जिरीको लिङ्कन बजारको मुटुमै रहेछ होटल यार्सा। झोला बिसाएर केहीबेर आराम गर्यौँ। हामी सबैभन्दा अगाडि आएछौँ। व्यवस्थापन टिमका साथीहरू सबै अतिथिलाई वासको व्यवस्था मिलाउने धमाधममा हुनुहुन्छ। भवानी दिदी भन्नुहुन्छ, ’लु जाऔँ तल गाई आनुवांशिक स्रोत केन्द्र।’
भवानी दिदीमा ऊर्जाको भेल अचम्म किसिमले बगेको देख्छु। न गोडा थाकेका छन् न उत्साह। सँगै आएका कोही साथी गलित-थकित छन् तर हामीलाई भवानीको ऊर्जाले तानेर आलस्य त स्वाट्ट हटायो। लागेको थियो गाडीबाट झरेपछि त आरामको ओढ्ने ओढेर पल्टिन्छु। जिरीको सौन्दर्य त दबाई पनि पो रहेछ। गाडीको थकाइ त जिरीको स्वच्छताले छुमन्तर तुल्यायो। हामी ऊर्जावान् भयौँ।
बेहुलीझैँ सिँगारिएको जिरीको गाढा हरियाली हेर्दै ओरालिन्छौँ जिरी खोलाको तीरैतीर। बजारभन्दा तल छन् प्रशासनिक भवनहरू। देखिन्छ सडकको देब्रेतिर शान्त गुम्बा। लाग्छ जङ्गलकै काखमा हामी हिँड्दै छौँ। सम्मोहित पार्ने मौसम छ। टिपेर राख्न खोज्छु जिरीको जादूमयी सौन्दर्य आँखाको नानीमा। जिरीको नयनाभिराम सौन्दर्य आँखाबाट पोखिन खोज्छ। कता कता पो हेर्नु, जता हेरे पनि मोहनी लाग्लाझैँ छ।
जिरी प्राविधिक शिक्षालय लेखेको बोर्डनजिकै गएर फोटो पनि खिचाउँछौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) अन्तर्गत सञ्चालित यो संस्था २०३९ सालमा स्थापना भएको रहेछ।

स्वीस सरकारको सहयोगमा आरम्भ भएको यो शिक्षालय नेपालकै लोकप्रिय र प्रतिष्ठित संस्था हो। प्रकृतिको यो सुरम्य काखमा ग्रामीण विकासका लागि प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्ने यसको उद्देश्य कति राम्रो! यो शिक्षालय नेपालमा प्राविधिक शिक्षाको आरम्भ विन्दुमध्ये एक हो।
यहाँबाट सीप सिकेर नेपालका धेरै युवाहरूले आफ्नो व्यवसाय आरम्भ गरेका रहेछन्। मेरी कान्छी छोरी पनि सिभिल इन्जिनियरिङ नै पढ्दै छ। अहो! यो सुन्दर ठाउँमा बसेर प्राविधिक विषय पढ्ने बाबुनानीहरू कति भाग्यमानी! प्रकृतिको यो प्रशान्त धरामा बसेर पढ्न पाउँदा मन कति शान्त र सन्तुलित हुन्छ होला। यहाँ डिप्लोमा इन कृषि (बाली विज्ञान र पशु विज्ञान), सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसीको पढाइ हुँदोरहेछ।
नगरपालिकाको भवनभन्दा तलतिर झर्छौँ। बाटोमा धूलो छैन, प्लास्टिक पनि देखिँदैन। अलि तल पुगेपछि जिरी प्राविधिक अस्पतालको परिसर देखिन्छ। नजिकै सल्लाको घना हरियो जङ्गल छ। मिलाएर रोपेका जस्ता सल्लाका कलात्मक रुखहरू हाम्रो उपस्थितिमा स्वागतगान गाउँदै छन्।
अस्पताल क्षेत्रका सेतो र नीलो रङ्गले सजिएका भवनहरू स्निग्ध देखिएका छन्। ग्रामीण भेगमा स्वास्थ्य सेवा पुगोस् भन्ने उच्च सोचले स्वीस सरकारको सहयोगमा यो स्थापना भएको रहेछ।
