कृष्ण सापकोटा अमेरिकाको बोस्टनमा बसेर बायोफार्मा/बायोटेक क्षेत्रमा काम गरिरहेका एक वैज्ञानिक हुन्। उनी विगत पाँच वर्षदेखि बिम थेराप्युटिक्स कम्पनीमा वरिष्ठ बायोटेक वैज्ञानिकका रूपमा काम गर्छन्।
बिम थेराप्युटिक्स अमेरिकी बायोटेक्नोलोजी कम्पनी हो। यसले गम्भीर तथा वंशाणुगत (जेनेटिक) रोग लाग्नुका मूल कारण पत्ता लगाएर निवारणका लागि काम गर्छ।
जिनमा देखिएका समस्या जरैदेखि हटाउन जिन एडिटिङ प्रविधिमा काम गरिरहेको कृष्ण बताउँछन्। जिन एडिटिङ भनेको जेनेटिक (वंशाणुगत) रोगको मूल कारण पत्ता लगाएर उक्त समस्या जरैदेखि हटाउने प्रक्रिया हो।
'शरीरलाई मेसिन मान्ने हो भने जिन भनेको इन्स्ट्रक्सन म्यानुअल हो। अर्थात् शरीरलाई काम गर्न निर्देशन दिने जिनले हो। यदि जिनमै समस्या आयो भने शरीरले ठीकठाक काम गर्न सक्दैन। त्यस कारण जिन तन्दुरूस्त हुनुपर्छ। हामी यसैमा काम गरिरहेका छौं,' उनले भने।
कुनै रोग आमाबुबामा छ भने बच्चामा पनि सर्न सक्छ। त्यो जेनेटिक समस्या हो भने जुन खराबीका कारण बच्चामा सरेको छ, त्यो पत्ता लगाएर हटाउने काम गरिन्छ।
'जिन एडिटिङ भनेको यही हो,' उनले भने।
नेपालको थारू समुदायमा रहेको एउटा जेनेटिक समस्याको उदाहरण दिँदै उनले थपे, 'मुख्यतया नेपालको थारू समुदायमा एउटा समस्या देखिएको छ — सिकलसेल एनिमिया। सिकलसेल एनिमिया रक्तअल्पताको एउटा प्रकार हो। रातो रक्तकोष गोलो आकारको हुनुपर्नेमा हँसिया जस्तो हुन्छ। यस्तो जेनेटिक समस्या किन भइरहेको छ भन्ने कारण पत्ता लगाएर जिनबाट त्यस्तो समस्या हटाउन हामी काम गर्छौं।'
अहिले उनी रगत, कलेजो सम्बन्धी रोगहरू र क्यान्सरबारे काम गरिरहेका छन्।
उनका अनुसार मानव शरीरका विभिन्न भागमा कोष मर्ने र नयाँ बन्ने क्रम चलिरहन्छ। जब कोष विभाजन प्रक्रिया नियन्त्रणबाहिर जान्छ, त्यसपछि क्यान्सर हुन्छ। कोषलाई नियन्त्रणमा राखिरहने जुन प्रणाली छ, त्यो जिन हो।
'कोष विभाजन प्रक्रिया नियन्त्रणमा राख्ने काम हामी गरिरहेका छौं। त्यस्तै, हामी मानव शरीरमा रहेका क्यान्सर सेल (कोष) लाई टी–सेलमार्फत आक्रमण गरेर बाहिर फाल्ने काम गर्छौं,' उनले भने।
यसअघि उनी अमेरिकाको सरकारी स्वास्थ्य अनुसन्धान संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) मा पोस्ट–डक्टरलका रूपमा काम गर्थे। उक्त संस्थामा उनले करिब एक वर्ष काम गरे।
कृष्ण पढाइका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन्। त्यसअघि उनी पोखरा विश्वविद्यालयमा पढिरहेका थिए। केही समय अध्यापन पनि गराए। पिएचडीको गर्ने अवसर मिलेपछि अमेरिका गएका हुन्।
बागलुङमा जन्मिएका उनले माध्यमिक तहसम्म गाउँकै सरकारी विद्यालयमा पढे। उनलाई सानैदेखि विज्ञान विषयमा रूचि थियो। एसएलसी (एसइई सरह) मा राम्रो नतिजा आयो। उनले चितवन बसेर विज्ञान विषयमा प्लस–टू पढे।
'साना ब्याक्टेरियादेखि ठूला जीवका बारेमा पढ्दा यी दुवैको आधारभूत संरचना एउटै रहेछ भन्ने थाहा भयो,' उनले भने, 'त्यसपछि बायोटेक क्षेत्रमा रूचि बढ्यो।'
आफ्नो कार्यक्षेत्र र पेसासँग सन्तुष्ट उनी यो क्षेत्रमा राम्रो अवसर रहेको बताउँछन्। खासगरी अमेरिकाको बोस्टन, क्यालिफोर्नियामा बायोटेक क्षेत्रमा काम गर्न चाहनेहरूका लागि राम्रो अवसर छ।
'समयसँगै नयाँ र जटिल किसिमका समस्या देखिइरहन्छन्। यो क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने चुनौती पनि थपिँदै गएको छ। उच्च प्रविधिका उपचार पद्धतिहरूमा काम गर्नुपर्ने हुन्छ,' उनले भने।
त्यहाँ आफूले गरिरहेको काम नेपालमा पनि गर्न पाए हुन्थ्यो भन्ने इच्छा उनको छ। नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत मानिसहरूसँग जोडिएर कसरी नेपालका लागि फाइदा पुग्ने काम गर्न सकिन्छ भन्नेबारे छलफल पनि गरिरहेको उनले बताए।
'कुनै न कुनै रूपमा नेपालसँग जोडिएर काम गर्न मन छ। भविष्यमा कुनै न कुनै रूपमा नेपाल फर्किएर त्यहाँको फार्मास्युटिकल्स क्षेत्रमा काम गर्न मन छ,' कृष्णले भने।