गुल्मीका हेमबहादुर मोत्रा उच्च शिक्षा पढ्न सन् २००८ मा जर्मनी पुगे। त्यही यात्राले उनलाई आज जर्मनीको विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने प्राध्यापकका रूपमा स्थापित गरेको छ।
उनी किल युनिभर्सिटीको जिओलोजी विभागमा छन्। उनले त्यहाँ मुख्य गरी स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई जिओ–टेक्निकल इन्जिनियरिङसँग सम्बन्धित विषय पढाउँछन्।
'जिओ–टेक्निकल इन्जिनियरिङ अन्तर्गत माटो तथा चट्टानको इन्जिनियरिङ लगायत विषय पढाउँछु,' उनले भने।
हेमले यहाँ पढाउन थालेको १२ वर्ष भयो।
उनको दिनको सुरूआत विश्वविद्यालयबाटै हुन्छ। बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म उनी विश्वविद्यालयमै व्यस्त हुन्छन्।
'सातामा तीन वटा कक्षा छ मेरो। कक्षा नभएका बेला थेसिस लेखिरहेका विद्यार्थीको सुपरभाइज गर्छु। अनुसन्धान पनि गर्छु,' उनले भने।
हेमको बाल्यकाल गुल्मीमै बित्यो। उनका बुबा भारतमा चौकीदारको काम गर्थे, आमा गृहिणी। बुबाको कमाइले नै परिवारको खर्च धानेको थियो। उनका दुई दाजु र एक दिदी छन्।
उनी कक्षा ८ सम्म गुल्मीकै एक सरकारी स्कुलमा पढे।
'गाउँमा खासै पढिँदैन थियो। खेतबारीको काम गर्थेँ। घरमा आमाबुबा पनि खेतबारीको काम गर्दा खुसी हुन्थे,' उनले सुनाए।
कक्षा ८ को जिल्ला परीक्षामा उनी अनुत्तीर्ण भए। त्यति बेला उनका दाजु पोखरामा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पढाउँथे। हेम अनुत्तीर्ण भएपछि दाइले उनलाई पनि पोखरा लगे।
पोखरा पुगेपछि हेम कक्षा ८ मै भर्ना भए। पढाइमा पनि ध्यान दिए। एसएलसी (एसइई) प्रथम श्रेणीमा उत्तीर्ण गरे।
त्यसपछि तीन वर्षे सिभिल इन्जिनियरिङ (ओभरसियर) पढेर सकेपछि दाइका छोरासँगै काठमाडौं आएर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा भर्ना भए।
उनले भारतीय दूतावासबाट छात्रवृत्ति पाएका थिए। मासिक तीन हजार रूपैयाँ पाउँथे।
'त्यो पैसाले दुई जनालाई खानबस्न पुग्थ्यो। नपुग रकम दाइले सहयोग गर्नुहुन्थ्यो,' उनले भने।

स्नातक सकेपछि हेमले काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा पढाउन थाले। बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म कक्षा हुन्थ्यो। कलेजमा १६ जना शिक्षक थिए जसका लागि एउटा मात्र कम्प्युटर थियो। त्यति बेला ल्यापटपको चलन थिएन।
पढाइ सकेपछि हेम त्यही कम्प्युटरमा बसेर विदेशमा उपलब्ध छात्रवृत्ति कार्यक्रमहरू खोजी गर्थे। त्यही क्रममा उनले स्नातकोत्तर पढ्न जापान र जर्मनी दुवै देशमा आवेदन दिए र दुवै ठाउँबाट छात्रवृत्ति पाए।