जिरी लगायत रामेछाप, सिन्धुली, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाहरूलाई सेवा दिने यो मुख्य अस्पताल हो।
झलक्क सम्झिएँ, मेरी सासूआमा सुनाउनुहुन्थ्यो, ’बालाई जिरीमा उपचार गर्न लगिएको थियो। जिरी त क्षयरोग (टिभी) को उपचारका लागि निकै राम्रो अस्पताल हो नि! बा जिरी गएर निको हुनुभएको थियो, नत्र त हामीले माया मारिसकेका थियौँ।’ सासूआमाको माइत पनि सिन्धुली नै हो। सिन्धुलीबाट जिरी निकट रहेछ। त्यो समयमा टिभीको राम्रो उपचार दिने अस्पताल साँच्चै यही पो रहेछ। मैले नदेखेका हजुरबालाई जिरीको भूमिबाट नमन गरेँ।
सुविधासम्पन्न लाग्दै छ यो सानो तर सुन्दर नगरी। मनमा विचारको उभार चल्छ— हामी त नक्सामै बसेर भूगोलको यात्रा गर्न खोज्ने जाति रहेछौँ। नक्सा त मार्गदर्शक मात्र न हो, तर नक्सालाई नै गन्तव्य ठान्दा त हामी अगाडि बढ्न कदापि सक्दैनौँ। टोनी हेगनले त्यो बेला नै जिरीलाई नमूना नेपाल बनाएका रहेछन्। ती स्वीस भूगोलविद्, जसले नेपालका दुर्गम क्षेत्रको अध्ययन गर्दै ग्रामीण विकासमा ठूलो योगदान गरे, उनको दृष्टिमा जिरी अत्यन्तै महत्त्वपूर्ण स्थान थियो। हेगनले जिरीलाई नेपाल विकासको एउटा नमूना गाउँका रूपमा हेरेका थिए। जिरी नेपालको स्वीट्जरल्याण्ड जस्तै सम्भावनाले भरिपूर्ण ठाउँ हो भनेर उनले भनेका थिए।

यहाँको हावापानी, भौगोलिक बनावट र कृषिको सम्भावना निकै उत्कृष्ट छ। टोनी हेगन त जाम्बवान् बनेर आएका रहेछन्, जसले जिरीवासीलाई यहाँको सम्भावना र वैभवीय शक्तिसँग परिचित गराइदिए। टोनीको पाइला जब जिरीमा पर्यो, जिरीको शक्ति प्रकट भयो। सम्भावना भएपछि दुर्गमता केही होइन भन्ने सन्देश दिएर गए टोनी। तर हामीले जिरीलाई मात्र स्वीट्जरल्याण्ड ठानेर रमायौँ।
नेपालमा जिरी जस्ता ठाउँ कति होलान्! जिरीलाई त टोनीले एउटा नमूना गाउँ बनाएर हामीलाई कत्रो पाठ सिकाएका थिए। हामीले किन अरू ठाउँलाई जिरी बनाउन सकेनौँ? गरे के हुँदैन भन्ने सन्देशलाई किन बुझ्न सकेनौँ? कर्णालीलाई आज पनि दुर्गम नै भनेर हेर्छौँ, कर्णालीको विशेषतालाई किन उपयोग गर्न सकेनौँ? ठूला-ठूला भाषण गरेर केही नहुने रहेछ; ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सम्भावना छ। गाउँको विकास नै समग्र देशको विकास हो।
सहरमा मात्र होइन, गाउँमा अवसर सिर्जना गर्नुपर्छ। व्यावसायिक सीप सिक्दै जानुपर्छ र काम गर्दै सिक्ने पद्धति निर्माण हुनुपर्छ भन्ने सोचले नै जिरीमा प्राविधिक शिक्षालय र स्वास्थ्य केन्द्र स्थापित भए। साँच्चै भन्दा नेपालको ग्रामीण भेग विकासको उच्चतम प्रयोगशाला हो भन्ने सन्देश टोनी हेगन दिन चाहन्थे।
