सिङ्गापुर आएको चार महिना बितेछ। भूगोलले सानो भए पनि विकास, प्रविधि, अनुशासन र सुशासनका हिसाबले संसारका अग्रणी देशमध्ये एक सिङ्गापुर र संसारकै सबैभन्दा उत्कृष्ट अस्पतालमा करिब ४ महिनादेखि काम गर्दै छु।
यहाँ आएको पहिलो महिना मेरो लागि कुनै हलिउड फिल्मको दृश्यभन्दा कम थिएन। लाग्थ्यो, म सपना देखिरहेको छु। अग्ला भवन, सफा सडक, समयको सम्मान, व्यवस्थित जीवन— यी सबै त्यो हलिवुड मुभीको फिल्ममा देखिने जीवन र शैली आफ्नै अगाडि थियो।
कफीको ग्लासदेखि व्यस्त जीवन, द्रुतगतिमा हिँडेको ट्रेन, स्वचालित बाटा, व्यस्त मान्छे अनि जीवन ठ्याक्कै कुनै मुभीको कुनै सिनको कुनै एउटा भाग, हेरिरहेको छु।
तर सिङ्गापुरसँग मेरो सम्बन्ध आजबाट सुरु भएको होइन। म सानैदेखि यसको नाम सुन्दै हुर्किएको मान्छे हुँ।
म एउटा कम्युनिस्ट परिवारमा हुर्किएको हुँ। मैले संसार चिन्न थालेदेखि नै हाम्रो घरका भित्तामा टाँसिएका क्यालेन्डर, पुस्तक र पत्रिकाहरूमा कम्युनिस्ट नेताहरूका तस्बिर देख्थेँ। मेरो बुबा कम्युनिस्ट विचारधाराप्रति गहिरो आस्था मात्र हैन सक्रिय कार्यकर्ता नै हुन्थ्यो। त्यसको कारण केवल राजनीति थिएन, उहाँको जीवनको भोगाइ थियो।
उमेरको कलिलो ८ वर्ष हुँदैमा बाबा-आमाको काख रित्तो, गरिबी, अभाव र संघर्षबिच हुर्किनुभयो। मलाई लाग्छ मेरो बाबाले सानो उमेरबाट नै आफ्नो श्रमबिना केही पनि सम्भव हुँदैन भन्ने नै थियो जस कारण पनि श्रमिकको सम्मान गर्ने विचारधाराप्रति उहाँको विश्वास भएको भन्ने लाग्छ मलाई।
मेरो बुबा कसरी कम्युनिस्ट बन्नुभयो भन्ने कुरा भन्दा पनि म किन कम्युनिस्ट विचारधाराप्रति आकर्षित भए भन्ने कुरा महत्त्वपूर्ण छ। मेरो बाल्यकाल जनयुद्ध, आन्दोलन र माओवादी राजनीतिक परिवेशमै बित्यो। घरमा राता किताब, ‘लाल सलाम’ लेखिएका झन्डा, हँसिया र हतौडा र राजनीतिक सामग्री पढ्दै, सेल कमिटीका बैठक देखि, मसाल जुलुस, देखि बटालियन कमान्डरहरू कमान्डसम्म देख्ने अवसर मैले पाएँ, त्यति बेला मलाई संसारमा एउटा मात्रै पार्टी छ जस्तो लाग्थ्यो— ’नेपाल कम्युनिस्ट माओवादी।’
मेरो बाल्यकालका केही दृश्य आज पनि मानसपटलमा ताजा छन्। हरेक पल्ट बुवा घरमा आउँदा म र मेरो ममी घरका दुई झ्यालमा कुर्ने बसेका हुन्थ्यौँ। एक बिहान टाढाबाट प्रहरीको भ्यान हाम्रो घरै बाटो तिर सोझियो। बिहानपख नै ममीले बाबालाई भन्नु भयो। बाबा एक तला माथिबाट हाम फालेर भाग्नु भयो, मकै बारी भित्र लुकेर बस्नु भयो, हामीसँग पुलिसले सोधेर फर्कियो।
यदि उहाँ त्यस दिन भाग्न सफल नभएको भए, सायद उहाँ फर्केर आउनुहुन्थ्यो या आउनुहुन्थेन थाहा थिएन, त्यस बेला सुराकी लगाउने र केही व्यक्ति समातिएका कारण नै मेरो घरमा पुलिस आएको थियो भन्ने कुरो धेरै पछि थाहा पाएँ मैले।
गाउँमा भएको एउटा चोकमा बम विस्फोटको घटनामा पनि उहाँमाथि आरोप लगाइयो र प्रशासनसम्म पुर्याइयो। मुद्दाको जिल्ला प्रशासन कार्यालयमा तारिख लिन जाँदा म साइकलमा बसेर गएको अलि थाहा पाउँछु। ती सबै घटनाले मेरो मनमा कम्युनिस्ट आन्दोलन केवल एउटा राजनीतिक विचार होइन, हाम्रो परिवारको जीवनसँग गाँसिएको वास्तविकता हो भन्ने अनुभूति गरायो।
समय बित्दै गयो। देशमा परिवर्तन आयो। जनयुद्ध, जनआन्दोलन र बाह्र बुँदे समझदारीपछि नयाँ गणतान्त्रिक नेपालको चर्चा सुरु भयो। किसान, गरिब, दलित, महिला, आदिवासी–जनजाति, मुस्लिम र उत्पीडित समुदायका अधिकारका विषयमा खुलेर बहस हुन थाल्यो। त्यो समय हरेक नेपालीको मनमा एउटा साझा सपना थियो— नेपाल कहिले सिङ्गापुर बन्छ?
