कहिलेकाहीँ जीवनको एकनासे दैनिकीबाट टाढा निस्केर आफूलाई नै भेट्न मन लाग्छ। भिड, जिम्मेवारी र समयको चापबाट केही क्षण उम्किएर प्रकृतिको काखमा पुग्ने चाहनाले मन असाध्यै बेचैन हुन्छ। त्यही बेचैनीले जन्माएको एउटा साधारण तर गहिरो आकांक्षाको परिणाम थियो—खप्तड यात्रा।
यो कुनै ठूलो तयारी वा औपचारिक योजना थिएन, बरू आत्माले खोजेको शान्तिको बाटो थियो, जसले हामीलाई डोटीको आकाशमुनि एकैचोटि हिँड्न बाध्य बनायो।
मंसिरको चिसो महिना थियो। डोटीको आकाश खुला र घाम पारिलो भए पनि हावामा झिनो जाडोको मिठास घुलिएको थियो। यात्रामा हामी पाँच साथीहरू—म, प्रकाशराज रेग्मी, नारायण बस्नेत, कपिल थापा र विनोद खड्का—थियौँ, तर यात्राको योजनाको मूल प्रेरणा भने नि:सन्देह प्रकाशराज रेग्मी नै थिए, जसको उत्साह र जाँगरले हामीलाई यस अद्भुत यात्रा तय गर्न हौस्याएको थियो।
दिउँसो करिब २ बजे डोटी बजारबाट हामी निस्कियौँ। चुनावको पूर्वसन्ध्यामा समयको सदुपयोग गर्दै छोटो तर सार्थक यात्रा गर्ने मनसाय थियो। सिलगढी हुँदै करिब एक घण्टामा हामी झिङ्ग्राना पुग्यौं। गाडी त्यहीँ रोकियो र त्यहाँबाट हाम्रो पैदल यात्रा सुरू भयो। चिसो मौसममा पारिलो घामले हिँडाइलाई सहज बनाइरहेको थियो।
उकालो-ओरालो काट्दै र चिसो हावामा सास तान्दै हामी रातको करिब ८ बजे बिचपानी पुग्यौँ। चन्द्रमाको हल्का उज्यालो र जंगलको सान्तताबीच तातो चियाको एक घूँटले दिनभरको थकाइलाई क्षणभरमै बिसर्जन गरिदियो। रातको खानापश्चात् भोलिको स्वप्निल यात्राको कल्पना गर्दै रातको आनन्दमा हरायौं।
भोलिपल्ट बिहान ६ बजे, ओसले भिजेको घाँस र टल्किरहेको घामको सुनौलो किरणले स्वागत गरेपछि हामी फेरि बाटो लाग्यौँ। चराचुरूङ्गीको चिरविर, खोला तर्ने रोमाञ्च, पातलिँदै गएर फेरि घना हुँदै जाने जंगल र वन कुखुराको खस्य्राक खुस्र्रुकले जंगललाई जीवित, चलायमान र पवित्र जस्तै बनाइरहेको थियो।
जङ्गलको बीच–बीचमा देखिने खुला पाटनमा कहिले बँदेलको बथान झल्किन्थ्यो, कहिले चट्टानका बिशाल छायाले बाटो आफ्नै लयमा पार गराउँथ्यो। कतै छेडेदहजस्ता सौन्दर्य, कतै केदार ढुङ्गाको ऐतिहासिक भव्यता- प्रत्येक मोड, प्रत्येक पाइला एउटा नयाँ अनुभव बटुल्दै अघि बढिरहेको थियो।
यात्राको लयमा बग्दै जाँदा करिब ११ बजे हामी खप्तड बाबाको आश्रम पुग्यौँ। त्यहाँ पुग्नेबित्तिकै वातावरणको मौनताले मनलाई कुनै पवित्र कम्पनले स्पर्श गरेको अनुभूति भयो। सादगी, स्वच्छ हावा, वरिपरि फैलिएको हरियाली र आश्रमको पवित्र शान्ति—यी सबैले मनको बोझ हल्का गरिदिइरहेका थिए।
स्थानीयहरूले सुनाउने कथाहरूले त्यो स्थानको आध्यात्मिकता झनै गहिरो बनाइदिन्थ्यो—बाबाले यही ठाउँमा वर्षौं ध्यान गरेको, यही पाटनमा प्राकृतिक शक्तिसँग एकाकार भएर बस्ने गरेको, र आश्रम वरिपरि एउटा विशिष्ट ऊर्जा रहेर मानिसका थकाइ, चिन्ता र मनका उथलपुथल पगालिदिने प्रभाव रहेको विश्वास।
आश्रमको आँगनबाट टाढाटाढासम्म फैलिएका सेताम्मे हिमाल र हरिया पहाडहरूको मौन उपस्थिति कुनै संगीतभन्दा बढी आत्मिक अनुभूति दिन्थ्यो। केही क्षण त्यहीँ बस्दा यस्तो लाग्यो—यात्रा खुट्टाले गर्दैछ, तर शान्ति भने मनले पाउँदैछ। आश्रममा बाबाले छोडेर गएका सामग्री, मौन शिक्षाहरू र प्रकृतिसँग मिसिएको आध्यात्मिक ऊर्जा यात्रालाई पवित्र अर्थ दिइरहेको थियो।
फर्कंदा हामी त्रिवेणीको तीरमा रोकियौँ। त्यहाँको चिसो, निर्मल र पवित्र पानीले शरीर मात्र होइन, मनको बोझ पनि धोइदिएको अनुभूति भयो। त्रिवेणीमा डुबुल्की मार्दा यस्तो लाग्यो आजको थकाइ मात्र होइन, विगतका चिन्ताहरू पनि बहेर गए।
साँझ सिलगढी फर्कंदा थकाइ त थियो, तर त्यो थकाइसँगै हाम्रो मनमा केही अनमोल स्मृतिहरू भरिएका थिए- जंगलको बाटो, पाटनको खुलापन, चट्टानको मौनता, त्रिवेणीको शितलता र सबैभन्दा महत्वपूर्ण—खप्तड बाबाको आश्रमबाट प्राप्त आध्यात्मिक शान्ति।
आज ती दिनहरू सम्झिँदा लाग्छ—खप्तडले हामीलाई केवल सुन्दर दृश्य मात्र दिएन, उसले जीवनलाई हेर्ने दृष्टिकोण पनि केही फरक बनाइदियो। सायद सबै यात्रा गन्तव्यसम्म पुग्नका लागि हुँदैनन्; केही यात्रा त आफूभित्र हराइरहेका अनुभूतिहरूलाई फेरि भेट्नका लागि हुने रहेछन्। त्यसैले खप्तड हाम्रो लागि एउटा ठाउँ मात्र रहेन, त्यो त अनुभूतिको नाम बन्यो—जहाँ पुगेर मन हलुका हुन्छ, सोच शान्त हुन्छ र जीवन केही क्षणका लागि सही लयमा बग्न थाल्छ।
त्यो यात्रा केवल पैतालाले नापिएको दूरी मात्र थिएन, त्यो त मन, आत्मा र प्रकृतिको पवित्र भेट थियो। संघर्ष, चुनौती, कौतुहलता र अन्ततः प्राप्त शान्तिको अद्भुत संगम बनेको यो यात्रा जीवनभर सम्झनलायक रहिरहनेछ।