जनकपुरका डा. अजय ठाकुर ४ वर्षदेखि अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीमा कार्यरत छन्।
उनको मुख्य काम भनेको मिर्गौलाका बिरामीको उपचार गर्ने, प्रत्यारोपण पूर्व, प्रत्यारोपण र प्रत्यारोपणपछिको उपचार हो। फिजिसियन भएकाले सर्जरीका बेला मात्र उनी सहभागी हुँदैनन्।
यो अस्पतालमा मात्र आफूले झण्डै १५ हजार बिरामीलाई सेवा दिएको उनले बताए। यो बाहेक उनी अध्यापन र अनुसन्धानमा पनि सक्रिय छन्।
अमेरिकाको प्रतिष्ठित अस्पतालमा कार्यरत डा. अजय सन् २००५ देखि अमेरिकामा छन्। अमेरिका जाने उनको संयोग पनि अनौठो छ।
सन् २००४ मा एमबिबिएस सकेलगत्तै अजयले इलामको सिङफ्रिङमा रहेको डा. मेघबहादुर पराजुली अस्पतालमा काम गरेका थिए। एक दिन अमेरिकाबाट आएका फेमिली फिजिसियन डा. डेभिड जनसन सहितको टोलीसँग उनीहरूको सामूहिक डिनर भयो।
डा. जनसनले अजयले काम गर्ने अस्पताललाई आर्थिक सहयोग गरेका थिए। डिनरकै बेला जनसनले अजयलाई एमडी पढ्नेबारे जिज्ञासा राखेका थिए अनि अमेरिका गएर पढ्न समेत सुझाव दिएका थिए।
‘जनसनले अमेरिका जान भनेपछि मैले पनि त्यसको तयारी गरेँ। सबै प्रक्रिया पुर्याएर म २००५ को मेमा अमेरिका पुगेँ। न्युयोर्क गएर ४/५ महिना जनसनकै घरमा बसेँ,’ उनले भने, ‘मैले सन् २०१० मा इन्टरनल मेडिसिनमा एमडी सकेँ। जनसनलाई नभेटेको भए म अमेरिका नआउन पनि सक्थेँ। आउने भए पनि त्यति छिटो आउने थिइनँ होला।’
जनसनकै सहयोगका कारण आफूलाई अमेरिकामा घुलमिल हुन धेरै सहज भएको उनको अनुभव छ।
सन् २०१० मा ग्रिनकार्डको सिलसिलामा उनी न्युयोर्कबाट क्यान्सस गए।
५ वर्ष क्यान्सस बसेर उनी फेरि न्युयोर्क आए।
न्युयोर्क फर्किनुको एक मात्र कारण जनसन नै थिए।
‘मलाई घर किन्न, बच्चा पढाउन सबै तरिकाले जनसनसँग सल्लाह लिन सजिलो हुन्थ्यो। त्यही भएर म न्युयोर्क गएको हो,’ उनले भने, ‘मलाई अझै पढ्न मन थियो। त्यही भएर मैले सन् २०१८ मा युनिभर्सिटी अफ रोचेस्टरबाट किड्नीमा डिएम सकेँ। त्यसपछि म नेफ्रोलोजिस्ट भएँ।’
२०२० देखि कोभिडको महामारी सुरू भयो। त्यसलाई उनले मौकाको रूपमा लिए। अनि युनिभर्सिटी अफ पेन्सेलभेनिया गएर दोस्रो डिएम गरे। त्यहाँबाट उनले इम्युनो बायोलोजी र किड्नी एन्ड प्यानक्रियाज ट्रान्सप्लान्टमा दोस्रो डिएम गरे। त्यसपछि उनले डार्टमाउथ अस्पतालमा २ वर्ष काम गरे अनि ओहायो स्टेट युनिभर्सिटीमा नयाँ काम सुरू गरे।
‘४ वर्षदेखि म ओहायो स्टेट युनिभर्सिटीमै छु। मैले किड्नी र प्यानक्रियाजको ट्रान्सप्लान्टको काम गरिरहेको छु। प्रत्यारोपण गर्नुपर्ने बिरामीको सुरूदेखि अंग प्रत्यारोपण र त्यसपछिका सबै प्रक्रियामा मेरो सहभागिता रहन्छ,’ उनले भने, ‘बिरामीको शरीरले प्रत्यारोपण गरेको मिर्गौला धान्न सक्छ कि सक्दैन भनेर जोखिम विश्लेषण गर्नेदेखि प्रत्यारोपण गरेपछिको हेरचाहको पनि काउन्सिलिङ र उपचार गर्नुपर्छ।’
परिवारको एउटै छोरा उनी अमेरिका गएको पनि २१ वर्ष भइसकेको छ। मिर्गौला उपचारको अध्ययन र अनुभव दुवै उनीसँग छ। अब भने उनलाई नेपालमा आएर पनि केही गर्न पाए हुन्थ्यो भन्ने सोच आइरहेको छ। अझै भन्ने हो भने नेपालमा केही गर्ने हुटहुटी नै छ।
उनको बुझाइमा मान्छे सबैतिर डुलेर जे–जस्तो प्राप्ति गरे पनि आफ्नो घर, समाज र देशका लागि केही गरौँ भन्ने सोच बनाउँछ।
उनलाई मिर्गौला उपचारको क्षेत्रमा विज्ञ उत्पादनमा थोरै भए पनि योगदान गर्न मन छ। सधैं अनुकूल समय खोज्दै गर्दा यस्तो समय कहिल्यै नआउन पनि सक्ने उनको बुझाइ छ। किनकि आफूले खोजेजस्तो वातावरण कतै पनि र कहिले पनि नहुने उनको तर्क छ।
‘मैले नै सबै उथलपुथल ल्याउँछु भन्ने भ्रम मलाई छैन। तर मैले केही न केही गर्न सक्छु भन्ने हो। आजको दिनमा मैले मिर्गौला चिकित्सक उत्पादनको क्षेत्रमा काम गर्न सक्छु,’ उनले भने, ‘विज्ञ बनाउन उचित शिक्षा दिन सकियो भने त्यसले राज्यलाई ठूलो फाइदा हुन्छ। विज्ञहरू धेरै हुनासाथ उपचारमा सहजता हुने नै भयो।’
मिर्गौला प्रत्यारोपणको अभावमा अजयका ठूला भिनाजुले ६ महिनाअघि ज्यान गुमाउनुपर्यो। उनलाई यो घटनाले पनि नराम्रोसँग छोएको छ।
उपचारको अभावमा कसैले पनि आफ्ना गुमाउन नपरोस् भनेर आफूलाई नेपालमा काम गर्ने चाहना रहेको उनले बताए।