नेपाल विविध परिदृश्यको देश हो, जहाँ अग्ला हिमालहरू, रमणीय वन र शान्त तालहरू छन्। देशको पश्चिमी भेगमा अवस्थित रारा ताल आफ्नो मनमोहक सौन्दर्यले हरेक पर्यटकलाई चकित पार्ने रत्न हो।
यो पश्चिम नेपालको मुगु जिल्लामा रारा राष्ट्रिय निकुन्जभित्र अवस्थित एक प्राकृतिक आश्चर्य हो र देशको सबैभन्दा ठूलो ताल पनि।
हरियो जङ्गलले घेरिएको र त्यही हरियालीलाई आफ्नो स्पष्ट पानीमा प्रतिबिम्बित गर्दै रारा ताल पश्चिम नेपालको अप्सरा बनेर बसेको छ।
![11.-Glimpse-of-Rara-1696073758.jpg](https://img.setoparty.com/uploads/posts/11.-Glimpse-of-Rara-1696073758.jpg?timestamp=1696073819379)
रारा तालको हाम्रो यात्रा काठमाडौंबाट नेपालको दक्षिणी तराईको चलायमान सहर नेपालगन्जसम्मको बिहानी उडानबाट सुरू भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको सबेरैको भीडलाई छिचोल्दै बोर्डिङ पास लिई सक्दा नै हाम्रा पाइलाहरू उत्साहित भइसकेका थिए। चेकइन काउन्टरको औपचारिकता सकेर झन्डै आधा घण्टाको प्रतीक्षापछि हामी विमानतर्फ लाग्यौं। काठमाडौंबाट ५० मिनेटको उडानपछि नेपालगन्ज सहर आइपुग्यौं र होटलमा चेकइन गर्यौं। घमाइलो मौसममा सहरको अन्वेषण गर्दै, यसको जीवन्त वातावरणको मजा लिँदै र यसका केही स्वादिष्ट स्थानीय व्यञ्जनहरू चाख्दै हाम्रो पहिलो दिन बित्यो।
भोलिपल्ट, हामी चाँडै उठ्यौं र नेपालगन्ज एयरपोर्ट जानुअघि होटलमा नास्ता खायौं। हामी बिहान करिब ११ बजे रारा तालको नजिकैको ताल्चा विमानस्थल जाने कार्यक्रम थियो। तर, हामीलाई उडान दुई घण्टाअघि नै सारिएको जानकारी दिइएकोले हामी हाम्रो उडान नछुटोस् भनेर सचेत हुँदै विमानस्थल पुग्यौं।
विमानस्थलको औपचारिकता पूरा गरेपछि, छोटो समयमा नै हामी ट्विनअटर प्लेनमा चढ्यौं र पश्चिम नेपालका केही सुन्दर पहाडहरूमाथि उड्दै ताल्चा विमानस्थल सम्मको यात्रा सुरू गर्यौं।
![22.-Amazing-reflection-of-sorroundings-in-Rara-1696073754.jpg](https://img.setoparty.com/uploads/posts/22.-Amazing-reflection-of-sorroundings-in-Rara-1696073754.jpg?timestamp=1696073822600)
हामीलाई केही आश्चर्यजनक पहाडहरू पार गराउँदै उडान लगभग ३५ मिनेट चल्यो। दुई पहाडको बीचबाट सानो विमान छिर्दा आङ सिरिङ्ग हुन्थ्यो किनकि ती पहाडहरू विमानको उचाइभन्दा अग्ला थिए। यस्तै रोमाञ्चकतालाई अँगाल्दै र छोटो उडानको आनन्द लिँदै ताल्चा विमानस्थलमा अवतरण गर्दा हाम्रो खुसीको सीमा थिएन।
हामीलाई ओह्रालेर अरू यात्रु चढाउनेबित्तिकै सानो विमान नेपालगन्ज फर्किहाल्यो। हामी भने ताल्चा विमानस्थल नजिकैको सानो गाउँ छिचोल्दै राष्ट्रिय निकुञ्ज प्रवेशको औपचारिकता पूरा गरेर जङ्गल हुँदै रारा तालतर्फको उकालो पदयात्रामा लाग्यौं।
बाटो अचम्मको थियो, चराहरूको चहकिला र भुइँमा झरेका पातहरूको खस्रो आवाजले यात्रामा साथ दिइरहेको थियो। प्राय: उकालो र केहीसम्म बाटोमा करिब डेढ घण्टाको पैदल यात्रापछि हामीले तालको पहिलो झलक देख्यौं। यो एक मनमोहक अनि रोमाञ्चक क्षण थियो र तालको शान्तता, रङ्ग र सौन्दर्य वर्णन गर्न शब्दहरू कम परिरहेका थिए।
