गरे होलान्। यदि रामदेव वा प्रेमप्रसादको साटो कोही उच्च मध्यम वर्गको व्यक्ति आर्थिक वा सामाजिक संरचनाको पिँधमा गुल्टिएको भए तिनको माथि उक्लने सम्भावना रहिरहने हुन्थ्यो होला। व्यापारमा जति नै नोक्सानी खेप्नु परे तापनि धितो राख्न मिल्ने थप जमिन हुन सक्थ्यो होला। आपतकालीन स्थितिका लागि राखेको पैसा वा गरगहना हुन्थे होलान्। अथवा उनका नातागोता हुनेखाने वर्गका हुन्थे होलान्। वित्तीय संस्थाहरूले उनलाई पत्याउने आधार हुन्थ्यो होला। उनका लागि नयाँ भर्याङ प्रकट हुने थिए।'
उप्रेतीको पुस्तकको शीर्षक नै संरचनात्मक लाभांश रहेकाले समग्र पुस्तकको सार नेपालमा व्याप्त संरचनात्मक विभेदबाट पीडित र लाभान्वित समूहबीचको भिन्नता र लाभान्वित समूह आफैले इमानदारीपूर्वक स्वीकार्नुपर्ने सत्यमा जोड दिएका छन्।
पुस्तकको अन्तिम च्याप्टरको अंश (जो माथि उल्लेख गरिएको छ) को मूल सन्देश 'नेपाली समाजको पिँधमा रहेका मधेसी दलित रामदेव मरिक डोमहरू त्यस्तो संरचनागत लाभांश नपाउने र सबैभन्दा पुछारका समूह हुन्' भन्न खोजिएको छ।
म सप्तरीकै मानिस भए पनि रामदेव मरिकबारे कुनै जानकारी थिएन। अहिले पनि छैन। तर सञ्जीव उप्रेतीको उक्त पुस्तक र खासगरी अन्तिम अध्याय पढिरहँदा मेरो नजरमा रामदेव मरिकको एउटा काल्पनिक तस्बिर घुम्न थाल्यो।
पुस्तकले मलाई पहिला मेरो जन्मथलो गाउँ पुर्यायो, त्यसपछि बितेको दुई दशकमा मधेसमा घुमेका अनेक टोल, बस्ती, बजार र त्यस्ता ठाउँहरूमा हुने छलफल, गोष्ठी, सभा, सेमिनारलाई सम्झायो।
मधेसी समाजको सबैभन्दा पिँधमा रहेका डोम समुदायको अवस्थाबारे जान्नु र महसुस गर्नु मेरो खास रूचिको विषय हो। यसबारे केही लेखेको पनि छु। अध्ययन सामग्रीहरू खोज्दैछु, संग्रह गर्दैछु र थप केही लेख्ने योजनामा पनि छु।
तर अहिले मधेसको दलित समुदायकै बारेमा थप कुरा गरौं।
मधेस प्रदेशमा करिब २० प्रतिशत जनसंख्या दलित समुदायको छ। मेरो जिल्ला सप्तरीमा कम्तीमा २५ प्रतिशत जनसंख्या दलितको हुनुपर्छ। मेरो जन्मगाउँ गोइठी, जुन अहिलेको तिरहुत गाउँपालिकामा पर्छ, त्यहाँको कुल जनसंख्याको लगभग आधा जनसंख्या दलित समुदायको छ।
मैले व्यक्तिगत जीवनमा दलित समुदायका धेरै मानिसहरूसँग संगत गरेको छु। बालसखाहरू यो समुदायक छन्, जोसँग मेरो अहिले पनि नियमित सम्पर्क छ। कतिपयको पारिवारिक जीवन र जीविकाको प्रबन्धन नजिकबाट नियालिरहेको छु। अध्ययन वा विश्लेषणका लागि मात्र होइन, महसुस गर्न पनि।
मेरो बुझाइमा यो समुदायका मानिसहरूका लागि हाम्रो राज्य र समाज दुवै उस्तै छन्। घटना विशेषको विश्लेषण गर्दा कुनै ठाउँमा राज्य बढी दोषी देखिन सक्छ, तर समग्रमा हेर्दा समाज पनि भिन्न देखिँदैन।
