म लामो समयदेखि सहरको चमकमा अड्किएको मान्छे। बिहानदेखि बेलुका सम्मको हर्न, हतार र भिडभाडको संसारमा म आफ्नो शान्ति खोज्न बिर्सेको थिएँ। तर आज धाप ड्यामको यात्राले मलाई शान्ति सहरको भागदौडमा पाइँदैन, शान्ति प्रकृतिमा पाइन्छ भन्ने कुराको महसुस गरायो।
काठमाडौँ हरेक दिन हरेक पल हतारमा हुन्छ, भिडभाड र कामको दबाबले भरिएको हुन्छ। म पनि त्यही भीडमा हराएको एउटा सामान्य मान्छे हुँ जसले एक दिन छोटो समयको लागि सहर छोडेँ— धुलो, हतार र हर्नबाट टाढा कतै प्रकृतिको हरियाली र शान्ति खोज्दै।
गाडी बौद्धबाट सुन्दरीजलतर्फ मोडिना साथ हावा चिसो र ताजा भयो, आकाश खुल्दै गयो र दुवैतिर हरियाली फैलिँदै गयो। ठुलठुला रूखहरू हल्का हावामा झुम्दै थिए, पातहरूले मधुर आवाज निकालिरहेका थिए। सुन्दरीजल स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको गेटबाट उकालो लाग्नासाथ स्वच्छ र ताजा पानी र खोलाको छङ्छङ् आवाजले मलाई साथ दिन थाल्यो। म झन् उत्साहित भएँ, मानौँ हरेक सासले मेरो शरीर भित्र शान्ति भर्ने काम गर्दै थियो।
हिँड्दै जाँदा कहिले उकालो, कहिले ओरालो, बिचबिचमा चराहरूको चिरबिराहट र पानीको हल्का कलकल— सबैले मन हल्का पार्दै थियो। शरीर थाक्यो तर मन भने आफ्नै सुरमा थियो। सडकका मोड र डाँडाहरूले अनायासै नयाँ नयाँ दृश्य देखाउँदै थिए— मानौँ प्रकृतिले आफ्नो काखमा मलाई स्वागत गरिरहेको छ।
बिस्तारै उकालो सकियो र तेर्सो घुम्ती बाटो सुरु भयो। चिसो हावाको मिठासले कुनै फरक दृश्य पस्किन खोजिरहेको अनुभव हुन थाल्यो। नभन्दै २/३ मोड काट्नासाथ त्यो सुन्दर दृश्य मेरो आँखाअगाडि फैलियो, जसको पूर्ण बयान मेरा शब्दले अटाउन सक्दैनन्। पानीको विशाल सतह, वरिपरि हरिया डाँडाहरूको घेरा, आकाशको निलो प्रतिबिम्ब— सबै शान्त र सुन्दर देखिन्थ्यो। उत्तरपट्टि हिमालहरू मुस्कुराउँदै थिए। सूर्यको किरणले शिखरमा सुनौलो रङ्ग छर्किरहेको थियो। तल बगिरहेको इन्द्रावती नदीले पानीमा झिलिमिली गर्दै सूर्यको प्रकाश समेटेको थियो।चारैतिर सुन्दर सिन्धुपाल्चोकको रौनकले म भावुक हुन पुगेँ।
मैले सोचेँ— यदि रारा टाढा रहेछ भने, यो काठमाडौँ नजिकको ‘दोस्रो रारा’ हो। हिमाल, नदी, ताल र हरियालीको यो मिलनले मलाई यति धेरै शान्ति र आनन्द दियो, जुन सहरको झिलमिल र भीडले कहिल्यै दिन सकेको थिएन।
त्यो दृश्यले मनलाई तरंगित बनायो, म आफैभित्र आफैँलाई विचरण गर्न थालेँ। मलाई लाग्यो सहरको हतार, दौड, काम र जिम्मेवारी— यी आवश्यक छन् तर पनि जीवनको वास्तविक आनन्द र शान्ति त केवल प्रकृतिमा पाइने रहेछ। धाप ड्याम्ममा बसेर मैले महसुस गरेँ— हाम्रो जीवनमा दौड र चमकभन्दा बढी महत्त्व अनुभव, आनन्द, शान्ति र खुसीको रहेछ।