हाम्रो होटल तालको अर्को छेउमा भएकोले हामीले दायाँतिरको पदमार्ग लियौं। देब्रेतिरको एकटकले हेरिरहूँ लाग्ने सुन्दर दृश्यसँग सँगै, तालमा पुग्न बगिरहेका साना र सफा खोलाहरू तर्दै हामी किनारै किनार हिँडिरह्यौं, र त्यो पैदल यात्रा हामीले अहिलेसम्म लिएको सबभन्दा अविस्मरणीय पदयात्रामा परिणत भयो। नेपालको सबैभन्दा ठूलो तालको दाहिने तर्फको आधा पाटो फनक्कै घुम्दा केही घण्टा हिँड्नुपर्थ्यो तर वरपरका पहाडहरू अनि त्यसको प्रतिबिम्बको मोहिनी दृश्यले केही घण्टा बितेको पत्तै पाइएन।
![18.-Murma-Top-and-partial-view-of-Rara-Lake-1696073755.jpg](https://img.setoparty.com/uploads/posts/18.-Murma-Top-and-partial-view-of-Rara-Lake-1696073755.jpg?timestamp=1696073822600)
झन्डै झन्डै सूर्यास्त सँगै हामी होटल पुग्यौं, थकित तर एकै समयमा रोमाञ्चित मुद्रामा। होटल, जङ्गलको बीचमा बसेको एउटा शान्त आश्रयस्थल थियो। हामी हाम्रो कोठामा पुगेर झोला बिसायौं, केही सानो जस्तो देखिए पनि कोठा राम्रो र आरामदायक थियो। रात नजिकिँदै गर्दा वातावरण चिसिन थाल्यो, हामी पनि खाना खाने बेला सम्म आगोको वरिपरि झुम्मियौं। ‘मार्सी’ नामको स्थानीय भात र अन्य नियमित नेपाली परिकार खुवाइयो, जुन अद्वितीय थियो। बेलुकीको खाना खाइसकेपछि, हामी आफ्नो कोठामा फर्कियौं।
भोलिपल्ट नजिकैको ‘मुर्मा टप’ भनेर चिनिने पहाडसम्म हिँड्नु थियो, जुन रारा ताल र वरपरका पहाड र हिमालहरूको मनोरम दृश्यहरूका लागि लोकप्रिय हिल स्टेसन हो।
घाम उदाउँदै गर्दाको न्याना र चम्किला किरणहरूले आकाशलाई चित्रित गर्दैगर्दा, हामी निद्राबाट ब्युँझियौं। आरामदायी निद्रापछिको स्फूर्ति र नवीकरण भएको ऊर्जाको साथ नयाँ दिनको सुरूआत हुँदै थियो। वरिपरि फैलिएको कोणधारी वन, पर देखिएका घाँसे मैदानहरू, अनन्तसम्म फैलिएको नीलो आकाश अनि सिरसिर दौडिरहेका हावाको झोंकाहरूले वास्तवमै, त्यो बिहानीलाई सुन्दर बनाएका थिए।
बिहानी स्फूर्ति महसुस गरेसँगै, ब्रेकफास्टको रूपमा रोटी र तरकारी पनि तयार भयो जुन विशिष्ट ऊर्जाले भरिएको थियो। भरिएको पेट अनि उच्च मनोबलका साथ हामीले केहीछिनमै मुर्मा टप तर्फको बाटो ततायौं, जुन यात्रा हाम्रो कल्पनामा नै रमाइलो र आश्चर्यजनक रूपमा प्रस्तुत भएको थियो।
![17.-Mugu-Karnali-River-and-nearby-Village--1696073756.jpg](https://img.setoparty.com/uploads/posts/17.-Mugu-Karnali-River-and-nearby-Village--1696073756.jpg?timestamp=1696073822600)
