भनिन्छ– बाँच्न पर्छ, देख्न पाइन्छ। शायद बाँचेको भएर नै होला, विश्वकप फुटबल देख्न पाइयो। आफ्नै घरको छानाबाट देख्न पाइयो। नबाँचेको भए देख्न पाइन्थ्यो त? पाइँदैन थियो।
विश्वकप आफ्नै घरको छानाबाट देख्न पाउने यो संसारमा कति होलान्? एकदमै सीमित। त्यसमा पनि भोजपुर दावाँको कुनोमा जन्मिएर दुनोमा खाँदै हुर्केको एउटा मान्छेले विश्वकप हेरौँला भनेर कहिल्यै कल्पना गर्न सक्ला त? सक्दैन। त्यो मान्छेले विश्वकप खेल स्टेडियमभित्रबाट मात्र हेरेन, घरको छानाबाट पनि हेर्यो।
त्यही मान्छे हो, जो घर छेउको गुप्तेश्वर प्राथमिक विद्यालयबाट कक्षा तीन सकेर कक्षा चार पढ्ने नाममा विसं २०३३ सालमा अलि माथि दावाँ बजारको सिद्धेश्वर माध्यमिक विद्यालयमा पुग्यो। उसले पहिलो पटक बुरुक-बुरुक उफ्रने एउटा वस्तु देख्यो, त्यसलाई कसैले भकुन्डो त कसैले भलिबल भनेको सुन्यो र उसले पनि त्यही जान्यो।
चार कक्षामा पढ्न थालेको फुच्चेले भकुन्डो खेल्न त परै जाओस्, छुन पनि पाउँदैन थियो। भलिबल खेल्नेले नेट माथिबाट मुर्याएर हिर्काउँदा त्यो बिचरो भुइँमा बजारिन्थ्यो र उफ्रिँदै भलिबल कोर्टबाट बाहिर भाग्थ्यो। त्यही बेला हामी जस्ता फुच्चेले छुन पाउँथे। जुन फुच्चेले छुन पाउँथ्यो, त्यो दिन खुसीले उसको खुट्टा भुइँमा हुँदैन थियो। मलाई त्यो भकुन्डो छुन मात्र पनि झन्डै दुई–तीन वर्ष लाग्यो होला। त्यस्तो मान्छेले खेल्न पाउला भन्ने त कल्पनाबाहिर थियो।
भलिबललाई कहिलेकाहीँ कसैले लातले हान्यो भने मास्टरहरू ढोक लाउँथे। उस्तै परे उसले दण्ड सजाय पाउँथ्यो। बललाई लातले हिर्काउन नहुने रहेछ भन्ने लाग्थ्यो। पूर्वी पहाडको जल्दोबल्दो खेल भनेकै त्यो बेला भलिबल थियो। बललाई लातले हानेको वा हानेर खेलेको मैले देखिनँ।
बिकम पढ्न विसं २०४३ साल (सन् १९८६) मा म शंकरदेव क्याम्पसमा भर्ना भएको थिएँ। त्यो बेला मेक्सिकोमा लातले हानेर खेल्ने फुटबल भइरहेको रहेछ। त्यसलाई त हातले छिसिक्क पनि छुन नहुने रहेछ। छोयो भने त कारबाहीमा पर्दा रहेछन्। एउटै बललाई कतै लातले हान्दा कारबाही त कतै हात छुँदा मात्र पनि कारबाही! मेरो लागि त्यो विचित्र थियो।
सन् १९८६ मा मेक्सिकोमा विश्वकप फुटबल भइरहेको रहेछ। त्यो बेलासम्म फुटबल कुन चराको नाम हो, मलाई थाहा थिएन। काठमाडौँमा बढे पढेका सहपाठीहरू विश्वकपको कुरा गर्दा रहेछन्। के कुरा गरेका हुन् म छेउटुप्पो थाहा पाउँदिन थिएँ। उनीहरू टेलिभिजन (टिभी) हेरेर कुरा गर्दा रहेछन्।
नेपालमा टेलिभिजनको युग भर्खरै सुरु हुँदै थियो। कालो सेतो रङमा देखिने टेलिभिजन (टिभी) हेर्न आजको जस्तो केबल टिभीको प्रविधि थिएन। त्यसैले घरका छतमा ठुलो र गोलो आकारको डिस एन्टिना राख्न पर्थ्यो। त्यो एन्टिनाले घरमा टिभी छ भन्ने सान पनि दिन्थ्यो। म जस्ता गाउँबाट आएका केटाले कहाँबाट टिभी हेर्न पाउनु? कहाँबाट मेक्सिकोमा भएको विश्वकप थाहा पाउनु? कसरी मारोडोना चिन्नु?
