अमेरिकाको न्यूयोर्क सिटीस्थित 'नेपाली भान्साघर रेस्टुरेन्ट' हालै न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको 'उत्कृष्ट १०० रेस्टुरेन्ट' को सूचीमा परेको छ।
सूचीमा उक्त रेस्टुरेन्ट ६७ औं स्थानमा छ।
यो उपलब्धिले नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनेको रेस्टुरेन्ट सञ्चालक बिमला हमाल श्रेष्ठले बताइन्।
आफ्नो रेस्टुरेन्ट उत्कृष्टको सूचीमा परेपछि जिम्मेवारी थप बढेको उनी बताउँछिन्।
'धेरै पढ्न नपाए पनि संघर्ष गर्दै यहाँसम्म आइपुगेँ। यो सफलताले मलाई खुसी र उत्साहित बनाएको छ। साथै अझ राम्रो काम गर्न प्रेरणा पनि दिएको छ,' उनले भनिन्।
उनी हाल न्यूयोर्क सिटीको ज्याक्सन हाइटमा बसोबास गर्दै आएकी छिन्। बिमला अमेरिका गएको १७ वर्ष भयो। रेस्टुरेन्ट व्यवसायमा लागेको भने १० वर्ष भयो।
नेपाली भान्साघर रेस्टुरेन्टमा नेपाली मौलिक, चाइनिज र तिब्बतीयन परिकार पाइन्छ। रेस्टुरेन्टको मुख्य विशेषता थालीसेट हो।
थालीसेटमा सामान्यतया दाल, भात, सिजन अनुसार तरकारी तथा अचार र पापड हुन्छ। त्यसैगरी काँक्रो, गाजर, प्याज लगायतको सलाद हुन्छ। मांसाहारीका लागि ग्राहकको रोजाइ अनुसारको मासु हुन्छ।
'थालीसेटले नेपाली परम्परागत खानपानको झल्को दिने भएकाले ग्राहकको रोजाइमा परेको छ,' बिमला भन्छिन्।
यहाँ सेलरोटी, कोदो र फापरको ढिँडो, मःम, थुक्पा, चाउमिन लगायत अन्य खाजा पनि पाइन्छ।
सुरूमा नेपाली ग्राहकको मात्र उपस्थिति रहेको रेस्टुरेन्टमा अहिले स्थानीय अमेरिकी, पाकिस्तानी तथा भारतीय ग्राहक पनि उल्लेख्य संख्यामा आउन थालेको उनले बताइन्। करिब ८५ प्रतिशत ग्राहक अमेरिकी नागरिक छन्।
'अमेरिकीहरूले नेपाली परिकार स्वाद मानेर हातले खान्छन्,' बिमलाले भनिन्, 'उनीहरूले खानाको महत्व बुझेका छन्।'
ग्राहक प्रायः अनलाइनमार्फत रेस्टुरेन्टबारे जानकारी लिएर आउँछन्।
रेस्टुरेन्टमा हाल १५ जना कर्मचारी छन्, उनीहरू सबै नेपाली हुन्।
रेस्टुरेन्टको भुइँतलामा पकाउने भान्सा र सिटिङ हलको व्यवस्था छ। साथीभाइ वा परिवार जमघट गर्न सकिने ठाउँको पनि व्यवस्था छ।
यहाँ नेपाली र अरू देशका ग्राहक पार्टी तथा विभिन्न कार्यक्रम गर्न पनि पुग्छन्।
स्याङ्जाको वालिङकी बिमला सन् २००८ मा भिजिट भिसामा अमेरिका पुगेकी हुन्। वालिङमै उनले काठ उद्योग चलाएकी थिइन्। त्यो बेला आफू वालिङ उद्योग वाणिज्य संघको संस्थापक सदस्यसमेत रहेको बिमलाले बताइन्।
करिब १४ वर्षसम्म उनले उक्त व्यवसाय सञ्चालन गरिन्, त्यसपछि अमेरिका गएकी हुन्।

अमेरिका पुगेपछि नेपाल फर्किन मन लागेन। आवश्यक प्रक्रिया पूरा गरेर एक जना विदेशीको घरमा हाउसकिपिङको काम गर्न थालिन्। त्यहाँ घरको काम गर्ने, खाना पकाउने, बच्चा हेर्ने सबै गर्न पर्थ्यो।
सात वर्ष त्यसरी नै बित्यो। त्यसपछि उनी त्यो काम छोडेर रेस्टुरेन्ट व्यवसायमा लागेकी हुन्।
सन् २०१५ मा उनले नेपाली भान्साघर रेस्टुरेन्ट खोलेकी हुन्। लगानी र सीप दुवै भएकाले उनलाई केही समस्या परेन।
'नेपाली खाना पकाउन आइहाल्थ्यो। मःम, चाउमिन सबै बनाउँथेँ,' बिमलाले सुनाइन्, 'त्यसपछि आफै रेस्टुरेन्ट खोलेँ।'
त्यहाँका स्थानीय मिडियाको साथ सहयोगले आफूलाई व्यवसायमा टिकाएको बिमला बताउँछिन्।
होटल खोलेको दुई वर्षमै मःम प्रतिस्पर्धामा उनी प्रथम भइन्। यो कुरा मिडियाहरूले प्राथमिकतासाथ लेखे। त्यसले रेस्टुरेन्टको प्रचारप्रसारमा सहयोग पुर्यायो।
उनका अनुसार न्यूयोर्क सिटीमा बर्सेनि जस्तो मःम प्रतिस्पर्धा हुन्छ। उनले हालसम्म यस्तो प्रतिस्पर्धामा ४ देखि ५ पटकसम्म प्रथम स्थान हासिल गरिसकेकी छन्।
सुरूमा सानो स्तरबाट व्यवसाय थालेकी उनले पछि विस्तार गर्दै आएकी छन्।
कोरोना महामारीअघि बिमलाका दुई वटा रेस्टुरेन्ट थिए। कोरोनाले एउटा बन्द गर्नुपर्यो।
अबको ५–६ महिनाभित्रै पुनः नयाँ ढाँचामा थप एउटा रेस्टुरेन्ट खोल्न लागेको बिमलाले बताइन्।
'अहिले रेस्टुरेन्टको डेकोरेसन तथा स्तरोन्नतिको काम भइरहेको छ,' बिमलाले भनिन्।
हाल बिमला अमेरिकामा एक्लै बस्छिन्। उनका एक छोरा र छोरी छन्। छोरा र श्रीमान पोखरा बस्छन्। बिहे भएकी छोरी क्यानडामा छिन्।