हिँड्न नसक्ने तर मनोरम दृश्य छुटाउन नचाहने यात्रुहरूका लागि शुल्क तिरेर गर्न सकिने घोडा सवारीको व्यवस्था पनि थियो। घोडेटो बाटोमा हामी हिँडेरै अघि बढ्दै गर्दा एउटा सानो गाउँले स्वागत गर्यो, प्राकृतिक रूपमा गाउँ जति राम्रो थियो, त्यहाँका कष्टपूर्ण जनजीवनको भेउ पाउन खासै समय लाग्थेन। मानिसहरू आफ्नो दैनिक दुखमा व्यस्त थिए, ती मानिसहरूले प्रत्येक दिन गरिरहने पूर्ण समर्पण र कडा परिश्रमको साक्षी बन्दा हामीलाई केही छिन रमाइलै लागे पनि सधैं त्यहीँ रहनेलाई त्यो खुसी सायदै प्राप्त हुन्थ्यो होला…
गाउँ छिचोलेर अघि बढ्दै गर्दा पैदल यात्रा झनै रोमाञ्चक बन्दै गयो। दाहिनेतिर चियाउँदा रारा तालको दृश्य बिस्तारै देखिन थाल्यो साथसाथै हरिया जङ्गलहरू अनि केही परका सेता हिमालहरू। प्राकृतिक परिवेशको अचम्मको सौन्दर्यमा छक्क पर्दै, चराहरूको चहलपहलसँगै सुनिएको चिरबिर र रूखहरूबाट घामका किरण छिर्दा देखिएका रेखाहरूले साथ लिँदै हामी उकालो चढिरह्यौं।
घुमाउरो र उकालो बाटोले हामीलाई पहाडमाथि लैजाँदै थियो। हाम्रो पदयात्रा जारी राख्दै गर्दा हामी निरन्तर उचाइमा पुग्दै थियौं, रूखहरू बिस्तारै पातलिँदै गए भने तालको झलक लगातार ठूलो र झनै आकर्षक हुँदै गयो। करिब तीन घण्टाको हिँडाइ पछि हामी अन्ततः समुन्द्री सतहबाट ३,७२६ मिटरको उचाइमा रहेको मुर्माको चुचुरोमा पुग्यौं र त्यहाँबाट देखिने दृश्यमा मोहित भइरह्यौं। कर्णालीको मनमोहक सेरोफेरोमा अनन्तसम्म देखिएका हिमाल, पहाड र सुन्दर तालको परिदृश्यमा आँखा टोलाइरहे।
![19.-Rara-Lake-1696073756.jpg](https://img.setoparty.com/uploads/posts/19.-Rara-Lake-1696073756.jpg?timestamp=1696073822600)
करिब २९०० मिटरको हाम्रो होटलको आरामदायी उचाइबाट ३७२६ मिटरको अग्लो उचाइमा पुग्नु सार्थक थियो भन्ने कुरा दृश्यहरूले नै बताइरहेका थिए।
रारा ताल, वरपरका कतै हरिया त कतै खाली रहेका पहाडहरू र हिउँले ढाकिएको हिमालको मनोरम र विस्मयकारी दृश्यहरू पदयात्रा पछिका ठूला इनाम थिए भने नेपालको भव्य सौन्दर्यको वास्तविक प्रमाण पनि।
मुर्माको चुचुरोमा चिसो हावाको वेग केही तीव्र हुँदै थियो। चिसोको खासै परवाह नगरी वरिपरि पर्याप्त समय बितायौं, मनग्ये फोटोहरू खिच्यौँ अनि नजिकैको चिया पसलमा कालो चिया पिएर चुचुरो वाट ओर्लने तयारी गर्न थाल्यौँ। माथिको मनोरम दृश्यहरू र उत्साहजनक अनुभवले हाम्रो आत्मालाई नवीकरण गर्यो, हाम्रा हृदयहरू आश्चर्यले भरिपूर्ण बनायो। ओर्लन थाले सँगै प्रस्ट देखिएका रारा ताल र हिमाली दृश्यहरू बिस्तारै ओझेल पर्दै गए। एक घण्टाभन्दा केही मात्र बढी समयमा हामी होटल आइसकेका थियौं।
होटलमा पुगेपछि, केही समयको आनन्ददायक ब्रेक लिएर खानाको तयारीमा लाग्यौँ। खाना थियो उही चिरपरिचित मार्सी चामलको भात, दाल अनि तरकारी। खाना पछि, नजिकैको मैदानमा आराम लिएसँगै वरपर घोडा सवारीको मजा पनि लियौँ। त्यो नेपालको उत्कृष्ट ठाउँहरूमध्ये एक ठाउँमा बिताएको गुणस्तरीय समय थियो। रात नजिकिँदै गर्दा चिसो बढ्न थाल्यो, आगोको वरिपरि बसेर गीत सुन्दै, नाच्दै गर्दा बेलुकाको खाना खाने बेला भइसकेको थियो। खानाको प्रत्येक गाँसको साथमा यात्राले हृदयमा अमिट छाप छोडेका दृश्यहरू, आवाजहरू र अनुभवहरू सम्झना भइरहन्थ्यो किनकि अर्को दिन बिहानै हामीले सो ठाउँ छोड्दै थियौं, भोलिपल्ट बिहान हामी नेपालगन्ज र त्यसपछि काठमाडौं फर्कंदै थियौं।