मेक्सिकोमा विश्वकप चलिरहेकै बेला एकदिन टिभी हुनेको घरमा पुग्ने चिट्ठा पर्यो। मान्छे मान्छे थिए। भित्र बस्ने ठाउँ नभएकोले यसो बाहिर झ्यालबाट चिहाएर केही बेर हेरेँ। मारोडोना मारोडोना भन्दै मान्छेहरू कराउँथे।
पेटको आगो निभाउन लोक सेवाको जाँच दिनको लागि गोरखापत्र र रेडियो नेपालबाट विश्वकप र मारोडोनाको बारे अलिअलि थाहा पाउन थालेँ। आफ्नो घरमा टिभी नभएपछि अर्को घरको ‘टिभी भतुवा’ भएरै भए पनि सन् १९९० को विश्वकप अलि राम्रोसँग हेरियो र लामो लामो कपाल भएको होचोहोचो भुन्टे भुन्टे मारोडोनाको टिभी दर्शन पटक पटक गरियो।
पहिलो पटक सन् १९९४ को डिसेम्बरमा पहिलो पटक अमेरिका टेक्ने अवसर जुर्यो। पश्चिम किनारस्थित सियाटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पाइला टेकियो। छ महिना पछि सन् १९९५ को जुन महिनामा फेरि सियाटल ट्रान्जिट हुँदै नेपाल फिरियो।
मौसम सफा थियो। माथि जहाजबाट होचा अग्ला थुम्काहरू भएको सियाटल देख्दा मलाई साँच्चै सुन्दर लागेको थियो। समथर जमिनको बीचबीचबाट समुद्रको भङ्गालो (इनलेट) भित्रभित्र पसेको र त्यो भङ्गालोमा बोटहरूको रेस। मानौँ सियाटलको भूमि फिजारिएको पाँच औँला हो र फिजारिएको त्यो औँलाको बीचमा सुन्दर र सफा पानीको हरियो ताल छ। मनमनै लागेको थियो– अब यस्तो सुन्दर ठाउँ कहिले आइएला?
सन् २०२४ फेरि सियाटल पुगियो, तर त्यही सहरमा विश्वकप हेरौँला भनेर सपनामा पनि सोचेको थिएन। यही सन् २०२६ को विश्वकप सुरु भएको केही दिनमा मभन्दा तीस वर्ष पछि जन्मिएका मेरा मित्रले फोन गरेर भने– ‘ह्याप्पी फादर्स डे।’ त्यसपछि मित्रले निमन्त्रणा दिए– ‘जुन २४ को विश्वकप हेर्न सियाटल आउनु।’
जुन भूमिबाट पहिलो पटक अमेरिका टेकियो र देखियो, फेरि त्यही भूमिमा ३२ वर्षपछि विश्वकप हेर्ने अवसर मिल्यो। युवा मित्रले विश्वकप हेर्ने अवसर जुराइदिँदा यो बुढो मित्रको मन भित्रभित्रै भावुक भयो। जुन साल मैले अमेरिका टेकेँ, त्यही साल अमेरिकाले पहिलो पटक विश्वकप फुटबल आयोजना गरेको थियो। तर त्यो बेला विश्वकप हेर्न सक्ने मेरो हैसियत पनि थिएन र समय पनि थिएन।
कस्तो संयोग। अमेरिकामा पहिलो पाइला सियाटलमा राखेँ, फेरि त्यही सियाटलमै पहिलो विश्वकप हेर्ने अवसर जुर्यो। कस्तो संयोग। सन् १९९४ को विश्वकप अमेरिका एक्लैले आयोजना गरेको थियो। तर यस पटक क्यानडा, अमेरिका र मेक्सिकोले मिलेर संयुक्त आयोजना गरेका हुन्।
सियाटलको साडो क्षेत्रको औद्योगिक हबमा लुमनफिल्ड र टी–मोबाइल पार्क नामका दुई स्टेडियम आमनेसामनेमा छन्। टी–मोबाइल पार्कमा बेसबल खेल हुन्छ र लुमनफिल्डमा अमेरिकन फुटबल अर्थात् सकर हुन्छ।
