२०६९ फागुन १३ गते।
झपक्क आँखा लाग्दै थिए। ढोकामा कसैले ढकढक गर्यो। मेरो निद्रा उड्यो। घडी हेरें, ७ बजेर ९ मिनेट गएको रहेछ। ढोका उघारें। अफिसकै फिल्ड स्टाफ तिलक भाइ रहेछन्।
'नमस्कार सर! सरी है, मैले हजुरको निद्रा भङ्ग गरिदिएँ,' भाइले हल्का अप्ठ्यारो मान्दै भने।
नमस्कार पनि अर्धनिद्रामै फर्काएँ मैले, 'केही छैन भाइ। हामी हिँड्ने तयारी पनि त गर्नुपर्छ होला नि,' मैले भनें, 'बरू तिमी आएर ठीक गर्यौ। नत्र त म बिहानभरि सुत्थें होला।'
भाइ मुसुक्क हाँसे, 'हजुर सर। छकालै निस्की जाउँला। न्यानो कपडाहरू हाल्नुहोला सर। ठाउँ चिसो छ। बाटो लामो छ। यात्रा नयाँ छ। पट्यार लाग्न सक्छ। बरू बिस्तारै बाटोमा बस्दै र आराम गर्दै जाउँला।'
ती भाइ सदरमुकाम आउने कुरा पहिले नै लेखापाल कुलबहादुर लामाले भनेका थिए। मैले उनी आएको मौकामा चौका हान्ने योजना बुनेर बसेको थिएँ। सोहीअनुरूप फिल्डको योजना बनाएर चाहिने सबै सामान तयारी अवस्थामा राखेको थिएँ।
फागुन लाग्दासम्म चिसो सकिएको थिएन। हुन त हुम्लामा बाह्रै महिना चिसो हुन्छ। सिमकोटमा हिउँ पर्दा धेरै पटक चिसै रात बिताएको छु। त्यो बाध्यता पछि बानी बन्यो। जाडो भगाउन धेरैले छ्याङ्कोलमा छुर्पी झानेर खान्थे। कतिले रम खान्थे। म मदिरा नपिउने, त्यसैले बाक्लो ज्याकेटमै दुइटा सिरक खापेर सुत्थेँ। खुट्टामा मोजा हुन्थे, टाउकोमा बाँदरमुखे टोपी। कहिलेकाहीँ पेमा होटलकी अजी (दिदी) र नीमा म्याडम (घरबेटी) ले थुप्का बनाएर दिन्थे। धेरै माया गर्थे मलाई उनीहरूले।
शरीर ताते पनि पैंताला कठ्याङ्ग्रिने चिसा हुन्थे। प्रायः म निदाउने बिहानपख नै हुन्थ्यो। हिउँ परेपछिको जाडो अति नै हुन्थ्यो। कहिलेकाहीँ रम र छ्याङ्कोल खान सिकूँ झैं हुन्थ्यो। तर, मन मान्दैनथ्यो। मैले कहिल्यै मदिरा पिउन सिकिनँ।
सिमकोटमा सानो हाइड्रोपावर थियो। भोल्टेज पनि कम थियो। जाडोमा सबैले हिटर जोड्थे। राइस कुकर चल्थे। सबैले विद्युत प्रयोग गर्दा पावर सट भइहाल्थ्यो। कहिले भात काँचै हुन्थ्यो। कहिले आधा पाकेको भात प्रेसर कुकरमा खन्याएर दाउरामा पकाउनु पर्थ्यो। पछिपछि त लोडसेडिङ नै सुरू गर्यो विद्युत प्राधिकरणले। सुत्ने बेलासम्म बत्ती आउँदैनथ्यो। राति कति बेला आउँथ्यो, कसैलाई पत्तो हुँदैनथ्यो। बिहान उठ्दा बत्ती गइसकेको हुन्थ्यो। कीर्तिपुरमा बसेर मास्टर्स पढ्दाको याद आउँथ्यो सिमकोटको लोडसेडिङले। काठमाडौं पढ्दा पनि धेरै समय अँध्यारोमै बिताइयो। हुम्लामा मोबाइल सोलारबाट चार्ज हुन्थे। हिउँ परेको दिन न बत्ती हुन्थ्यो, न सोलार। धेरै दिनसम्म घरपरिवार, साथीभाइ र आफन्तसँग सम्पर्कविहीन भएर बस्नु पर्थ्यो।
कर्णाली नदी।यो पटकको फिल्ड पृथक हुनेवाला थियो। किनकि, म त्यस्तो ठाउँ जाँदै थिएँ, जहाँ कतिलाई त त्यो ठाउँकै बारेमा थाहा थिएन।
