विदेश भ्रमण जान पाइने भयो भनेर मनभित्र खुलदुली भइरहेको थियो। भोलि त आकाश खुल्छ होला। जान पाइन्छ होला भन्दै रातभरि बाहिर आएर आकाशतिर हेर्दै बसेँ। तर मौसमको उहीँ ताल थियो। आकाश खुलेको थिएन। यता आफूलाई निद्रा पटक्कै लागेन। तैपनि मौसम खुल्ला कि भन्ने आशमा बिहानैदेखि जुम्ला फूलपाती चौरमा रहेको विमानस्थलमा दिनभरि आकाशतिर हेर्दै दिन काटेँ।
विमानस्थलमा स्वदेशी र विदेशी यात्रुले खचाखच थिए। दिनभरि विमानस्थल वरिपरि रहेका चियामात्र पाइने साना साना होटलमा चिया खाँदैमा दिन बितिरहेको छ।
यहाँ प्रस्तुत गरिएको यो एक स्मरणीय यात्रा केही वर्ष अघिको हो।
नेपालका केही कृषि प्राविधिकहरूलाई दक्षिण एसियाली राष्ट्रहरूको कृषि बजार सम्बन्धी अध्ययन अवलोकन गराउने कार्यक्रम अन्तर्गत मलाई पनि कृषि विकास कार्यालय जुम्लाबाट कृषि विभाग हरिहरभवनले मनोनयन गरेको थियो।
भ्रमणकै क्रममा भारतका प्रशिद्ध कृषि तथा प्राद्यौगिक विश्व विद्यालयहरू र कृषि उपज बजार व्यवस्थापन मण्डीहरूको (दिल्ली, मेरठ, बरेली कानपुर आदि स्थानहरू) अध्ययन तथा अवलोकन भ्रमण गर्नका लागि असार १५ गते कृषि विकास कार्यालय बाँके नेपालगञ्ज सम्पर्क राखी भोलिपल्ट बिहानै दक्षिण एसियाकै प्रशिद्ध कृषि तथा प्राद्यौगिक विश्व विद्यालय (जिबी पन्त विश्व विद्यालय) पन्तनगर उत्तराखण्ड नैनीतालमा सडक मार्गबाट पुग्नुपर्ने कार्यक्रम तय भएको थियो। सोही अनुसार मैले जुम्ला- नेपालगञ्जको नेपाल वायु सेवा निगमको असार १० गतेको लागि जहाज टिकट काटेको थिएँ।
त्यतिखेर सरकारी जहाज आर ए र निजी विमान कम्पनीको निकोन एयरको सिंगल इन्जिन एक पंखे शेस्ना जहाज मात्र चल्थ्यो।
जुम्ला प्राकृतिक सौन्दर्यता, सांस्कृतिक सम्पदा, जैविक विविधताले भरिपूर्ण भए पनि नेपालको भौगोलिक दृष्टिले अति दुर्गम मानिएको हिमाली जिल्ला सडक सुरू नभई सकेको सडक यातायातबाट बन्चित यातायातको साधन हवाईजहाज बाहेक अर्को विकल्प नै नभएको झन असार पन्ध्रको झरी भर्खरै मनसुनले सुरूआत गरेको कारणले हवाईजहाज बन्द भैदिँदा भनेको र सोचेको स्थानमा जान कहाँ पाइन्थ्यो र?
मेरो १० गतेको प्लेन टिकट केवल टिकटको लागि मात्र टिकट भएको थियो।
१० गतेबाट १५ गते सम्म भएको अविरल वर्षाले मेरो मौकालाई चुनौती दिएको थियो। १५ गतेसम्म हाम्रा भ्रमण दलका सबै २२ जना साथीहरू जिल्ला कृषि विकास कार्यालय नेपालगञ्जमा सम्पर्क राखी भोलिपल्ट बिहान ८ बजे नै भारततर्फ बसबाट प्रस्थान गर्ने कार्यक्रमको अन्तिम तयारी भएको मैले फोनबाट थाहा पाइसकेको थिएँ । तर अफसोच। मैले त्यो मौका गुमाइसकेको थिएँ। आशा मारिसकेको थिएँ।
संयोग नै भनौं १६ गते बिहानै अविरल वर्षा रोकिएकोले निकोन एयरको शेष्ना चाटर्ड (सिंगल इन्जिन) उडान एक पंखे नेपालगञ्ज - जुम्ला - सुर्खेत -जुम्ला -नेपालगज गर्ने कार्यक्रम बनेछ। जुम्लास्थित निकोन एयरका स्टेशन इन्चार्ज रबी देबकोटाले उक्त खबर मेरो अफिस बिजयनगरमा पुर्याइदिनु भयो।
