बिहानको ८ बजे पोखराको काहुँखोला बसपार्कबाट ग १ ख ७१०९ नम्बरको बस प्या–प्या गर्दै गुड्न थाल्यो।
चालकको सिटको ठिक पछाडि म बसेँ। बनोटमा भाइ दिनेश बस्यो। चालकतर्फ फर्किने अगाडिको साइड सिटमा श्रीमती लक्ष्मी र भान्जी अंकिता बसे। बस पूरै भरिभराउ थियो। मान्छेभन्दा सामान धेरै थिए। पोका, पुन्तुरा थिए। कुनै पोकामा दूधका प्याकेट, नुनका पोका, चिनीका पोका।
बसभित्र मान्छेभन्दा धेरै चामलका बोरा थिए। ग्यासका सिलिन्डर थिए। बसको डिक्कीमा सिमेन्टका बोरा थिए।
आज यो बस मान्छे, खाद्यान्न सामग्री र निर्माण सामग्री कोचाकोच ठेलाठेल गर्दै चलिरहेको थियो। सायद सधैंको रूटिङ यही हो, तर हामीलाई भने यो कहिलेकाहीँको यात्रा थियो।
-1766213852.jpg)
काहुँखोलाबाट कसेरी हुँदै साझासम्म पुग्यौं। यहाँबाट सिक्लेस/कोरी जाने बाटो र हामी जाने बाटो छुट्टिन्छ। हामी दाहिने लाग्यौं र विजयपुर खोला तर्यौं। करिब ३० मिनेटको उकालोपछि फेरि ओरालो झर्यौं र मादी नदीको पुलमा आइपुग्यौं। यो ठाउँ भैँसे हो। यहाँबाट पनि याम्जाकोट जाने बाटो र हामी जाने बाटो छुट्टिन्छ। यसपालि हामी देब्रे लाग्यौं र मध्यपहाडी राजमार्ग भेट्यौं। झन्डै पुनः ३० मिनेटपछि यो राजमार्ग पनि छोडियो र मादी नदीको किनारैकिनार कच्ची सडक हुँदै यात्रा अघि बढ्यो। बाटोमा हाइड्रोपावरका ड्याम र पावरहाउस देखिन्थे। लाग्थ्यो! देशमा अघोषित लोडसेडिङ अब अन्त्य हुँदैछ।
गाडीमा कोर्को खेल्दै झन्डै ४ घण्टाको यात्रापछि दिउँसो १२ बजे कास्की मादी गाउँपालिका वडा नं. २ स्थित ताङ्तिङ आइपुग्यौं।
ताङ्तिङ कास्कीको पुरानो गुरूङ बस्ती हो। अहिले ताङ्तिङ होमस्टेले पनि राम्रो चर्चा पाएको छ। गुरूङ बस्ती भनेको गुरूङ संस्कृति र परम्परागत संरचनाको प्रतीक हुनुपर्ने हो, तर विस्तारै होमस्टेहरू कमर्सियल बन्दै गएका छन्। कंक्रिटका पर्खाल र छानाले पुराना संरचना विस्थापित गर्दैछन्। संस्कृतिको नाममा पहिरन लगाएर फोटो खिच्ने र लोकल रक्सी खानेमा सीमित हुँदै गएको देखिन्छ। संस्कृति जोगाउन राज्यस्तर र स्थानीय तहबाट ठोस योजना आवश्यक देखिन्छ।
ताङ्तिङ रमाइलो होमस्टेमा बिहानको खाना खायौं। आ–आफ्ना झोला बोकेर सबैले मोबाइल चार्ज गर्यौं। पाँच मिनेट हिँडेपछि गुम्बा र मन्दिर भएको स्थानमा पुग्यौं। मन्दिरको आँगनमा पानीको धारा थियो। यहाँ पानी भर्यौं, किनकि त्यसपछि पानी धेरै टाढा मात्र पाइने थियो। एक घण्टाको सिँढीयुक्त उकालो बाटो लाग्यौं। ढुंगाहरू चिप्ला थिए। जंगलबीच हिँड्दा प्रकृतिसँग आत्मीयता बढ्दै गयो—सहरको कोलाहलभन्दा अनन्त गुणा शान्त।
