नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले महिना दिनअघि एउटा फेसबुक पोस्टमा नेपालको वामपन्थी आन्दोलनको अवनतिबारे चिन्ता प्रकट गरे।
उनका अनुसार पछिल्लो चुनावी नतिजाका कारण 'इमानदार वामपन्थी' अहिले डिप्रेसनमा छन्। किनभने वामपन्थी आन्दोलनको अवसानपछि गरिब र निमुखाको पक्षमा कसले लडाइँ गर्ला भन्ने पिर उनीहरूलाई छ।
भुसालका अनुसार समस्त मनुष्य जातिका प्रति दायित्ववोध गर्ने मान्छे वामपन्थी बन्छ। यस हिसाबले वामपन्थी भावुक हुन्छन्।
यही भावुकताले धेरैलाई कम्युनिस्ट बनाएको हुन्छ। उनीहरू पार्टीमा सामेल भए, राजनीतिक अभियान चलाए। धेरै मुलुकमा उनीहरू प्रमुख राजनीतिक शक्ति बने, नेपालमा पनि।
तर नेताहरूले लाखौं कार्यकर्ताको भावुकतालाई नाजायज दोहन गरे। यसै कारण पछिल्लो चुनावमा कम्युनिस्टले पराजय बेहोर्नुपर्यो।
यस्तो गुनासो गर्ने भुसाल मात्रै होइनन्। वामपन्थको उत्कर्षलाई सम्झिएर नोस्टाल्जिक हुनेहरू संसारभर छन्। ग्रिसका प्राध्यापक यानिस वारूफाकिस तिनैमध्ये एक हुन्।
पुँजीवादी अर्थ–राजनीतिको प्रखर आलोचक वारूफाकिस सन् २०१५ मा ग्रिसको अर्थमन्त्री बनेका थिए। त्यहाँ सन् २००४ मा स–साना वामपन्थी समूहहरूको गठबन्धन 'सिरिजा' बनेको थियो।
त्यसले सन् २०१५ मा ४० वर्षीय युवा नेता एलेक्सिस सिप्रासको नेतृत्वमा झन्डै दुई–तिहाइ सिटसहित चुनाव जितेपछि वारूफाकिस अर्थमन्त्री बनेका थिए। बेलायतमा अर्थशास्त्र प्राध्यापन गर्दै बसिरहेका वारूफाकिसले अमेरिका, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको धुँवादार विरोध गरेर चर्चा बटुलेका थिए।
ग्रिस टाट पल्टिएको थियो। उद्योग व्यापार चौपट भएको थियो। धेरै बेरोजगार भएका थिए।
देश तन्नम हुनु र ऋणको दलदलमा फस्नुको कारण पुरानो दलका साथै विदेशी शक्ति हुन् भन्ने जनधारणाको सिरिजाले व्यापक दोहन गरी त्यति बेलाको चुनाव जितेको थियो।
तैपनि जनताको समस्या हल गर्ने वाचा गरेको कम्युनिस्ट पार्टीले चुनावी जितलाई सकारात्मक दिशामा अगाडि बढाउन सकेन। आर्थिक पुनरूत्थानको काम अधुरै रह्यौ। गठबन्धनमा टुटफुट भयो। प्रधानमन्त्रीसँग कुरा नमिलेपछि चार महिनामै अर्थमन्त्री वारूफाकिसले राजीनामा दिए।
ग्रिसको ३०० सदस्यीय संसदमा हाल कम्युनिस्ट पार्टी २१ सिटमा खुम्चिएको छ।
ग्रिसबाट विभिन्निएर निस्केका वारूफाकिस अहिले 'डेमोक्रेसी इन युरोप' नामको अभियानसँग जोडिएका छन्। उनले हालैको एउटा अन्तर्वार्तामा वामपन्थीले गुमाएको अवसरको चर्चा गरेका छन्।