जुन घरमा हामी बस्छौँ, त्यो घर विश्वकप भइरहेको लुमनफिल्ड स्टेडियमको ठ्याक्कै अगाडि छ। घरको कोठा र छानाबाट स्टेडियमको मूलद्वार र बरन्डा देखिन्छ। त्यति नजिक भएपछि कसरी नदेखिनु? त्यहाँबाट देखिने दृश्य ड्रोन क्यामेराले देखिनेभन्दा कम सुन्दर रोमाञ्चक देखिँदैन। त्यसरी आफ्नै घरको छानाबाट विश्वकपको चहलपहल देख्न कहाँ पाउनु? विश्वबाट विश्वकप हेर्न आउने लाखौँ हुन्छन्। तर आफू बसेको कुन होटलको छानाबाट त्यो चहलपहल देख्न पाउलान् त? पाउँदैनन्।
स्टेडियमको लुमनफिल्ड नाम फिफाले मेटेछ, जुन नाम हाम्रो घरबाट देखिन्थ्यो। नमेटोस पनि किन? लुमनफिल्ड बहुराष्ट्रिय कम्पनी हो। व्यावसायिक कम्पनीले प्रायोजन गरेको स्टेडियमको लुमनफिल्ड नामलाई फिफाले किन संसारभरि प्रचार हुन दिन्थ्यो। फिफाले आफ्नो नाम र लोगो बाहेक केही नराख्ने रहेछ। राख्ने हो भने कि त फिफालाई मोटो दस्तुर चढाउन पर्यो। फिफाले सियाटल स्टेडियम नाम दिएर खेल खेलायो।
फिफा पनि गजबकै संस्था हो। स्टेडियम अर्कैले बनाइदिन्छ, सारा भौतिक पूर्वाधार अर्कैले बनाइदिन्छ। फिफा व्यापार गर्छ। अमेरिका र क्यानडाले त विश्वकपकै लागि भनेर नयाँ स्टेडियम र पूर्वाधार बनाएनन्, उनीहरूसँग वर्षौँ वर्ष पहिले बनेका भव्य पूर्वाधार थिए।
हामीले हेर्ने खेल दिउँसो १२ बजे सुरु हुनेवाला थियो। तर बिहान आठ बजेबाटै चहलपहल हुन थालिसकेको थियो। त्यहाँ त मान्छेको जुलुसै हुने रहेछ। बाजागाजा सहितको रङ्गीचङ्गी परेड आउँदो रहेछ। त्यो चहलपहलमा संसारभरका मान्छे थिए। तर त्यो दिनको खेल कतार र बोस्निया हर्जगोभिनाको भएकोले ती दुई देशका फ्यान र समर्थक धेरै थिए। उनीहरू रङ्गविरङ्गका ड्रेसमा सजिएर आएका थिए।
मेरा मित्र र म खेल सुरु हुनु करिब दुई घण्टा अगाडि घरबाट निस्किएर स्टेडियमको मूलद्वारतिर लाग्यौँ। त्यता लाग्दा धर्म प्रचारकहरू विश्वकपको आवरणमा जिससका वाणी सहितका बुकलेट बाँड्दै थिए। जताततै फिफा स्वयंसेवक र सुरक्षामा खटिएका प्रहरीहरू थिए। स्टेडियमको गेट नम्बर तीन जानुपर्ने थियो। गेट एकदेखि तीन नम्बरको लाइन एकातिर रहेछ। हामी त्यतै लाग्यौँ। बोस्नियाका समर्थक सेतो रङको बीचमा नीलो मिसिएको ड्रेसमा थिए। अधिकांश तरुनी र तन्नेरी थिए। लाग्थ्यो– हात समाएर हिँड्ने ती तरुनी र तन्नेरी मानौँ ब्वाइ फ्रेन्ड गर्ल फ्रेन्ड हुन्। तिनीहरू बाजागाजामा नाच्न गाउन गर्दै स्टेडियमभित्र पसिरहेका थिए।