गाउँलाई विकासको मूल केन्द्रमा राख्नुपर्छ भन्ने चिन्तन बोकेर आएका टोनी आज पनि सोच्दा हुन्— 'यतिका वर्षसम्म पनि नेपालीहरूले किन मेरो विचारलाई अनुकरण गर्न सकेनन्?' टोनी नजिकै आएर मनको भाव पोखेझैँ लाग्छ। आँखाहरू बगेका छन् आफ्नै सुरमा, गोडाहरू नाच्दै छन्। भवानी दिदी कराउनुहुन्छ, ’चाँडो आओ, ढिलो हुन्छ, अहिले फर्कंदा खिचौँला फोटो।’
तान्छ जिरीको शक्तिशाली चुम्बकले। चाहेर पनि आँखा झुकाएर हिँड्न सक्दैनौँ। भवानीका कुरा बुझ्दैनौँ। पहिलोपटक मेला हेर्न आएका बालकझैँ मक्खिएका छौँ, आनन्दातिरेक अवस्थामा छौँ।
नजिकै देखियो सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाको शालिक। भवानी दिदी पुनः कराउनुहुन्छ, ’अहिले नपस्ने है त्यहाँ! पहिले गाई आनुवांशिक स्रोत केन्द्रको भ्रमण गर्ने अनि फर्कंदा आएर यता हेरौँला।’ हामी दगुरेका छौँ शान्त सडकमा। परपर खुल्ला चौर देखिन्छ, गाईहरू चर्दै छन्। हरियो घाँसले फैलिएको चौरको नजिकै नीलो पोखरी देखिन्छ। घुम्न आएका आगन्तुकहरू पोखरी वरिपरि घुम्दै छन्। निमेषभर पनि आँखा हटाउन मन नलाग्ने भूगोल छ। जिरीको पर्यावरण सन्तुलित र स्वच्छ देखिन्छ। जङ्गल उचालेर हाँसिरहेको पहाड न होचो न अग्लो, ठिक्कको छ।
मोहिनी प्रकृतिबाट आँखा समेटेर गाई आनुवांशिक केन्द्रभित्र छिर्छौँ। भवानी दिदीले अघि नहिँड्नेलाई ढुङ्गाले हानौँ कि के हो भनेर दगुराउनुभएको त अफिस बन्द हुन्छ भनेर पो रहेछ! दिदीको हतारले काम गर्यो। हामी गाई आनुवांशिक स्रोत केन्द्र, जिरीको परिसरभित्र छौँ। कार्यालय समय घर्किए पनि भेट हुन्छ सहलेखापाल शिष्टप्रसाद चौलागाईँ र नायब प्राविधिक सहायक बालकुमार दाहालसँग। भवानी दिदी पनि कृषि अधिकृत नै भएकाले हामीलाई यहाँ आउन निकै सजिलो भयो। हामीले हार्दिकतापूर्ण स्वागत पायौँ। सहयोगी कर्मचारीहरूबाट निकै जानकारी मिल्यो, मैले डायरीमा टिपोट पनि टिप्दै गएँ...
नेपाल सरकारअन्तर्गत सञ्चालन हुने एउटा महत्त्वपूर्ण पशुपालन तथा अनुसन्धान केन्द्रमा बसेर संवाद गर्दै छौँ। वि.सं. २०१४ सालमा स्वीस सहयोगमा 'जिरी एकीकृत कृषि फार्म'का रूपमा सञ्चालन हुँदै आएको योजना नै पछि नाम परिवर्तन हुँदै 'जिरी बहुमुखी विकास आयोजना' र हाल २०७५ देखि 'गाई आनुवांशिक स्रोत केन्द्र' भएको रहेछ। यहाँको मुख्य उद्देश्य गाईको आनुवांशिक स्रोत संरक्षण अर्थात् विभिन्न रैथाने तथा उन्नत जातका गाईहरूको वंश संरक्षण गर्नु हो।
यसका अलावा सुधारिएको नस्ल विकास (Breed Improvement), दूध उत्पादन वृद्धि र किसानलाई उन्नत पशुपालनमा सहयोग गर्नु यसका लक्ष्य हुन्। नेपालभरका किसानलाई राम्रो गुणस्तरका गाई, बाच्छा र प्रजनन सेवा उपलब्ध गराउने काम यहाँ हुँदोरहेछ। विदेशबाट आयात गरिएका उन्नत गाईको सन्तान उत्पादन र वितरण गरी कृषकहरूको आर्थिक स्तर सुधारमा यसले कति महत्त्व राख्छ भन्ने कुराले मेरो हृदय गद्गद भयो।