यात्रामा बाटो काट्न कोही न कोही केही न केही विषय निकालिरहन्छ। ट्रेकमा हिँड्न नछाड्ने भान्जीले ‘हिँड्न गाह्रो भयो’ भनेर गुनासो गरिरहेकी थिई। सिँढीको बाटो नआउनु पर्ने, ज्वरो आउँछ भनेर हामी जिस्क्याइरहन्थ्यौं। यसरी बाटो काट्ने बहाना मिलिरहन्थ्यो।
केही बेरपछि चाङ्गु पुग्यौं। यहाँ खुला चौर छ। यहाँबाट याम्जाकोट र हामी आएको सडक स्पष्ट देखिन्छ। अलि माथि मेला लाग्ने स्थानजस्तो देखिन्थ्यो। पानीको धारा, पिङ बनाइएको थियो। बीचमा पोखरी पनि बनाइएको छ, तर निर्माण रोकिएको हो कि के हो, पानी देखिँदैनथ्यो। वरपरको क्षेत्र पिकनिकका लागि उपयुक्त लाग्यो। यहाँ नजिकै एउटा अग्लो स्तम्भ देखिन्छ। त्यहाँ लामा गुरूङहरूको जन्मथलो लेखिएको छ। स्तम्भबाट अनुमान गर्न सकिन्छ यो स्थान पुरानो बस्ती भएको ठाउँ हो।
-1766213851.jpg)
-1766213849.jpg)
हामी पैदल भएकाले फेरि छोटो जंगलको बाटो लाग्यौं। केही अगाडि पुनः सडक भेट्यौं। यहाँ नयाँ कटेज बनेको रहेछ। कफी र खाजाका लागि राम्रो विश्रामस्थल थियो। हामीले कफी पियौं र बोतलमा पानी भर्यौं। यहाँपछि पानी गन्तव्यस्थलमै मात्र पाइने रहेछ। धेरैले छोटो बाटो नलिनु, सडकै सडक जानु भनेर सल्लाह दिए। तर जंगलमा हिँड्नुको मजा सडकमा कहाँ भेटिन्थ्यो र!
फेरि पैदल जंगलको बाटो लाग्यौं। बाटो साँघुरो र असहज थियो। रूखका जराले सिँढी बनेका थिए। पातमा टेक्दा चिप्लिने डर थियो। बिस्तारै हिँड्यौं। भान्जीलाई जिस्क्याउँदै अघि बढ्यौं। झन्डै एक घण्टा तीस मिनेटपछि पुनः सडक भेट्यौं। साँझ पर्न लागेको थियो। बाटोमा शीत जमेर हिउँजस्तै देखिन्थ्यो। अस्ताउँदै गरेको सूर्यले हिमाल चुम्दा टिलिक्क टल्किएको दृश्य मनमोहक थियो।
झपक्क साँझ पर्यो। बेलुका ६ बजे हामी क्रपु डाँडा पुग्यौं। परबाटै बुक गरेको होटल देख्यौं। क्रपु हिल पोइन्टमा छिर्यौं। मकै र चिया खायौं। शुक्रबार भएकाले सबै बुकिङ प्याक थियो। हामीले पहिल्यै बुक गरेकाले समस्या भएन। तीन जनाका लागि बुक गरेका थियौं, पछि होटलवालाले चार जना अट्ने टेन्ट दिए।
पोखरा लेकसाइडबाट गएका एक जोडी, एक विदेशी र हामी सबै आगो ताप्दै गफियौं। खाना खाएर राति ९ बजे आ–आफ्ना टेन्टतिर लाग्यौं। नजिकैका टेन्टहरूमा मादल बज्दै दोहोरी चलिरहेको थियो। कति बेला निदाएँ, पत्तै भएन।
बिहान ४ बजेदेखि होहल्ला सुरू भयो। साढे पाँच बजे भ्यूपोइन्ट जानू भनेर होटलका दाइले भनेका थिए। ३० मिनेटको उकालोपछि क्रपु भ्यूपोइन्ट पुग्यौं। यो ३०८५ मिटर उचाइमा अवस्थित रहेछ। ६:४५ मा सूर्योदय थियो। झिसमिसेमै फोटो र भिडिओ खिच्यौं। बिस्तारै सूर्योदय हुँदै जाँदा हिमालका टुप्पामा घाम टल्किन थाल्यो। अन्नपूर्ण–१ देखि लमजुङ हिमालसम्मको दृश्य अविस्मरणीय थियो। यहाँबाट माथि कोरी पनि देखिने जुन ट्रेकलाई प्रख्यात ठाउँ बनेको छ। त्यस्तै पारि सिक्लेस गाउँ पनि यहाँबाट देख्न सक्किन्छ।