सप्तरीका रामदेव मरिकजस्तै मुगुका गणेश नेपाली पनि दलित समुदायका थिए। फरक यति थियो, रामदेव मधेसी दलित थिए र गणेश पहाडी दलित। सामाजिक रूपमा दुवै आआफ्नो समाजका पिँधका समूहहरू हुन्। आर्थिक रूपमा दुवैको अवस्था दरिद्रमध्येका दरिद्रतम तहको।
मेरो अनुमानमा, गणेश नेपालीले आत्मदाह गर्नुको कारण नगर प्रहरीले बाइकमा लगाइदिएको ह्विललक मात्र थिएन। उनी त्यो निर्णयमा पुग्न अन्य पृष्ठभूमि कारण पनि हुनैपर्छ।
सुदर्शन खतिवडाले अनलाइनखबरमा लेखेका छन्, '...जाबो एक हजार रूपैयाँ जरिवानाका लागि ज्यान दिनु सही होइन। तर हामी अन्तिम घटना मात्र देख्छौं। मानिसले बोकेको सम्पूर्ण अदृश्य भार देख्दैनौं। सत्ता र समाजले दिएको ट्रमाका थोपाहरूले गिलास भरिइरहेको हुन्छ। त्यस्तोमा एउटा अन्तिम थोपाले निर्णायक भूमिका खेल्छ, जसले पानी पोखिन्छ।'
म व्यक्तिगत रूपमा गणेश नेपालीलाई चिन्दिनथेँ, तर उनीजस्ता धेरै युवा चिन्छु। कतिपयको दैनिकी नजिकबाट नियालेको छु, चाहे पहाडको दुर्गम गाउँबाट आएकाहरूको होस् वा मधेसको निर्जन देहातबाट आएर काठमाडौंमा संघर्ष गरिरहेकाहरूको। कहिलेकाहीँ म आफ्नै विगततर्फ फर्किन्छु र कतिपय परिदृश्यहरूसँग अनायास जोडिन पुग्छु।
जब कुनै दुर्गम पहाडी गाउँ वा निर्जन देहातबाट १५/२० वर्षको उमेरमा कुनै युवा काठमाडौं आउँछन्, उनका मनमा अनेक लहर उठिरहेका हुन्छन्। ऊ कुनै बेला जोस्सिन्छ। केही न केही गरी छाड्ने अठोट गर्छ।
केही दिनपछि यहाँको समाज, राज्य र बजारमा जब कोही पनि आफ्नो भेट्दैनन्, अनि उसको जोस बिस्तारै थकानमा बदलिन थाल्छ। आफ्नो मनको बोझ, पीडाहरू कसैलाई सुनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाल्छ। जब पाइला–पाइलामा ठेस लाग्न थाल्छ, ऊ बारम्बार झस्किन पुग्छ। केही दिनअघि मात्र केही गरी छाड्ने जुन जोस उसमा पलाएको थियो, त्यसमा हल्का–हल्का शिथिलता आउन थाल्छ।
त्यस्ता युवाहरूले यहाँ जातीय, वर्गीय, शैक्षिक वा भौगोलिक अवरोधहरू मात्र भोग्दैनन्, बरू सांस्कृतिक र सामाजिक अवरोधहरूको पनि उत्तिकै सामना गरिरहेका हुन्छन्।
त्यसैले सुदर्शन खतिवडाले भनेझैं गणेश नेपालीको आत्मदाहको घटना कुनै मेयर, प्रहरी, प्रधानमन्त्री वा पार्टीसँग मात्रको प्रश्न होइन, बरू यसलाई हामी बाँचिरहेको समयको प्रश्नका रूपमा छलफल गरिनुपर्छ।
गणेश नेपालीले आत्मदाह गर्नुपूर्व उनले के के सोचेका थिए होलान्? काठमाडौंमा उनले कसरी आफ्ना दिनहरू काट्थे होला? उनलाई कस्ता कस्ता कुराहरूले आत्मदाह गर्नेसम्मको निर्णयमा पुर्याएका थिए?