नेपालभरिका कृषकहरूलाई आवश्यकता अनुसारका गाईको नस्ल उत्पादन गरी किसानको मागबमोजिम पुर्याउन यो केन्द्र डटिरहेको छ। प्रजनन कार्यक्रम, पशुपालन तालिम, घाँस-दाना विकास र वितरणका साथै बङ्गुर पालन पनि यहाँको कार्यक्षेत्रभित्र पर्दोरहेछ। हामी जान हतार गर्दै थियौँ, गोठबाट भर्खरै दुहेर ल्याएको दूध पिउने प्रस्ताव आयो। भान्सामा ताजा दूध तात्न थाल्यो। त्यही मौकामा हामीले गोठमै पुगेर गाई हेर्ने सौभाग्य पायौँ।
देश-विदेशका अनेक जातका गाईहरू देखेर दङ्ग पर्यौँ। व्यवस्थित गोठ! जर्सी गाई, होलस्टिन फ्रिजियन क्रसब्रिड, स्थानीय र कोरियनसहित थरीथरीका गाईको नौलो बासस्थान हेरेर दङ्गदास भयौँ। तिनकै आडमा एउटा अग्लो र बडो आकर्षक गाई देखियो। जिज्ञासा राख्दै सोधेँ, ’यो कुन जातको गाई हो?’ प्राविधिक सरले भन्नुभयो, ’यो कोरियन गाई हो।’ प्वाक्क बोलिहालेँ, ’ए, कोरियनहरू त होचा-होचा नै हुन्छन्, गाई त के विधि अग्ला! मान्छेको उचाइ पनि यिनैले लिएजस्ता।’ सबैजना एकचोटि खुलेर हाँस्नुभयो।
बाच्छाबाच्छीहरू पनि उमेर समूह अनुसार बेग्लाबेग्लै कोठामा राखिएका रहेछन्। फेरि अर्को गोठतिर लाग्यौँ, जहाँ नेपालकै एक दुर्लभ र सानो कदको स्थानीय 'लुलु' गाई पनि राखिएको रहेछ। लुलु गाईको विशेषता नै अचम्मको— सुकेको घाँसपराल खाएकै भरमा दूध दिन सक्ने, अत्यधिक चिसो मौसममा पनि बाँच्न सक्ने, कम घाँसपातमा पनि अघाउने र रोग प्रतिरोधात्मक क्षमता बलियो भएको! यसको दूध उत्पादन कम भए पनि पौष्टिक र फ्याटयुक्त हुने रहेछ। लुलु दुःखमा पनि बाँच्न सक्दोरहेछ। मनाङ जिल्लामै उत्पत्ति भएको, संसारको अरू कहीँकतै नपाइने लुलुलाई मनाङबाटै ल्याइएको रहेछ। लुलुको छेउमा बसेर सुम्सुम्याउन र मायालु नजर जुधाउन पाएर हामी धन्य भयौँ।
गोठमा १२० वटा गाई रहेछन्। ती गाई र झन्डै तीन दर्जन बाच्छाबाच्छीहरू अवलोकन गर्यौँ, जहाँ अहिले दैनिक ५०० लिटर दूध उत्पादन हुँदोरहेछ।
दूध उम्लिँदै छ भित्र भान्सामा। हामी गाईगोठ घुमेर पुनः कार्यालयको परिसरमा पुग्छौँ। सल्लाह हुन्छ— आँगनमै बसेर नयनाभिराम दृश्य हेर्दै अर्गानिक दूध पिउने। भवानी दिदीको स्वभाव पनि बडो अचम्मको रहेछ। मलाई त भवानी दिदी घरि बच्चाझैँ लाग्छ, घरि आमाझैँ। घरि मायाले बोलाउँछिन्, घरि कुटौँलाझैँ गर्छिन्। सबैलाई निकट राखेर कुरा गर्न सक्ने बानी पनि बेजोडकै छ। ऊर्जाले भरिपूर्ण, कहिल्यै नथाक्ने धावकझैँ लाग्छ। भित्र-बाहिर फुरुक-फुरुक गर्छिन् चरीझैँ; ज्यान पनि चटक्क चरीकै जस्तो छरितो छ, मन पनि उत्साहित। सहयोगी दाईले दूध लिएर आउनुभयो। हामी खुल्ला आँगनमा उभिएर तातो दूध पिउन थालेका छौँ।
