ग्लोबल नेपाली
सन् १९८८ मा अमेरिका जाँदा प्रतिष्ठा उपाध्याय ६ वर्षकी मात्र थिइन्। आमा मुक्ता उपाध्याय नर्सिङ पढ्न गएपछि उनी र उनका बुवा प्रदीप उपाध्याय पनि सँगै गएका हुन्। केही समय काठमाडौंमा पढे पनि उनको शिक्षाको सुरूआत अमेरिकामै भयो।
'म भर्खर स्कुल जान सुरू गरेको थिएँ। आमा मानव शास्त्रमा स्नातकोत्तर छोडेर नर्सिङ पढ्न जानुभएको हो। बुवा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो,' प्रतिष्ठाले भनिन्, 'हामी अमेरिकाको आयोवामा पुगेका थियौँ। त्यो बेला त्यहाँ नेपाली कम थिए, त्यसमा पनि जाडो ठाउँ भएकाले सुरूमा गाह्रो भयो।'
केही समयपछि उनीहरू टेक्सस गए।
उनले त्यहीँ आठ कक्षासम्म पढिन्। सन् १९९७ मा उपाध्याय परिवार नेपाल फर्कियो र उनले काठमाडौंको लिङ्कन स्कुलमा कक्षा ९ र १० पढिन्। पछि बुवा–आमाले फेरि अमेरिका फर्किने निर्णय गरेपछि उनी पनि सन् १९९९ मा उतै गइन्।
जीव विज्ञानमा स्नातक र स्नातकोत्तर गरेपछि उनले वैज्ञानिक अनुसन्धान र वातावरण क्षेत्रमा काम गरिन्। केही समय पढाएकी पनि थिइन्।
सन् २००८ मा भने उनी चिकित्सा क्षेत्रमा आकर्षित भइन् र त्यसपछि ओस्टियोपेथी अध्ययन गर्न थालिन्।
'ओस्टियोपेथी फरक खालको चिकित्सा पद्धति हो। हातले छामेर बिरामीको रोग पत्ता लगाइन्छ र त्यसका आधारमा परीक्षण वा उपचारको निर्णय गरिन्छ,' उनले भनिन्, 'हामी आयुर्वेदिक र एलोपेथिक दुवै प्रकारका औषधि सिफारिस गर्छौं। कतिपय अवस्थामा योग र ध्यानबाट पनि उपचार गराइन्छ।'
सन् २०११ मा ओस्टियोपेथीको डिग्री लिए पनि उनले सन् २०१८ देखि मात्र काम सुरू गरिन्। बच्चा हुर्काउन व्यस्त भएकाले 'प्राक्टिस' ढिलो भएको उनले बताइन्।
सन् २०१८ देखि उनले सेन्ट लुइसमा 'काठमाडौं क्लिनिक' सञ्चालन गरिरहेकी छन्। उनका श्रीमान चार्ल्स फर्मासिस्ट डाक्टर हुन्। उनी एक बिरामीलाई २० मिनेटदेखि एक घण्टासम्म समय दिन्छिन्। बिरामीको विवरण लिने, परामर्श गर्ने र रोग पहिचान गरेर उपचार गर्ने उनको तरिका छ।
'बिरामीको नाडी, छाती, मुटु र टाउको छामेर हामी रोग पहिचान गर्छौं। आवश्यकताअनुसार एलोपेथिकसँगै आयुर्वेदिक औषधि पनि दिन्छु। त्रिफला, अश्वगन्धा, च्यवनप्राश, शिलाजित जस्ता औषधि सिफारिस गर्छु,' उनले भनिन्, 'आमाको दूध नपुगेका बच्चालाई घिउ समेत सिफारिस गर्छु। धेरै बिरामीले एलोपेथिकभन्दा आयुर्वेदिक औषधि नै चाहन्छन्।'
उनका अनुसार सुगर, प्रेसर, हर्मोन असन्तुलन र कोलेस्ट्रोल समस्या भएका दीर्घरोगीहरू बढी आउने गर्छन्।
हातैले छामेर उपचार गर्दा बिरामीलाई भावनात्मक रूपमा पनि बलियो बनाउने उनको विश्वास छ।
मंगलबार, बुधबार र बिहीबार क्लिनिक खुल्ने भए पनि हात खुट्टा मड्किएर अनि रूघाखोकी लागेर आएका बिरामीका लागि अन्य दिन पनि सेवा दिने उनले बताइन्।
उनी नेपालमै आएर यस्तो सेवा दिन चाहन्छिन्। तर नेपालमा ओस्टियोपेथिक डिग्री दर्ता प्रक्रिया कठिन भएको उनको भनाइ छ।
'अमेरिकामा ओस्टियोपेथिक डिग्रीलाई मान्यता दिइन्छ। हामीले मेडिकल स्कुलमै पढेका हुन्छौँ, त्यसैले जनरल प्राक्टिसनरेले जसरी उपचार गर्न पाउँछौँ,' उनले भनिन्, 'फरक यति हो कि हामी आयुर्वेदिक औषधि पनि सिफारिस गर्छौँ र हातले छामेर समस्या पत्ता लगाउँछौँ।'
उनका अनुसार ज्वरो वा प्रेसर जाँच्नका लागि कुनै सामग्रीको प्रयोग गरिँदैन हातैले छामेर पत्ता लाग्छ।
उनले अनलाइन परामर्शका लागि नेपालमा 'माया लुना कन्सल्टिङ' पनि स्थापना गरेकी छन्।
कुनै दिन नेपालमै काम गर्नुपर्छ भनेर नै आफूले अमेरिकाको पासपोर्ट नलिएको बताइन्।
'मेरा बुवा आमा पनि सन् २०१४ मा नेपाल फर्किसक्नुभएको छ। बहिनी अमेरिकामै तथ्यांकशास्त्री छन्। मैले अमेरिकनसँग बिहे गरे पनि अहिलेसम्म नेपाली पासपोर्ट नै लिएको छु,' उनले भनिन्, 'आमाको नाममा नागरिकता लिन पाउने भए छोरीको पनि नेपालकै नागरिकता बनाउने थिएँ। तर मैले भने अमेरिका आएको ३६ वर्षसम्म पनि यताको पासपोर्ट लिइनँ। अब पनि लिने छैन।'
उनले नेपालकै पासपोर्ट लिनुको एउटा मुख्य कारण नेपाल प्रतिको माया भएको र दोस्रो कारण श्रीमानको हजुरआमा भएको बताइन्।
उनकी श्रीमानकी मामाघरकी हजुरआमा सन् १९५० मा डोमनिकन रिपब्लिकाबाट आफ्ना श्रीमानसँग आएकी थिइन्। श्रीमान अमेरिकामै डाक्टर थिए।तर उनले कहिल्यै अमेरिकाको पासपोर्ट लिइनन्। ग्रीनकार्डकै भरमा अहिलेसम्म बसेकी छन्।
'मलाई नेपालको नागरिकता छोड्न मन लागेको थिएन। उहाँले पनि आफ्नो देशलाई भुल्न हुँदैन नागरिकता त्याग्न हुँदैन भनेपछि मलाई प्रोत्साहन मिल्यो,' उनले भनिन्, 'एकदिन नेपालमा पनि ओस्टियोपेथिकको डिग्रीले काम गर्न पाइनेछ त्यसपछि म उतै काम गर्ने गरी आउँछु होला। आमाको नाममा नागरिकता लिन सहज भयो भने छोरीले पनि नागरिकता लिने छिन्।'