दुई साना छोरा एक्लै हुर्काउँदै अमेरिकामा आफ्नो करिअर बनाउनु सोविता (सोवी) धितालका लागि सहज यात्रा थिएन।
सम्बन्ध विच्छेद र आर्थिक संघर्ष पार गर्दै उनी आज सफल लोन अफिसरका रूपमा स्थापित छिन्।
गोरखाकी सोवी क्यालिफोर्निया बस्छिन्।
उनी लोन अफिसर भएको तीन वर्ष भयो। घर किन्ने वा बनाउने क्रममा आवश्यक पर्ने ऋण मिलाइदिनु उनको मुख्य काम हो।
'ग्राहकको आम्दानी, खर्च, ऋण तिर्न सक्ने क्षमता, बैंकमा भएको बचत र समग्र आर्थिक अवस्था हेरेर कति रकमसम्म ऋण लिन सकिन्छ भन्ने कुरा मूल्यांकन गर्छु,' उनले भनिन्।
ग्राहकलाई कुन प्रकारको ऋण उपयुक्त हुन्छ भनेर सुझाव दिने, आवश्यक कागजात संकलन गर्ने र बैंकसँग समन्वय गरेर ऋण स्वीकृत गराउने काम पनि उनको हो।
अन्तिम चरणसम्म पुगेर घर किन्ने प्रक्रिया पूरा गराउन सहयोग गर्नु उनको जिम्मेवारीभित्र पर्छ।
सोवीका दुई छोराहरू (केलब र कनर) छन्। ठूला छोरा ९ कक्षामा र साना ७ कक्षामा पढ्छन्।
सोवी एक्लैले छोराहरूको लालनपालन गरेर यहाँसम्म आएकी हुन्।
उनका बुबा अमेरिकामा थिए। सन् २००९ मा सोवी पनि अमेरिका गइन्। वातावरण विज्ञानमा स्नातक पास गरेकी उनले नेपालमा दन्त चिकित्सा पढाइ सुरू गरेकी थिइन्।

अमेरिका गएपछि यसलाई निरन्तरता दिने योजना थियो। भनेजस्तो भएन। उनले काममै आफ्नो समय खर्च गर्नुपर्यो।
गएको एक वर्षपछि अर्थात् सन् २०१० मा उनको अमेरिकी युवासँग बिहे भयो।
'कामकै कारण मेरो पढाइ अघि बढ्न नसकेपछि मैले बिहे गरेँ। बिहेका लागि घरको सहमति थिएन। भागेर गएँ,' उनले भनिन्, 'पछि म र श्रीमान फ्लोरिडाबाट क्यालिफोर्निया गयौं। त्यहाँ केही समय दन्त चिकित्सा पढे पनि सोचेजस्तो भएन।'
सोवीका अनुसार उनका श्रीमान सफ्टवेयर इन्जिनियर थिए। तर काममा धेरै चासो दिँदैनथे। उनी घरबारविहीनजस्तै थिए।
सामाजिक सञ्जालमा चिनजान भएकै भरमा उनले बिहे गरेकी थिइन्। धेरै कुरा पछि मात्र थाहा पाइन्।
बिहेअघि काम गर्दा बचाएको केही पैसा र ऋण लिएर उनले अपार्टमेन्ट र गाडी किनिन्। श्रीमानको काम हुँदा केही सहज भयो।
काम गर्दै पढ्दै गरेकी सोवीलाई गर्भवती भएपछि सहज भएन। पढाइलाई निरन्तरता दिन सकिनन्।
सन् २०१२ मा उनका छोरा जन्मिए। सन् २०१४ मा कान्छो छोरा जन्मिए। श्रीमानले उनीहरूको हेरचाहमा खास ध्यान दिएनन्।