यी यस्ता अनेक प्रश्नहरू सोच्दा सोच्दै म तीन दशकपूर्वको आफ्नो अवस्थामा पुगेको थिएँ। कल्पनाका तरेलीहरू जति जति उघ्रिँदै गए, म आफूलाई गणेश नेपालीको निकै नजिक पाउन थालेँ।
साढे तीन दशकपूर्व सप्तरीको देहातको गाउँबाट काठमाडौं आउँदा आफूसँग बितेका घटनाहरू, आफूले भोगेका दिनहरू सम्झिँदै गएँ।
नियमित आम्दानी नहुने एक युवाले जब नियमित रूपमा हरेक महिनाको अन्त्यमा घरभाडा तिर्नुपर्छ, हरेक साँझ खाना पकाउन पसलबाट सामान किन्नुपर्छ वा होटलमा खाना खान नगद पैसा तिर्नुपर्छ, तब उसलाई आफ्नो अवस्थाप्रति खिन्नता महसुस हुन थाल्छ। आम्दानी नियमित नहुने, तर खर्च चाहिँ नियमित वृद्धि भइरहने!
खर्चको रकम बढ्दै जाने, बिस्तारै पैसाको अभाव हुन थाल्ने, तर सहरमा सापटी दिने कोही पनि नभेटिने! यस्तो अवस्थामा एक २४/२५ वर्षका युवाको मनमा के गुज्रिँदो होला!
धेरै वटा कोठा भएको घरमा एउटा वा दुइटा कोठा लिएर बस्नेको पीडा बेग्लै हुन्छ। हप्तामा एक वा दुई दिन धारामा पानी आउँछ। पानी आउँदा लामो समय लाइन बसेर दुई–चार बाल्टिन थाप्न पाइन्छ। खाना पकाउन मात्र पुग्ने, नुहाउन पुग्दैन। शौचालयका लागि पानी पुर्याउँदा लुगा धुन गाह्रो हुने!
काममा जाने बेला पानी आयो भने अर्को आपत! पानी थाप्न डेरामा बस्ने कि काम गर्न अफिस जाने?
मैले धेरै विद्यार्थी भेटेको छु, जो पानी थाप्न कुर्दाकुर्दै कक्षा छुटाउँदा रहेछन्।
कक्षा मिस नगर्ने कतिपय विद्यार्थीहरूले पानी थाप्न पाएका हुँदैनन् र हप्तामा एक दिन पनि नुहाउन पाएका हुँदैनन्। हालका वर्षहरूमा काठमाडौंमा पानी आपूर्ति सहज देखिए पनि एक/दुई कोठामा बस्ने डेरावालको दैनिकीमा खासै सहजता थपिएको छैन।
गणेश नेपालीलाई पक्कै पनि यस्ता कुराहरूले पनि प्रभावित गरेको होला।
नियमित आम्दानी हुने र नहुने युवाहरूको कथा बेग्लै हुन्छ। मैले दुवैथरी युवाहरूलाई नजिकबाट नियालेको छु। पहिला नियमित आम्दानी हुनेबारे कुरा गरौं।
नियमित रूपमा आम्दानी हुनेमा पनि अनेक थरी हुँदा रहेछन्। पर्याप्त मासिक तलब खानेहरूको अवस्था बेग्लै हुन्छ, तर त्यस्ता कति नै हुन्छन् र?
