बिहान उठेर ब्याग प्याक गरेँ। करिब १० बजे काठमाडौँबाट एक्लै बाइकमा हुइँकिएँ। यात्राको गन्तव्य छनोट गर्न सजिलो छैन। यसपालि मेरो एक्लो राइडको गन्तव्य थियो- ढोरपाटन।
ढोरपाटन जाने प्लान साथीहरूसँग भएको थियो तर फिक्स थिएन। साथीहरूको प्लान क्यान्सिल भयो। त्यसपछि मैले ढोरपाटन एक्लै जाने निर्णय गरेँ। त्यो पनि बाइकमा। सुरूमा त डर लागिरहेको थियो। मनसुन, बाइक, एक्लै, आदि इत्यादि। तर मलाई मेरो आत्मविश्वासले उक्साइरह्यो।
धेरैपटक काठमाडौंदेखि दोलखा घर आउने जाने गर्ने गरेको छु। तर काठमाडौं उपत्यकासँगै थानकोट काटेर जान निकै ठूलो आँट गर्नु पर्यो। डर र रमाइलोको आँधीहुरी जोडले चलिरहेको थियो। घुम्न अत्यन्त मन पर्नेमा पर्छु र समय मिलेको बेला घुम्छु पनि। मलाई आनन्द लाग्छ त्यही भएर एक्लै भए पनि घुम्न निस्कन्छु। ढोरपाटन मनसुनमा जाने ठूलो रहर थियो। समय ठ्याक्कै मिलेको भएर ढोरपाटन जाने प्लान गरेँ।
कतै डर लागिराथ्यो त कतै खुसी पनि। थानकोट सार्वजनिक बसमा त यात्रा गरेको हो तर बाइकमा पहिलो पटक। जे सुकै होस् लेट्स डु इट भन्ने मनमा आएर हिँडेँ।
३ घण्टामा मुग्लिन पुगेँ। पृथ्वी राजमार्गको काठमाडौं मुग्लिन खण्ड धेरै सुधार भएको रहेछ। मुग्लिनको पुल कटेसी बाइक रोकेँ। फ्रेस भएँ। होटलमा खाना खाएँ। एकछिन थकाइ मारेँ। अनि दमौलीतर्फ कुदेँ। आहा! मुग्लिन पोखराको बाटो त धेरै राम्रो बनेको रहेछ। त्यो खण्डमा बाइक चलाउन सारै मज्जा आयो। बाइकमा यात्रा गर्दाको फाइदा मन लागेको ठाँउमा रोक्ने मिल्ने। कोही कसैलाई भेट्न मिल्ने। आफ्नै मर्जी।
दमौलीबाट पोखरातर्फ लागेँ। पोखरासम्म बाटो राम्रो थियो। बाइक चलाउन पनि मज्जा आयो। तर बेला बेलामा गर्मीले गर्दा निद्रा पनि लाग्यो। गााडीमा एउटा फाइदा निद्रा लाग्दा सुत्न पाइथ्यो। तर बाइकमा सुत्न मिलेन, त्यो बेला गाडीको याद आयो। पोखरा कटेपछि अलि चिसो महसुस भयो। हल्का पानी पनि परिरहेको थियो।

लुम्ले पुगेपछि झन् मज्जा आयो, वर्षा, चिसोपानी, बाटो सबै कुरा। त्यसपछि बिस्तारै बिस्तारै प्रकृतिसँग मन्त्रमुग्न हुँदै अगाडि बढिरहेँ।
संयोग पनि अचम्मको कुस्मा पुग्दा, ब्याचलर पढ्दाको बाग्लुङको साथीलाई देखेँ। सुरूमा त अलमल परेँ। रोकेर उसलाई बोलाएँ- हो रैछ। उनीहरू कुस्मा घुम्न आएका रहेछन्। एकछिन मिठो गफगाफ भो। त्यसपछि म अगाडि बढेँ। उनीहरूलाई कालीगण्डकी पुलमा पर्खेँ। फोटो खिचेँ। साथीले होटलको व्यवस्थापन गरिदिएँ। त्यही अनुसार होटलमा बसेँ।
