जीवन अनेकौं अनुभूति र परिवर्तनले भरिएको एक निरन्तर यात्रा हो।
यस यात्रामा केही क्षणहरू त्यस्ता हुन्छन्, जसले मनलाई अदृश्य तरिकाले छुन्छन्, हल्का बनाउँछन्, र भित्र कतै निदाइरहेको शान्तिलाई पुनः जगाइदिन्छन्। त्यस्ता दुर्लभ क्षणहरू प्रायः साथीहरूसँग बिताउँदा प्राप्त हुन्छन् जसले हामीलाई बिना शर्त स्वीकृति, सहजता, र आत्मीयता दिन्छन्। साथीहरूसँग घुम्न पाउनु त्यसै कारणले जीवनको एक अनुपम वरदानजस्तै अनुभूत हुन्छ। उनीहरूसँग बिताएको प्रत्येक क्षण मनलाई कुनै बोझविना उडाइदिने अदृश्य पखेटाजस्तै हुन्छन्। दैनन्दिनका तनाव, कर्तव्यका चक्र, र सहरी कोलाहलबीच यस्ता क्षणहरू प्राप्त हुनु वास्तवमै आशीर्वाद हो।
हामी नेपाली प्रकृतिसँग गहिरो नाताले गाँसिएका जनहरू हौँ। हिमाल, पहाड, जंगल, नदीनाला केवल दृश्यरूपी सौन्दर्य होइनन्; यी हाम्रो मन, संस्कार, र अस्तित्वसँग जोडिएका अंगहरू हुन्। त्यसैले प्रकृतिको काखमा बिताएको समय आत्मिक ताजगीको विस्तार हो। नीलो आकाश, हरियालीका पात, र पाइन जंगलको सुगन्धले मनका गाँठाहरू बिस्तारै खुल्दै जान्छन्। सहरको धुलो र ध्वनिलाई पछि पारेर जब जंगलले न्यानो मौनताले स्वागत गर्छ, मनले पनि आफ्नै लय पुनः स्मरण गर्छ। यही कारणले प्रकृति मनका सबै पीडाको निस्वार्थ उपचार हो।

यही शान्तिको खोजले प्रेरित भएर एक शुक्रबार हामी चार जना साथी शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ निस्कियौँ। बानेश्वर र गल्फुटारबाट भेटेर गाडी बूढानीलकण्ठतिर उकालो लाग्यो। यात्राको भौतिक स्वरूप सामान्य थियो, तर मनभित्र उमंगको लहर असाधारण रूपमा उर्लिंदै थियो। यो केवल यात्रा होइन, आत्मालाई खुलेर सास लिन दिने अवसर जस्तै लागिरहेको थियो।
सेनाले संरक्षण गरेको शिवपुरीको हरियालीले बाटोलाई गम्भीरता र पवित्रता दिएको थियो। घुमाउरो बाटो, पात खस्ने हल्का आवाज, र साथीहरूको कोमल हाँसो सबैले यात्रा अधिक सौम्य र काव्यमय बनेको थियो। राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा आवश्यक शुल्क तिर्दा मनमा केही गुनासो उठे पनि जंगलको मोहनीले त्यो क्षणमै पगालिदियो।
उकालो चढ्दै जाँदा हिमालहरूले आफ्नो उपस्थिति प्रकट गर्न थाले। पहाडको ओइरामा झलमल्ल देखिएका सेता शिखरहरू कुनै दिव्य आलोकले चम्किएझैं लाग्थे। पाइनका रूखबीचबाट झुल्किने नीलो आकाश र हावाको कोमल स्पर्शले मनमा एक अज्ञात शान्ति भरिइरहेको थियो।
बाटो कहिले साँघुरो हुन्थ्यो, कहिले विस्तारै खुल्थ्यो मानौँ प्रकृतिले नै परीक्षाको पाटो र पुरस्कारको पाटो एकसाथ देखाइरहेको हो। बीच बीचमा हामी रोकिएर फोटो खिच्थ्यौँ, हाँस्थ्यौँ, र निःशब्द प्रकृतिको संगीतलाई मनन गर्थ्यौं। ती क्षणहरूमा बेमेल, हतार, वा चिन्ता केही थिएन केवल उपस्थितिको गहिरो अनुभूति मात्र थियो।