मेरा संगतमा त्यस्ता मानिसहरू पनि छन्, तर थोरै। अर्को नियमित तलब हुने, तर पारिवारिक खर्च नपुग्नेहरू हुन्छन्। यो खालका युवाहरू धेरै मात्रामा रहेको महसुस हुन्छ।
मैले अनेकौं निजी स्कुलमा पढाउने शिक्षक, मार्केटिङमा काम गर्ने, अतिरिक्त आम्दानी नहुने नायब सुब्बा वा उपसचिव तहका सरकारी कर्मचारी, पत्रकारिता गर्ने युवाहरू भेटेको छु, जो ठीकठाक स्तरका जागिर गरिरहेका हुन्छन्, तलब पनि नियमित पाइरहेका हुन्छन्, तर त्यस तलबले पारिवारिक खर्च पुगिरहेको हुँदैन। उनीहरूको पीडा बेग्लै हुन्छ।
उनीहरू प्रायः २५ देखि ३५ वर्ष समूहका हुन्छन्। काठमाडौंमा दुई–चार वर्ष संघर्ष गरेर जागिर पाएका हुन्छन्। बिहेबारी पनि गरिसकेका हुन्छन्। कोही कोहीले सन्तान पनि पाइसकेका हुन्छन्, तर आम्दानी पर्याप्त हुँदैन।
यस्तो परिवारमा र खासगरी पुरूषको तनावका आफ्नै कथा, व्यथा हुन्छ। उनीहरूको चिनजानका मानिस पनि हुन्छन् सहरमा। थोरै सरसापटी दिने मान्छे पनि हुन्छन्। कहिलेकाहीँ आफन्त, नातागोताका मानिस पनि हुन्छन्। तर पर्याप्त आम्दानी हुँदैन। कसैकसैको आम्दानी पनि वृद्धि भइरहेको हुन्छ, तर धेरैको खर्च पुगिरहेको हुँदैन।
त्यस्ता युवाको आम्दानी र खर्चबीच तालमेल नमिले पनि समाजमा अरू सबै थोकमा गुणोत्तर वृद्धि भइरहेको हुन्छ।
जस्तो, केही वर्षमा सन्तानको संख्या थपिन्छ, आमाबुबा वा सासूससुराको उपचारको जिम्मेवारी थपिन्छ। बेला बेलामा नातेदारहरूको बिहेबारीमा सपरिवार जानुपर्ने निम्ता आउँछन्। यता डेरामा आफ्नै भाइबहिनी, भान्जाभान्जी वा जेठान, सालो, सालीको आवागमन पनि बढेको हुन्छ। चिनजानका मानिस, नानीबाबुहरूको बर्थडे पार्टीको निम्ता, आफन्त वा साथीभाइको पारिवारिक जमघट, राजधानीमै विवाहमा (खाम दिनुपर्ने/नदिनुपर्ने) पुग्नुपर्ने आमन्त्रण, तीजको दर खाने पार्टी—सबैमा वृद्धि भएको हुन्छ, आम्दानी बाहेक।
यस्ता युवाहरूको साथीसँगत पनि अप्ठ्यारो खालको हुन्छ। यिनका समूहका केही साथीहरूको तलब राम्रो भएको हुन्छ। उनीहरू (आवश्यकताले वा शानले) कहिलेकाहीँ रेस्टुरेन्टमा पार्टी गरिरहेका हुन्छन्। तर आफूलाई अप्ठ्यारो महसुस भइरहेको हुन्छ। त्यस्ता पार्टीमा सहभागी होऊँ भने कि त बिल सेयर गर्नुपर्छ, नभए त्यस्तै खालको पार्टी आफूले पनि आयोजना गर्नुपर्ने हुन्छ।
जे गर्दा पनि मासिक आम्दानी र खर्चबीचको तालमेल बिग्रिने डर!