होटल साहुले एक्लै आएको भनेर छक्क पर्नुभयो। सकेसम्म साथीहरू लिएर हिँड्नु भनेर सुझाव दिनुभयो। होटलमा फ्रेस भएर बाग्लुङको साथीको टिमसँग चिया पिउन गएँ। एकछिन गफ गरेँ। होटलमा आएर खाना खाएँ। अनि सुतेँ।
यात्राको दोस्रो दिन:
बिहान ७ बजे उठेँ। फ्रेस भएर खाजा खाएर बुर्तिबाङतर्फ निस्किएँ। बुर्तिबाङ जाँदा बाटो रमाइलो थियो। बीच बाटोमा बाइकले पिकअप लिएन। बाइकको क्लचप्लेट बिग्रेछ। जाँदै गर्दा हटियाममा वर्कसप भेटेँ। करिब आधा घण्टापछि बाइक बन्यो। त्यहाँबाट हिँडेँ।
करिब साढे ३ घण्टामा बुर्तिबाङ पुगेँ। एकदम भोक लागिसकेको थियो। होटल तथा थकाली भान्सा घरमा खाना खाएँ। बुर्तिबाङबाट ढोरपाटन कच्ची बाटो छ। तसर्थ, गाडीमा जाने योजना थियो। होटलको दाइले गाडी व्यवस्थापन गर्ने कुरा हुँदै थियो। तीन वटा बाइक आए। उनीहरू ढोरपाटन जान आएछन्। उनीहरू नि भोकाएर आएछन्। खाना खाएँ। खाना खाँदै गर्दा यात्राको कुराकानी भयो। म एक्लै भन्ने थाहा पाएपछि ती दाइहरूले सँगै जाऊँ भने। मलाई नि बाइक हाँक्ने आँट आयो। ढोरपाटनतर्फ हुइँकियो।
कच्ची बाटोको यात्रा सुरू भयो। बाटो कतै अप्ठ्यारो थियो त कतै सजिलो पनि। कतै कतै पानी परिरहेको थियो। बाटो हिलो, ढुंगाको त कुरै नगरम। तर कच्ची रोडको पनि मज्जा पनि छुट्टै थियो। बाटोमा रूद्र ताल भेटियो। ताललाई एकछिन नियाल्यौं। फोटो खिचियो र निस्कियो। त्यहाँबाट ढोरपाटन नजिक रहेछ। हामी ढोरपाटन छिर्ने निकुन्जको गेटमा नाम टिपाउने र १०० रुपैयाँ टिकट काटियो।
हामी ढोरपाटन पुग्यौँ। सँगै आएका दाइहरूले बुकिङ गरेको होमस्टेमा चिया खायौं र आ-आफ्नो होम स्टेमा चेक इन गर्ने र घुम्ने प्लान गरी छुटिए। केही समय आराम गरी निस्किएँ। कच्ची बाटोमा बाइक कुद्ने दाइहरूसँग पुन:भेट भयो।
ढोरपाटन भ्यालीमा चर्दै गरेका घोडाहरू र थरीथरी फूलहरूले क्यानभास सिँगारिएको थियो। बाइक चलाएर थाकेको शरीर फ्रेस अनुभूति भयो। एक्कासि मस्त पानी पर्यो। मौसम पूर्वानुमान हेर्दा वर्षाको पूर्वानुमान रहेछ। तत्पश्चात हाम्रो टिमले भोलिपल्ट बिहान नै बुकी पाटन जाने प्लान भयो। तत्पश्चात आ-आफ्नो होमस्टेतर्फ लागियो।
तेस्रो दिन:
बिहान उठ्दा झमझम पानी परिरहेको थियो। करिब ७ बजेतिर हामी बुकीपाटन हिँडौं। त्यो दिन मौसम राम्रो भएन। कुहिरो र पानी उकालोको सारथी बनिरह्यो। उकालोमा टि सपहरू भेटिए। तर हामी आफैले कफी बनाएर खायौं। बाटोमा जङ्गली फूलहरू, खोला, चर्दै गरेको भेडाहरू, घोडाहरू, गाईहरूले यात्रामा रोमान्चक बनाएको थियो। ५ घन्टाको हिँडाइपछि चार हजार मिटर उचाइमा रहेको बुकीपाटन पुगियो। खराब मौसमले गर्दा बुकीपाटनको भ्यू हेर्न पाएनौं। तर यात्रा रमाइलो र याद गर बनिरह्यो।