'श्रीमानले आफ्ना पुराना ऋणहरू तिरेपछि फरक व्यवहार देखाउन थाले। बिस्तारै टाढिने, घर नआउने, झगडा गर्ने, कहिलेकाहीँ पिट्ने समेत गर्न थाले,' उनले भनिन्, 'धेरै पटक वैवाहिक बलात्कारमा परेँ। कति पटक इमरजेन्सीमा पुगेँ। बहिनीले प्रहरीमा उजुरी गर्ने भनेपछि श्रीमानले छाडेर हिँडे।'
सन् २०१६ मा श्रीमानले घर छाडेर हिँडेपछि सोवीले सम्बन्ध विच्छेदको प्रक्रिया सुरू गरिन्। सन् २०१८ मा सम्बन्ध विच्छेद भयो।
त्यसपछि दिन अझ कठिन भए। झन्डै दुई महिना त घरबारविहीन भइन्। केही सहयोगी साथीका कारण बस्ने ठाउँ पाइन्।

'मेरो जिन्दगी त सपना जस्तै भयो। कति चाँडो चाँडो घटनाहरू भए, पत्तै भएन। सम्बन्ध विच्छेदपछि मैले जे पायो, त्यही काम गरेँ। कहिले मःम पकाएर बेचेँ, खाना डेलिभरी गरेँ। भारतीयहरूकहाँ गएर खाना पकाउने काम पनि गरेँ,' उनले भनिन्।
कोभिड सुरू भएपछि सरकारले दिएको राहत र बच्चाको हेरचाह खर्च उनलाई केही सहज हुँदै गयो।
त्यसपछि उनले बुबाका एक जना साथीको सल्लाहमा लोन अफिसरको तालिम लिएर लाइसेन्स निकालिन्।
सन् २०२३ मा एक वर्ष एभरेस्ट क्यापिटलमा काम गरेकी सोवीले सन् २०२४ देखि लोन फ्याक्ट्रीमा काम गरिरहेकी छन्। हिजोआज कारोबार सुस्त भए पनि काम अघि बढिरहेको छ।
उनका छोराहरू सानै भए पनि आफ्नो खर्च निकाल्न थालेका छन्।
सात कक्षा पढ्दै गरेका साना छोरा कनर आफ्नै ग्यारेजमा सैलुन चलाउँछन्। दैनिक तीनदेखि पाँच जना बच्चाको कपाल काट्छन्। पैसा बचाउँछन् पनि।
ठूलो छोरा केलब कपडा सिलाएर आफ्नो खर्च जुटाउँछन्। केलबको रूचि कोडिङमा भएकाले त्यसमा पनि केन्द्रीत छन्।
'बिहे, छोराहरूको जन्म र सम्बन्ध विच्छेदले मलाई धेरै पाठ सिकायो। एकल महिला भनेपछि आफन्त पर्नेले समेत गलत नजरले हेर्ने रहेछन्,' उनले भनिन्, 'नेपाली समुदायकै पुरूषहरूले मलाई धेरै दुःख दिए। दोहोरो अर्थ लाग्ने सन्देश पठाए, हैरानी गरे। कतिलाई मैले सामाजिक सञ्जालमै सार्वजनिक गरिदिएँ।'
विगतमा जति दुःख परे पनि अहिले आफूलाई सहज हुँदै गरेको उनले बताइन्।
कुनै बेला डिप्रेसनमा गएर आफैलाई हानि गर्नेसम्मको सोच आए पनि दुई छोरा सम्झिएर उनले आफूलाई अघि बढाइन्।
'कि पढेर, कि परेर जानिन्छ भन्छन्। मैले केही पढेको भए पनि परेर धेरै जानेँ। अहिले सम्झिँदा मलाई त्यो हिम्मत कसरी आयो भन्ने लाग्छ,' उनले भनिन्।
उनी सकेका बेला समाजसेवा पनि गर्छिन्। समय निकालेर छोराहरूसँग घुम्न निस्किन्छिन्।
भन्छिन्, 'अहिले त जीवन रमाइलोसँगै चलेको छ।'