'सन् २००८ मा पुँजीवाद संकटमा पर्यो। हाम्रो प्रक्षेपण मिल्यो तर हामीले त्यसबाट लाभ उठाउन सकेनौं,' उनी भन्छन्, 'कोभिडका बेलामा पुँजीवाद नराम्री ढल्यो तर पनि हामीले केही गर्न सकेनौं। त्यसको जस एन्टिभ्याक्सिन र दिमाग खराब भएका लफंगाहरूको समूहले लिए। हामी इतिहासकै हरूवा भयौं।'
अन्तर्वार्ताको अन्ततिर उनी निष्कर्ष सुनाउँछन्, 'हामी नयाँ विचार लिएर अगाडि बढ्नुपर्छ। प्राविधिक रूपमा उन्नत प्रजातान्त्रिक, उदार र समाजवादी समाजतर्फ अगाडि बढ्नुपर्छ।'
कुनै बेला संसारभर रजगज गरेको वामपन्थी विचार अहिले जनताबाट अलग्गिदै जाँदा यस किसिमको चिन्ता बढ्नु स्वाभाविक हो।
यो चिन्ता र वामपन्थको बिउ सँगसँगै रोपिएको हो। धेरै चिन्तकले यसको पूर्वानुमान गरेका थिए। उग्र भौतिकवाद (Radical Materialism) र सामाजिक नियतिवाद (Social Determinism) ले कालान्तरमा निराशा बाहेक केहीँ दिँदैन भन्ने धेरै चिन्तकको चेतावनीलाई वामपन्थीले बेवास्ता गर्दै आएका थिए।
उनीहरूले त्यस्ता चेतावनीहरूको तथ्यपूर्ण र तर्कसँगत खन्डन गरेनन्, बरू तिनलाई निकृष्ट भाषामा सत्तोसराप गरे।
उग्र भौतिकवादले सबै कुरा (चेतना, मन, विचार, इतिहास, नैतिकता आदि) लाई भौतिक पदार्थ र भौतिक प्रक्रियाहरूमा सीमित गर्छ।गैरभौतिक कुनै पनि अस्तित्व (आत्मा, ईश्वर, अमूर्त विचार वा स्वतन्त्र चेतना) लाई पूर्ण रूपमा अस्वीकार गर्छ।
सबै कुरा भौतिक हो। चेतना वा मन भनेको पनि मस्तिष्कको भौतिक प्रक्रिया मात्र हो।
कुनै 'अलौकिक' वा 'अमूर्त' तत्व छैन। कार्ल मार्क्सको ऐतिहासिक भौतिकवादले त झन समाज र इतिहासलाई उत्पादनका साधन (श्रम, पुँजी र भूमि) र वर्ग संघर्ष (सर्वहारा र पुँजीपतिको लडाइँ) मा सीमित गरिदिन्छ।
सामाजिक नियतिवादले व्यक्तिको व्यवहार, विचार, विश्वास र निर्णयलाई मुख्य रूपमा सामाजिक कारकहरूले निर्धारण गर्छ भन्छ। जन्मजात जैविक गुणभन्दा संस्कृति, वर्ग, शिक्षा, सामाजिक नियम, परिवार, समुदाय र सामाजिक अन्तर्क्रियाले नै मान्छेलाई मान्छे बनाउँछ।
व्यक्ति स्वायत्त हुँदैन, उसको स्वतन्त्र इच्छा गौण हुन्छ। सामाजिक संरचना, मूल्यमान्यता, स्थापित संस्थाहरू र प्रचलित संस्कृतिबाट व्यक्तिगत व्यवहारको निर्धारण हुन्छ। व्यक्तिको चेतना समाजको सामूहिक चेतनाबाट निःसृत हुन्छ। व्यक्तिगत सामर्थ्यमा जैविकताको कुनै भूमिका हुँदैन।
यस किसिमको चिन्तन पछ्याउनेहरुले प्रस्तुत गर्ने एउटा सजिलो र सबैले सजिलै पचाउने उदाहरण निम्न वर्गको तुलनामा उच्च सामाजिक–आर्थिक वर्गमा जन्मेको बच्चाले राम्रो शिक्षा र अवसर पाउँछ, जसले उसको जीवन निर्धारण गर्छ भन्ने हो।
यस्तो सरल उदाहरण मान्ने हो भने अपराधलाई पनि व्यक्तिगत होइन, सामाजिक उपज हो भन्नुपर्छ होइन र? अनि यस्तोमा सजाय कसलाई दिने?