एउटा अर्कोथरी युवा हुन्छन्, गणेश नेपालीजस्ता। जो सुदूर दुर्गम पहाडबाट वा तराई–मधेसको निर्जन देहाती गाउँबाट मझौला खालका सपना बोकेर काठमाडौं छिरेका हुन्छन्।
यस्ता धेरै युवाहरूलाई मैले नजिकबाट नियालेको छु।
यो त्यस्तो समूह हो, जसले एउटा मझौला सपना त बोकेको हुन्छ, तर पृष्ठभूमिका अवस्थाका कारण सफलता पाइराखेको हुँदैन। त्यो भनेको, उसले राम्रो आम्दानी होस् भन्ने चाहन्छ। त्यसका लागि खट्नुपर्ने, गर्नुपर्ने मेहनत गर्न परे पछि नहट्ने जोस निकाल्छ। साहस बटुल्छ। तर सक्दैन।
उसले गाउँ वा मोफसलको सहरमा हुँदा स्कुल र कलेजमा पाएको शिक्षा त्यहाँका लागि राम्रै मानिएको हुन्छ। तर काठमाडौंमा त्यो निकै कमजोर ठहरिन्छ। यहाँ उसैको उमेरका देशभरिका युवाहरूबीच प्रतिस्पर्धा भएको हुन्छ। साना–ठूला सहरमा बोर्डिङ स्कुल पढेका वा समाजका उच्च सामाजिक समूह, वर्गका युवाहरूसँग प्रतिस्पर्धा गर्न ऊ सक्दैन।
हेर्दा उस्तै लाग्ने, बराबर ठान्ने, तर अवसरमा पछाडि परिरहने अवस्थाबाट उत्पन्न रिसमिश्रित कुण्ठाबाट ग्रसित युवा सहरमा थुप्रै भेटिन्छन्। अरू सबै कुरा साथीजस्तै हुने, तर आम्दानीचाहिँ साथीभन्दा निकै कम भइरहेको छ भने घरमा झगडा बढ्ने अनि समाजमा कुण्ठित महसुस गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ। यस्तो अवस्थाको सामना गर्नेहरूमा एउटा अनौठो प्रकारको चिडचिडाहट, रिस, आक्रोश हुने रहेछ।
कताकता म गणेश नेपालीलाई यस्तै समूहको एक पात्रका रूपमा अनुमान गर्छु।
अर्कोथरी युवाहरू पहाड वा मधेसको गाउँबाट आएका हुन्छन्, जो मजदुर वर्गका हुन्छन्। त्यस समूहका युवाहरूमा सपना नहुने होइन, तर समाज र आफ्नो अवस्थाबीच त्यस्तो उकुसमुकुसको अवस्था हुँदैन। बिहान उठ्यो, दैनिक ज्यालादारी काममा गयो, बेलुका आयो, परिवार छ भने परिवारमा, नभए सामूहिक बसाइँमा रमायो।
साँझपख अलिक हल्का मदिरा सेवन गर्यो। सुत्यो। भोलि बिहान उठ्यो, काममा गयो।
यसरी नै दैनिकी चलेको हुन्छ।
समाजमा सबभन्दा बढी मेहनत गर्ने समूह यही हुन्छ, सबैभन्दा बढी अभाव यही समूहकाले खेपेका हुन्छन्। तर अधिकांशको सपनाको दायरा सीमित भएको हुनाले तुलनात्मक रूपमा कम तनाव हुने समूह पनि यही हो कि भन्ने लाग्छ!
अब प्रश्न उठ्छ, समाजका यी विभिन्न तप्काका मानिसका लागि राज्यको व्यवहार कस्तो हुने हो?
के सबैलाई राज्यले एउटै व्यवहार गर्ने हो कि निर्धन, कमजोर, संघर्षरत समूहलाई फरक व्यवहार गर्नुपर्ने?
कसैलाई बढी स्याहार गर्नुपर्ने हो कि सबैसँग उस्तै अनुशासनको अपेक्षासहितको व्यवहार गर्दा पुग्ने हो?
