अमेरिकामा आधारित र नेपाली चिकित्सक डा. विनय शाहको नेतृत्वमा सञ्चालित गैरनाफामूलक संस्था ‘विनयतारा’ले क्यान्सर अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर बराबरको अनुदान प्रदान गरेको छ।
उक्त रकम ‘समिट अन क्यान्सर हेल्थ डिस्प्यारिटिज–२०२६’ अन्तर्गत आयोजना गरिएको ‘इम्प्याक्ट पिच’ नामक प्रतिस्पर्धामार्फत दुई जना प्रारम्भिक चरणका अनुसन्धानकर्तालाई जनही २५ हजार डलरका दरले प्रदान गरिएको हो।
‘इम्प्याक्ट पिच’ कार्यक्रम ‘शार्क ट्याङ्क’ शैलीमा सञ्चालन गरिएको थियो, जहाँ अनुसन्धानकर्ताहरूले आफ्ना प्रस्तावहरू प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए। यसले पारम्परिक बन्द कोठामा हुने मूल्याङ्कन प्रक्रियालाई तोड्दै पारदर्शी र दर्शकमैत्री ढाँचामा अनुसन्धान छनोट गर्ने नयाँ अभ्यासको सुरुवात गरेको डा. शाहले जानकारी दिएका छन्।
प्रतियोगितामा प्रस्तुत प्रस्तावहरूको मूल्याङ्कन पाँच सदस्यीय ‘क्याटालिस्ट’ (निर्णायक मण्डल)ले गरेको थियो, जसमा विभिन्न प्रतिष्ठित क्यान्सर केन्द्रसँग आबद्ध विशेषज्ञ चिकित्सकहरू सहभागी थिए।
यस वर्षका विजेता डा. बेन्जामिन ली र डा. अक्षी बर्ता बनेका छन्। डा. लीले रेडियसन अन्कोलोजीमा ‘पोइन्ट-अफ-केयर डिसिजन सपोर्ट’ प्रणालीको प्रयोगसम्बन्धी अनुसन्धान प्रस्ताव प्रस्तुत गरेका थिए भने डा. बत्राले क्यान्सर उपचारबारे बिरामीको बुझाइ सुधार गर्न ‘पेसियन्ट एजुकेसन भिडियो’ कार्यान्वयनसम्बन्धी प्रस्ताव पेश गरेका थिए।
सम्मेलनका सह-अध्यक्ष डा. डेविड अबुलाफियाले युवा अनुसन्धानकर्ताहरूलाई प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन्।
'ठूला सोच भएका युवा अनुसन्धानकर्तालाई अघि बढ्न थप सहयोग आवश्यक हुन्छ,' उनले भने।
‘विनयतारा’का अध्यक्ष डा. शाहका अनुसार पछिल्लो समय क्यान्सर अनुसन्धानका लागि पर्याप्त वित्तीय स्रोत अभाव देखिएकाले यस्तो प्रतिस्पर्धामूलक र पारदर्शी मोडेल ल्याइएको हो। 'हामीले अनुसन्धानलाई अझ खुला, आकर्षक र नवप्रवर्तनमुखी बनाउन चाह्यौं,' उनले बताए।
‘समिट अन क्यान्सर हेल्थ डिस्प्यारिटिज’ ‘विनयतारा’को वार्षिक सम्मेलन हो, जसमा क्यान्सर उपचारमा देखिएका असमानता, सेवा पहुँच र समाधानका उपायबारे अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबीच छलफल हुने गर्दछ।
विनयतारले फेरि नयाँ आवेदन माग गरेको छ।
विनयताराका अनुसार विश्वभरीका अनुसन्धानकर्ताबाट बेसिक साइन्स, क्लिनिकल रिसर्च, क्वालिटी अफ केयर तथा आउटकम्स रिसर्च र केस रिपोर्ट तथा केस सिरिजमा एब्स्ट्र्याक्टहरू माग गरिएको छ। एब्स्ट्र्याक्ट बुझाउने अन्तिम मिति अगस्ट १५, २०२६ रहेको छ।
स्वीकृत एब्स्ट्र्याक्टहरू ‘इम्प्याक्ट पिच: बिनायतारा रिसर्च अवार्ड च्यालेन्ज’ मा सहभागी हुन योग्य हुने डा. शाहले बताएका छन् ।
'यसअन्तर्गत २ लाख ५० हजार डलरभन्दा बढीको अनुसन्धान अनुदान उपलब्ध छ। यसमा ५० हजार डलरका बहुविधाका अनुदानहरू समेत समावेश छन्, जसले हेमाटोलोजिक क्यान्सर क्षेत्रमा नवीन र प्रभावकारी अनुसन्धानलाई सहयोग गर्नेछ,' उनले भने।
अमेरिकाको नासभिल, टेनेसीमा आयोजना हुने नेशनल समिट अन हेमाटोलोजिक क्यान्सर्स–२०२६ (अक्टोबर १६–१७, २०२६) मा छनोट नवप्रवर्तनात्मक अनुसन्धान प्रस्तुत गर्ने र हेमाटोलोजी क्षेत्रका अग्रणी विज्ञहरूसँग जोडिने अवसर प्राप्त हुने उनले बताएका छन्।
सन् २००७ मा स्थापना भएको ‘विनयतारा’ले अमेरिका, नेपाल र नाइजेरियामा क्यान्सर स्वास्थ्य असमानता न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाको मुख्य कार्यालय अमेरिकाको बेल्भ्युमा र सहायक कार्यालय नेपालको जनकपुरमा रहेको छ।