यो दृश्य क्यामेरामा कैद गर्न असम्भवजस्तै लाग्यो। केही समय त्यहीँ बितायौं र ओरालो लाग्यौं।
बीचमा प्याराग्लाइडिङ उडान गर्ने स्थान पनि बनाइएको रहेछ। तर प्याराग्लाइडिङ भएको अहिलेसम्म मैले सुनेको छैन। लालीगुराँसको जंगल भए पनि अहिले रूखहरू मात्र देखिन्थे। फूल फुल्ने मौसम भने फागुन–चैत रहेछ। हामी ओरालो झर्यौं। हिजो बेलुका अँध्यारोका कारण स्पष्ट नदेखिएको पोखरी आज राम्ररी देखियो।
प्रायः यही पोखरीमा हिमाल र आफ्नो प्रतिबिम्ब पर्ने गरी फोटो खिचिन्छ। धेरै मानिस यहीँ खिचिएका तस्बिर देखेर यहाँसम्म आइपुग्छन्। तर कल्पनाको पोखरी सानो देख्दा कतिपय निराश पनि हुन्छन्। श्रीमती र भान्जी पनि सामाजिक सञ्जालमा देखिएका भिडिओ तस्बिरजस्तो नपाएपछि केहीबेर निराश भए। तर नजिकबाट हेर्दा अन्नपूर्ण र माछापुच्छ्रे हिमालको छाया परेर बनेको दृश्य साँच्चै स्वर्ग यहीँ हो भन्ने अनुभूति दिलाउने खालको थियो।
हिमालसँग नजिक भएर मितेरी गाँस्न बाध्य पार्ने ठाउँ थियो त्यो। यहाँ आइपुगेपछि मानिसले तनाव बिर्सिन्छ, मन हलुका हुन्छ। हिमाललाई पछाडि राखेर र पोखरीमा छाया पारेर फोटो खिच्यौं, भिडिओ बनायौं। सामाजिक सञ्जाल नहुँदो हो त सायद क्रपुजस्ता ठाउँ सीमित मानिसमात्र पुग्ने गन्तव्य हुन्थे। फोटो र भिडिओका कारण नै यस्ता स्थानहरू आज धेरैको रोजाइमा परेका छन्। पोखरा उपत्यका देखिने, एउटै स्थानबाट यति धेरै हिमशृङ्खला देख्न सकिने भएकाले यो ठाउँ तपाईंहरूको पनि गन्तव्य बन्न सक्छ।
प्याकेजको खाजा र चिया खायौं। बिहान ९ बजे सामान बोकेर ताङ्तिङतर्फ ओरालो लाग्यौं। दिउँसो १ बजेको पोखरा जाने गाडी समात्नुपर्ने थियो।
पाठकहरूको सहजताका लागि छोटो जानकारी:
पोखराको काहुँखोलाबाट बिहान ८ बजे र १२ बजे ताङ्तिङ जाने बस चल्छ। बस भाडा रु. २५० पर्छ। जिपमा जान चाहनेहरूका लागि रिजर्भ वा यात्रु पूरा भएपछि जिप पाइन्छ। ताङ्तिङसम्म जिपको भाडा करिब रु. ६,००० पर्छ। ताङ्तिङबाट पैदल हिँडेर ५–६ घण्टामा क्रपु पुग्न सकिन्छ। बसबाट आउनेहरू पनि एकैदिन क्रपु पुग्न सक्छन्। संख्याअनुसार ताङ्तिङबाट जिप पनि पाइन्छ। अफरोड चल्ने आफ्नै सवारी साधन भए प्रयोग गर्न सकिन्छ।
पुनः हिजोजस्तै भिर ,पाखा, जंगल र बाटोसँग आत्मीयता साट्दै ताङ्तिङ आइपुग्यौं। दिउँसो १ बजेको बस चढेर बेलुका ४ बजे पोखरा आइपुग्यौं।
-1766213853.jpg)
-1766213852.jpg)
-1766213850.jpg)
-1766213850.jpg)
-1766213851.jpg)
-1766213849.jpg)
-1766213847.jpg)
-1766213848.jpg)
-1766213848.jpg)
-1766213848.jpg)