वामपन्थले धार्मिक ग्रन्थहरू र तिनमा लेखिएका कुरालाई प्रमाण मान्दैन तर क्रान्तिको धर्मसूत्र रचना गर्छ। समाज यान्त्रिक रूपमा निश्चित चरणबाट निश्चित चरणमा जान्छ भन्छ र क्रान्तिको निश्चित विधि पनि बताउँछ।
वामपन्थीहरूका यस्तै विरोधाभाषी कुरा र असंगत कर्मले रूसी लेखक फ्योदोर दस्तोभस्कीलाई सन् १८७२ मा उपन्यास 'डेमोन्स' लेख्न प्रेरित गरेको हुनुपर्छ।
उपन्यासमा रूसको कुनै सानो सहरको परिवेशलाई आधार बनाएर बुनिएको कथाले झन्डै ४५ वर्षपछिको बोल्सेभिक क्रान्तिको प्रक्षेपण गरेको भान हुन्छ।
चर्च गलत हो, ग्रन्थ गलत हो, जार शोषक हो भन्दै किसान, कामदार उक्साउने, सेना–प्रहरी, कर्मचारीहरूलाई एकआपसमा जुधाउने, फरक मत राख्ने आफ्नै साथीहरूलाई सिध्याउने मुख्य पात्र निकोलाई स्ताभरोजिन उपन्यासको अन्त्यतिर आफ्ना कुकर्मको पश्चाताप गर्न चर्चमा जान्छ।
चर्चमा बिशपसँग लामो कुराकानी हुन्छ।
एउटा प्रसंगमा बिशप भन्छन्, 'क्रान्तिहरूले आधारभूत रूपमा केही पनि परिवर्तन गर्दैन। समाजमा लुकेका रोगहरू छरपस्ट पार्छ तर निको पार्दैन। क्रान्तिपछि पुराना सामग्रीलाई नयाँ तरिकाले सजाइन्छ, पुराना छविहरू नयाँ पोशाकमा देखा पर्छन्। तर पनि रूसी समाज क्रान्तिको मोहमा फसेको छ।'
रूसी क्रान्तिको तुलनामा उपन्यासले कथेको समयावधि र चर्चेको स्थान साँघुरो छ। रूसी क्रान्तिअघि र पछिको समय भने निकै लामो थियो। स्थानको कुरा गर्दा फैलिएर त्यो क्रान्तिले कुनै बेला झन्डै आधा संसार ढाकेको थियो।
रूसको क्रान्तिले जारको ठाउँमा स्टालिनलाई ल्यायो, चीनमा बादशाहको ठाउँमा माओलाई ल्यायो।
क्युबामा कास्ट्रो, उत्तर कोरियामा किम इल सुंग, कम्बोडियामा पोलपोट जस्ता तानशाहलाई स्थापित गर्यो। दक्षिण अमेरिका र अफ्रिकी मुलुकहरूले अझै कम्युनिस्ट क्रान्तिको मूल्य चुकाइरहेका छन्। कथित क्रान्तिको उठान र सम्बर्द्धनका लागि करोडौं मान्छे मारिए।
कुनै पनि प्राकृतिक प्रकोप, महामारी, सामाजिक तथा राजनीतिक कुशासनले सायद त्यति धेरै मान्छे मारेको छैन जति २० औं शताब्दीमा कम्युनिस्टको पक्ष विपक्षमा लागेर मान्छे मरे।
यस्तो किन हुन्छ? किन क्रान्तिहरूले वाञ्छित गन्तव्य फेला पार्दैनन्?
अमेरिकी चिन्तक एरिक हफरको सन् १९५१ मा प्रकाशित पुस्तक 'द ट्रु विलिभर' (The True Believer: Thoughts on the Nature of Mass Movements) मा कुनै पनि राजनीतिक वा धार्मिक आन्दोलन किन हुन्छ, मान्छेहरू किन त्यसमा लाग्छन् र त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने विश्लेषण गरिएको छ।
हफरका अनुसार आन्दोलनहरू चाहे ती कम्युनिस्ट, नाजीवादी वा कुनै कट्टरपन्थी धार्मिक समूहको जोसुकैको होस एउटै मनोवैज्ञानिक आधार — निराशामा टिकेका हुन्छन्। मानिसहरू जब आफ्नो व्यक्तिगत जीवनबाट निराश हुन्छन् र उनीहरूलाई आफ्नो वर्तमान अस्तित्व अर्थहीन लाग्न थाल्छ, तब उनीहरू कुनै ठूलो समूह वा आन्दोलनमा विलय हुन खोज्छन्।