तीन किलोमिटरको उकालोपछि जब हामी रिसोर्ट पुग्यौँ, शरीरभन्दा मन नै पहिले विश्राममा पुगेको जस्तो लाग्यो। वरिपरि हरियालीको घना आलोक, हल्का कुहिरो, र परै देखा परेका हिमाल सबैले कुनै क्रियाकलापभन्दा धेरै ठूलो आनन्द दिइरहेका थिए। हामी केही पल नबोली शान्त भएर बस्यौँ; त्यो मौनता शब्दभन्दा धेरै अभिव्यक्तिपूर्ण थियो। आत्माले त्यही मौनतामा आफ्नो आवाज सुनेको थियो।
त्यही बेला लाङटाङ हिमाल सुगौरवित रूपमा अगाडि उभिएको थियो। उसले कुनै शब्द बोलेन, तर उसको मौनतामा गहिरो दार्शनिकता थियो 'शान्ति खोज्न टाढा जानुपर्दैन, केवल केही पल आफ्नो अन्तर्मनसँग बस्नुपर्छ।' अस्ताउँदै गरेको सूर्यले आकाशलाई सुनौलो रंगमा रंग्याउँदा मनभित्र पनि त्यही सुनौलोपन फैलँदै गइरहेको थियो। त्यो क्षण सभ्यताको आवाज मन्द भएको र प्रकृतिको मौनता बलियो बनेको अनुभव भइरहेको थियो।
रिसोर्टको शान्त परिवेशमा उभिएर मैले प्रकृतिलाई अन्तर्मनदेखि धन्यवाद दिएँ। त्यो धन्यवाद कुनै आग्रह, कुनै अपेक्षा वा कुनै दुःखले होइन कि केवल कृतज्ञताले जन्मिएको थियो। प्रकृतिले दिएको शान्ति पवित्र थियो, गहिरो थियो, र शब्दभन्दा परको अनुभूतिमय सत्य थियो। यो यात्रा केवल शारीरिक घुमफिर थिएन; यो आत्माले पुनर्जन्म लिएको क्षण थियो। भित्र कतै ओझेलमा परेको जीवनप्रेम फेरि एकपटक जगाएको अनुभव थियो।
-1763637055.jpg)
फर्कँदा बाटो उही थियो, जंगल उही थियो, हावा उही थियो; तर हाम्रो मन उही थिएन। भित्र कतै शान्त, परिष्कृत र उज्यालो भाव जागिसकेको थियो। जीवनको हडबडीभित्र लुकेका सरल आनन्द फेरि एकपटक उजागर भएका थिए। र यही हो साथी, प्रकृति र यात्राले हामीलाई दिन सक्ने सबैभन्दा गहिरो, सबैभन्दा मूल्यवान्, र सबैभन्दा आत्मिक उपहार।
हिमाल दृष्यावलोकनको आनन्द लिन काठमाडौंबाट टाढै जानुपर्छ भन्ने पुरानो धारणा यस यात्राले पूर्ण रूपमा गलत सावित गरिदियो।
मौसम अनुकूल हुँदा पोखरा वा मुस्ताङ पुगेझैँ दिव्य हिमशृंखला काठमाडौं नजिकैका डाँडाकाँडाबाट पनि समान रूपमा अनुभूत गर्न सकिन्छ भन्ने तथ्य यो अनुभवले पुनः पुष्टि गरायो।
समयको सीमाभित्र बसेर प्रकृतिको काखमा आत्मिक ‘थेरापी’ गर्न चाहनेहरूका लागि काठमाडौं वरपरका स्थानहरू उत्तिकै उत्कृष्ट रहेछन् भन्ने कुरा स्पष्ट भयो।
यससँगै, सरकार पक्षबाट जनचेतना अभिवृद्धि, सहज वातावरण निर्माण, बाटो घाटोको व्यवस्थापन र सुरक्षा सुनिश्चितता जस्ता पक्षमा विशेष ध्यान दिनु अत्यावश्यक छ। राज्यले यी पूर्वाधारहरू सुदृढ पार्न सके, आन्तरिक होस् वा बाह्य दुबै प्रकारका पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्नेछ।