कोलाहलबाट टाढा, खप्तडको मौनतामा!
विगत १० वर्षदेखि हामी आठ जना साथीहरू सँगै साउन महिनामा ५-६ दिनको यात्रा गर्ने हाम्रो परम्परा नै बसिसकेको छ।
हरेक वर्ष हामी फरक-फरक स्थान रोज्छौं; कहिले पूर्वका पहाड, कहिले मधेस, त कहिले मध्य-पश्चिमका डाँडाकाँडा। यसपटकको यात्रा अझै रोमाञ्चक र अर्थपूर्ण बन्यो, किनभने हाम्रो गन्तव्य थियो सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज।
साथीहरू स्याङ्जाको वालिङ र गल्याङबाट आउनु भएको थियो, म भने बुटवलबाट मिसिएँ। स्कार्पियो गाडीमा हामी आठ जनाको टोली बन्यो। पहिलो दिन धनगढी पुग्ने लक्ष्यसाथ हामी पूर्व-पश्चिम राजमार्ग हुँदै हुइँकियौं।
बाटो लामो थियो, तर गफगाफ, हाँस्यरस, पुराना सम्झनाहरूले यात्रा रमाइलो बनाइदियो। पहिलो रात धनगढीमा विश्राम गर्यौं। त्यहाँको फराकिलो बाटोले हामीलाई स्वागत गरेजस्तो लाग्यो।
धनगढीसम्मको यात्रा त गफ र हाँसोमै बित्यो। गाडीको इन्जिनभन्दा चर्को आवाज त हाम्रो हाँसोको हुन्थ्यो। हाम्रो यात्राको एउटा रमाइलो नियम छ- यात्रा भरिमा जसले जसलाइ उडाए पनि, जिस्काए पनि, कोही रिसाउने छैन! यदि कोही रिसाउँछ या चित्त दुखाउँछ भने अर्कोवर्ष त्यो टिमबाट बाहिरिने छ। यो नियम हाम्रो यात्राको मुटुजस्तै हो, जसले हरेक पटक यात्रालाई रमाइलो, हलुका र झन् घनिष्ठ बनाउँछ।
धनगढीमा रात बिताएर हामी दोस्रो दिन बिहानै डोटीको जोरायल गाउँपालिकामा खाना खाँदै डडेल्धुरा पुग्यौं। त्यहाँको अमरगढी किल्ला जसले गोरखाली वीरताको गाथा बोकेको छ। त्यहीँ रहेको डडेल्धुराको प्रसिद्ध उग्रतारा मन्दिर दर्शन गरेर यात्रा अघि बढ्यो। त्यसपछि दिपायल सिलगढीमा रहेको शैलेस्वरी मन्दिरको दर्शन गरी हामी साँझतिर डोटीको झिंग्राना पुग्यौं- खप्तड पदमार्गको सुरूआत बिन्दु। त्यहाँको होमस्टेमा थकित शरीर लिएर बास बस्यौं, तर मनमा भने उत्साहको कुनै सीमा थिएन।


भोलिपल्ट बिहान ७ बजे, राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा नेपाली सेनाको इन्ट्रीपछि हाम्रो पदयात्रा सुरू भयो।
नेपाली नागरिकका लागि प्रवेश शुल्क १०० रुपैयाँ रहेछ। हामी जस्ता तरकारी किन्न जान समेत मोटरसाइकल खोज्नेहरूका लागि १६.५ किलोमिटर उकालो पैदल यात्रा भनेको चुनौती लाग्ने कुरा हो। तर उत्साहले सबथोक सहज बनाइदिएको थियो।
झिंग्रानाबाट अगाडि बढ्दै गर्दा घना जंगल, सुसाउँदै गरेको हावा, चराहरूको चिरबिर, कहिले उकालो, कहिले समथर बाटोले हाम्रो यात्रा प्राकृतिक संगीतजस्तै बनाउँदै लग्यो। करिब ६ किलोमिटर उकालो चढेपछि हामी बीचपानी पुग्यौं, जहाँ एउटा मात्रै होमस्टे रहेछ, त्यो पनि अगाडि नै सम्पर्क गरेर व्यवस्था गर्न भन्नुपर्ने रहेछ।
त्यहाँ हामीले खाएको निगालोको टुसाको तरकारी हाम्रो लागि नयाँ स्वाद थियो, असाध्यै स्वादिलो। भोकमात्र होइन, हाम्रो थकान समेत बिर्साउने। बीचपानीमा ताजगीको श्वास लिएर हामी फेरि अघि बढ्यौं। केही घण्टाको हिँडाइपछि एकाएक हाम्रो नजरमा पर्यो रातै फूल फुलेको पाटन।
त्यो दृश्य यति स्वर्गीय थियो कि हामी केही छिन मौन भयौं। फूलहरूले ढाकिएको खुला मैदान, तिनैबीच पर भित्तातिर चरिरहेका गाई, माथिबाट टल्किँदो आकाश। जीवनको सादगी र सुन्दरता यति निकट लागेको कहिल्यै थिएन।
