प्रधानमन्त्री बालेन शाहले शुक्रबार बिहानै फेसबुकमा बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै एउटा सन्देश लेखे — दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।
जतिखेर उनी आफ्नो फेसबुकमा बुद्ध जयन्तीको शुभकामना दिँदै थिए, ठ्याक्कै त्यही बेला बल्खुस्थित सुकुम्बासी बस्तीमा चलिरहेको डोजरले त्यहाँको एउटा बौद्ध गुम्बा पनि तहसनहस पार्दै थियो।
देशभरिकै बौद्ध गुम्बाहरूमा आज धुमधामसँग बुद्ध जयन्ती मनाइँदैछ। यही अवसरमा बल्खुको गुम्बामा पनि पूजाको तयारी हुँदै थियो।
तर धुपबत्ती गर्न नपाउँदै गुम्बामा डोजर चल्यो। गुम्बा तहसनहस पारियो। बुद्धका मूर्ति यत्रतत्र छरिए।
हावामा लहरिरहेका ध्वजापताका निरीह भएर जमिनमा लतारिए।
यो गुम्बा २०७१ सालमा यहाँका सुकुम्बासीले नै पैसा उठाएर बनाएका थिए। उनीहरूले यहाँ दैनिक बिहान-बेलुका बत्ती बाल्ने गर्थे। आज पनि बुद्ध जयन्तीको विशेष पूजा चल्दै थियो।
त्यही बेला सुकुम्बासी बस्ती हटाउन डोजर चल्न थालेपछि गुम्बामा जम्मा भएका बौद्धमार्गीहरूले आफ्नो आस्थाको केन्द्र नभत्काइदिन अनुनय गरे। डोजर अगाडि उभिन गए। कोही गुम्बाको छतमा समेत चढे। तर दलबलसहित आएका सुरक्षाकर्मीका अगाडि उनीहरूको कुनै जोर चलेन।
गुम्बा भत्काइयो। अनुनय गरिरहेकाहरू निरीह हुँदै पन्छिन बाध्य भए।
गुम्बा समिति अध्यक्ष ५२ वर्षीय कुप्रे तामाङ आँखाभरि आँसु बनाएर गुम्बा छेउमा उभिएका उभियै भए। बुद्ध जयन्तीकै दिन गुम्बा भत्काइँदा उनी विक्षिप्त थिए।
'आज हाम्रो चाड थियो, आज नभत्काइदिनुस् भनेर बिन्ती गर्दा पनि भत्काइदिए। अहिले मूर्तिहरू कहाँ लैजाने भन्ने चिन्ता परिरहेको छ,' उनका अवरूद्ध गलाले यति मात्र बोल्न सक्यो।
उनले सुकुम्बासी बस्ती भत्काउने हल्ला सुनेदेखि नै गुम्बालाई अन्त सार्ने कोसिस पनि गरेका थिए। तर उचित स्थान नपाएकाले सार्न सकेका थिएनन्।
'बुद्धको मूर्ति त्यसै जहाँ पायो त्यहीँ लगेर राख्न पनि भएन। अलि सुरक्षित ठाउँ खोजिरहेको थिएँ,' उनले भने, 'घर भत्काउँदाभन्दा बढी गुम्बा भत्काउँदा दु:ख लागेको छ।'
उनले अगाडि भने, 'सरकारले हाम्रो मात्र होइन, भगवानकै घर भत्काइदियो। यो हाम्रो शान्तिको प्रतीक हो। हाम्रो शान्ति प्रतीक भत्काइँदा पनि हामीले केही गर्न सकेनौं। म आज ठूलो पीरमा छु। केही बोल्न सक्दिनँ।'
यत्ति भन्न नपाई उनको आँखा आँसुले भरियो।
गुम्बा भत्काइएपछि तामाङले बुद्धका मूर्ति व्यवस्थापन गर्न विभिन्न ठाउँमा फोन गरिरहेका थिए।
५० वर्षीय कुमार तामाङ २६ वर्षदेखि बल्खुको सुकुम्बासी बस्तीमा बसिरहेका छन्। उनी पनि बिहान गुम्बामा पूजा गर्न गएका थिए। सुकुम्बासी बस्ती भत्काउने भनिएकाले गुम्बा पनि भत्किन्छ भन्ने उनको अनुमान थियो।
बुद्ध जयन्ती भएकाले बत्ती बाल्न त कसो नदेलान् भनेर उनी बिहानै गुम्बा पुगे। तर पूजा गर्न गएको भगवानलाई उनले नै भग्नावशेषबाट निकाल्नुपर्यो।
'भगवानलाई त सरकारले छाडेन भने हामीलाई कहाँ छाड्थ्यो र? मूर्ति बल्लतल्ल निकाल्यौं, तर राख्ने ठाउँ छैन। आज बुद्ध जयन्तीको दिन धूपबत्तीसमेत गर्न पाइएन, निकै दुःख लागेको छ,' उनले भने।
२४ वर्षीया मनिका राईलाई भने बुद्ध जयन्ती भएकाले कम्तिमा गुम्बा भत्काउँदैनन् भन्ने लागेको थियो।
'भित्र भएका साना–साना मूर्तिहरू पुरिए। तामाङ, गुरूङ, शेर्पा समुदायले यहाँ पूजा गर्दै आएका थिए। आज बुद्ध जयन्ती मनाउने तयारी थियो, तर भत्काइयो,' उनले भनिन्, 'मन्दिर र गुम्बा चाहिँ नभत्काइदिएको भए हुन्थ्यो।'
आज जसरी पनि पूजा गर्नैपर्छ भन्दाभन्दै गुम्बा भत्काइएको ४८ वर्षीया धनमाया लामा बताउँछिन्।
१५ वर्षदेखि यही बस्तीमा बसिरहेकी उनले भनिन्, 'गुम्बाका सामान निकाल्नसमेत भ्याइएन। आज नभत्काइदिन अनुरोध गरेका थियौं, मानेनन्। आज पूजा गर्नैपर्छ, अब कहाँ गएर गर्ने थाहा छैन।'
'यहाँका देउताहरूलाई कतै राख्ने ठाउँ पाइएन भने कोठा लिएर भए पनि राख्छु,' उनले भनिन्।
सबै तस्बिर मन्दिरा घिमिरे/सेतोपाटी




