माघ महिनामा देवघाटधामको दर्शन गर्ने यात्रा त तय भैसकेको थियो। पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैं चितवनस्थित राष्ट्रिय निकुञ्ज सौराहामा जंगल सफारी गर्ने एउटा टिप्स पनि थपिन पुग्यो।
चितवन पुग्न मुग्लिङ या दक्षिणकाली भएर जाने दुइटा बाटाको विकल्पको छनोट हुँदै थियो।
दक्षिणकालीको बाटो सिस्नेरी हुँदै हेटौँडा निस्केर नयाँ बाटो, नयाँ ठाउँ हेर्दै सौराहा पुग्ने मनसुवा दिनेश ज्वाइँ, पुष्प र मेरो रह्यो।
हाम्रो जिद्दीमा दक्षिणकालीकै बाटो चितवनस्थित सौराहा पुग्ने तय भयो। फरक ठाउँ, फरक परिवेशसँग मितेरी जोडिन पाउने भएकोमा हामी तीन भाइ दंग थियौं।
महिनौं देखिको अभिलाषा पूरा हुने उमंगमा शिशिरको सिरेटामा पनि उतिकै न्यानोपन पाएँ। ममाथि थपिएको उत्सुकतामा मनभरिको अभिलाषाले भिरपाखा पहराबाट देखिने गहिरा खोँचहरूको कुनै पर्वाह गरेन।
नदीझैं सलल र प्लेन जस्तै नन स्टप गतिले गाडी अनेकौं घुम्ती र मोडहरू पार गर्दै स्वाभाविक गतिमा कुदिरहेको थियो।
पर परसम्म देखिने पहाडहरूले आकाशसँग अंकमाल गरिरहेझैें लाग्थ्यो।
झपक्क फुलेका तोरी बारी, सयपत्री, थरीथरीका रंगीचंगी फलहरूले इन्द्रेणीको सातै रङले जस्तै गरी धर्तीनै चुमे जस्तो भयो। यस्तै रोमाञ्चकता बीच यात्राको दुरी छोटिँदै गर्दा हामी सिस्नेरी झरिसकेछौं।
सिस्नेरी बजार मरूभूमिका बस्ती जस्तै उजाड लाग्दो देखिन्थ्यो। शिशिर ऋतुको कठ्याङ्ग्रिँदो चिसोले बल्ल छोए जस्तो भयो।
२०८१ असोज १२ गते परेको अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएको ड्यामको दुबै ढोका एकै साथ खोलिँदा उग्ररूप लिएकोे सिस्ने खोलाले यसका आसपासका सडक र बस्तीहरू सखाप पारेको रहेछ।
देउराली पुगेपछि बिहान देखिको भोक र रफ्तारलाई विश्राम दियौं। यसै पहाडको फेदीबाट सुरूङ निर्माण सम्पन्न गर्ने गरी डिपिआर तयार भई बजेट सुनिश्चितताको लागि प्रदेश सरकारले संघीय सरकारमा प्रस्ताव पेस गरेकोमा बजेट सुनिश्चितता नहुँदा एक डेढ घण्टामै काठमाडौं हेटौंडा आउजाउ गर्न सकिने हेटौंडाबासीको सपना पूरा हुन सकेको रहेनछ।
राजनीति विकासको लागि हो तर यहाँ राजनीति निजी प्रतिष्ठाको विषय बनाइएको देखियो। देउराली डाँडामा बहँदै गरेको चिसो हावामा सूर्यको तातो किरणले अनुपम ऊर्जाको सञ्चार गरिरहेझैं लाग्यो। त्यहाँबाट देखिने कुलेखानी जलाशय, सिस्नेखोला, अनगिन्ती पहाडी श्रृंखलाको अवलोकन गर्दै यात्राका निरन्तर क्रमलाई फेरि सञ्चालन गर्यौं।
यात्रा प्रारम्भ भएको त्यस्तै १० मिनेट जति हुँदो हो, गाडीको गतिले विश्राम लियो। सवारी साधनको सर्वसुभलता नभएको उक्त ठाउँमा सडक किनारका पहाडले नै बाटो छोपेजस्तै गरी हाम्रो गन्तव्यमा पूर्णविराम लागेजस्तो भयो।