आन्दोलनको मुख्य शक्ति निराश मान्छेहरू हुन्छन्। विद्यमान व्यवस्थामा कुनै भविष्य छैन भन्ने निष्कर्षमा पुगेका गरिब र वञ्चितहरु आन्दोलनमा लाग्छन्। आफ्नो असफलताको दोष कुनै बाह्य शक्ति वा व्यवस्थालाई दिनेहरू, संसार बदल्ने सपना देख्ने तर आफ्नो व्यक्तिगत जीवन सुधार्न नसक्नेहरू, त्यागको भावना भएकाहरू पनि आन्दोलनमा सामेल हुन्छन्।
'ट्रु विलिभर' (सच्चा विश्वासी) त्यो हो जो आफ्नो पहिचान पूर्ण रूपमा आन्दोलनमा समर्पित गर्छ। उसलाई आफ्नो वर्तमान परिवेशभन्दा भविष्यको स्वप्नलोक प्यारो लाग्छ। यस्ता मान्छेहरू आन्दोलनका लागि ज्यान दिन वा लिन पनि तयार हुन्छन् किनभने उनीहरू आफूलाई एउटा महान् उद्देश्यको हिस्सा ठान्छन्।
हफरले यस्तो आन्दोलनको नेतृत्व पुराना विचार गलत भएको सिद्ध गर्न सक्ने खुबी भएको बुद्धिजीवीले गर्छन् भन्ने तर्क गरेका छन्। त्यसैगरी हिंसा र फौजी बलमार्फत आन्दोलन उठाउने कट्टरपन्थी र आन्दोलनलाई एउटा संस्था वा सत्ताको रूपमा स्थापित गर्ने व्यावहारिक नेताको चर्चा पनि हफरले गरेका छन्।
यस्ता आन्दोलनलाई सबैले चिन्न सक्ने एउटा 'साझा शत्रु' आवश्यक हुन्छ। जबसम्म मान्छेहरूले कुनै एउटा समूह वा शक्तिलाई आफ्नो दुःखको कारण मान्छन्, तबसम्म उनीहरू आन्दोलनमा टिकिरहन्छन्। यो घृणा नै आन्दोलनलाई अघि बढाउने ऊर्जा हुन्छ। नेतृत्वले समर्थकहरूका लागि निरन्तर साझा शत्रु र घृणा आपूर्ति गरिरहनुपर्छ। त्यसो गर्न नसक्दा आन्दोलन छिन्नभिन्न हुन्छ।
यो तर्क मान्न घनश्याम भुसालजस्ता वामपन्थीहरू तयार छैनन्। कम्युनिस्टहरूले शदियौंदेखि दोहोर्याउँदै आएको रटान छोड्न उनीहरू मान्दैनन्।
शोषण, अन्यायमा परेका, गरिबका मुक्तिदाता कम्युनिस्ट होइनन्, कम्युनिस्टले सुझाएका उपायबाट मान्छेका दुःख निवारण हुँदैनन्, मानव जाति र समग्र सृष्टिको रक्षा गर्न कम्युनिस्ट हुनु पर्दैन भनेर कसैले भन्यो भने त्यसलाई उनीहरू कतैबाट प्रायोजित र परिचालित भन्दै व्यक्तिगत गालीगलौजमा उत्रिन्छन्।
भुसालले नै त्यो १० मिनटको फेसबुक पोस्टमा भनेका छन्, 'दुःखका दिन अझै सकिएको छैन। कम्युनिस्टलाई थुक, समाजवादीलाई लखेट, वामपन्थीलाई घृणा गर भन्नेहरू वस्त्र उतारेर आउन बाँकी छ। पुनरूत्थानवादी धार्मिक छाता ओढेका सामाजिक लफंगा, कात्रै सही धेरै बेच्न पाए नाफा हुन्थ्यो भन्ने व्यावहारिक अर्थशास्त्रका उपदेशकहरू, राष्ट्रभन्दा पैसा माथि हो भन्ने बुद्धिजीवीहरू, अमेरिका युरोपमा जन्मिन नपाएर पश्चाताप गर्नेहरू, नानाथरीका विकासविद, बडेबडे राजनीतिक परामर्शदाता, अन्तर्राष्ट्रिय संस्थाका ठूला जागिरे, माटो नदेखेका–गोबर नकुचेका नवधनाढ्यका विदेश पढेका सन्तानहरू संगठित रूपमा मैदानमा उत्रिनै बाँकी छ।'
यहाँ भुसालले फरक शब्दहरू प्रयोग गरेका छन् तर फरक मत राख्नेहरूलाई गाली गर्ने 'कम्युनिस्ट शैली' बाट विचलित भएका छैनन्।