कतारका समर्थक कोही रातो क्याजुयल ड्रेसमा थिए भने कोहीचाहिँ टाउकोमा ओढिएको सेतो गुथ्रा र सेतै लामो बाहुलासहितको औपचारिक पहिरनमा थिए। तर त्यस्तो औपचारिक राष्ट्रिय पोसाक पहिरिने कतारी हामी जस्ता सर्वसाधारणको लाइनमा कमै थिए। हामी सुरक्षा र टिकट जाँचपछि स्टेडियमको सिँढी चढेर अलि माथि पुग्यौँ। कतारी औपचारिक पहिरन लगाएका चारजनाको बीचमा बसेर एउटी कोरियन युवती फोटो खिचाउँदै रहिछन्। त्यही लर्कोसर्कोमा मैले पनि फोटो खिचाएँ।

हाम्रो गेट नम्बर ३१५ थियो भने सिट ३१३ र ३१४ थियो। हामी स्टेडियमको र्याम्प हुँदै गेटतिर लाग्यौँ। पस्ने र्याम्प पनि कत्रो! दोहोरो ट्रक गुड्न मिल्ने। हुन त त्यति ठुलो र्याम्प नभए कसरी निर्माण सामग्री त्यति माथि पुर्याउनु?
पुरानो स्टेडियमलाई भत्काएर बनाइएको लुमनफिल्ड सन् २००२ देखि सञ्चालनमा रहेछ। बनाउँदा विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता समेत हुने गरी बनाउन सियाटलबासीको माग रहेछ र त्यही अनुरूप बनाइएको रहेछ।
हामी गेटभित्र पस्ने बरन्डामा पुग्यौँ। घरबाटै खाना खाएर गएकोले त्यहाँ लन्च गर्न परेन। मित्रले एउटा पानी र बियर लिएर जाऔँ भने। मित्रको कुरालाई कसरी हुन्न भन्नु! दुई डलरको पानीलाई दस डलर र चार डलरको बियरलाई बीस डलर तिर्यौँ। हामी खेल सुरु हुनु भन्दा डेढ घण्टा अगाडि स्टेडियम छिर्यौँ।
स्टेडियमभित्र तल मैदानमा छुट्टै चहलपहल सुरु हुने रहेछ। सबैभन्दा पहिले खेलाडी आए। उफ्रीपाफ्री गरे। यसो अलिअलि खेलको अभ्यास गरे। त्यसपछि औपचारिक प्रवेशको लागि खेलाडी भित्र पस्दा रहेछन्। त्यसपछि रेफ्री, लाइन्सम्यान, फिफा पदाधिकारी र स्वयंसेवक आउँदा रहेछन्।
खुला आकाश देखिने विशाल स्टेडियमको खेल मैदानको वरिपरि चारैतिर हजारौँ दर्शक भरिएका छन्। रङ्गीचङ्गी लुगामा समर्थकहरूको बाजागाजा र हल्ला छ। हात हातमा आफ्नो देशका राष्ट्रिय झन्डा बोक्नेहरू पनि छन्। स्टेडियमभित्रको त्यो वातावरण मेरो लागि नयाँ मात्र थिएन, अद्भुत थियो र रोमाञ्चक थियो। ठुलो स्टेडियममा परबाट हेर्दा मैदानमा खेलाडीहरू राम्ररी नदेखिएलान् कि भन्ने मनमा द्विविधा थियो। तर जर्सी नम्बरसहित खेलाडीलाई मज्जाले देखियो।
जुन देशको टिम जतातिर हुने रहेछ, त्यतैतिर त्यो देशको झन्डा हुने रहेछ। स्टेडियमको धेरै भाग ढाक्ने गरी सहभागी राष्ट्रको झन्डा फिजाइने रहेछ। बोकेर फिजाइने रहेछ। त्यसपछि आयोजक राष्ट्रको राष्ट्रिय धुन बज्ने रहेछ। त्यसैले त्यहाँ अमेरिकाको राष्ट्रिय धुन बज्यो। स्टेडियममा भएका छैसठ्ठी हजार नौ सय मान्छे सबै उठे। त्यसपछि पालैपालो कतार र बोस्नियाको राष्ट्रिय धुन बज्यो, सबै उठे।