८४ हेक्टर क्षेत्रमा फैलिएको यो केन्द्र प्रकृतिले चरनका लागि नै रचिदिएजस्तो देखिन्छ। परपरसम्मको भाग देखाउँदै नायब प्राविधिक सहायक बालकुमार दाहाल भन्नुहुन्छ, ’यो जम्मै जग्गा नेपाल सरकारको हो।’ मनले भन्छ— धन्न, माटो खाने दुईखुट्टे कीराले यहाँ राजनीति गर्न पाएका रहेनछन्, नत्र यो पनि त्रिविको भूमि खुम्चिएझैँ उहिल्यै खुम्चिसक्थ्यो होला! या त फेवातालको पानी सुकेझैँ जमिन पनि सुक्दै-सुक्दै जान्थ्यो होला। शान्त मनलाई अनेकौँ बेथितिको बबण्डरमा बराल्न मन लाग्दैन, अनि हेर्छु परपर चरिरहेका गाईको बथानलाई।
स्वीट्जरल्याण्ड नगए पनि सिनेमाको पर्दामा घुमेकी छु। मैले देखेको यो फाँट त मलाई स्वीट्जरल्याण्डभन्दा पनि राम्रो लाग्दै छ। भवानी दिदी भन्नुहुन्छ, ’ए अनिता, अझ थप्ने दूध?’ बिहानदेखि विद्युतीय गाडीमा गुम्सिएर थाकेको र भोकाएको ज्यानले दूध नथप्ने त कुरै भएन नि! निकैबेर उम्लिएर बाक्लो र स्वादिलो भएको दूध थपी-थपी पियौँ।
शिष्टप्रसाद चौलागाईँ र बालकुमार दाहाल सरको हार्दिकताले छपक्क भिज्दै उहाँहरूसँग बिदा भएर पुनः लिङ्कन बजारतिर उकालियौँ। एडमण्ड हिलारी-तेञ्जिङ नोर्गे पार्कमा केहीबेर रोकिएर शिर नत हुँदै गर्दा प्रतीक ढकाल दाजु इतिहास बोकेर स्निग्ध भएको यो पार्कको महत्त्व सुनाउनुहुन्छ, ’सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए।
त्यो बेला लुक्ला विमानस्थल निर्माण नभएका कारण यी महान् यात्रीहरू आफ्नो आत्मशक्तिको आलोकमा काठमाडौँदेखि विजयका पाइला उचाल्दै, कठिन पैदलमार्ग हुँदै जिरी आएका थिए। यहाँ एक रात बास पनि बसेका थिए र जिरीबाटै सगरमाथातर्फको अमर यात्रा गरेका थिए। थाहा छ अनिता! जिरीलाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ नि!
त्यसैले उनीहरूको सम्मानमा त्यो ऐतिहासिक यात्राको सम्झना गर्दै जिरीमा यो पार्क निर्माण गरिएको हो। यो पार्कलाई इतिहास, पर्वतारोहण र नेपालको पर्यटनसँग सम्बन्धित महत्त्वपूर्ण स्थल मानिन्छ; अझ भनौँ न, पर्वतारोहीहरूका लागि त अमूल्य प्रेरणा केन्द्र पनि हो।’ प्रतीक दाजुका गौरवपूर्ण वाणी सुनेर आनन्दविभोर भएका छौँ। सुनिरहन मन लाग्छ हिमालका कुरा, हिलारीका कुरा र नोर्गेका कुरा। तर समय निशाको छाया लिएर खसिसकेको छ। अब हामी यार्सा होटल पुगेका छौँ।
काठमाडौँबाट सँगै आएका सहभागीहरूलाई विभिन्न होटलमा वासको व्यवस्था गरिएकाले उहाँहरूसँग सन्ध्याकालीन भेट हुन पाएन। हामी होटलतिर सोझियौँ। सुस्वादु खाना खाएर केहीबेर भलाकुसारीमा समय बिताउँदै, भोलि बिहान गुराँस पार्क जाने योजनासहित... घुप्लुक्क निदायौँ।