गणेश नेपालीको सन्दर्भमा हामीले यो कोणबाट पनि विश्लेषण गर्नुपर्छ।
जहाँनिर गणेश नेपालीले आत्मदाह गरेका हुन्, त्यसको वरिपरि असंख्य निजी घरहरू छन्, व्यापारिक महलहरू छन्। के ती साहूहरूसँग राज्यले गर्ने व्यवहार र मुगुको दुर्गम गाउँबाट आएका गणेश नेपालीजस्तो एक अनियमित राइडरसँग गरिने व्यवहार उस्तै हुनुपर्छ?
के राइडर बन्ने प्रयास गरिरहेका गणेश नेपाली र कुनै राइडर कम्पनीका सिइओसँग राज्यको व्यवहार एउटै हुने हो कि कुनै मामिलामा फरक पनि हुन सक्छ? पहाडका दुर्गम गाउँको जग्गा धितो राखेर किस्तामा बाइक किनेका गणेश नेपाली र बाइक बेच्ने साहू/डिलरसँग राज्यको व्यवहार उस्तै हुने कि कसैसँग अलिक करूणापूर्ण व्यवहार पनि हुनुपर्ने?
मानौं, पार्किङ गर्न नहुने ठाउँमा एउटा राइडरले आफ्नो बाइक अडाएको छ वा एक पजेरोका मालिकले पजेरो रोकेछ भने के नगर प्रहरी वा ट्राफिक प्रहरीले उस्तै व्यवहार गर्छन्?
बाइकमाथि बसिरहेकै बेला ह्विलमा लक लगाइदिँदा, नगर प्रहरीले गाली गर्दा गणेश नेपालीले जुन प्रतिवाद गर्दै भनेका थिए, 'मान्छेलाई हेप्ने?'
त्यसभित्रको स्वाभिमान, संघर्ष र आक्रोशलाई समाज र राज्यले कसरी बुझ्ने वा भनौं, बुझ्ने प्रयास गर्ने कि नगर्ने?
फेरि पनि प्रश्न राज्यतर्फ नै सोझिन्छ। राज्यको कार्यशैली कस्तो हुने हो? राज्यको चरित्र कस्तो हुने हो? राज्यको व्यवहार कस्तो हुने हो?
हो, गणेश नेपालीको हत्या राज्यले गरेको होइन। आत्मदाह उनी आफैले गरेका हुन्।
तर प्रश्न के उठ्छ भने, उनको आत्मदाहमा राज्य जोडिन्छ कि जोडिँदैन? उनको मृत्युपछि राज्यको प्रतिक्रिया कस्तो रह्यो?
मूल प्रश्न यो हो।
के राज्य संवेदनाहीन भएर मौन बस्न मिल्छ? के राज्यको चरित्रसँग उनको मृत्युको कुनै साइनो छैन? गणेश नेपालीको आत्मदाहले राज्यको चरित्रमा परिवर्तनको माग गर्छ कि गर्दैन?
अहिलेको सत्ताधारी पार्टी रास्वपा, जसको प्रथम राष्ट्रिय महाधिवेशनले सामाजिक लोकतन्त्रलाई पार्टीको मूल सिद्धान्त पारित गरेको छ, त्यस सामाजिक लोकतन्त्रमा गणेश नेपालीहरूको अवस्था र आत्मदाहको अवस्था आउने कुरा कहाँनिर पर्छ?
अर्थमन्त्री स्वर्णिम वाग्लेले पटक पटक दोहोर्याइरहने मध्यम वर्गको विस्तारको आर्थिक कार्यक्रममा गणेश नेपालीहरू कहाँनिर पर्छन्?
राष्ट्रिय महाधिवेशनबाट रास्वपाले समन्यायिक समाजको परिकल्पना गरेको छ। पार्टीको त्यो कल्पनामा नेपाली समाजको सबभन्दा दुर्गममध्येका जिल्ला मुगुको एक गरिब दलित परिवारबाट आएर काठमाडौंमा संघर्ष गरिरहेका गणेश नेपालीहरू कहाँ पर्छन्?