दुवै देशबाट पूर्ण छात्रवृत्ति पाएकाले हेम कुन देश जाने भन्ने अन्योलमा थिए। पुल्चोक इन्जिनियरिङका एक शिक्षकले जर्मनी राम्रो हुने सल्लाह दिएपछि उनले त्यतै जाने निधो गरे।
जर्मनी पुगेपछि हेम युनिभर्सिटी अफ ह्यानओभरबाट ड्याड (DAAD) को पूर्ण छात्रवृत्तिमा जिओटेक्निकल एन्ड इन्फ्रास्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर पढ्न थाले।
'पढाइ नभएका बेला खाद्य कम्पनीमा काम गर्थेँ। यहाँ खर्च लाग्दैन थियो। काम गरेको पैसा घर पठाउँथे,' उनले सुनाए।
स्नातकोत्तर पूरा भएपछि उनी नेपाल फर्किने वा जर्मनीमै बस्ने भन्ने दोधारमा थिए। त्यही बेला उनले विद्यावारिधि (पिएचडी) का लागि विश्वविद्यालयमा र जागिरका लागि कम्पनीमा आवेदन दिएका थिए। दुवैतिरबाट अवसर पाए।
उनले जागिरभन्दा पढाइ रोजे। बाउहाउस युनिभर्सिटी वाइमारमा इन्जिनियरिङमा विद्यावारिधि थाले।
युनिभर्सिटीले उनलाई मासिक दुई हजार २ सय युरो दिन्थ्यो। हेमले तीन वर्षमै विद्यावारिधि सके। त्यसक्रममा तीन वटा अनुसन्धानमूलक (रिसर्च) पेपर पनि प्रकाशन गरे।
पिएचडी सकेपछि उनले किल विश्वविद्यालयमा पढाउन थालेका हुन्। हेमले पढाउने विषय जर्मन भाषामा हुन्छ।
'युनिभर्सिटीमा पढाउन केही असहज भएन। नेपालमा पनि पढाएको र पिएचडी क्रममा कहिलेकाहीँ विश्वविद्यालयमा पढाएको अभ्यासले सहजै भयो,' हेमले भने, 'पढाउने भनेको एउटा कला, सीप र आत्मविश्वास हो।'
उनले पढाउने युनिभर्सिटीमा नेपाली विद्यार्थी धेरै छन्। उनी काम गर्ने विभागमा भने छैनन्।
जर्मनीमा नेपाली विद्यार्थीले सबभन्दा धेरै कठिनाइ भाषामै भोग्ने उनी बताउँछन्। किनभने, त्यहाँ अंग्रेजीसँगै जर्मन भाषा पनि आवश्यक पर्छ।
'नेपालमा पढाइ राम्रो छैन भने यहाँ पढ्न सकिँदैन। एउटा विषयमा लगातार तीन पटक फेल भयो भने युनिभर्सिटीबाट स्वतः रजिस्ट्रेसन नम्बर क्यान्सिल हुन्छ,' उनले भने, 'त्यसपछि अर्को विश्वविद्यालयले स्वीकार गरे मात्र फेरि पढाइ अघि बढाउन सकिन्छ।'
अहिले जर्मनीमा डेरा (आवास) पाउन निकै कठिन रहेको र महँगी पनि उत्तिकै बढेको छ।
जर्मनीमा सार्वजनिक (पब्लिक) विश्वविद्यालयमा पढाइ शुल्क लाग्दैन। विद्यार्थीले थोरै शुल्क तिर्नुपर्छ, जसमा पुस्तकालय, रेल र बसको सुविधा समेटिएको हुन्छ। विश्वविद्यालयको क्यान्टिनमा करिब ५० प्रतिशत सहुलियतमा खाना पाउँछन्। काम गर्नेहरूले भने पूरा शुल्क तिर्नुपर्छ।
पछिल्लो समय जर्मनीमा विशेषगरी कम्प्युटर साइन्स, सिभिल र मेकानिकल इन्जिनियरिङ अध्ययन गर्न विद्यार्थीको संख्या बढेको उनले बताए।
'अमेरिका र अस्ट्रेलियामा अध्ययनको अवसर नपाएका विद्यार्थीहरू प्राइभेट युनिभर्सिटीमा पनि आएका छन्,' हेमले भने, 'यसको शुल्क महँगो हुन्छ।'