यो भनाइ मेरो होइन, राजधानीका विविध कलेज स्कुलमा विगतका २६ वर्ष देखि पढाउँदै छु। पढाउन जाने क्रममा कहीँ-कहीँ कुनै-कुनै स्कुल कलेजमा पिरियड खाली भएर शिक्षकको भलाकुसारी हुने क्रममा शिक्षकबाट आएको तर्क हो, ‘अबका दिन केही वर्षमा मास्टर भेटिन्न।’
उहाँको तर्क थियो यसमा ७ कारणहरू छन्। एक त अभिभावकदेखि सञ्चालकसम्मको टोकाइ, भनाइ, डसाइ। दोस्रो भुक्तानी पनि त्यति आकर्षक छैन, तेस्रो विद्यार्थीहरूमा मोबाइल तथा सोसल मिडियाको लत, चौथोमा विद्यार्थीमा देखिएको अध्ययन प्रतिको वितृष्णा, पाँचौँमा सरकारको बेवास्ता, छेटौँ समाजको हेयभाव, सातौँमा कम आयमा बढी नै खटाई।
यी सात कुराले गर्दा मास्टर भेट्न गाह्रो छ आजका दिनमा।
कति कलेज र स्कुलमा पद खालि छ तर टिकेर जिम्मा लिएर, समर्पित भएर, विषयवस्तुमा दक्खल राखेर, सहनशील र धैर्य राखेर पढाउने मास्टर भेट्न गाह्रो नै छ। हुन त निवेदन दिने पढाउन चाहने, जागिर माग्न आउने, बेरोजगारको ताँती नै छ तर खास गरी शिक्षक नै बन्छु भन्ने मुस्किलले भेटिएला।
हुन त शिक्षकलाई बारम्बार लगाउने आरोप अन्त नपाएपछि मास्टर। अपवाद बाहेक सबैजसो ठाउँमा मास्टरी गर्न कठिन छ, असिनपसिन छ। चाहे विद्यार्थीले गर्दा होस, चाहे सञ्चालकले गर्दा, सबैलाई एकै काँटामा राख्न मिल्दैन, कोही अब्बल छन्, तिनलाई सलाम गर्न पर्छ, तिनीहरूको जय हो।
आजकल यसो साथीभाइ भेटिँदा ‘कहाँ के गर्छस्’ सोध्छन्, मास्टरी भनेपछि निधार खुम्च्याउँछन्। किन हो कुन्नि हेउ पाउन सकिनँ! पूर्णकालीन मास्टरी मैले कमै गरेको छु तर काम, समय, ध्यान, दिल कुनै पूर्णकालीन मास्टरको भन्दा कम छैन, बढी नै छ।
क्वालिटी टाइम या क्वान्टिटी टाइम भन्दछन् विदेशीहरू। आफू पनि विदेशीको गोठालो अधिक समय भइयो। काम गरियो विदेशी भोगियो। दुई चार पैसा विदेशीको तनखा पनि खाइयो। यसैले उनीहरूको क्वालिटी टाइम भन्ने शब्द मन पर्छ।
‘पूरा समय मास्टरीमा गुजारेका प्रोफेसरले पढाएको भएन बरु सरले’ भन्ने पनि भेटेको छु। आफ्नो बदख्याई गरेको बिलकुलै होइन। कुनै मास्टर राम्रो र नराम्रो हुनुमा विद्यालय कलेजको वातावरण, त्यसका सञ्चालक, प्राचार्य, विद्यार्थी, विषयवस्तु आदिको पनि भूमिका हुन्छ। यो सबै कुरा बुझेर मात्र बोल्नुपर्छ।
‘घरको कुरा स्कुलमा नल्याऊ, स्कुलको कुरा घरमा नल्याऊ’ त्यो नै उपयुक्त कल्याणकारी तरिका हो तर मानव मस्तिष्क हो कता-कता आइहाल्छ। यदि त्यो बानीको विकास गर्न सके त बेहतर नै हो, चाहिने कुरा नै हो।