नेपालगञ्जबाट बिहान ८ बजे सुरू हुने यो चार्टर्ड उडान नेपालगञ्ज–जुम्ला-सुर्खेत-जुम्ला-नेपालगञ्ज गरून्जेल दिनको २ बजिसक्ने रहेछ। मेरो लागि सम्भव थिएन। तै पनि झिनो आशा गर्दै विजयनगरबाट एयरपोर्ट आएर नेपालगञ्जबाट उडेको त्यो एक पखे चार्टर्ड उडानको प्रतिक्षामा थिएँ।
खुला आकाश थिएन। सिमसिमे पानी परिरहेको छ। १ हप्तासम्म यातायात बन्द भएकोले कैयौँ यात्रुको भीड लागेको छ। उच्च हिमाली जिल्ला भए पनि जुम्ला विमानस्थल हिमाली जिल्लामा भएका विमानस्थलमध्ये सुरक्षित मानिन्छ। केही समयपछि सो जहाज हवाई टावर सम्पर्कमा आएको थाहा भयो। तल सजिलै बस्न नसकेर जुम्लामाथिको आकाशमा फन्का लगाइरहेको आवाज पनि सुनियो। यसै क्रममा केही समयपछि जहाजले जुम्ला विमास्थलमा जोखिमपूर्ण अवतरण गर्यो।
विदेशीहरूको चार्टर्ड उडान भएकोले नेपाली यात्रु बोक्ने सम्भव थिएन। यस्तै परिस्थितिमा मेरो समस्यालाई मध्यनजर राखी जुम्ला टावर प्रमुख चौधरीज्यू र स्टेसन इन्चार्ज देबकोटाज्यूले क्यापटेन जेके जोशी (जय कृष्णराज जोशी) सँग अनुरोध गर्नुभयो। मैले पनि गरेँ। मौसमले पनि साथ नदिएको हाम्रो समस्यालाई पनि हृदयगँम गरी म लगायत चार जना विदेशी पर्यटकलाई नेपालगञ्ज लगिदिन मन्जुर हुनुभयो।
अब त जान पाइने भइयो सोच्दै खुसीले गद्गद हुँदै हाम्रो बोर्डिङ भयो।
विमानस्थल नजिकै रहेको नेपालकै प्रसिद्ध मन्दिर गुरू चन्दननाथ र भैरवनाथका ५२ हातका लिंगालाई माथिबाटै परिक्रमा, शिरोपर गर्दै यात्रा सफल होस् भनी पुकार गरेँ। हाम्रो एक पंखे जहाज पश्चिमतर्फ तीव्र गतिमा उड्यो।
जब आकाशमा एक पंखे जहाज माथिमाथि बतासिँदै भुँवाधार बादलको घुम्टोभित्र लुकामारी खेल्न सुरू गर्दैथियो भने तल उच्च पहाडी हरियाली थुम्कामा चर्नका लागि छाडिएका पशुहरू जुम्ली महिला किसानहरूले वर्षालाई छेक्ने स्याँकु (निगालाका पत्ता र भूस पातले बनेको वर्षामा ओढ्ने परम्परागत साधन) ओडी हातका नङ्ग्राले धान खेत गोडिरहेका, बगैँचा लटरम्म फलेका स्याउका दृश्यहरू मनमोहक देखिन्थे।
तर ती सबै मनमोहक दृश्य हुँदाहुँदै पनि मेरो मुख्य उदेश्य त मेरो भ्रमण टोलीलाइ भेटाउनु थियो।
बिहानको १० बजि सकेको थियो तर हामी आकाशमा उडिरहेका थियौं। म अगाडीको ककपिट नजिकैको सिटमा बसेको थिएँ। मैले क्याप्टेन जेके जोशीलाई अनुरोध गरेँ।
'सर मलाई सहयोग गर्नुस् न।'
उहाँले मतिर फर्केर हेर्नुभयो र भन्नुभयो, ‘के सहयोग चाहियो। उडिहेको जहाजभित्र कस्तो सहयोग चाहियो।'
सोही मौकामा मैले मेरो सबै कुरा बताएँ। मैले सम्पर्क कार्यालय कृषि विकास कार्यालय बाँके नेपालगञ्जको सम्पर्क नम्बर समेत दिएँ।
जहाज तीब्र गतिले उडिरहेको थियो। वरिपरी अन्धकार थियो। बाहिर एकदमै ठूलो वर्षा भइरहेको थियो। जहाज कहाँ पुग्यो? कता गयो? कुन ठाउँ पुग्यो? केहि थाहा थिएन। अघि कालिकोट र जुम्लाको सिमाना नाग्मसम्म पुगेको मात्र थाहा थियो।
विदेशीहरू डराइ रहेको थाहा पाएपछि म पनि डराएँ। कतै केही पो हुने हो कि!