भिमफेदीसम्म जेनतेन पुग्न सकिने देखिएपछि हामी सवार गाडी अघि बढ्यो। खुकुरीको धारमा पाइला राखे जस्तै गरी जोखिमपूर्ण यात्रा गर्दै थियौं। सूर्य किरणको घमाइलो वातावरण एकाएक बादलले ढाकेर औंसीको रातजस्तै भयो। घुम्ती र ओरालीका बक्र रेखाले उब्जाएका सन्नाटा बीच ढुकढुकीका ग्राफहरू उचनिच गर्दै रहे।
तिनै त्रासदीका बीच भीमफेदीको समथर भूमि टेक्दा मरूभूमिका यात्रीले पानी देखेजस्तो राहतको महसुस भयो। सडकमा अटो र सार्वजनिक बसको ओहोर दोहोर देखिँदा गाडी वर्कशप पनि पक्कै हुनुपर्छ भन्ने अनुमान सही भएन। भैंसे पुग्नु ५ किमी वरै गाडीकोे धुँवाले उसको रौद्र रूप देखाउँदा गाडी मर्मत नगरी अगाडि बढ्न नसक्ने देखियो। दक्षिणकाली भएर जाने हामी तीन भाइको प्रस्ताव गाडीको यो धोकाधडीमा हामीमाथि विमतिका गुञ्जायस पोखिँदै थिए।

हेटौंडासम्म जसोतसो कसरी पुर्याउने भन्ने ध्याउन्नमा गाडीका पाटपुर्जा एक एक गरी नियाल्दै थिए, गुरूजी। आकाशमा एक दुई टुक्रा बादल पृथक पृथक छुटिएर रहेजस्तै गरी घरहरू उसै गरी अलि पर परसम्म छरिएर रहेका देखिन्थे। भोक र तिर्खाका उभार एकाकार हुन सुरू गरिसकेका थिए।
केहिी क्षणको विश्रामपछि स्टार्ट भएको गाडी ५०० मिटर जति अघि बढ्दै सडक किनारका कटेरो अगाडि विश्राम लियो। त्यहाँ खुवा तथा चिया चमेनाको सेवा लिन पाइँदो रहेछ। कानालाई आँखा पाउँदाको जस्तै राहत भयो। गुरूजी गाडीका आवश्यक सामान लिन बस समातेर हेटौंडा हानिए। हामी भने स्थानीय खुवा र चिया चमेना लिँदै मध्याह्न घामको न्यानोमा सौराहा पुग्ने तानाबानाका लहरोमा डेढ घण्टा जति जेलिइरह्यौं।
गुरूजी सवा ३ बजेतिर हस्याङफस्याङ गर्दै देखा पर्दा हामी सबैको ध्यान उत्सुकतापूर्वक उनीमाथि एकोहोरिन पुग्यो। गुरूजीले सामान फिट गर्दैगर्दा प्रफुस्टित आशाका दीयोले गन्तव्यको मार्ग सुखदायी रहोस् भन्ने कामना गरेँ। तर कामनारूपी त्यो ज्वारभाटा एकाएक समुन्द्रमा विलिन भए जस्तो भयो। गुरूजी गाडी लिएर एक्लै हेटौंडातिर हानिए।
घाम नित्य कर्म सकेर सन्ध्या आकाशमा सुनकेस्राझैं लाली पोत्न सुरू गरिसकेको थियो। चराहरू बासस्थानको खोजीमा गन्तव्यको साइत जुराउन लागि परिसकेका थिए। वैकल्पिक सवारीकोे प्रतीक्षामा सडक किनारका चिसो सिरेटो सँगै भौंतारिरह्यौं।
यसैबीच हाम्रा अगाडि एउटा अटो देखा पर्यो। ढुंगा खोज्दा देउता मिले जस्तो भयो। हामी नौ जना भएकोले त्यसमा सबै जना एकै साथ जाने सम्भव थिएन। सम्भव भए जतिलाई त्यो अटोमा पठायौं र बाँकीको लागि विकल्पको प्रतीक्षामा थियौं।