स्टेडियममा कुन देशका मान्छे थिएनन् होला र! म जस्तो सोच्दै नसोचेको देशको मान्छे थियो त्यहाँ। राष्ट्रिय धुन बज्दा सबैले उठेर सम्मान जनाएको त्यो दृश्य साँच्चै भावुक थियो। लाग्थ्यो – विश्वकप भनेको प्रतिस्पर्धा मात्र होइन, एक अर्को राष्ट्रप्रति सम्मान हो। सहअस्तित्व हो।
हामी जुन साइडमा बसेका थियौँ, त्यो साइडबाट सियाटल सहर देखिन्थ्यो। मेरा मित्र भन्दै थिए – ‘प्रायः सबै स्टेडियमहरू चारैतिर छानाले ढाकिएका हुन्छन्। लुमनफिल्ड स्टेडियम तीन तिर मात्र ढाकिएको छ। सियाटल सहर आफैँमा सुन्दर छ। त्यो सुन्दरता देखियोस् भनेर एकातिर खुल्लै राखिएको छ।’ सिटी अफ सियाटलकै इन्जिनियरले भनेपछि नपत्याउने कुरै भएन।
विश्वकप हुँदा सियाटल स्टेडियम
बोस्नियाका खेलाडीको जर्सी सेतोमा नीलो र सेतो थियो। समर्थक पनि नीलो र सेतै ड्रेसमा थिए। कतारका जर्सी रातो थियो, कतारका सर्वसाधारण समर्थक रातै ड्रेसमा थिए। औपचारिक कतारी पहिरन पहिरिनेहरू सर्वसाधारण बस्ने ठाउँमा थिएनन्। शायद उनीहरू भिआइपी लाउन्ज वा कर्पोरेट बक्सतिर थिए होलान्।
हजारौँ दर्शकको बीचमा बसेर ठुलो स्टेडियमबाट खेल हेर्दा टिभीमा के हेर्नु जस्तो लाग्दो रहेछ। कल्पनै नगरेको फरक अनुभूति हुने रहेछ। अनि बल्ल मैले महसुस गरेँ कि फ्यानहरू कामधाम छोडेर पनि खेल हेर्न स्टेडियमको भीडभाडमा किन जाँदा रहेछन्?
टिभीमा खेल मैदान ठुलो जस्तो लाग्थ्यो। एक गोल पोस्टबाट अर्को गोल पोस्ट कति टाढा जस्तो लाग्थ्यो। तर स्टेडियममा त्यस्तो लाग्दो रहेनछ। फेरि टिभीमा बल जता जान्छ, त्यता मात्र देख्न पर्ने, खेलाडी लडे लडाएको चाहिनेभन्दा बढी देख्न पर्ने, उही दृश्य दोहोर्याएर देख्नु नपर्दाको त्यो क्षण अर्गानिक लाग्ने रहेछ।
फेरि टिभीमा जस्तो स्टेडियममा विज्ञापन घुमेको पनि देखिँदो रहेनछ। टिभीको आम्दानीको मुख्य स्रोत नै विज्ञापन भएपछि विज्ञापन नघुमाएर अरू के घुमाउनु? तर स्टेडियममा प्रत्यक्ष हेर्दा खेल मैदानको वरिपरि सादा बोर्ड मात्र देखिँदो रहेछ।
गोल लाग्ला लाग्ला जस्तो भएको बेला समर्थकले गर्ने हल्ला र हुटिङले स्टेडियम जुरुक्कै उठ्ला कि जस्तो लाग्दो रहेछ। खेल सुरु भएको आधा घण्टामा बोस्नियाले पहिलो गोल हान्यो, समर्थकले स्टेडियम जुरुक्कै बोके। खेलको आधा समय अगाडि नै बोस्नियाले अर्को गोल थप्यो। आधा समयपछि कतारले एक गोल फर्कायो। एसियाको देश भएकोले मैले पनि हुटिङ गरेँ। नेपालले खेलेको भए त नेपालकै समर्थनमा गर्न हुन्थ्यो। तर नेपाल कहिले विश्वकप पुग्ला? के कल्पना गर्न सकिएला?
