सेतोपाटी ग्लोबल
चितवनकी सन्ध्या सुवेदी अमेरिकाको क्यालिफोर्नियामा रहेको एक तोफु बनाउने उद्योगमा काम गर्छिन्।
तीन वर्षदेखि उनी त्यहाँको खाद्य स्वच्छता र गुणस्तर नियन्त्रण शाखामा कार्यरत छिन्।
सन् २००४ मा स्थापित होडो फुड्स नामक कारखानाका लागि आउने कच्चा पदार्थ अनि त्यहाँ बनाइएको तोफु बजारमा पठाउनुअघिको गुणस्तर मापन तथा सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सन्ध्याकै हो।
'तोफुका लागि आएको भटमास कस्तो छ, कहाँ उत्पादन हुन्छ अनि यसका लागि आउने दालचिनी, जिरा, मसला लगायत सामग्री कसरी बनाइन्छ भनेर हामी अनुगमन गर्छौं। कतिपय अवस्थामा तेस्रो पक्षलाई समेत खटाएका हुन्छौं,' सन्ध्याले भनिन्, 'हाम्रो उत्पादन कसरी भइरहेको छ, सरसफाइ र गुणस्तर कस्तो छ भनेर जुनसुकै बेला पनि फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले छापा हान्न सक्छ।'
तोफु बन्ने प्रक्रिया तथा सबै रासायनिक तथा पौष्टिक गुण पूर्वनिर्धारित गरिए बमोजिम र मापदण्ड अनुसार होस् भनेर अनुगमन, मापन तथा सुनिश्चित गर्ने काम अत्यन्तै महत्त्वपूर्ण हुने उनले बताइन्।
आफूहरू स्वयं पनि कच्चा पदार्थ ल्याउने आपूर्तिकर्ताले कस्तो सामान ल्याइरहेको छ भन्नेमा धेरै सचेत हुने उनको भनाइ छ।
एफडिएले जानकारी मागेका बेला बुझाउन सबै कागजात तयार पारेर राख्नुपर्छ। विभिन्न खालका अनुसन्धानहरू पढ्नेदेखि त्यसको आधारमा काम गर्नुपर्छ। अनि फाइल तयार पार्नुपर्छ। अनुसन्धान र अभिलेखीकरणका काम धेरै हुने उनले बताइन्।

'यहाँ ग्राहकहरू पनि सचेत छन्। हामीले भने अनुसारको गुणस्तर र मात्रा नपाए तत्काल उजुरी दिन्छन्। या त कम्पनीलाई इमेल गरेर यस्तो भयो, यो खराबी देखियो भन्छन्,' सन्ध्याले भनिन्, 'स्वस्थ र गुणस्तरीय खाद्यान्नमा सरकार गम्भीर रहेकाले धेरै सचेतता अपनाउनुपर्छ। त्यसैले हाम्रो विभागले कुनै पनि सामान बाहिर पठाउन हुन्छ नभनेसम्म बिक्रीका लागि पठाइँदैन।'
सन्ध्याले नेपालमा जनस्वास्थ्यको क्षेत्रमा काम गरेकी थिइन्। जनस्वास्थ्यमा स्नातक गरेपछि उनले डोटी, सिराहा, सिन्धुपाल्चोक लगायत जिल्लामा गरी साढे दुई वर्ष स्कुल स्वास्थ्य, बालबालिका तथा महिलाहरूको पोषण र क्षयरोगको क्षेत्रमा काम गरिन्।
मास्टर्सका लागि सन्ध्या थाइल्यान्ड गइन्। पोषणका लागि खाद्य विज्ञानमा स्नातकोत्तर गरिन्। उनलाई अमेरिका गएर पनि जनस्वास्थ्य र खाद्य सुरक्षामध्ये एक ठाउँमा काम गर्न मन थियो। सुरूमा तोफु कारखानामा नाम निस्कियो अनि उनी त्यतै लागिन्।
खाद्य सुरक्षा र जनस्वास्थ्य क्षेत्रमा काम गरेको, चासो भएको अनि ज्ञान समेत भएकाले उनी यसै विषयमा 'सत्आहार' नामक च्यानलबाट भिडिओ समेत बनाउँछिन्।
रैथाने एवं वातावरणमैत्री नेपाली अन्न तथा अन्य बालीहरूबारे सचेतना जगाउने, तिनको प्रवर्द्धन गर्ने, खाना र पोषणलाई लिएर आम मानिसमा रहेका भ्रम चिर्न आफूले प्रयास गर्ने उनले बताइन्।