केही अन्तरालमा हाम्रा अगाडि टुप्लुक्क अर्को अटो पनि देखा पर्यो। अघिल्लो अटोलाई पछ्याउँदै हामी पनि सँगसँगै जस्तो हेटौंडातिर हुइँकियौं। हेटौंडा पुग्दानपुग्दै पोतिँदै गरेको सन्ध्या आकाशको लालीमा गाढापन चढिसकेको थियो।
हेटौंडा पुगेपछि गुरूजीलाई सम्पर्क गर्यौं। गाडी मर्मत हुँदै रहेछ। अझै डेढ घण्टा जति लाग्ने जानकारी पायौं। दिनभरिको थकाइमा शरीरले विश्राम खोजिरहेको हुँदा त्यो प्रतीक्षाको समयलाई धैर्यताका साथ लिन सकेनौं।
सौराहासम्मको माइक्रो बस रिजर्भको लागि दिनेश ज्वाइँ साहेबले बुकिङ गरिहाल्नुभयो। त्यो पनि बुकिङ गरेको आधा घण्टापछि मात्र यात्राको लय समात्न पुग्यो। बत्तीको मलिन प्रकाशमा पुस्तकका अक्षर पढ्न आँखाका पूरै शक्ति लगाएजस्तै गरी त्यो रिमरिमे उज्यालोमा बस्तीपुरसम्म राप्तीका बगर, खोलाखोल्सी, समथर फाँटमा लहलाउँदै गरेका बोट बिरूवा, स्वरूप फेर्दै गरेका घरहरूमा नजर डुलाउँदै नयाँ ठाउँको अनुभूति लिँदै रह्यौं।
ब्रेकको अवस्था फ्यान बेल्ट जस्तै गरी काम गर्न छाडेको भए यात्रा कुन मोडमा गएर टुंगिन्थ्यो होला! यात्रा र जीवन सोचेजस्तो सजिलो नहुने रहेछ।
साँझ साढे सात बजेतिर सौराहास्थित चन्द्रमा लज पुगेपछि त्यो दिनको यात्रा टुंग्यायौं। आवश्यक कोठा बुकिङपछि कामदारहरूले हाम्रा लगेजहरू यथास्थानमा राखिदिन सहयोग गरे। खानपानका आवश्यक मेनुहरू टिपायौं। सेता सफा बेडहरू दिनभरिको थकाइलाई आराम दिन सेवामा तत्पर देखिन्थे। स्नानादीबाट स्वस्थ र ताजा अनुभूति लिँदै हामीबीच भलाकुसारी हुँदै थियो।
दिनेश ज्वाइँ साहेवले आजको साइत कालजोगमा परेको प्रसंग कोट्याउँदा गाडीको त्यो अवस्थाले जिउमा नै दुम्सीको काँडा उम्रे सरी भयो।
खानपानको व्यवस्था भइसकेको जनाउले डाइनिङ हलतिर बढ्यौं। हामी आएको त्यस्तै आधा घण्टापछि गुरूजी पनि आइसकेका रहेछन्। हेटौंडाबाट हामीले बुकिङ गरेको गाडी नै आधा घण्टापछि हिँड्यो। चार्जिङमा २० मिनेट गरी झण्डै एक घण्टा त्यतिकै बितेछ। यो हिसाब गर्दा गाडी मर्मत गर्न लाग्ने झण्डै डेढ घण्टाको समय गुरूजीले अनुमान गरेअनुसार नै मिल्दो रहेछ। धैर्य गर्न सकेको भए त्यो आधा घण्टा ढिलो चाँडोले तात्विक फरक नपर्ने रहेछ। धैर्यता नै गन्तव्य चुम्ने कडी हो भन्ने वास्तविकतालाई मनन गर्न सक्नुपर्ने रहेछ।
बिहान साविकभन्दा अलिक चाँडै उठियो। मनमा एउटा लक्ष्य बोकेर हिँडेपछि सधैंझैँ पिरोल्ने निद्राले पनि झक्झकाउँदो रहेछ। चुरोटका अम्मलीले सेता धुँवा मिल्काए जस्तै गरी धर्तीबाट प्रफुस्टित हुँदै गरेको वाष्पीकरणले राप्ती नदीलाई अंकमाल गर्दै हामीबीच पनि उसैगरी घुम्टो हाल्न आइपुगेको थियो । कठ्यांग्रिदो साम्राज्यको परवाह नगरी युद्धका सिपाही जस्तै अघि बढिरहेको थियो हाम्रो जीप सफारी।