नेप्का — हुम्लाको त्यस्तो ठाउँ हो, जहाँ दिनमा पाँच पटकसम्म घाम उदाउने र अस्ताउने गर्छ। जहाँ एउटै जाति (तामाङ)को बसोबास छ। राज्यका लगभग सम्पूर्ण सेवा र सुविधाबाट अलग्गै बसेको गाउँ। सौन्दर्यको आँखाबाट हेर्दा यो जत्ति राम्रो ठाउँ अन्त कतै छैन झैं लाग्छ। हुम्ला गएकै केही हप्तामा नेप्काको महिमा सुनेको थिएँ। त्यसैले पनि मनमा हुटहुटी जागेको थियो। नेप्का त्यति सजिलै जान सकिने ठाउँ भने थिएन। पूरै तीन दिन लाग्थ्यो। बिना उद्देश्य जान पनि गाह्रो थियो। एक्लै जान पनि सम्भव थिएन। स्थानीयले समेत साथी खोज्थे नेप्का जाँदा। आफ्नै लगानीमा जान झन् गाह्रो थियो।
मेरो इच्छा किर्डाक नेपालले पुर्याइदियो। किर्डाकबाट नेप्काको डाँफे आधारभूत विद्यालयको बाल क्लबका भाइबहिनीलाई बालअधिकारसम्बन्धी दुई दिने तालिम थियो। कार्यक्रमको सहजीकरण गर्न म आफै नेप्का जाने निर्णय गरें। मेरा शरीरका सबै हड्डी एकै पटक हाँसे।
'८ बजेतिर तयार भएर बस्नुहोला सर। म बजारमा केटाकेटीलाई बिस्कुट, चाउचाउ र दालमोट किनेर आउँछु,' मेरो यात्राका सहयात्री ती भाइले भनेका थिए, 'गाउँमा चाउचाउ, बिस्कुट र दालमोटको महत्व कल्पनाभन्दा बाहिरको हुन्छ। जहाज चढेर आउँछन् यस्ता सामान। त्यसैले नेपालगन्ज र सुर्खेतभन्दा ठ्याक्कै दोब्बर मूल्य पर्छ। अझै कुनै सामान त त्योभन्दा पनि महँगा हुन्छन्। तर, बाध्यताको अगाडि कसैको केही लाग्दैन। चाहिएपछि किन्नै पर्यो। केटाकेटीको मन पनि खुसी राख्न पर्यो। यो सब दु:ख खानैका लागि गरिएको हो। उनीहरूको खुसीमा आफ्नो खुसी मिसिएको हुन्छ सर।'
फिल्ड जानु अघिल्लो दिन पत्रकार जयबहादुर रोकाया दाइलाई भेटें। नेप्काको बारेमा उनले धेरै जानकारी दिए। सिमकोटदेखि नेप्का पुग्दासम्मको तयारीका बारेमा बताएर उनले धेरै सहज बनाइदिए।
पत्रकारिता र फिल्डको लामो अनुभव थियो जय दाइसँग। प्रायः हुम्ला पुग्ने नयाँ मान्छेले उनलाई भेट्थे। उनकै सुझाव र रायका आधारमा योजना बनाउथे। अझ भन्ने हो भने उनी हुम्लाका 'इन्साइक्लोपिडिया' थिए। 'कान्तिपुर' दैनिकमा हुम्लाबाट रिपोर्टिङ गर्थे। हुम्लासँगै कर्णालीबारेमा धेरै कुराको जानकारी थियो उनीसँग। दाइलाई एकदिन नभेटेपछि मलाई केही कुरा 'मिस' भए झैं लाग्थ्यो। दाइको घर गएपछि स्याउ खानै पर्थ्यो। आफूले मार्फा लिन्थे, मलाई स्याउ दिन्थे। दाइले पनि मलाई रम र छ्याङ्कोल खान बहुत जोड गरे तर सकेनन्। पछि जोड गर्नै छोडे। दाइको आफ्नै ठूलो स्याउ फार्म थियो। मैले पहिलो पटक स्याउ बोट देखेको र बोटमै चढेर स्याउ खाएको दाइकै फार्ममा हो। जुनसुकै मौसममा कोल्ड स्टोर स्याउले भरिएको हुन्थ्यो। धेरै पुराना रम स्टक राख्ने र रममा विभिन्न जडिबुटी मिसाएर पिउने उनको सोख थियो।
