ग्लोबल नेपाली
क्यानडाका प्रधानमन्त्रीको रक्षा सचिवालयमा काम गर्ने अवसर पाएका दोलखाका प्रकाश कोइरालाले यसै साता क्यानडाको 'हाउस अफ कमन्स' मा काम सुरू गरेका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको रक्षा खरिद (डिफेन्स प्रोक्योरमेन्ट) सम्बन्धी सेक्रेटरी अफ स्टेटमा नियुक्त भएका स्टेफन फ्युरको कर्मचारीको जिम्मेवारी कोइरालाले पाएका हुन्।
‘डिफेन्स प्रोक्योरमेन्ट सेक्रेटरीको सचिवालयमा रहेर मैले नीति अध्ययन गर्ने, समुदायमा गएर सरकारको नीति तथा कार्यक्रमबारे बुझाउने र राइडिङ एसोसिएसनमा रहेका क्यानडियनहरूको सरकारी सेवा–सुविधा प्रतिको पहुँचलाई सहजीकरण गर्ने हो। मेरो काम हाउस अफ कमन्स मातहत हुन्छ,’ उनले भने, ‘मलाई त्यहाँको इन्टरभ्यु प्रक्रियादेखि पहिलो दिन आइडेन्टिटी कार्ड दिने बेलासम्म हाउस अफ कमन्समा काम गर्ने पहिलो नेपाली हो भनेर भनिएको थियो। मेरा लागि यो एउटा ठूलो अवसर हो।’
प्रकाश कसरी यो ठाउँमा पुग्न सफल भए त?
सन् २०२० मा क्यानडा पुगेका ३३ वर्षीय युवाले कसरी यो अवसर पाए भन्ने जिज्ञासा आउनु स्वाभाविक हुन्छ।
नेपालमा रहँदा उनले ‘फिनलिट’ नामक संस्था चलाएका थिए, जसको मुख्य काम वित्तीय साक्षरता अभिवृद्धि गर्नु थियो। क्यानडामा गएर उनले प्रान्तीय वन मन्त्रालयमा रहेर फाइनान्सियल एनालिस्टका रूपमा काम गरे।
प्रधानमन्त्री मार्क कार्नीसँग प्रकाश।
पाँच वर्षअघि फोर्ब्स म्यागाजिनको एसियाका प्रभावशाली ३० युवाको सूचीमा कोइराला परेका थिए।
उनले वित्तीय साक्षरता अभियन्ताका रूपमा ‘गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड २०२५’ समेत पाएका छन्।
अमेरिकाको विस्कन्सिनका गभर्नर टोनी एभर्सले सन् २०२५ को उक्त अवार्ड कोइरालालाई प्रदान गरेका हुन्।
सन् २०२० मा क्यानडा जाँदै गर्दा कोभिडको प्रकोप थियो। जसले गर्दा स्थानीयहरूले आप्रवासीलाई हेर्ने दृष्टिकोण पनि फरक थियो। त्यही बेला उनलाई आप्रवासीहरूको हकहित र उनीहरूले क्यानडामा कसरी सहज रूपमा बसोबास गर्न सक्छन् भन्ने विषयमा सकारात्मक आवाज उठाउनुपर्छ भन्ने लाग्यो। उनी क्यानडाको सन् २०२१ को निर्वाचनमा केन्द्रित भए। विचार मिलेका आधारमा लिवरल पार्टीको प्रचारप्रसारमा जुटे।
आफ्नो काम अनि लिबरल पार्टीसँगको आबद्धतालाई पनि उनले सँगसँगै अघि बढाएका थिए। सन् २०२५ को जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि राजनीतिक पृष्ठभूमि नभएका मार्क कार्नी पनि आन्तरिक प्रतिस्पर्धामा उत्रिएका थिए।
लिबरल पार्टीभित्र भएको आन्तरिक प्रतिस्पर्धामा कोइराला पनि मार्क कार्नीको पक्षमा लागेका थिए। उनी यति सक्रिय भए कि उनले ११ हजार जनालाई आफैले फोन गरेका थिए। आफू बस्ने ब्रिटिस कोलम्बिया प्रान्तमा उनको नेतृत्वमा ६५ जना स्वयंसेवक खटिएका थिए।
‘मेरो सक्रियताबारे थाहा पाएर मलाई मार्क कार्नी आफैले फोन गर्नुभएको थियो। मैले उहाँसँग ओटावामा १० मिनेट एक्लै भेट्ने अवसर पनि पाएँ,’ कोइरालाले भने, ‘मेरा लागि त्यो ठूलो अवसर थियो। उहाँले मसँग मेरो पृष्ठभूमि र कसरी देशको वृहत्तर हितका लागि काम गर्न सकिन्छ भनेर समेत सोध्नुभएको थियो।’
एक वर्षअघि भएको निर्वाचनबाट मार्क कार्नी बहुमतसहित विजयी हुँदै दोस्रो पटक प्रधानमन्त्री चयन भए। निर्वाचनमा आफ्नो तर्फबाट कोइरालाले सकेको योगदान गरेका थिए।
मार्क कार्नीका लागि ११ हजार कल गरेको विषय पार्टीका वरिष्ठ नेतामध्ये धेरैलाई थाहा भएको समेत कोइरालाले दाबी गरे।
केही नेताहरूले त क्यानडाको इतिहासमै एउटै व्यक्तिले यति ठूलो स्तरको क्याम्पेनिङ नगरेको भन्दै कोइरालाको प्रशंसा समेत गर्ने गरेका छन्।
यो जागिरका लागि चयन हुन उनलाई यही पृष्ठभूमिले ठूलो सहयोग गरेको थियो।
मार्क कार्नीका रक्षासम्बन्धी सेक्रेटरी अफ स्टेटका स्टेफन फ्युरसँग प्रकाश।
‘छनोटका क्रममा विभिन्न चरणका अन्तर्वार्ता भएका थिए। मैले प्रत्येक अन्तर्वार्तामा ११ हजार जनालाई कल गरेको अनुभव सुनाएको थिएँ। यसो भन्दा सबै चकित बनेका थिए,’ उनले भने, ‘समर लिडरसिपअन्तर्गत रहेको यो जागिरका लागि हजारौंले आवेदन दिएको भनेर उनीहरूले बताएका थिए। तर मलाई छनोट गर्नुको कारण भने मेरो सक्रियता र अनुभव नै रहेको उनीहरूको भनाइ थियो। नेपाली पृष्ठभूमिले पनि मलाई थप सकारात्मक प्रभाव दिएको जस्तो लाग्छ।’
प्रधानमन्त्री मार्क कार्नीको रक्षा खरिद (डिफेन्स प्रोक्योरमेन्ट) सम्बन्धी सेक्रेटरी अफ स्टेटमा नियुक्त भएका स्टेफन फ्युर केलोनाबाट निर्वाचित भएका हुन्। त्यहाँ नेपाली समुदायको पनि उल्लेख्य बसोबास छ।
आफूले नेपाली समुदायको आवाज उठाउन पहल गर्ने उनको भनाइ छ।
‘प्रधानमन्त्री र उहाँको सचिवालय टिमसँग मेरो चिनजान हुनु मेरा लागि ठूलो अवसर हो। साथै मैले नेपाली समुदायको समेत प्रतिनिधित्व गर्न पाएको छु,’ उनले भने, ‘यो ठाउँमा आएर इमानदारपूर्वक लाग्न सकियो भने अवसर पाइने रहेछ भन्ने लागेको छ। मैले पाएको यो अवसरलाई न्याय गर्नेछु।’