सामाजिक सञ्जालले निम्त्याएका अनेक नयाँ हल्ला र डर पैदा गर्ने खाले गलत भाष्य चिर्ने, साथै माछामासु नखाने व्यक्तिहरूले कसरी पोषण मिलाएर खाने भन्ने विषयमा सामाजिक सञ्जालका लागि उनले जानकारीमूलक भिडिओ बनाउँछिन्।
सन्ध्याका अनुसार धेरै नेपालीले खाना मिलाएर खान जानेका हुँदैनन्। वरपर उपलब्ध खानेकुराहरू नै मिलाएर शरीरलाई चाहिने अनुसार कसरी खान सकिन्छ भनेर आफूले बुझाउने प्रयास गरेको उनी बताउँछिन्।
'अचेल मानिसहरूको शारीरिक गतिविधि कम तर खाना धेरै हुन थालेको छ। कार्बोहाइड्रेट चाहिनेभन्दा धेरै खाइन्छ। गाउँघरमा फलफूल नपाए पनि जंक फुड र चिनी तथा रक्सीजन्य पेय जतासुकै पाइन्छ,' उनले भनिन्, 'यसले समस्या सिर्जना गरेको छ।'
कुन खानाले कस्तो समस्या ल्याउँछ, कुन रोगमा भूमिका खेल्छ आदि विषयमा ज्ञानको कमी रहेको भन्दै उनले यसका लागि जनचेतनाको आवश्यकता रहेको बताइन्।
तोफुकै कुरा गर्दा यसबारे जुन खालको जानकारी हुनुपर्ने हो, त्यो नभएको उनको भनाइ छ। उनले पनि थाइल्यान्ड पुगेर मात्र यसबारे राम्रो जानकारी पाएकी हुन्। अमेरिका पुगेर तोफु कारखानामै काम गर्न थालेपछि उनले यसबारे थप बुझिन्।

'चितवनमा हुर्किएकी मैले त्यहाँ बस्दासम्म तोफु खाएकी थिइनँ। पहिलो पटक थाइल्यान्डमै खाएँ। तोफु सबैका लागि अति उपयोगी छ। शाकाहारीका लागि त अपरिहार्य नै हो,' उनले भनिन्।
सन्ध्याका अनुसार भटमास पखालेर ८ देखि १२ घन्टा भिजाइन्छ। त्यसपछि त्यो भटमास ब्लेन्डरमा पठाइन्छ र पेस्ट निकालिन्छ। पेस्ट निकालेपछि त्यसबाट दूध र बोक्रा छुट्ट्याइन्छ। बोक्रा र फाइबर एकातिर राखिन्छ, दूध छानिन्छ।
दूध निस्किएपछि त्यसलाई फटाइन्छ। दूध फटाउन क्याल्सियम सल्फाइट भन्ने खनिज प्रयोग गरिन्छ। दूध फटाएपछि तलको पानी फालिन्छ। माथिको भाग सूतिको सेतो कपडामा राखेर दबाइन्छ। त्यसबाट पानी निकालिन्छ अनि तोफु बन्छ।
नरमभन्दा कडा तोफु राम्रो मानिन्छ। कडा तोफु बनाउँदा सक्दो पानी निचरिने भएकाले स्वादिलो हुन्छ। क्यालोरी कम र प्रोटिन धेरै हुने विरल परिकारमध्ये तोफु पर्ने भएकाले तौल घटाउन चाहनेका लागि अत्यन्त सहयोगी हुने उनले बताइन्।
'दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म तोफु खान मिल्छ। प्रोटिनको कमी हुनेले अझै धेरै खान हुन्छ,' उनले भनिन्, 'भटमासको एलर्जी हुनेले चाहिँ खान हुँदैन।'