म कुनै दिन दाइको घर गइनँ भने फोन गरेर बोलाइहाल्थे। असाध्यै माया गर्थे। यस्तो माया गर्ने जयबहादुर दाइलाई भगवानले झन् धेरै माया गरे र आफैसँग लिएर गए। अहिले दाइ हामीसँग छैनन् तर उनको सम्झना उस्तै छ।
ठ्याक्कै ८ बजे भाइ आए र भने, 'अब हिँड्नु पर्छ सर। जति छिटो हिँड्यो, बाटो काट्न उति सजिलो हुन्छ। उज्यालोको यात्रा रमाइलो र सहज पनि हुन्छ। हजुर नयाँ हुनुहुन्छ। बाटोको मेसो पाउनुहुन्न। मेसो नपाएको मान्छेलाई अलि गाह्रो हुन्छ। हामी जाने बाटो नै छ त्यस्तै। समयमै ठाउँमा पुगेर आराम गरौंला।'
म तयार नै थिएँ। भोटे चियाको अन्तिम चुस्की लिएँ। नीमा म्याडमले भोटे चियाले थर्मस भरिदिनुभयो। बाटोमा प्यास मेटाउन भोटे चिया अमृत नै थियो। सिमकोटबाट हामीले एयरपोर्टलाई दाहिने पार्दै यात्रा सुरू गर्यौं। तल्लो गाउँको पुच्छारमा रहेको शिव मन्दिरलाई टाढैबाट दर्शन गर्दै स्याम्नेको ओरालो झर्यौं। हिल्दुम खोला नपुग्दासम्म अनवरत ओरालो थियो, खुट्टामा ब्रेक लगाएर हिँड्नुपर्ने। ओरालोभन्दा उकालो नै मन पर्छ मलाई। उकालोमा हल्का सास बढ्ने मात्रै हो। ओरालोमा खुट्टाको हरिबिजोग हुन्छ। कति ठाउँमा इमर्जेन्सी ब्रेक नै लगाउनुपर्छ। होसियार हुँदै झन्डै ४५ मिनेटको ओरालो यात्रापछि हिल्दुम खोलामा पुग्यौं। हिल्दुमभन्दा माथि बुराउसेको डाँडाबाट डाँफेले जिस्काए झैं लाग्थ्यो। हुम्ला बस्दा दुई-चार पटक डाँफे देख्ने सौभाग्य पनि मिल्यो। हिल्दुमको पानी भयङ्कर चिसो थियो। खोला छेउको सानो चिया पसलमा १५ मिनेट जति आराम गर्यौं र फेरि अगाडि बढ्यौं।
झन्डै एक घण्टापछि खार्पुनाथ पुग्यौं। खार्पुनाथ हिन्दु धर्मावलम्बीको ठूलो पवित्र धार्मिकस्थल हो। माघे संक्रान्ति र शिवरात्रिमा यहाँ ठूलो मेला लाग्दो रहेछ। खार्पुको काखैबाट कर्णाली बगेको छ। उत्तरबाट दोजाम नदी आएर कर्णालीमै मिसिएको छ। खार्पुनाथ दुई नदीको दोभानमा छ। मन्दिर नजिकमै तातोपानी रहेछ। जाडोमा मान्छेहरूको भीडभाड हुन्छ भने भाइले। खार्पुको छेउमा सानो होटल रहेछ। हामीले झोला बिसायौं। दोजाम खोला सुसाउँदै थियो। अलि पर कर्णाली झन् जोडले गड्गडाउँदै थियो। भाइले कालो चिया र बिस्कुट खाए। मैले भोटे चिया नै लिएँ। हामी खार्पुलाई छोडेर अगाडि बढ्यौं।
छारेको काठको झुलुङ्गे पुल।अर्को एक घण्टा हिँडेपछि बोक्चेगौंडा पुग्यौं। त्यहीँ खाना खायौं। बोक्चे ठाउँको नाममा बडो रमाइलो किस्सा रहेछ। कर्णालीपारि बाख्रीलाई देखेर बोक्चे (बोका) कर्णालीवारिबाट हाम्फालेर बाख्री भेट्न गएछ। बोक्चेले कर्णाली पार गरेको हुनाले त्यो ठाउँको नाम बोक्चेगौंडा रहन गएको भनेर एक स्थानीय बाले कहानी सुनाए। यो किस्सा सुनेर म धेरै बेर हाँसिरहें। भाइले जिस्काएर भन्थे, 'सर, तपाईं हाँस्दा त दाँत मात्रै देखिएका थिए।'