बुकीपाटनमा मौसम खुल्ने आशमा केही समय बस्यौं। तर वर्षासँगै चिसो थियो। चिसोमा बस्न मन लागेन। ओरालो झरियो। खाना खान ढोरपाटन नै झर्ने प्लान भयो। ओरालो झर्दै गर्दा थुप्रै साथीहरू भेटियो। वर्षासँगैको कुहिरोले भ्यू नखुलेको भने पछि उकालो चढ्दै गरेका केही यात्रीहरू ओरालो नै झरे। तर शतप्रतिशत भ्यु नखुले पनि बुकीपाटनले आफ्नो सुन्दरतालाई सक्दो प्रस्तुत गरी नै रहेकी थिइन्। दिनभरी बुकीपाटन गुमेको हुँदा बहुत थाकियो। यात्रामा चरम थाकिन्छ। तर नयाँ परिवेश र साथीहरूले ऊर्जा थपिरहन्छ। थकाइको अनुभूति हुन पाउँदैन।
ढोरपाटनको होमस्टे आएपछि खाना खाएँ। एकछिन आराम गर्दै थिएँ बाटोमा चिनजान भएका साथीहरू म बसेको होमस्टेमा आए। तिनीहरू म बसेको होमस्टेमै बसेका रहेछन्। नयाँ साथीहरूसँग ढोरपाटन वरपर रहेका घुम्न लायक ठाउँहरूमा निस्किने प्लान बन्यो। तीन बाइकमा ६ जना हुइँकियौं। दिनभरि ढोरपाटन वरपर घुमेर साँझ होमस्टे आएँ। गफगाफ गरे। आत्मीयता साटियो। यात्राको क्रममा चिनेका नयाँ नयाँ साथीहरूको अनुभव सुन्न रमाइलो हुन्छ। रमाइलो गरियो। अनि सुत्न गएँ।
चौथो दिन:
दिनको सुरूआत बिहानीले गर्छ भनेजस्तै बिहान उठ्दा मौसम एकदम राम्रो थियो। बिहान ब्रेकफास्ट खाएर खोली छेउ निस्किए। खोलाको सुस्केरामा रम्न मन लाग्यो। खोलाको शितलमा रम्दै गर्दा बाइकमा यात्रा गर्ने अर्को टिम भेटियो। उनीहरू ढोरपाटनको यात्रा सकाएर पूर्वी रूकुमको तकसेरा जाने कुरा गर्दै थिए। मलाई पनि तकसेरा जान मन लाग्यो। तर तत्काल मैले निर्णय दिन सकिनँ। सम्पर्क नम्बर सेयर गरेँ। छुटिएँ।
नयाँ साथीहरूसँग छुटिएपछि म बाराही क्षेत्रतिर गए। मन्दिर दर्शन गरे। वातावरण एकदम रमाइलो थियो। फूलहरू मस्त फुलेको थियो। ढोरपाटन भ्याली त्यो साइडबाट हेर्दा अत्यन्तै राम्रो देखिन्थ्यो। त्यसपछि फेरि ढोरपाटन भ्याली गए फोटो र भिडियोहरू खिचेँ। त्यँहा मेरो ग्लोभ्स (पन्जा) नै छुटेछ। फर्किने बेला ग्लोभ्स हराउँदा नमज्जा लाग्यो। पछि ढोरपाटन भ्यालीलाई चिनो छोडियो भनेर चित्त बुझाएँ। ढोरपाटनबाट बुर्तिबाङतर्फ फर्कियौं।

करिब साढे १ बजेतिर बुर्तिबाङ पुग्यौं। ढोरपाटन जाने समयमा खाना खाएको थकाली भान्छा घरमा खानाको अर्डर गर्यौं। खाना खाएँ। ढोरपाटनमा चिनेका साथीहरू खाना खान लाग्नुभएको रैछ। मैले हाई हेल्लो गरेँ। थकाली दिदीले मलाई एक्लै गएको बहिनी त साथीहरू टन्नै बनाएर पो आउनु भएछ भन्नु भयो। त्यसोभन्दा खुसी लाग्यो।