कतिपय विद्यार्थीहरू भन्ने गर्छन्, ‘यो फलानो सर त खालि मेरो बच्चा छोरा यस्तो, छोरी यस्तो, मैले यस्तो गरेँ, उस्तो गरेँ भनेर आफ्नै बखान लगाउँछ।’ कसैको बानी पनि हुन्छ फेरि शिक्षक पेसामा मौन भन्ने हुँदैन। बोली राख्नुपर्छ पनि। यसो हुँदा कुनै सरबाट कतै त्यस्तो भएको पनि हुन सक्छ। सकेसम्म हामीले आफ्नो बखान नलगाएको राम्रो, मानवीय भुल यदाकदा भइहाल्छ। गम्भीर त्रुटि होइन।
केही वर्ष पहिले स्पेन घुम्न जाँदा सडकमा एक नेपाली भेटियो। उनी काममा जाँदै थिए। तपाईंलाई काममा ढिला होला भरे भोलि बात गरौला भन्दा उनीले पोखेको दुखेसो यस्तो थियो- ‘घरकाले बोलाउँदैनन्, बोलाए त फर्किन्थेँ म त, यहाँ तलबले खानै पुग्दैन। जागिर गए जाओस् बरु कामबाट निकाले हुन्थ्यो, नेपालमा धेरै वर्ष मास्टरी गरेँ, पेन्सन पाक्ने बेलाको जागिर हाँपेर आइयो। पछुतो भएको छ।’
धेरै मास्टर पलायन पनि भएका छन्।
यो मास्टरी पेसा धेरै नै याक्टिभ जब हो, प्यासिभ भएपछि काम छैन, जागिर गयो। कसैले दया माया गर्दैन। आँखा, कान, खुट्टा, मुख, हात मजबुत हुन पर्छ। बोली जिब्रो लरबरिएपछि, आँखाको ज्योति कम भएपछि, कान सुन्न छाडेपछि काम छैन। हुन त अरू नोकरी पनि यस्तै हुन् तर यो बोली बेच्ने घाँटी बेच्ने काम कठिन नै छ। यसैले हत्तपत्त मानिस यो लिन चाहन्न।
हुन त सबै जागिर याक्टिभ जब नै हुन्, अझ त्यसमा मास्टरी विशेष याक्टिभ जब हो। लोसे हुनासाथ कति लोसे सुस्त भन्दछन्।
पहिला पहिला मालिक, साहु र सञ्चालकले हेप्थे। अहिले हेप्नेको संख्या मनग्ये छ, जसमा विद्यार्थीदेखि तिनका अभिभावकसम्म, छिमेकीदेखि समाजसम्म, सरकारदेखि सरोकारवाला सम्म, पब्लिसरदेखि लेखकसम्म, लेखापालदेखि प्रशासनका मान्छेसम्म सबैको हेला छ मास्टर।
समाधान के त?
मास्टर बनेपछि उसले पनि आफ्नो पेसा, इलम, जागिर जोगाउन केही कुरा मनन गर्नै पर्छ। पहिला आफ्नो मूल्य आफै बढाउने हो। सस्तो, हर क्षण उपलब्ध, निरीह हुन आवश्यक छैन। तर पेसा विषयवस्तुमा, प्रखर, दक्ष, अव्वल बन्न भने छाड्नु भएन। अंग्रेजी भनाइ छ नि- ‘डन्ट लभ योर कम्पनी, लभ योर जब।’
यो भनाइमा धेरै दम छ जागिर, काम, पेसामा उत्कृष्ट बन्नुस्। कम्पनी आउँछन् जान्छन्, टिकाउ हुँदैनन्। तर काम, दक्षता, विशिष्टता हासिल गर्नुस्। काममा १०० प्रतिशत दिनुस्। तपाईंले कसैसँग सम्झौता गर्नु पर्दैन।
नयाँ कुरा सिक्ने, जान्ने उत्साह, धैर्यवान्, सहनशील हुन हुन्न भने मास्टरीमा न आएकै राम्रो। मासु खाने, पिज्जा खाने, पनिर खाने, सुट लाउने, कार चढ्ने, विदेश घुम्ने बिचार लिने महत्त्वाकांक्षीलाई शिक्षण पेसा सुहाउँदैन पनि। यो ख्याल गर्नुस् दुनियाँमा काम धेरै किसिमका छन्। अवसर यत्रतत्र छन्। खालि खोज्न पर्यो मात्र त्यही हो।