खार्पुमा गड्गडाउने कर्णाली बोक्चेगौंडा पुग्दा शान्त थियो। त्यही कर्णालीका माछाको झोल र भात खायौं। माछा भनेपछि म हुरूक्कै हुन्छु। खाना खाएर यसो ढल्किएका मात्रै थियौं, भुसुक्कै भएछौं। उठ्दा झन्डै ४ बजिसकेको थियो।
'अदुवा राखेको कालो चिया खाएर जानुस् है। धेरै टाढा जान सक्नुहुन्न आज। हजुरहरू आज बास बस्ने भनेको सुनाखाडा नै हो। त्यहाँ मजाले पुगिन्छ। बिस्तारै गए पनि हुन्छ,' होटलवाला दाइले भने।
पसिना सुकेर होला, शरीर चिसो भयो। चिया र बिस्कुट खाएर हामी बोक्चेगौंडाबाट होटलवाला दाइलाई धन्यवाद दिएर अगाडि लाग्यौं। कर्णालीको तीरैतीर बिस्तारै हिँड्यौं। कर्णालीको छालसँगै आफ्ना चाल मिलाएर हिँड्यौं। झमक्क भयो। आँखाले भन्दा खुट्टाले छिटो थाहा पाउँछन् यात्राको बिसौनी। सूर्यलाई कर्णालीपारिको ठूलो डाँडाले ओझेल पारिदियो। झिसमिसेमा सुनाखाडा पुग्यौं। हाम्रो पहिलो दिनको बसाइ सुनाखाडा नै हुने पक्का भयो। बाटोमै पर्ने होटलमा बस्यौं। ज्यान मस्त थाकेको थियो। खाना खाँदाखाँदै आँखा लठ्ठ परिसकेका थिए। बिहान ५ बजेतिर होटलको भाले बास्यो।
स्थानीय जडिबुटी मिश्रित कालो चिया पिएर अगाडि बढ्यौं। सुनाखाडाबाट अलिकति हिँडेपछि छारे भन्ने ठाउँ आउँदो रहेछ। त्यसपछि भने एउटा छोटो तर ठाडो उकालो आयो। मुटुको धड्कन म्याराथन धावकको झैं थियो। उकालो सकिएपछिको डाँडा पुग्दा सगरमाथा पुगेझैं भयो। सरर हावा चल्यो। यो एकछिनको बिसौनीले सारा थकान मेटे झैं लाग्यो। तर, अझै अथाह हिँड्नु थियो। उकालो चढेपछि ओरालो झर्नै पर्छ। बिस्तारै झर्यौं ओरालो, लौरो टेक्दै। भाइ बडो फूर्तिले हिँड्दै थिए। पाखापखेरामा हुर्किएका मान्छे यस्तै फूर्तिला हुन्छन्। झन्डै मध्याह्न भएको थियो लिम्ने भन्ने ठाउँ पुग्दा। बाटोमा सानो भात खाने होटल थियो। म भोकले निस्लोट भएको थिएँ। भाइले झट्टपट्ट खाना अर्डर गरे। दुई थाल कतिखेर सकियो, पत्तै पाइनँ। स्थानीय साग र सिमीको दाल यति विघ्न मीठो भयो कि मलाई अहिलेसम्म त्यसको बास्ना आइरहन्छ। खाना खाएर एकछिन विश्राम गर्यौं। त्यही बेला रूपा म्याडमले सुनाएको एक टुक्का देउडा याद आयो—
'हिउँ आयो तेल्या का लेख खास्टो मेरो कुम्ला
आँखामा घुम्याको घुमेइ कठै प्यारो हुम्ला।'
लिम्नेलाई पछाडि छाडेर उनापानी हुँदै सर्केगाडतिर लाग्यौं। झन्डै अढाई घण्टा हिँडेपछि कर्णालीको झोलुङ्गे पुल पार गरेर सर्केगाड पुग्यौं। सर्केगाडमा कर्णालीका माछाको गन्धले मलाई तान्यो। माछा भनेपछि मेरो नाक कुकुरको झैं तेज छ। कर्णालीका माछाको स्वादै फरक हुन्छ। जिब्रोले फ्याट्टै चिन्छ। यहाँ पनि माछाको झोल र भातले मेरो आँत भरियो।