नेपालगञ्जको उडान समयअवधि आधा घण्टाको हो तर हामी उडेको एक घण्टाभन्दा बढी हुँदापनि कतिबेला ल्याण्ड हुने हो अत्तोपत्तो थिएन। घरमा आमा, सुत्केरी श्रीमती र सानो बच्चा कमललाई छोडेर आएको हुँदा मनमा बेचैनी भएर मुटु काँपिरहेको थियो।
केही समयपछि सेतो बादल देखिएपछि सुरक्षित महसुस भयो।
केहि समयपछि उहाँले मतिर फर्केर भन्नुभयो, 'तपाईंको भ्रमण यात्रा सफल हुनेछ। मैले सबै कुरा गरिदिएको छु।'
जहाज ल्याण्ड भयो, हामी ओर्लियौं। बाहिर सिमसिमे पानी परिरहेको थियो।
क्यापटेन जेके जोशीले हामीलाई आएर भन्नभयो, 'आज रूट पूरै बादलले ढाकिएको थियो। तर तिमीहरू एकदमै भाग्यमानी रहेछौ।'
उहाँले मलाई छिट्टै गएर नेपालगञ्ज जमूना चौकी नेपाल-भारत उत्तर प्रदेश सिमा चौकी जान भन्नुभयो। उहाँलाई धन्यवाद दिँदै अभिवादन गरेँ।
बाहिर आएर टेम्पो रिजर्भ गरी उक्त स्थानतिर लागेँ। नेपालगञ्ज पूरै हिलाम्य थियो। जे होस् जमूना चौकी पुगेर यताउता हेरेँ।
मलाई जमूना चौकी पुगेर कसलाई भेट्ने थाहा थिएन। नजिकैको नेपाल प्रहरीलाई सोधेँ। परतिर सरकारी मिनि बस सडको छेउमा राखेको देखेँ।
त्यहाँ त पहिले नै हाम्रो जहाज चालक क्यापटेन जेके जोशीले सहभागी छुटेको छ आउँदैछ भनी फोनमार्फत् गाडि रोक्न लगाउनुभएको रहेछ। त्यसैले उकत गाडि त्यही नै राखेको रहेछ। यी सबै कुरा मैले त्यहाँ पुगेपछि मात्रै थाहा पाएको थिएँ।
पहाडबाट तराईको ४५ डिग्री सेल्सियसमा झर्दा पसिनाले निथ्रुक्क भिझेको थिएँ। गाडिमा पस्नासाथ कोही चिनेका साथी थिए त कोहि नचिनेका।
सबैले आश्चर्य चकित मान्दै मलाई हेरिरहेका थिए किनकी त्यस्तो वर्षामा पनि जुम्लाबाट आउनु र गन्तब्यमा हिँडीसकेको गाडिलाई भन्सार नाकामा रोकेर राख्न लगाएर चढ्न पाउनु भाग्यको कुरै थियो।
हाम्रो टिम लिडरबाट केही भारतीय रूपैयाँ एड्भान्स लिइ हाम्रो त्यो दिनको यात्रा सुरू भयो। र गन्तव्य थियो भारतको उत्तराखण्ड पन्तनगर।
तर दुर्भाग्य के भने न आज ती क्याप्टेन नै जिवित छन् न त त्यो जहाज नै बाँकी छ। न त त्यो निकोन एयर विमान कम्पनी।
यस्तो अविस्मरणीय यात्रा स्मरणमा ती सहयोगी मित्रको दुःखद घटना भएकाले उनकाबारे लेख्न मेरो कलमले मान्दैन।
त्यो जहाजको जुम्लामा २०५५ साल माघ ३ गते जुम्ला नेपालगञ्ज उडान गर्न लाग्दा धावन मार्गमा नै दुर्घटनाग्रस्त हुँदा चालक दलका एक जना सहचालक हिराबहादुर मल्ल (एचबि मल्ल) को साथै अन्य चार जना यात्रुसहित पाँच जनाको घटनास्थलमै निधन भएको थियो। दुई जनाको भने उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो।
सो जहाजमा मृत्यु भएका एचबि मल्लको जहाजमै हृदय बिधारक मृत्यु भएको थियो भने क्याप्टेन शुशिल चन्द बाँच्न सफल भएका थिए।
अरू बाँचेकामध्ये निरबिक्रम शाही र भृकुटी खाँड नेपाल सरकारको निजामती सेवामा अधिकृत पदमा हालसम्म कार्यरत छन्।
यस यात्रामा सबैभन्दा अतुलनीय सहयोग गर्ने सहयोगी मित्र नेपालका एक वरिष्ठ चालक क्यापटेन जेके जोशीको २०५६ साल भाद्र २० गते पोखरा - काठमाडौं उडानमा नेकोन एयरको एच एस ७४८ ९ एन एइजी कल साइनको एभ्रो विमान काठमाडौं रामकोटको क्वाटेचौरमा दुर्घटना हुँदा उहाँसहित चालक दलका पाँच जना र अन्य १० जना यात्रुको निधन भएको थियो।
प्रत्येक वर्षको माघ ३ गते प्लेन जलेको त्यो दरदनाक दृष्यले अझै पनि सताइरहन्छ।
यसरी नेपालका वरिष्ठ चालक एवं मेरा सहयोगी मित्र र जुम्ला र काठमाडौं ती यात्रुहरूको दुखद निधन भएकोले हार्दिक श्रद्धाञ्जली दिन्छु र सधैँ दिइरहने छु।
अमूल्य सहयोग सधैँ सम्झिरहने छु।