दोलखा जिल्लाको सुन्दर र आकर्षक गन्तव्य हो जिरी। दोलखा पुगेका धेरैजसो पर्यटकका लागि जिरी नपुगी यात्रा पूरा भएको अनुभूति हुँदैन।
सदरमुकाम चरिकोटबाट करिब ५५ किलोमिटरको दूरी पार गरेपछि पुगिने जिरी, प्राकृतिक सौन्दर्य र शान्त वातावरणले भरिपूर्ण छ।
म जिरी धेरैपटक पुगेको छु। हरेक यात्रा उस्तै हुँदैन—हरेकपटक जिरीले नयाँ अनुभूति, नयाँ आभास दिन्छ।
'क्लिन जिरी, ग्रीन जिरी, अर्गानिक जिरी' भन्ने नाराले मात्र होइन, प्रकृतिले दिएको अनुपम वरदानले पनि जिरीको पहिचान बनाएको छ। यसपटक तीन दिनको बसाइँमा जिरीका पार्कहरू घुम्ने रहर पूरा गर्ने अवसर पाएँ।
प्रकृतिले दिएको सौन्दर्यमा यी पार्कहरूले थप रंग भरेका छन्। जिरी केवल बजार घुम्ने ठाउँ होइन; यहाँका पार्कहरूले पर्यटकको मन लोभ्याउने मात्र होइन, बसाइँ लम्ब्याउने क्षमता पनि राख्छन्। घुम्दै जाँदा पाइला–पाइलामा चुम्बकझैँ तान्ने यिनै पार्कहरूले मलाई पनि रोकिराखे। जिरीमा रहेका स्टोन पार्क, पिकनिक पार्क कुथामे, क्याङसे पोखरी पार्क, झण्डा पार्क, गुराँस पार्क, टोनी हागन पार्क, बुद्ध पार्क र खावाडाँडा भ्यूटावर पार्क घुम्दा समय कसरी बित्यो पत्तै भएन।
साँझ–बिहान भने लिंकन बजार वरिपरि डुल्न उपयुक्त हुन्छ। तर, दिउँसो जिरीका आसपासका यी पार्कहरू घुम्दा अन्यत्रभन्दा फरक र ताजगीपूर्ण अनुभूति पाइन्छ। छोटो समय र सीमित दूरीमा धेरै कुरा अनुभव गर्न चाहनेका लागि यी पार्कहरू उत्कृष्ट विकल्प हुन्। यहाँबाट तराईदेखि हिमालसम्मको दृश्यावलोकन गर्न सकिन्छ—मौसमअनुसार फरक–फरक रंगमा सजिएको प्रकृतिले मन लोभ्याउँछ।
कतिपय पार्क नजिकै निर्माण गरिएका ताल, अनि गुराँस फुलेका डाँडाहरू हेर्दा घण्टौँसम्म बसिरहूँ जस्तो लाग्छ। हावाको सुस्केरा, चराको चिरबिराहट र हरियालीले भरिएको वातावरणले मनलाई अद्भुत शान्ति दिन्छ। अहिले लिंकन बजारमा पर्यटन अभियानी लिलाराम खड्काले पर्यटकका लागि कफी सप सञ्चालन गरेका छन्।
मेसिनको कफीको स्वाद खोज्नेहरूका लागि 'उजामा कफी' आकर्षक गन्तव्य बनेको छ।
यसले पर्यटकको बसाइँलाई अझ रमाइलो बनाएको छ। साथै, पर्यटकलाई नयाँ–नयाँ गन्तव्यसम्म सहज रूपमा पुर्याउन टुरिस्ट गाइडको व्यवस्था समेत गरिएको छ। दिनप्रतिदिन नयाँ आकर्षण थपिँदै गएको जिरी, पर्यटकका लागि अझै खुल्दै गएको गन्तव्य हो।
नयाँ वर्षमा यात्रा योजना बनाउँदै हुनुहुन्छ भने—जिरी तपाईंको प्रतीक्षामा छ, खुलेर स्वागत गर्न आतुर।
तस्बिरहरू:
-1775289160.jpg)
-1775289160.jpg)
-1775289160.jpg)
-1775289160.jpg)
-1775289159.jpg)
-1775289159.jpg)
-1775289158.jpg)
-1775289160.jpg)
-1775289159.jpg)
-1775289158.jpg)
-1775289158.jpg)
-1775289158.jpg)
-1775289157.jpg)
-1775289157.jpg)