केही दिनअघि बाहिरिएको धितोपत्र बोर्डको एक प्रतिवेदनले विवादित व्यवसायी दिपक भट्ट र उनीसँग सम्बद्धहरूले मिलेमतोमा सेयर किन्ने र मूल्य बढाउने गरेको निष्कर्ष निकाल्यो।
मिलेमतोमा सेयर किन्ने र मूल्य बढाउने मात्र होइन, यो प्रतिवेदनले औंल्याएको सबभन्दा गम्भीर विषय पब्लिक कम्पनीहरूको कोषको रकम दुरूपयोग हो।
भट्टले ३ अर्ब ८० करोड रूपैयाँ बराबरको सेयर र ऋणपत्र किनेको प्रतिवेदनमा उल्लेख छ। यसका लागि पब्लिक कम्पनीहरू हिमालयन रि-इन्स्योरेन्स र यससँग सम्बद्ध कम्पनीहरू गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको पैसा चलाइएको पाइएको छ।
पब्लिक लिमिटेड कम्पनीहरूको पैसा सेयर बजारमा लगाएर आफ्नो सम्पत्ति बढाउने घटना यो पहिलो भने होइन।
२०७८ मा पनि सेयर बजारका ठूला खेलाडी भनेर चिनिने दिपेन्द्र अग्रवाललाई तत्कालीन बीमा समिति (हाल बीमा प्राधिकरण) ले यस्तै कारोबारमा कारबाही गरेको थियो। त्यति बेला जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवालले कम्पनीको कोषको रकम दुरूपयोग गरेको पाइएको थियो।
बीमा कम्पनीहरूले पनि आफ्नो पुँजी सेयर बजारमा कारोबार गर्न पाइने व्यवस्था छ। अग्रवालले यसैको फाइदा उठाउँदै यसरी कारोबार गर्न पाइने रकमको सीमाभन्दा ११५ प्रतिशत लगानी गरेको भेटिएको थियो।
त्यही कारोबार क्रममा अग्रवालले आफ्नै लगानीका अन्य कम्पनी गोर्खाज फाइनान्स र तत्कालीन सिभिल बैंक (हाल हिमालयन बैंकमा मर्ज) को सेयर किन्न प्रयोग गरेका थिए।
यो घटनापछि उनलाई सञ्चालकबाट हटाएको थियो।
यसरी पब्लिक लिमिटेड कम्पनीहरूमा बसेर उक्त कम्पनीमा रहेको कोषबाट आफ्नो गोजी भर्ने प्रवृत्ति प्रत्यक्ष-अप्रत्यक्ष रूपमा चलिरहेको बजार स्रोतहरू बताउँछन्।
'यस्तो कोष हुने कम्पनीका सञ्चालकहरूले बिक्री हुन समस्या भइरहेको अन्य कम्पनीको संस्थापक लगायतका सेयर आफ्नो कम्पनीबाट खरिद गराइदिने परिपाटी पनि धेरै छ,' ती स्रोतले भने, 'यसरी किनबेचमा ती सञ्चालकले कमिसन पाउने गरेका छन्।'
कतिपयले भने सुरूमा बिक्री हुन गाह्रो भएको त्यस्ता सेयर आफ्नै नाममा किन्ने र पछि केही बढी मूल्यमा आफ्नो कम्पनीलाई बिक्री गर्ने गरिरहेको पनि स्रोतको दाबी छ।
कमिसन लिएर भएको कारोबारको पुष्टि गर्न गाह्रो हुने भए पनि आफ्नो वा आफ्ना निकटहरूको नामबाट कम्पनीलाई सेयर बिक्री गर्नेहरूको अनुसन्धान गर्न सकिने उनी बताउँछन्।
सार्वजनिक भइसकेका यी घटनाक्रमहरूले बीमा कम्पनीहरूमा नै यस्तो प्रवृत्ति मौलाएको देखिएको छ।
यस्ता घटनालाई बीमा प्राधिकरणले कसरी हेरिरहेको छ भन्ने प्रश्न हामीले प्राधिकरणका प्रवक्ता पुजन ढुंगेल अधिकारीलाई सोधेका छौं।
'यस्ता घटना बेलाबेला आइरहेका छन्, केहीमा हामी आफैले कारबाही प्रक्रिया अगाडि बढाएका पनि छौं। त्यसैले अबका दिनका नियामनकारी निकायबीच अन्तर समन्वयन गर्नुपर्ने देखिँदै गएको छ,' उनले भनिन्।
बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१-८२ मा सेयर, ऋणपत्र लगायतका विभिन्न क्षेत्रमा ८ अर्ब २९ करोड लगानी गरेका छन्।
आर्थिक वर्ष २०८२-८३ को तुलनामा यो १३.७ प्रतिशत धेरै हो।