सर्केगाडलाई पनि छोडेर झन्डै अढाई घण्टा हिँडेपछि सलिसल्ला पुग्यौं। त्यहाँ पनि माछाको गन्धले तान्यो। माछा मात्रै होइन, बाटोमा भेटेका खानेकुरा छोड्ने सवालै हुन्थेन। सलिसल्लामा माछा खाएपछि आधा घण्टा जति हिँडेर दर्वी भन्ने ठाउँ पुग्यौं। त्यहाँ तातोपानीका चार-पाँच वटा धारा छन्। तातोपानी पनि क्रमश: मन तातोबाट छुनै नसकिने तातो। बडो अचम्मको रहेछ। एकै ठाउँमा तीन वटा तापक्रम भएको पानी! बाजुरा, मुगु, कालिकोटबाट पनि जाडोमा मान्छेहरू नुहाउन आउँदा रहेछन् यहाँ। तातोपानीमा नुहाएपछि शरीरमा छालासम्बन्धी रोग लाग्दैन भन्ने विश्वास रहेछ। हामी पनि मस्त नुहाएर बस्यौं। पानी छोडेर बाहिर आउनै मन थिएन तर के गर्नु, जानु टाढा थियो।
तातोपानी छोडेर दोस्रो दिनको गन्तव्य पिप्लाङतिर लाग्यौं। एकैछिन हिँड्दा हिँड्दै ठूलो डाँडाले सूर्यलाई ढ्याप्पै छोपिदियो। दार्मा भन्ने ठाउँको शिरबाट ताग्रु खोला हल्ला गर्दै हुम्ला कर्णालीमा मिसिन बगिरहेको थियो। पिप्लाङ पुग्दा झमक्कै भइसकेको थियो। निम्न माध्यमिक विद्यालय नजिकै रहेको एउटा सानो होटलमा बास बस्ने निधो भयो। बाटोमा खाएको माछाले टन्न थिएँ म। राति भोक लाग्न सक्छ भनेर खान थालेको, दुई थाल सकिएको पत्तै भएन। यहाँ माछाभन्दा बढी चोतोको अचारले बाजी मार्यो।
पिप्लाङमा भाले बासेन। भाले बास्नुअघि नै होटलका दाइ उठेछन्। उनले हामीलाई उठाए। उनले कालो चिया तयार गरिसकेका रहेछन्। हल्का पिरो मरिचवाला चिया खाँदा बडो मज्जा आयो। चियाको अन्तिम पेग सकेर हामी गन्तव्यतिर हिँड्यौं। पिप्लाङलाई थोरै दाहिने पार्दै उत्तरतिरको दिशामा खुट्टा बढे।
झन्डै दुई घण्टापछि मेखाला माछापानी धारा भन्ने ठाउँ पुगियो। एकछिन त्यहीँ विश्राम गर्यौं। एक जना दिदी कोदोको रोटी लिएर बसेकी थिइन्। मैले वाइवाइ चाउचाउसँग कोदोको रोटी साटें। नुन खुर्सानीसँग रोटी बडो मीठो भयो। चिसो पानीले मेरो तिर्खा मेट्यो। फेरि अर्को तीन घण्टको बाटो हिँडेपछि कौल्याना पुग्यौं। त्यहाँ हामीले झोलामा बोकेका खाजा खायौं। भाइले भुटेको भटमास र गहुँ लगेका थिए। मैले चाउचाउ र दालमोट लगेको थिएँ। त्यसपछि हल्का भीरको बाटो हिँड्न पर्ने रहेछ।
करिब एक घण्टा हिँडेपछि हामी छाला पुग्यौं। छाला नयाँ बस्ती रहेछ। नेप्काबाट बसाइँसराइ गरेर आएका केही ठकुरी बस्ने सानो गाउँ रहेछ। छालामा हामीले रोटी र आलु खायौं। त्यहाँबाट झन्डै सवा घण्टा जति हिँडेपछि हामी गमाखु पुग्यौं। गमाखु पुग्दा चरम आनन्द आयो। खुट्टालाई लाग्यो— म्याराथन सकियो। आँखालाई लाग्यो— बल्ल सौन्दर्यको महक छरिँदै छ। दिमाग भने नेप्कामै थियो। लामो हिँडाइपछिको गजब ठाउँमा विश्राम थियो। शीतल हावा र चारैतिरको सुन्दर दृश्यलाई अवलोकन गर्न पाउँदा सबैभन्दा बढी खुसी त आँखा थिए। खुट्टाले थकान माने पनि आँखाले हिसाबकिताब मिलान गरिदियो। गमाखुबाट थोरै हिँडेपछि ह्यमधारा पुगियो। गमाखु नेप्केलहरूको भेडाबाख्रा चराउने चरन क्षेत्र रहेछ।