त्यहाँका मानिसहरू सरल, आत्मीय र आतिथ्यपूर्ण थिए। उनीहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्धले मलाई मेरो व्यस्त सहर जीवन सम्झायो र मलाई महसुस गरायो कि जीवनको वास्तविक मूल्य केवल दृश्य हेर्नु र भागदौडमा हराउनु मात्रै होइन रहेछ।
धाप ड्याम्म केवल थकित मन बिसाउने चौतारी मात्र होइन, ठुलो पर्यटनको सम्भावना बोकेको जीवित ठेली पनि हो। नेचर वाक, हाइकिङ, बोटिङ, होमस्टे र फोटग्राफी जस्ता गतिविधिहरूले यहाँ आउने पर्यटकलाई सन्तुष्ट पार्न सक्छ। त्यसका लागि विकाससँगै संरक्षण पनि आवश्यक छ। यदि हामीले प्रकृतिको संरक्षण नगरे, यहाँको सौन्दर्य र स्थानीय पहिचान दुवै हराउन सक्छ।
यहाँ बिहान सूर्योदयमा तालको सतहमा सूर्यको सुनौलो प्रतिबिम्ब हेर्ने जोकोहीलाई पनि लाग्नेछ कि आकाशले पानीलाई अँगालो हालिरहेको छ र शान्त वातावरणले वर्षौँदेखिको बोझिलो मन हल्का र मुक्त बनाइरहेको छ।
यहाँ आउँदा तपाईं आफैँ अनुभव गर्नुहुनेछ— हावा भित्रको न्यानोपन, पानीमा झल्किएको आकाश, चराहरूको स्वतन्त्र उडान र हिमालको गौरव। यी सबै कुराले तपाईंको मन र आत्मा छुनेछ। तपाईं महसुस गर्नुहुनेछ, सहरले तपाईंलाई बाहिर चम्काउँछ तर प्रकृतिले भित्र उज्यालो बनाउँछ।
मेरा लागि धाप ड्यामको यात्रा केवल भ्रमण होइन। यो चेतना जागृत गर्ने अनुभव बन्यो, यो यात्रा आत्माभित्रबाट सुरु भयो र जीवनको साँचो मूल्य महसुस गरायो।
साँझ फर्कँदा काठमाडौँ उस्तै थियो— हर्न, भीड, हतार र कोलाहलमय। तर म फर्कँदा उस्तै रहिनँ। मेरो मन भारी थियो तर त्यो भारीपन चेतनाको थियो। धाप ड्यामले मलाई एउटा कठोर सत्य सम्झायो— हामीले सहरको दौडमा हराएर गुमाएका अनुभव र बिर्सिएका शान्ति कहिल्यै फर्किँदैनन्। दौड, पद, पैसा, चमक— यी सबै क्षणिक छन्। तर प्रकृतिसँगको सम्बन्ध, आत्मासँगको संवाद, जीवनको वास्तविक आनन्द— यी शाश्वत छन्।
धाप ड्याम केवल ताल होइन, यो आत्माको दर्पण हो, जसले हाम्रो खोक्रो उदांगतालाई छर्लङ्ग पारिदिन्छ। यसले सिकाउँछ यदि हामी समयमै रोकिएनौँ भने जीवनभरिको दौडले हामीलाई केवल थकान र खालीपन दिनेछ र साँचो मूल्य— शान्ति, प्रेम, अनुभव हाम्रो आँखाको अगाडि हराएर जानेछ।
त्यैले यदि तपाईं पनि काठमाडौँको कोलाहलबिच प्राकृतिक सौन्दर्य र शान्तिको खोजीमा हुनुहुन्छ भने त्यहाँ अवश्य जानुहोस्— नेपालको ‘दोस्रो रारा’ तपाईंलाई पर्खिरहेको छ।