![20.-Travellers-getting-down-from-Murma-Lake-1696073755.jpg](https://img.setoparty.com/uploads/posts/20.-Travellers-getting-down-from-Murma-Lake-1696073755.jpg?timestamp=1696073822600)
भोलिपल्ट उठ्दा सूर्योदय पनि भइसकेको थिएन। झोलाहरू प्याक गरेर फ्रेस भई बिहानको खाजा खाएसँगै हामी फर्कने बाटोमा लागिहाल्यौं।
तालको वरिपरिको पदमार्ग लामो भएकोले, र ताल्चा एयरपोर्टबाट नेपालगञ्जको लागि बिहान ९ बजेको नै फ्लाइट भएकाले हामीले र्याफ्टमा ताल पार गर्दै थियौं जुन यो यात्राकै सबैभन्दा धेरै रोमाञ्चक अनुभव भयो। ताल केन्द्रबाट अझ सुन्दर देखिन्थ्यो र हामीले हाम्रो अनुहारमा चिसो हावा महसुस गरिरहेका थियौं। सिरसिर चलेको हावाको झोंकाले सल्बलाएको राराको पानी अनि चारैतिर कोणधारी रूखहरूको साथमा अग्लिएर बसेका डाँडाहरूको मनोरम दृश्यलाई आँखाहरूले लालायित बनेर हेरिरहेका थिए।
झन्डै बीचबाट ताल छिचोल्दै अर्को छेउमा पुग्न हामीलाई एक घण्टा भन्दा अलि बढी लाग्यो। र्याफ्टबाट ओर्लेर आ-आफ्ना झोलाहरू सम्हाल्दै अन्तिम पटक राराको दृश्य हेरेपछि सन्तुष्टि र कृतज्ञताको भावना पोख्दै हामीले ताल्चा एयरपोर्टतर्फको ओरालो बाटोबाट आफ्नो गति बढायौं।
![21.-Sunrise-in-Rara-1696073755.jpg](https://img.setoparty.com/uploads/posts/21.-Sunrise-in-Rara-1696073755.jpg?timestamp=1696073822600)
ओरालो बाटो करिब एक घण्टा हिँडेपछि, हामी एयरपोर्ट छेउको गाउँमा पुग्यौँ, स्याउ लगायतका केही स्थानीय उत्पादन किनेर हामी बोर्डिङ पास लिने लाइन बस्यौँ। पास लिएपछि विमानको लागि पर्खनबाहेक हामीसँग अरू कुनै काम थिएन। दुर्भाग्यवश, अव्यवस्थित एयरपोर्टमा देखिएका केही अराजक गतिविधिको कारणले ट्विनअटर विमान आउनको लागि नै लामो समय पर्खनुपर्यो। पर्खिरहेका बेलामा पनि हाम्रो मानसपटलमा दुई दिन देखिका दृश्यहरू नै घुमिरहेका थिए।
अन्ततः विमान आइपुग्यो र नेपालगन्जबाट मानिस र सामान झारिसकेपछि हामी त्यसमा चढ्यौँ। त्यसको केही मिनेटमै हामी त्यही रारा ताल माथिको आकाशमा उड्दै थियौँ। विमानको झ्यालबाट तालको आंशिक दृश्य सुन्दर थियो, यसले हामीलाई दिएको अविस्मरणीय सम्झनाहरूको लागि हामी कृतज्ञ महसुस गर्यौँ। वरपरका पहाडहरू हेर्दै हामी दक्षिणी समतलतर्फ उडिरहेका थियौँ। मौसम सफा हुँदा उडान सहज भयो र करिब ३५ मिनेटपछि तराईको गर्मीमा पुग्यौं।
नेपालगन्जबाट काठमाडौंको हाम्रो उडान साँझको थियो, त्यसैले झोलाहरू एयरपोर्ट अफिसमा राखेर खाना खान निस्कियौँ। पहिलो निशाना मुबारक भनेर चिनिने बिरयानी पोइन्ट थियो, तर हामी त्यहाँ पुग्दा त्यो दिनको लागि बन्द भइसकेको थियो। हामी अर्को ठाउँमा गयौँ र बिरयानी नै खायौँ, र त्यो राम्रै थियो। त्यसपछि, हामी एयरपोर्ट फर्कियौं र अर्को प्रतीक्षाको खेल सुरू गर्यौँ।