यति भनिरहँदा म थप एउटा कुरा उल्लेख गर्न चाहन्छु — पात्र र शैली फरक होला, तर गणेश नेपालीहरूको आत्मदाह नेपालमा नयाँ कुरा होइन। यो न पहिलो घटना हो, न अन्तिम।
यो लेखको प्रारम्भमै प्रेमप्रसाद आचार्यको प्रसंग उल्लेख छ। उति बेला माओवादी जनयुद्ध हाँकेका पुष्पकमल दाहाल (प्रचण्ड) नेपालका प्रधानमन्त्री थिए। संयोगले अहिले रास्वपा सत्तामा पुगेको बेला परेको छ। उसको ठाउँमा एमाले, कांग्रेस वा माओवादी जसको सरकार भएको भए पनि परिदृश्य भिन्न हुने थिएन।
गणेश नेपालीको ठाउँमा कुनै अर्कै नाम हुने थियो, त्रिपुरेश्वरको ठाउँमा अन्य कतै हुने थियो, तर यस्ता घटनाहरू पहिला पनि हुन्थे, अहिले पनि भइरहेका छन्। किनभने हामीले पटक पटक सरकार परिवर्तन गर्यौं, सत्ताधारी दल परिवर्तन गर्यौं, प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार फेर्यौं, तर राज्यको चरित्र बदल्न सकेनौं, चाहेनौं।
नेपाली राज्यको संरचना पनि बदल्यौं, तर काम गर्ने शैली, सञ्चालकहरूको व्यवहार, शासक हुने सोच बदल्ने प्रयास नै गरेनौं। नेपाली राज्यको कार्यशैली प्रारम्भदेखि पुरुषहरूको नियन्त्रणमा छ, त्यसैले यहाँको राज्यको कार्यशैलीमा पितृसत्ता जबर्जस्त रूपमा हाबी छ। नेपाली राज्यको चरित्र सुरूदेखि मनुवादी छ, उच्च जातका मानिसहरूको नियन्त्रणमा छ, त्यसैले ऊ कहिल्यै पनि दलितमैत्री हुन सकेन।
नेपाली राज्य सुरूदेखि 'पहाडिया सम्भ्रान्त' हरूको नियन्त्रणमा छ, धनी वर्गमैत्री छ. त्यसैले ऊ कहिल्यै पनि सीमान्तमा बस्ने मिटरब्याज पीडित मधेसी समुदायमैत्री हुन सकेन, गरिबमैत्री हुन सकेन।
नेपाली राज्यको यो प्रारम्भदेखिको चरित्र हो, जुन सत्ताको परिवर्तनको साक्षी बनेर बसेको छ, तर त्यसलाई कसैले परिवर्तन गर्न सकेको छैन। त्यस कारण मुगुको दुर्गम गाउँबाट आउने गणेश नेपाली होस् वा सप्तरीको निर्जन देहातबाट आउने कपिलेश्वर सरदारहरू होओऊन्, काठमाडौंको समाजमा उनीहरूले कहिल्यै सम्मान पाएनन्।
काठमाडौंमा जहिल्यै कोठा पाउन संघर्ष गर्नुपर्ने, आफ्नो परिचय छोप्नुपर्ने! गाउँबाट आउनेहरूलाई काठमाडौंको समाजमा जहिल्यै पाखे वा गवार भनियो, अपमान गरियो।
गाउँमा गरिबी झेलेकाहरू मुक्तिको प्रयासमा सहर पस्छन्। तर सहरको समाज र सहरकेन्द्रित राज्य उनीहरूको संघर्षलाई सम्मानभन्दा अपमान गर्नमा व्यस्त हुन्छ। गाउँ, देहात, दुर्गमलाई हेर्ने सहर, बजार, राजधानीको समाज र राज्यको दृष्टिकोण नफेरिएसम्म गणेश नेपालीहरू र रामदेव मरिकहरूको नियति नदोहोरिँदैन भन्न सकिन्न।

(तुलानारायण साहका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @tulashah