घले गाउँको नाम मैले धेरै पहिलेदेखि सुन्दै आएको थिएँ। सामुदायिक होमस्टेको सफल नमूनाका रूपमा यो गाउँ पटक–पटक चर्चामा आइरहन्थ्यो।
विभिन्न तालिम, गोष्ठी र छलफलहरूमा गाउँको विकास, आयआर्जन र स्थानीयको जीविकोपार्जनको बलियो आधारका रूपमा घले गाउँ, भुजुङ र घान्द्रुक जस्ता होमस्टे मोडललाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गर्थें।
तर, घान्द्रुक बाहेक तीमध्ये अन्य गाउँमा पुग्ने अवसर भने जुरेको थिएन। घलेगाउँ पुग्ने योजना करिब चार महिना अगाडि नै बनेको थियो। तर, बाढी–पहिरो र बाटो अवरूद्धका कारण यात्रा सम्भव भएन। यसपटक भने अचानक योजना बन्यो।
म घुम्न जाने कुरा आयो भने समय जुराउन खासै मन लगाउँदिनँ। ‘लौ त जाने’ भन्नेबित्तिकै क्यामेरा, झोला बोकेर हिँड्ने बानी छ। भोलिपल्ट मात्रै थाहा हुन्छ—काम त छुटेछ। यसपटक पनि यस्तै भयो।
अघिल्लो दिन सल्लाह भयो, भोलिपल्ट क्यामेरा, झोला बोकेर हिँड्यौँ। मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङ दाइले 'घले गाउँ जाने हो?' भनेर सोध्नुभयो।
मलाई पनि घुम्ने रहर थियो। हामी झोला बोकेर काठमाडौं लाग्यौं। काठमाडौंमा घुम्न रूचाउने ध्रुव आचार्य पनि यात्रामा थपिनुभयो। हामी तीनै जनाका लागि गन्तव्य नयाँ थियो। कतिपय ठाउँमा गुगल म्यापले काम नगर्दा एउटै बाटो दुई–तीन पटक फन्को लगाउँदै अघि बढ्यौँ। विकासको नाममा होला—एउटै गाउँ, एउटै टोलमा जाने तीन–चार वटा सडक खनिएका रहेछन्।
रातको समय, घना जंगल, कतै बत्ती बलिरहेको देखिँदैन, न त बाटोमा मानिस नै भेटिन्छन्। घले गाउँ पुग्न अझै केही घण्टा बाँकी थियो। हिरा दाइले सुशील घले गुरूङसँग सम्पर्क गर्नुभयो। फोनमै बाटो सोध्दै–देखाउँदै राति करिब साढे आठ बजेतिर गाउँको प्रवेशद्वारमा पुग्यौँ। मन ढुक्क भयो—अब घले गाउँ आइपुगेका थियौँ। म घुम्न मात्र होइन, त्यो ठाउँबारे बुझ्न र तस्बिरमा कैद गर्न पनि रूचाउँछु। त्यसैले घले गाउँबारे केही जानकारी संकलन गर्ने सोच बनाएको थिएँ।
होमस्टेको मुख्य सम्पर्क कार्यालयमा पुगेर बस्ने व्यवस्था मिलायौँ। सुशील दाइ हामीलाई पर्खिरहनुभएको रहेछ। उहाँको घर पुग्नेबित्तिकै गाउँको इतिहासबारे जिज्ञासा राखेँ।
चौबिसे राज्यकालमा घले राजाले यस क्षेत्रमा शासन गरेका रहेछन्। उनकै नामबाट यस गाउँको नाम ‘घले गाउँ’ रहन गएको बताइयो। ती राजाको सम्मानमा गाउँमा घले राजाको मूर्ति पनि स्थापना गरिएको छ। परम्परागत गुरूङ संस्कृति, घाटु, सोरठी र सेर्गा नाच यहाँका प्रमुख सांस्कृतिक विशेषता हुन्।
दुर्भाग्यवश, हामी ढिलो पुगेकाले ती सांस्कृतिक कार्यक्रम प्रत्यक्ष अवलोकन गर्ने अवसर भने गुमायौँ। बिहान सबेरै उठेर घले गाउँ अवलोकन गर्ने ठूलो रहर थियो, र त्यो रहर पूरा पनि भयो। एक्लै टोल–टोल डुलें, घर–घर पुगें र गाउँलाई नजिकबाट चिन्ने प्रयास गरें। नमूना चिया बगान, प्राङ्गारिक खेती, परम्परागत गुरूङ संग्रहालय, हिमाली दृश्यावलोकन र सुधारिएको होमस्टे प्रणालीका कारण घले गाउँ प्रख्यात छ।
यो गाउँ सार्क राष्ट्रकै नमूना गाउँका रूपमा समेत चिनिन्छ। हिमालको काखमा रहेको सार्क भिलेज—घले गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेश हिमाल तथा ‘डाक्टर हर्क गुरूङ पिक’ लगायतका हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ। यहाँ गुरूङ समुदायका ८० र दलित समुदायका ४५ घर रहेका छन्।
२०५७ सालमा १२ घरबाट सुरू भएको होमस्टे कार्यक्रम अहिले ४५ घरमा विस्तार भइसकेको छ। तीमध्ये दुई घर दलित समुदायका हुन् भने बाँकी सबै गुरूङ समुदायका छन्। घले गाउँमा एकै रात करिब सात सय जनासम्म पाहुनालाई बस्न सक्ने क्षमता रहेको छ। अहिले गाउँसम्म सडक पुगेकाले यात्रा सहज बनेको छ। तर, सडक नहुँदाको समयमा बेसीशहरबाट एक दिन पैदल हिँडेर मात्रै यहाँ पुग्न सकिन्थ्यो भन्ने कुरा सुन्दा यस गाउँलेले भोगेको संघर्ष सहजै अनुमान गर्न सकिन्छ।
एक रातको बसाइमै घले गाउँले मलाई धेरै कुरा सिकायो—सामुदायिक एकता, संस्कृति संरक्षण र पर्यटनमार्फत आत्मनिर्भर बन्न सकिने सम्भावनाको ज्वलन्त उदाहरण बनेर।
तस्बिरहरू:
-1768649693.jpg)
-1768649693.jpg)
-1768649692.jpg)
-1768649690.jpg)
-1768649690.jpg)
-1768649691.jpg)
-1768649691.jpg)
-1768649690.jpg)
-1768649690.jpg)
-1768649689.jpg)
-1768649689.jpg)
-1768649688.jpg)
-1768649688.jpg)