उडान केही ढिलो भएकोले एयरपोर्टमा पर्खाइ केही लम्बियो। बेलुका ७ बजेतिर हामी राजधानीतर्फ उड्न थाल्यौं। रातको उडानको ५० मिनेटपछि, काठमाडौंले हामीलाई स्वागत गर्यो, केही दिन मात्रको भए पनि रारा ताल सम्मको रोमाञ्चक र मनमोहक यात्राको सम्झनाहरूको अमिट छाप लिएर घरमा आइपुगेकोमा हामी खुसीले भरिएका थियौं।
![16.-Mountains-seen-from-Murma-Top-1696073757.jpg](https://img.setoparty.com/uploads/posts/16.-Mountains-seen-from-Murma-Top-1696073757.jpg?timestamp=1696073819379)
![14.-Travellers-with-View-of-RaRa-Lake-from-Murma-Top-1696073757.jpg](https://img.setoparty.com/uploads/posts/14.-Travellers-with-View-of-RaRa-Lake-from-Murma-Top-1696073757.jpg?timestamp=1696073819379)
![12.-Mountains-seen-from-Murma-Top-1696073758.jpg](https://img.setoparty.com/uploads/posts/12.-Mountains-seen-from-Murma-Top-1696073758.jpg?timestamp=1696073819379)
![8.-Rara-Lake-1696073760.jpg](https://img.setoparty.com/uploads/posts/8.-Rara-Lake-1696073760.jpg?timestamp=1696073819379)
![9.-Murma-village-1696073760.jpg](https://img.setoparty.com/uploads/posts/9.-Murma-village-1696073760.jpg?timestamp=1696073819379)
![10.-Murma-village-1696073759.JPG](https://img.setoparty.com/uploads/posts/10.-Murma-village-1696073759.JPG?timestamp=1696073819379)
![13.-View-of-RaRa-Lake-from-Murma-Top-1696073759.jpg](https://img.setoparty.com/uploads/posts/13.-View-of-RaRa-Lake-from-Murma-Top-1696073759.jpg?timestamp=1696073819379)
![6.-Rara-Lake-1696073761.jpg](https://img.setoparty.com/uploads/posts/6.-Rara-Lake-1696073761.jpg?timestamp=1696073819379)
![6.-Rara-National-Park-1696073761.jpg](https://img.setoparty.com/uploads/posts/6.-Rara-National-Park-1696073761.jpg?timestamp=1696073819379)
![3.-Plane-just-flew-from-Talcha-1696073763.jpg](https://img.setoparty.com/uploads/posts/3.-Plane-just-flew-from-Talcha-1696073763.jpg?timestamp=1696073819379)
![1.-Talcha-Airport-1696073763.jpg](https://img.setoparty.com/uploads/posts/1.-Talcha-Airport-1696073763.jpg?timestamp=1696073819379)
![5.-En-Route-to-Rara-1696073763.jpg](https://img.setoparty.com/uploads/posts/5.-En-Route-to-Rara-1696073763.jpg?timestamp=1696073819379)
![4.Chankheli-Peak-1696073762.jpg](https://img.setoparty.com/uploads/posts/4.Chankheli-Peak-1696073762.jpg?timestamp=1696073819379)
![2.-Talcha-Airport-1696073761.jpg](https://img.setoparty.com/uploads/posts/2.-Talcha-Airport-1696073761.jpg?timestamp=1696073819379)