नयाँ नेपाल को परिकल्पना थियो। जनयुद्ध अनि आन्दोलनको बिच राजतन्त्रको अन्त्य अनि गणतन्त्र नेपालको स्थापना।
त्यही समयमा मैले पहिलो पटक बारम्बार सुनेको नाम थियो— ली कुआन यु। भनिन्थ्यो, उनले एउटा सानो र गरिब देशलाई संसारकै सफल राष्ट्रमध्ये एक बनाए। त्यसै बेला कमरेड प्रचण्डको भाषण पनि सुनिन्थ्यो— ‘नेपाललाई सिङ्गापुर, बनाइदिन्छु।’
त्यो भाषणले मेरो बाल मस्तिष्कमा गहिरो प्रभाव पारेको थियो। मैले मानेको, मेरो परिवारले विश्वास गरेको, जनयुद्धको नेतृत्व गरेको नेताले नेपाललाई सिङ्गापुर बनाउने कुरा गर्दा मलाई त्यो असम्भव लाग्दैनथ्यो। बरु लाग्थ्यो— एक दिन नेपाल पनि त्यस्तै बन्छ। तर कस्तो थ्यो सिंगापुर भन्ने थाहा थिएन, गज्जब नै त छ होला भने लाग्थ्यो।
सायद त्यति बेलाको उद्देश्य गलत थिएन। सायद त्यो समयको सबैभन्दा ठुलो विकासको उदाहरण नै सिङ्गापुर भएकाले त्यो सपना देखाइएको थियो। मलाई आज पनि लाग्छ, पन्ध्र–बिस वर्षअघि नै सिङ्गापुरको विकासलाई नेपालको लक्ष्य बनाउन सक्ने दूरदृष्टि प्रचण्डसँग मात्र नै थियो।
तर समयसँगै—प्रचण्ड बिस्तारै पुष्पकमल दाहालमा सीमित हुँदै गए।
मेरो विचारमा, त्यति बेला ‘प्रचण्ड’ भन्ने नाम केवल एउटा व्यक्ति थिएन, एउटा विचार थियो, एउटा सपना थियो। तर बिस्तारै त्यो सपना सत्ता, गठबन्धन र सरकारको राजनीतिमा हराउन थाल्यो। नेपाललाई सिङ्गापुर बनाउने सपना ओझेलमा पर्यो। आन्दोलनका कार्यकर्ता, किसान, श्रमिक र वर्ग संघर्षका सहयात्रीहरू पछाडि परे। कम्युनिस्ट एकताको कुरा गर्दै विभाजन भए। सरकारहरू बने, ढले, फेरि बने, तर सिङ्गापुरको सपना फेरि कहिल्यै प्राथमिकतामा आएन।
आज कम्युनिस्ट आन्दोलन कमजोर हुनुको एउटा कारण पनि यही हो भन्ने मलाई लाग्छ। आन्दोलनले आफ्नो मूल सपना बिस्तारै बिर्सियो।
आज संयोगले म स्वयं सिङ्गापुरमा छु। चार महिनादेखि यहाँ बस्दै गर्दा मैले एउटा कुरा स्पष्ट बुझेको छु— सिङ्गापुर संयोगले बनेको होइन। यसको पछाडि अनुशासन, इमानदार नेतृत्व, दीर्घकालीन योजना, कानुनको सम्मान र नागरिकको जिम्मेवारी छ।
हरेक दिन यहाँका सडकमा हिँड्दा, सार्वजनिक सेवा प्रयोग गर्दा, अस्पताल, यातायात र व्यवस्थापन हेर्दा मेरो मनमा एउटै प्रश्न उठ्छ— ‘हामीले किन सक्दैनौँ?’
त्यसै बेला मेरो बुबाको संघर्ष सम्झिन्छु। उहाँले अभावमा, घुन लागेका मकैको ढिँडो खाएर हुर्कनु भयो। ऋण गरेर, दुःख गरेर हामीलाई पढाउनुभयो। सायद उहाँले कहिल्यै कल्पना गर्नुभएको थिएन कि उहाँको छोरा एक दिन सिङ्गापुरमा उभिएर यो देशलाई आफ्नै आँखाले देख्नेछ।
आज मैले देखिरहेको सिङ्गापुर केवल एउटा देश होइन। यो मेरो बाल्यकालको सपना हो। प्रचण्डको भाषणमा सुनेको सपना हो। मेरो बुबाले श्रममार्फत देखेको सपना हो। आज आफ्नै आँखाले अनुभूति गरिरहेको वास्तविकता हो।
नेपाल सिङ्गापुर बन्छ वा बन्दैन, त्यो भविष्यले बताउनेछ। तर एउटा कुरा निश्चित छ— सपना देख्ने साहस, श्रम गर्ने संस्कार र इमानदार नेतृत्वबिना कुनै देश सिङ्गापुर बन्दैन।