दैनिक पाठ योजना, पेडागोजी, पाठ्यक्रम, शिक्षण कला, आदि विषयको बढी हेक्का राख्नुस्।
अहिले शिक्षण धेरै किसिमको मान्छे छन् जो प्रात कालमा मात्र काम गर्छन्, दिउसोमा अन्यत्र पूर्णकालीन काम गर्ने छन्। अल्पकालीन काम गर्ने करार, आंशिक, भिजिटिङ ज्यालादारी यावत छन्। यी सबै तपाईंले झेल्न पर्छ। कुरा लगाउने, कान भर्ने, चुक्ली लगाउने, कुरा ओसार्ने, कुरा लगाएर जागिर खाने यहाँ पनि छन् अरू ठाउँ जस्तै। तर तपाईं विषयवस्तुमा दक्खल गर्नुस् जुट्नुस्, लाग्नुस्, खट्नुस्।
शिक्षण पेसामा सरकार, सरोकारवाला, निकाय, विभागबाट शिक्षण पेसालाई टेवा पुग्ने तालिम, गोष्ठी, सेमिनार, सभा, अन्तरक्रिया, छलफल होला भन्ने भ्रम त्याग्नुस्। लाग्छ शिक्षकलाई सबैथोक थाहा छ, सिक्न पर्दैन जे पनि जानेको छ भन्ने भ्रम समाजमा छ। यो भ्रमले देश खाल्डोतर्फ गइरहेको छ। अर्को अभिभावक चाहिँ द्रव्य तिरेपछि काम खत्तम भन्ने सोचका छन्। द्रव्य केही कुरा होला, सबै कुरा पक्कै होइन। विद्यार्थीहरू मास्टरलाई कुनै गन्दैनन्, मान्छे नै भन्दैनन्।
आठ घण्टा स्कुलमा, १६ घण्टा घरमा, आठ घण्टा सुताई, दुई घण्टा खेलाई खानपिन सरसफाइपछि बच्चामा खास ६ घण्टा समय हुन्छ। त्यही छ घण्टा मिलाउन सके हुन्छ तर अभिभावकहरू पनि बिस्तारै अल्छी गैरजिम्मेवार भएको जस्तो आभास हुँदैछ। यो भन्दा सायदै माइतीघरमा जुलुस ननिक्लेला।
अन्त्यमा, हरेक काम ठाउँ स्थान देश भाग विदेश सबैतिर केही न केही विकृति छन्। राम्रा-नराम्रा कुरा सबैतिर छन्। शिक्षण पेसा होइन, अन्य पेसामा पनि चुनौती, कुण्ठा, वेदना, पीडा छन् नै। यसैले समाधान भनेको आफ्नो काम लुरुलुरु गर्ने, आफ्नो बाटो हिँड्ने, कसैको टीकाटिप्पणी नगर्ने, अह्राएको दिएको काम गर्ने, दिएको थापेर खाने हो। यही हो सबैले मरिहत्ते गरेर ल्याएको तन्त्र। कसैले तपाइले कहीँ कतै गुनासो राखे पनि सिन्को भाँचिने वाला छैन।
भ्रममा नपर्नु, कसैले तपाईंको कुरा सुन्ला भनेर। समयको बरबादी मात्र हो। यो समाज ढोगी छ। सुकिलामुकिलाको कुरा सुन्ने हो, सत्य सिधा प्रस्ट कुरा कसैलाई मन पर्दैन। यो पेसा सुध्रिन गाह्रो छ। पहिला हामी मास्टर नै सुध्रिन पर्यो त्यसपछि बच्चाको कुरा। आखिर ती बच्चा न हुन्, दिमाग परिपक्व छैन पनि ,तिनीहरूले के भने कसो गरे कुरा गर्नु व्यर्थ छ। यसैले यो पेसा रहुन्जेल यस पेसाको भलो गरौँ; आफ्नो पनि भलो हुन्छ, बाँकी कुरा भगवान् भरोसा।