टेक्सासको ड्यालसमा शनिबार विभिन्न पेशा, व्यवसाय र विधाका गैरआवासीय नेपालीहरूको अभूतपूर्व जमघट रह्यो। त्यो जमघटको मूल चिन्ता थियो, देश बन्छ कि बन्दैन्?
हिमालय खबर र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्सास च्याप्टरद्वारा आयोजित हिमालय संवाद कार्यक्रमः कविता र किताबका कुरा कार्यक्रमको दोस्रो हिस्सामा गरिएको नेपाल कहाँ जाँदैछ? विषयक छलफल कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माले देश बन्नेमा विश्वास व्यक्त गरे।
‘नेपालमा एक वर्षअघि केही पनि हुँदैन भन्ने आम निराशा थियो। घृणा र आक्रोश व्याप्त थियो। जेनजी आन्दोलनपछि त्यो घृणा र आक्रोश भरोसामा परिणत भएको छ,’ शर्माले भने, ‘यतिबेला देश बन्नेमा आम जनता आशावादी छन्।’
तर सरकारले जनअपेक्षा पूरा गर्न सक्ने, नसक्ने कुरा भने सरकारको कार्यशैलीमा निर्भर हुने शर्माको भनाइ थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक र भूराजनीतिक व्यवस्थापन कसरी गर्छन्, त्यसले सरकारको आयु र विकासको गति निर्धारण गर्ने पत्रकार शर्माको भनाइ थियो।
पत्रकार तथा लेखक बसन्त बस्नेतले पुराना दलहरूले गरेको गल्ती नयाँले नगरे हुन्थ्यो भन्ने आमजनताको अपेक्षामा सरकार खरो उत्रिनु पर्ने बताए।
यसअघिका सरकारले गरेका सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गरेको सरकारको सुशासन, जवाफदेहिता र पारदर्शिताको परीक्षण तिनै पदको नियुक्तिबाट समेत झल्किने पत्रकार बस्नेतको भनाइ थियो।
उनले प्रधानमन्त्री कार्यालय र सचिवालयलाई बढ्ता अधिकारसम्पन्न बनाउँदा मन्त्रीहरू व्यक्तित्वविहीन र भूमिकाविहीन बनाइएको टिप्पणी गरे।
गैरआवासीय नेपालीका मुद्दामा सरकार र नेपाली मिडिया अनुदार भएको सहजकर्ता सञ्जय घिमिरेको गुनासोमा पत्रकार बस्नेतले विगतमा गैरआवासीय नेपालीप्रति अनुदार भए पनि ढिलो चाँडो एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई सरकारले सकारात्मक ढंगले सुन्ने विश्वास व्यक्त गरे।
हिमालय खबर सम्वादः कविता र किताबका कुरा कार्यक्रमको पहिलो सत्रमा कवि, प्रस्तोता एवं वरिष्ठ पत्रकार नारायण श्रेष्ठले १४ वटा कविताहरू वाचन गरेका थिए।
श्रेष्ठले वाचन गरेका कविताहरू तन्नेरी उमेर, द्वन्द्वकालको परिस्थिति, माया प्रेम, कोरोना काल अनुभव, राजनीतिक विसंगति लगायतका विषयवस्तुहरूमा आधरित थिए।
त्यसैगरी कार्यक्रमको तेस्रो हिस्सामा केशवराज ज्ञवालीद्वारा लिखित अज्ञात पुस्तकको बारेमा चर्चा गरिएको थियो।
पुस्तकका बारेमा लेखक स्वयं ज्ञवाली, सञ्जय घिमिरे, नारायण श्रेष्ठ, भीम कार्की र कृष्ण कुसुमले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
नेपाल एकीकरणको बेलाको परिवेशलाई आधारित बनाएर लेखिएको यो आख्यान चार वर्षको अध्ययन र अनुसन्धानको परिणाम भएको ज्ञवालीले बताए।
कथाकार कृष्ण कुसुम नेपालले उपन्यासकार ज्ञवालीद्वारा लिखित उपन्यास अज्ञातले बहादुर शाहमाथि न्याय गरेको बताए।