सुनाखाडाह्यमधाराबाट २० मिनेट हिँडेपछि नेप्का पुग्यौं। गोधूली साँझ परिसकेको थियो। साथी भीम तामाङको घरमा लगेर गए भाइले। भीम सर 'गुड नेवर्स' भन्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थे। हामी सिमकोटमा नजिकै बस्थ्यौं। उनकी भतिजी बबिता तामाङले खानपिन गराइन्। उनलाई सिमकोट हुँदै चिनेको थिएँ। बबिता सिमकोटमै बसेर ११ पढ्ने गर्थिन्। बिहानै डाँफे आधारभूत विद्यालयमा बालबालिकासँग बालअधिकारसम्बन्धी कार्यक्रम थियो। बबिता र भाइले स्कुललाई पहिले नै जानकारी गराइसकेका थिए। साँझ छिट्टै सुतियो।
नेप्का गाउँको पूर्व-दक्षिणमा मणिलेक छ। उक्त लेकमा पाँच वटा अग्ला चुचुरा छन्। ती चुचुराले हिउँदभर सूर्य छेक्ने गर्छन्, जसका कारण मंसिरदेखि फागुनसम्म प्रत्येक दिन पाँच पटकसम्म घाम उदाउने र अस्ताउने गर्छ। वा भनौं— नेप्का गाउँमा पाँच पटक साँझ पर्छ, पाँच पटक दिन हुन्छ। यो बडो लोभलाग्दो छ। प्रकृतिको यो दृश्यले जोकोहीलाई अचम्मित बनाउँछ। हुम्लाको प्राकृतिक सौन्दर्यको एउटा नमुना हो नेप्का। यो गाउँका हिमाली चुचुरा र टाकुरामा दिनहुँ घामपानीले लुकामारी खेल्छन्।
नेप्का तिब्बत आवाजजावात गर्ने नाका पनि हो। हुम्लाको सदरमुकामभन्दा बढी नेप्केलहरूले तिब्बतसँग व्यापारिक कारोबार गर्थे। अहिले बिस्तारै कम भएको रहेछ। तिब्बतको नाका पुग्न एक दिन लाग्छ। सिमकोट सदरमुकाम पुग्न तीन दिन लाग्छ। त्यसैले, सरकारी कामकाजबाहेक अरू कारोबार तिब्बतसँगै हुने रहेछ नेप्कावासीहरूको। नेप्का गाउँ सानो समस्थल भू–बनोटमा अवस्थित छ। यहाँ पुग्ने जोकोहीलाई धर्तीको स्वर्ग पुगे जस्तो अनुभूति हुन्छ। बाटोको सबै पीडा, सङ्घर्ष र थकान भुलाइदिन्छ। मेरो मनै उडाइदियो नेप्काको सौन्दर्यले। महिनौं उतै हराउन मन थियो तर समय थिएन। फर्किनै पर्थ्यो।
राज्यको थोरै मात्र आँखा पुग्ने हो भने नेप्का कर्णालीकै एउटा आकर्षक पर्यटकीय स्थल बन्न सक्छ। अमेरिका र युरोपमा त्यस्तै चुचुरो, हिमाल, पहाड र नदीनाला हेर्न मान्छेको ताँती हुन्छ। अझै कति ठाउँमा त कृत्रिम 'माउन्टेन' बनाएर पर्यटक तान्छन्। सौन्दर्यलाई कसरी पस्किने, सबैसँग त्यसको क्षमता हुँदैन। जोसँग हुन्छ, उसले कायापलट गरिदिन सक्छ। नेप्कामा आँखा मात्रै पर्ने हो भने राज्यको मात्रै नभई स्थानीयको पनि आम्दानी बढ्छ। विकासको पहिलो निकास नै बाटो हो। नेप्कामा सबै कुरा छ, बाटो छैन। मलाई सुनेभन्दा बढी सुन्दर लाग्यो नेप्का। बाटो नपुगेर मात्रै यो ठाउँ गरिब भएको हो। नेप्काको नाम त छ तर गुमनाम छ। गाडी चढेर सहजै नेप्का पुग्ने दिन म पनि एकपटक फेरि आउनेछु। एकपटक गाडीमा चढेर चोतोको अचारसँग कोदोको रोटो खान आउँदो भए मपन। मकन ढुकी बस हँ!