त्यही पाटन हुँदै अघि बढ्दा हामी पुग्यौं त्रिवेणी धाम, जहाँ गंगा, जमूना र सरस्वती नदी मिसिन्छन्। साथसाथै, बाजुरा, बझाङ र डोटी तीन जिल्लाको भूगोल पनि यहाँ मिसिन्छ। त्यो संगम स्थलमा हामीले पानी छोएर, मौनता अपनाएर, नमन गर्दै केही समय बितायौं। त्यहाँकै सीतापाइला, छिन्टे ढुङ्गा, केदार ढुङ्गा जस्ता पवित्र स्थलहरूले धार्मिक भाव जगायो। साँझ ७ बजेतिर खप्तड होमस्टे पुग्यौं।
त्यहाँ जम्मा दुई वटा होमस्टे रहेछन् सादा खाना ३०० रुपैयाँमा, कोठा ५०० मा। सफा ओछ्यान, स्थानीय पकवान सबथोकले त्यो मूल्यभन्दा धेरै दिएको महसुस भयो।
भोलिपल्ट, बिहान हामी खप्तड दह पुग्यौं, शान्त पानीमा आकाशको रङ्ग देखिने त्यो दहमा केही समय बितायौं। त्यसपछि सहस्रलिङ्ग दर्शन गर्यौं, जहाँ हरेक ढुङ्गामा विश्वास र श्रद्धा भेटिन्थ्यो।
अन्ततः पुग्यौं खप्तड बाबा आश्रम। बाबाले यहाँ वर्षौं तपस्या गरेर बिताउनु भएको थियो। अहिले पनि नेपाली सेनाले आश्रमको रेखदेख गर्छ, पूजा गर्छ, र पर्यटक पुगेमा ढोका खोलिदिन्छ। आश्रमभित्र पस्नेबित्तिकै कुनै अर्को युगको मौनता महसुस हुन्छ।
त्यसपछि गयौं घोडादाउन पाटन। खप्तडभरि यस्ता धेरै पाटनहरू छन्, जहाँ हिउँदमा हिउँ, वर्षामा फूल र वसन्तमा हरियाली फैलिन्छ। हामी त्यहाँ सहरको कोलाहलबाट टाढा थियौं न फोनको घन्टी, न फेसबुकको नोटिफिकेसन, केवल शुद्ध वायु, हरियाली र शान्त वातावरण।
त्यही बेला हामीले भेट्यौं स्थानीय गोठालाहरू। बझाङ, बाजुरा, डोटीबाट गाई, भैंसी, बाख्रा चराउन आएका थिए उनीहरू। निकुञ्जले जेठ १ देखि भदौ १ सम्म चरनको अनुमति दिन्छ। मासिक शुल्क लाग्छ- भैंसीको ५०, बाख्राको १०, मान्छेको तीन महिनाको ५०० रुपैयाँ। गाई गोरु भने राष्ट्रिय जनावर भएका कारण नि:शुल्क रहेछ। एउटा वृद्ध किसान बुवा गुनासो गर्दै थिए, ‘पहिला बाउबाजेले त नि:शुल्क गोठ बनाउँथे,अचेल निकुञ्जले पैसा लिन्छ!’
-1754131271.jpg)
-1754131270.jpg)
खप्तड जस्तो स्वर्गीय भेगमा गोठमा बस्दै आएका स्थानीयहरूको जीवन देख्दा हाम्रो मन गम्भीर बन्यो। हामी त केही दिन बस्दा मात्रै त्यो शान्ति, त्यो हरियाली, त्यो मौनतामा रमायौं। तर त्यही भूगोल, त्यही मौनता उनीहरूको लागि वर्षौंको अभाव थियो। हामीलाई त्यो स्वर्ग लाग्ने ठाउँ, सायद उनीहरूलाई अभावले थलिएको, राज्यले बिर्सिएको एउटा अनकन्टार जङ्गल लाग्दो हो!
त्यसरी सोच्दा एक किसिमको अपराधबोध पनि जन्मियो। हामी छुट्टै अनुभव बटुल्न त्यहाँ गएका थियौं, तर फर्कंदा हामी उनीहरूको यथार्थ बोकेर फर्कियौं।
त्यसको भोलिपल्ट हामी झिंग्राना फर्कियौं। साँझ झिग्रानामा केही खाजा खाइवरी त्यसपछि मध्यपहाडी लोकमार्ग हुँदै अछामको साँफेबगर पुग्यौं। साँफेबगरको बासपछि अर्को दिन मंगलसेन दरबार अवलोकन गर्यौं। सशस्त्र द्वन्द्वको समयमा मंगलसेन आक्रमणको धेरै चर्चा सुनिएको थियो। पुनर्निर्माण पछि उक्त दरबार धेरै सुन्दर बनाइएको रहेछ।
त्यसपछि हामी दैलेख हुँदै कर्णाली राजमार्गबाट कोहलपुरतिर लाग्यौं। सातौं दिन कोहलपुरमा बास बस्दै हाम्रो यात्रा औपचारिक रूपमा समाप्त भयो।
तर गफ सकिएको थिएन। जिस्क्याइ, हाँसो, सम्झना, मनका कुराहरू..... ती सबैले सात दिनलाई केही घण्टाजस्तै बनाइदियो। हामी बिस्तारै बिदाइ हुँदै गयौं, हरेकले फेरि अर्को साउनको प्रतीक्षा गर्दै।
-1754131272.jpg)
-1754131270.jpg)
-1754131270.jpg)
-1754131271.jpg)
-1754131270.jpg)