ढोरपाटनको खोला किनारमा भेटेका साथीहरूको मिसकल देखेँ। कल ब्याक गरेँ। बाइकमा तकसेरा सँगै जाने साथीहरू भए जाने इच्छा गरेर मैले नम्बर दिएको थिएँ। त्यही अनुसारको फोन आएको रहेछ। तकसेरा जाने कि नजाने भनेर सोध्नुभयो। मैले एकछिन सोचेर जान्छु भनेँ। तकसेराको यात्रा थपियो। मलाई रूकुम पूर्वको लुकुम र तकसेरा गाउँ जान मन थियो। मन फुरूङ्ग भयो। इच्छा भएको तर योजना नभएको यात्रा थपियो।
बुर्तिबाङ - ढोरपाटन जाँदा आँउदाको बाइक यात्रामा आँट र भरोसा दिने दाइहरूसँग बिदा मागेँ। अरू बाटोमा भेटेका, थकाली दिदी, सबैसँग बिदा मागेँ।
खाना खाएर ३ बजे ढोरपाटनको टिमसँग बिदा मागेर तकसेराको लागि हिँडेँ।
तकसेरा जाने टिमले मलाई कुरिरहेछन्। ३ बजे बुर्तिबाङबाट तकसेरातर्फ लागियो। मध्य पहाडी लोकमार्ग राम्रो बनेछ। पिचबाटो यस्तो दामी की कुरा छोडम्। पूर्वी रूकुम जाने बाटोमा बाइक चलाउन लास्टै मज्जा आयो। लुकुम गाउँ हुँदै त्यहाँको बस्ती हेर्दै जाँदा छुट्टै आनन्द भएको थियो। लोकमार्ग मुख्य सडक छोडेर जाँदा तकसेरा जाने बाटो कच्ची रहेछ। बाटो एकदमै अप्ठ्यारो। एकछिन बेकार आएको जस्तो महसुस भयो।
२ घण्टाको कच्ची सडकको यात्रापछि करिब साढे ७ बजे तकसेरा पुगियो। डाँडाकाँडा यति दामी कि तारिफ नगरूम्। अप्ठ्यारो बाटो बिर्सिए। खान बस्नको व्यवस्था राम्रो रहेछ। तकसेरा अहिले प्रख्यात पर्यटकीय गन्तव्य बन्दै गरेको रहेछ। होटल तथा होम स्टेहरू बन्दै गरेका रहेछन्।
बाइकमा लामो यात्रा भएको हुँदा धेरै थाकेछु। खाना खाएर सुतेँ। भुसुकै निदाएछु।
पाँचौ दिन:
बिहान उठेर तकसेरा घुमियो। तक र सेरा फरक फरक गाउँ रहेछ। त्यहाँ पुगेर थाहा भयो। केही स्थानीयहरूसँग गफ गरियो। खासमा घुम्ने ठाउँहरू, पर्यटन विकासको अवस्था, जनजीविका, र संस्कृतिबारे संक्षिप्तमा कुराकानी भयो।
सेरा गाउँमा रमाइलो मेला चलिरहेको छ। गाउँलेहरूलाई मेला जाने चटारो थियो। मेलाको चहलपहल व्यापक थियो। छिमेकी गाउँ तथा टाढा टाढाबाट खेलाडी तथा दर्शकहरू सेरा गाउँ आएका थिए। मुख्य आकर्षण भलिबल खेल थियो। केहीबेर भलिबल खेल हेरियो। गण्डकी प्रदेश र कोशी प्रदेशको भलिबल खेल चलिरहेको थियो। खेल गण्डकी प्रदेशले जितेको थियो।