निकुञ्ज प्रवेश गेटबाट अघि बढ्दै गरेको हाम्रो यात्रा एकसिंगे गैंडाबाटै साइत प्रारम्भ भयो। चित्तल जरायो, गौरी गाई, सफारी रूटकै वरिपरि चरनमा व्यस्त थिए। यी जनावरहरू बाघ, चितुवा आदि हिंस्रक जन्तुबाट सुरक्षित हुन आश्रयका लागि यसरी रूटकै वरिपरि रहने गरेको जानाकारी सफारी गाइडबाट पाउँदा उनीहरूको बाँच्ने अधिकारप्रति सम्मानको भाव जागेर आयो। स–साना तालतलैया, मचानहरू अवलोकन गर्दै राप्तिको किनारैकिनार निकै पर पुगेपछि आधा घण्टा जति विश्राम लियौं। यस बीचमा ता–तातो कफीले ऊर्जा थपिए झै भयो। तिनै चराचुरूंगी जनावरका पुनरावृत्ति गर्दै डेढ घण्टाको यात्रा तय गरी प्रस्थान विन्दुमै आइपुग्यौं।
घामको प्रकाशलाई तुषारोले छेकेका तस्बिरहरू मोबाइलको स्क्रीनमा आफ्नै रूप नियालिरहेका थिए।
बटुवाहरू एउटै छहारीमा रात बिताएर पनि त्यो सम्बन्धलाई चटक्कै छाडेर हिँड्नु यात्राको नियति नै रहेछ। हाम्रो गन्तव्य अब जंगल अवलोकनबाट तीर्थाटनका लागि देवघाटधामतिर सोझियो।
भरतपुरस्थित आँपटारीबाट सिधै अघि बढि जुगेडीको पुल पार गर्दै आरामका साथ देवघाटधाम पुग्ने निश्चय गर्यौं। कालीगण्डकी र नारायणीको संगमस्थलमा जल सेचन/स्नान गरी देवदेउताप्रति भक्तिभावले प्रार्थना गरियो। त्यहाँस्थित मठमन्दिरको जिर्णोद्धार/निर्माणमा सहयोग पुगोस् भनी भक्तजनहरूले दान दक्षिणा गर्दा रहेछन्। सुख संमृद्धि र पितृहरूको उद्धारको कामना गर्दै आफ्नो तर्फबाट केही दान दक्षिणले मन हलुंगा बनायो। दान पनि थेरापी रहेछ। देवघाटधामबाट जुगेडी हुँदै काठमाडौंतिर प्रस्थान गर्दा मध्याह्न बितिसकेको थियो।
त्रिशूली नदी निशब्द भए जस्तो गरी अनेकौं घुम्तीहरू पार गर्दै निलो धर्तीमा नियात्राका दैनिकी कोरिहेका थिए। घामको ज्योति मलिनो हुँदै सन्ध्या आकाशका लागि लालीको प्रतीक्षामा थियो। सवारी जामले सास्तीको अनुभूतिलाई साँझ ७ बजे नौबिसे नपुगेसम्म पछ्याइरह्यो। यो देख्दा दक्षिणकाली हुँदै सौराहा पुग्ने रूटले हामीलाई न्याय गरेकै रहेछ भन्ने लाग्यो। गाढा अन्धकारमा सवारीका ताँती लावालस्करका सिपाही जस्तै लामबद्ध भई जुनकिरी जस्तै गरी अघि बढ्दै थिए। परिस्थितिसँग सामना गर्नु मानवीय प्रारब्धका खेल नै रहेछन्। मन मस्तिष्करूपी पाटीमा फुर्दै गरेका सुन्दर चित्रहरू एक एक गरी पल्टाएँ। यात्रा भरी गुथिँदै गरेका गुलावका फूलहरू कहिल्यै नओइलाउने गरी मनरूपी ढुकढुकीमा सजाएँ। यात्रा भनेको यस्तै आत्मीयरूपी हातेमालो, अनुभूति र अनुभवको नयाँ नयाँ संगालो पनि रहेछ।