युरोपेली मुलुक बोस्नियाले तीनका विरुद्ध एकले कतारलाई जित्यो। फुटबलमा युरोपको एकाधिकार छ। एसिया, अफ्रिका र दक्षिण अमेरिकाबाट खेल्ने अधिकांश खेलाडी युरोपियन क्लबकै हुन्छन्। युरोपमै जन्मे हुर्केका दोहोरो नागरिकता भएका केही खेलाडीले युरोपेली राष्ट्रिय टोलीमा नअटेपछि आफ्नो पुर्ख्यौली देशबाट खेल्छन्। तर धेरैले पारिवारिक र सांस्कृतिक सम्बन्धका आधारमा पुर्ख्यौली देशबाट खेल्छन्। त्यसैले विश्वकपलाई युरोपियन फुटबलको दोस्रो भर्सन भनी कतिपयले टिप्पणी गर्ने गर्छन्।
खेल सकियो, तर हाम्रो घरको वरिपरिको रौनक सकिएन। खेल जितेपछि छेउछाउ र वरिपरि रहेका क्याफे र रेस्टुरेन्ट बोस्नियाका समर्थकले एकलौटी कब्जा जमाएर खाने, पिउने, गाउने र नाच्ने क्रम सुरु गरे। हामी त्यो रौनक हेरेर रमाइरहेका बेला हालै मात्र अमेरिका आएका एक जना नयाँ डाक्टर मित्र पनि थपिए।
डाक्टर र इन्जिनियर मित्रको साथमा साँझतिर समुद्रको किनारै किनार सियाटल सेन्ट्रल वाटरफ्रन्ट हुँदै डाउनटाउन पुगियो। त्यही दिन मेक्सिकोले पनि उता आफ्नै राष्ट्रमा भएको खेल जितेको रहेछ। डाउनटाउनमा झन् बोस्निया र मेक्सिको दुवैको चहलपहल रहेछ। झन् मेक्सिकोको चहलपहल त झन् उग्र थियो। हाम्रो घर छेउको सानो पार्कमा भेला भएर मेक्सिकोको झन्डा फहराइरहेका थिए। झन्डा फहराउन एउटा ठिटो बिजुलीको पोलमा चढ्दै थियो। लडेर मर्ला कि भनेर मलाई डर लाग्दै थियो। यो मान्छेको मन पनि अचम्मको छ। चढ्नेलाई डर छैन, देख्नेलाई डर छ।
इजिप्ट र इरानको खेल जुन २६ मा थियो। घरको छानाबाट देखिने चहलपहल उस्तै थियो। आफ्नै घरको पन्ध्रौँ तलामा बसेर स्टेडियमको हल्ला सुन्दै विश्वकप हेरियो। तर स्टेडियमको हल्लाले त्यो हेराइ टिभीको हेराइ जस्तो थिएन। स्टेडियममै बसेर हेरिरहेको हो कि जस्तो अनुभूति भइरहेको थियो।
बाँचेको भएर नै होला, विश्वकप फुटबल देख्न पाइयो। घरको आँगनमा देख्न पाइयो। आफ्नै घरको छानाबाट देख्न पाइयो। जिन्दगीमा विश्वकप देख्न पाइएला भनेर कल्पनै गरेको थिइनँ। लिग चरणको खेल हेरेपछि फेरि माथिल्लो चरणको विश्वकप हेर्ने रहर जाग्यो। क्यानडाको भ्यान्कुभरमा हुने सोह्रौँ राउन्डको विश्वकप फेरि हेर्ने रहर बोकेर सियाटलबाट भोलिपल्ट दिउँसो आफ्नै कर्मथलो भ्यान्कुभर फिरियो।