तकसेराबाट मुख्य सडक (मध्य पहाडी लोकमार्ग) सम्मको कच्ची बाटो अप्ठ्यारो भएको हुँदा हामी फर्कने निधो गर्यौं। बाटो ओरालो र अप्ठ्यारो। बल्ल तल्ल मेन रोडसम्म पुग्यौं। पानी पर्यो। भिजायो। बुर्तिबाङ पुग्दा ४ बज्यो। मसँगै गएका साथीहरू बुर्तिबाङ बस्ने योजना गरे। भोलिपल्ट काठमाडौं पुग्नुपर्ने भएको हुँदा मैले बाटो छोट्याउने निर्णय गरेँ।
साथीहरूसँग बिदा मागे। बाइकमा केही समस्या देखिएको थियो। डिसप्याड (ब्रेक) खिएछ। डिसप्याड बनाएँ। चेन टाइट गरेँ। बाइक वास गरेँ। मैले नि खाजा खाएँ।
५ बजेतिर बाग्लुङतर्फ हुइँकिएँ। बुर्तिबाङबाट बाग्लुङ पुग्न करिब तीन घन्टा समय लाग्थ्यो। बाइकमा जाँदै गर्दा पानी पर्यो। साँझ पर्दै गयो। पानी रोकिने छाँटकाट थिएन। खोला खोल्सीबाट भल पानीले रोडमा बाढी ल्याएको थियो। मनमा चिसो पस्दै गयो। साँझपख, वर्षा र भल पानी भएको स्थानमा एक्लै बाइक यात्रा गर्दा मेरो डरको मात्रा थपिएको थियो। कहीँ पहिरो आउने हो कि, या हिलो लेदोले मेरो बाटो छेक्ने पो हो कि? जस्ता मनोसंवादहरू उत्पन्न हुँदै गयो। विपद व्यवस्थापनको क्षेत्रमा कार्य अनुभव भएको हुँदा डरको मात्र थपिएको थियो। प्रकोप, जोखिम, डर, चिन्तालाई खेलाउँदै बाग्लुङ पुगेँ। बाग्लुङ बजारको रोडभरि पानीले भरिएको रहेछ। ठूलो पानी परेको रहेछ। बाग्लुङ बजारको रोडमा भने मलाई खासै डर लागेन।
पहिला बास बसेको होटलमा चेक इन गरेँ। पानीले भिजाएको हुँदा थकाइ थप भएको थियो। खाना खाएँ। सुतेँ।
छैटौँ दिनः
साहसिक बाइक यात्राका सडक खण्डहरू, निश्चल पाटनहरू, रङ्गिचङ्गी फूलहरू, सुन्दर गाउँहरू, हरियाली जंगलहरू, चराचुरूंगीहरूको चिरबिरे अवाजहरू, सुस्केरा हाल्दै बग्दै गरेका खोला र खोल्सीहरू, सेता तथा कालो बादलहरू, छिनछिनमा बर्सिने पानी, गाउँलेका सुन्दर मनहरू, सहयोगी साथीहरू, आदि इत्यादिहरूको सम्झनाका ज्वाराभाटालाई समाल्दै काठमाडौं फर्केँ।
अन्तमा, प्राय: सहरबाट मान्छेहरू माइन्ड फ्रेस गर्ने हेतुले ट्रेकिङ जान्छन्। सहरमा मान्छेसँग मान्छे डराउँछन्। कहीँकतै स्वार्थका रूप तथा अवशेषहरू देखिन्छन् पनि। तर सुनसान जङ्गल एकान्तमा यात्रीहरू एक आपसमा सारथी र भरोसा बन्छन्। कोही साथी बनेर अगाडि बढ्छन्। यात्रीहरू निश्चल नै हुन्छन्। कोही मिठा सम्झनामा सीमित हुन्छन्। निश्चल र कन्चन प्रकृतिले यात्रीहरूलाई सहयोगी, मायालु, दयालु, जिम्मेवार हुन उत्प्रेरित गर्ने गर्दछ। सोही अनुरूप यात्रीहरू नि:स्वार्थी र सहयोगी बन्छन्।
तसर्थ, यात्रा: जीवनको अन्तरिक ऊर्जा रिचार्ज गर्ने तथा मानवता नाप्ने प्रक्रिया पनि हो।










