रामेछापका पासाङ लामा अमेरिका गएको ३० वर्ष भयो।
अहिले उनी अमेरिकामा १४० वटा ग्यास स्टेसन चलाइरहेका छन्। यसबाहेक ग्यास डिलर, होलसेल किराना पसल, साना–ठूला गरेर १२ वटा ट्रक अनि ग्यास स्टेसन बनाउने र मर्मत गर्ने कन्स्ट्रक्सन (निर्माण) कम्पनी पनि छ।
अमेरिकामा यति फराकिलो व्यवसाय उनले कसरी खडा गरे?
उनी भन्छन्, 'काम गर्ने साहस र इमानदारिता भएकाले।'
अमेरिका जानुअघि उनी बेलायती सेनामा भर्ती हुन चाहन्थे। एकाध पटक प्रयास गरे। सफल हुन सकेनन्।
त्यसपछि उनी जापान जाने खोजे। केही समय जापानी भाषा पढे पनि। त्यहाँ पनि सफल भएनन्।
त्यसपछि मात्र अमेरिकाको बाटो तय भएको हो।
'ब्रिटिस लाहुरे हुन र जापान पनि जान नसकेपछि म अलमलमा थिएँ। त्यही बेला मेरो साथीले अमेरिका जान सकिने सुनाए। आवेदन दिएँ र भिसा पनि आयो,' उनले भने, 'तर त्यो बेला मेरो बुबाको व्यवसाय डुबेकाले मसँग खर्च थिएन। साथीले २ लाख रूपैयाँ सापटी दिएकाले जान सकेँ।'
बीस वर्षको उमेरमा अमेरिका गएका पासाङको बेलायती सेनामा भर्ती हुने चाहना मरेको थिएन। त्यसैले बिहानै उठेर उनी भारी बोकेर दौडिन्थे। २५ वर्ष उमेर कटेपछि भने उनको त्यो सपना मरेर गयो।
उनी सुरूमा टेक्ससमा चिनेका दाइहरूसँग बसे। उनले रेस्टुरेन्टमा काम पाए। उनी सबभन्दा पहिले काम गर्न पुग्थे, अन्तिममा मात्र फर्किन्थे। त्यो देखेर रेस्टुरेन्टका मालिकले उनलाई पर्याप्त जिम्मेवारी दिएका थिए।
टेक्ससबाट डलास गएपछि भने उनलाई केही समय काम पाउन कठिन भयो। पछि ग्यास स्टेसनमा रातिको काम पाए।
'रातिको काम भए पनि म यो कम्पनीको सबभन्दा राम्रो कामदार बन्छु भन्ने प्रण गरेँ। काम गर्दै जाँदा इजी मार्टमा मौका पाएँ,' उनले भने, 'छोटो समयमै २०–३० वटा स्टोर हेर्न थालेँ। बिस्तारै म्यानेजरसम्मको जिम्मेवारी पाएँ।'
पासाङ जसरी भए पनि आफ्नै काम गर्नुपर्छ भन्ने सोच्थे। सन् २००२ मा उनले आफूले काम गरेको ग्यास स्टेसन नजिकै आफ्नै एउटा किराना पसल (स्टोर) खोले। सुरूमा केही अप्ठ्यारो भए पनि बिस्तारै सहज भइहाल्यो।
सन् २००६ मा पासाङले ग्यास स्टेसन नै सुरू गरे। अनि एक–दुई गर्दै अहिले १४० वटा पुगेका छन्। किराना पसल ६–७ वटा छन्। उनको व्यवसाय अमेरिकाका ५ राज्यमा फैलिएको छ।
सुरूमा उनले 'लामा पासाङ' बुझाउने गरी एलपी स्टोर नाम राखेका थिए। पछि फेरे।
'अमेरिकामा अमेरिकन नै नाम राखौं भन्ने लाग्यो। एउटा क्विक ट्रिप र अर्को रेस्ट ट्र्याक नामका कम्पनी थिए। मैले तिनलाई मिलाएर क्विक ट्र्याक बनाएँ,' उनले भने।
आफूले मेहनत र इमानदारिताकै कारण प्रगति गर्न सकेको उनी बताउँछन्।
'जहाँ गए पनि म सबभन्दा राम्रो र धेरै काम गर्छु भन्ने सोचेर काम गरेँ,' उनले भने।
अमेरिकामा सफल भएका उनी नेपालमा आफ्ना बुबाको व्यवसाय असफल हुनुमा राजनीति र कर्मचारीतन्त्रलाई कारण मान्थे। त्यसैले उनलाई नेपाल आउन पनि मन थिएन। सन् २००२ मा तीन साताको बिदामा नेपाल आएका थिए तर ५ दिनमै फर्किए।
सन् २०१५ मा नेपालमा भूकम्प गयो। त्यसपछि भने उनको मन फेरियो। त्यो बेला आमाले नेपाल नजान भने पनि उनी आएका थिए।
'बच्चाहरू पुरिएको, रोइरहेको दृश्यले मन थामिएन। तुरून्तै नेपाल आएँ। तीन साताको लागि आएको म तीन महिना बसेँ,' पासाङले भने, 'पीडितहरू एक बोरा चामल र एउटा टर्चलाइट पाउँदा समेत खुसी भएको देख्दा मेरो मन थामिएन।'
त्यसपछि उनलाई नेपालमा केही गर्ने हुटहुटी हुन थाल्यो।
सन् २०१७ मा उनले नेपालमा आउटसोर्सिङ कम्पनी सुरू गरे। यसमार्फत् अमेरिकामा उनको कम्पनीका लागि नेपालबाट गर्न मिल्ने काम यहीँबाट हुन थाल्यो। सो कम्पनीमा अहिले काठमाडौंमा एक सय जना र अमेरिकामा ९ सय जना गरी एक हजार जना काम गरिरहेका छन्।
अमेरिकामा कसैलाई आवश्यक परे आफूले काम दिन सक्ने उनी बताउँछन्।
'अमेरिकामा कसैले काम पाएन भने मलाई भनून्, म दिन सक्छु। तर काम मैले भनेको ठाउँमा हुनुपर्छ। जसले कामको सम्मान गर्छ, उसले आफ्नो क्षमता अनुसारको काम पाउने ग्यारेन्टी म गर्न सक्छु,' उनले भने, 'अनि कसैले पैसा नभएर लगानी गर्न सकेको छैन भने बाटो देखाउन सक्छु। घाटा नहुने ग्यारेन्टी पनि लिन सक्छु।'
पासाङ नेपालमा थप काम गर्न चाहन्छन्। तर आफूहरूलाई कानुनी समस्या भएको उनको गुनासो छ।
'एक पटकको नेपाली, सधैंको नेपाली भनेर हामीलाई कानुनी रूपमा सहज बनाइदिने हो भने मैले मात्र होइन, धेरैले नेपालमा लगानी ल्याउँछन्,' पासाङले भने, 'म यही अभियानमा छु। हेरौं कहिले सफल भइन्छ।'