साझा शत्रु र घृणा आपूर्तिका लागि विषयान्तर गर्न माहिर कम्युनिस्टहरू निरपेक्ष गरिबीको चर्चा गर्यो भने आर्थिक असमानतातिर कुरा लैजान्छन्। आर्थिक असमानता कम गर्ने उपायबारे छलफल गर्दा कुरा आर्थिक असमानताको मात्र होइन न्याय/अन्यायको हो भन्छन्।
क्षणमा परिस्थितिको वस्तुपरक विश्लेषण गर्ने कम्युनिस्ट क्षणमै भावुक हुन्छन्। सामाजिक संस्कृतिको कुरा गर्न बस्दा जैविक पर्यावरणको कुरा गर्छन् र वाकपटुताको अधिकतम उपयोग गर्दै यी विषय अन्तर्सम्बन्धित हुन भन्दै उम्किन खोज्छन्।
यसरी आफूले रचना गरेको लफ्फाजीको पासोमा वामपन्थ आफै परेको छ। नयाँ समय र पुस्तासँग संवाद गर्ने भाषा कम्युनिस्टसँग छैन। वामपन्थबाट विरक्तिएको पुस्तामा आशा भर्ने मुद्दा 'सक्कली वामपन्थी' सँग पनि छैन।
नयाँ पुस्तालाई कम्युनिस्टसँग आश र त्रास दुवै छैन। निरन्तर काल्पनिक शत्रु खडा गरिरहने, आफूलाई मसिहाका रूपमा प्रस्तुत गर्ने, विरोधी विचारको उछितो काट्ने वर्षौंदेखिको चटकले सर्वसाधारणलाई आकर्षित गर्न छाडेको धेरै भइसकेको थियो। तैपनि गैर वामपन्थीहरूको अकर्मण्यता र जनविकर्षणको लाभ कम्युनिस्टले उठाउँदै आएका थिए।
सत्ता बाहिर हुँदा शोसक, सामन्त, पुँजीवादी, साम्राज्यवादी, विस्तारवादीको एजेन्ट जस्ता अनेकौं शब्दावली प्रयोग गरेर गाली गरिरहने र सत्ता पाएपछि उनीहरूकै हितमा राज्यशक्तिको दोहन गरेको जनताले देखेका थिएनन् र?
आम नागरिकले आफू ठगिएको थाहा पाएका थिएनन् र?
कम्युनिस्टले सुरूदेखि नै समस्याको उठान सही ढंगले गरेका थिएनन्। भाषा जेसुकै भए पनि उनीहरुको आशय हाम्रो प्रमुख समस्या गरिबी हो भन्थे र यो हामीमाथि थोपरिएको हो भन्थे।
खासमा हामी गरिब किन भयौं भन्ने प्रश्नै होइन। प्रश्न त हामी किन धनी बन्न सकेनौं भन्ने हो। किनभने, अठारौं शताब्दीको उत्तरार्द्धसम्म सारा संसार चरम गरिबीको रेखामुनि बाँचिरहेको थियो। औद्योगिक क्रान्तिपछि चरम गरिबी दर ९० प्रतिशतमा आयो। बिसौं शताब्दीको मध्यमा विश्व जनसंख्याको ६० देखि ६५ प्रतिशत मान्छे गरिबीको रेखामुनि नै थिए।
चीन र भारतको आर्थिक वृद्धिले गरिबीलाई ४० प्रतिशतमा झार्न मद्दत गर्यो। अहिले विश्वमा चरम गरिबीको रेखामुनि १० प्रतिशत जनसंख्या छ। हाम्रोमा अझै २० प्रतिशत जनसंख्यालाई बिहान–बेलुका हातमुख जोर्ने समस्या छ।
पर्याप्त आम्दानी र सम्पत्ति हुने मान्छे त भोकभोकै मर्दैन! त्यसैले मान्छेलाई आम्दानी गर्न सक्ने, सम्पत्ति जोड्न सक्ने बनाउने अर्थ राजनीतिक प्रणाली कुन हो, त्यो पहिल्याउनुपर्छ। कस्ता नीतिले, कस्ता संस्थागत संरचनाले, कस्ता पात्रहरुले सिर्जनशील परिवेश निर्माण गर्छन्, त्यसको खोजी गर्नुपर्छ।
अर्कालाई दोष थोपर्ने क्रम बन्द हुनुपर्छ।
दुइटा विश्व युद्ध, अरू थुप्रै युद्धहरू, भयानक प्राकृतिक विपत्तिहरु, घातक महामारीहरू र थुप्रै आर्थिक संकटहरू पार लगाएर अगाडि बढेको अर्थ राजनीतिक व्यवस्था कुन हो, थाहा पाउनुपर्छ।
अन्यथा, वामपन्थसँग विरक्तिएर हिँडेको पुस्तालाई फर्काउन सजिलो छैन।
एक्सः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)