ललितपुरकी सविना मल्ल सन् २००४ मा डेन्टलको पढाइ सक्ने अन्तिम तयारीमा थिइन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा डेन्टल पढिरहेकी सविनालाई अमेरिकी डाइभर्सिटी भिसा (डिभी) पर्यो। त्यसपछि उनी केही समय अमेरिका गइन्। केही समय बसेर ग्रिनकार्ड लिएपछि उनी नेपाल फर्किइन्।
दुई वर्ष नेपालमै इन्टर्नसिप गर्दै विभिन्न अस्पतालमा काम गरेपछि सन् २००६ मा उनी फेरि अमेरिका गइन्।
'म अलि पहिले पनि जान मिल्थ्यो। तर केही समय नेपालमै काम गर्न मन लागेको थियो। अर्को कुरा, मलाई मोडलिङको रहर थियो। त्यो रहर पूरा गरेर म अमेरिका गएकी हुँ,' उनले भनिन्, 'अमेरिका गएर पढाइको तयारी गरेँ।'
सविनाको सन् २००७ मा सचिन मास्केसँग बिहे भयो। सोही वर्षदेखि उनी न्यूयोर्क युनिभर्सिटीमा डेन्टल पढ्न थालिन्। सन् २०१० मा पढाइ सकियो।
त्यो बेला कतिपय प्रक्रिया थाहा नपाउँदा उनले थप कठिनाइ भोग्नुपर्यो। डेन्टल पढाइ सकेपछि उनले थप एक वर्ष जनरल डेन्टिस्ट्रीमा मास्टर्स गरिन्।
सन् २०११ देखि उनले अमेरिकामा डेन्टिस्ट भएर काम सुरू गरिन्। त्यही बेला सविनाका श्रीमान सचिन मास्केले फ्यामिली फिजिसियनको पढाइ पूरा गरे।
'पढाइ सकेर हामी बोस्टन गयौं। श्रीमानले फुल–टाइम काम गर्नुभयो। बच्चाहरू साना भएकाले मैले पार्ट–टाइम मात्र काम गरेँ,' उनले भनिन्।
अहिले उनका छोरा १३ र छोरी १० वर्षका भए। छोराछोरी ठूला भएपछि सविनाले पनि पूर्ण समय काम गरिन्।

उनले १४ वर्ष बोस्टनको कोर्टल्यान्ड डेन्टल एन्ड ब्रेसेसमा क्लिनिकमा काम गरिन्। अमेरिकाभर यसका दुई सय शाखा भएको उनले जानकारी दिइन्।
काम गर्ने क्रममा १२ वटासम्म डेन्टल शाखा सम्हालेको अनुभव उनीसँग छ। उनले मुख्य रूपमा बिरामी जाँच्ने, नयाँ डेन्टिस्टलाई तालिम दिने तथा अन्य व्यवस्थापन हेर्ने जिम्मेवारी सम्हालिन्।
'फुल–टाइम काम गर्न थालेपछि मात्रै पढाइमा र अन्य कुरामा लागेको ऋण तिर्न सकियो,' उनले भनिन्।
लामो समय जागिर गरेपछि भने सविनालाई आफ्नै केही गरौं भन्ने सोच आयो।
अनि ६ महिनाअघि उनले आफ्नै व्यवसाय सुरू गरिन्। बोस्टनमा उनले 'मल्ल डेन्टल ग्रुप' खोलेकी छन्। उनले पहिले चलिरहेकै डेन्टल क्लिनिक किनेर आफ्नो बनाएकी हुन्।
'हामीले नकिन्दासम्म हप्तामा दुई दिन मात्र खुल्ने क्लिनिक अहिले ५ दिन खुल्छ,' उनले भनिन्, 'हामीसँग ९ जनाको टिम छ। बिलिङ लगायत कामका लागि नेपालमा पनि तीन जना कर्मचारी छन्।'
कामबाट फुर्सद भएपछि उनका श्रीमान सचिनले पनि क्लिनिकको व्यवस्थापन हेर्छन्।
क्लिनिकमा बच्चादेखि वृद्धसम्मका दाँतको उपचार हुन्छ। क्लिनिकमा आउनेमध्ये धेरै बिरामी अमेरिकी छन्। भारतीय र नेपाली मूलका पनि उत्तिकै हुन्छन्।
अमेरिकामा काम गर्दै सविना र सचिन धनयोग फाउन्डेसनमार्फत समाजसेवामा पनि सक्रिय छन्।
सविनाका अनुसार गैरनाफामूलक यो संस्थाको दीर्घकालीन उद्देश्य मधुमेह उपचारका लागि सुविधासम्पन्न अस्पताल स्थापना गर्ने हो।
अहिले फाउन्डेसनले हरेक वर्ष ४ वटासम्म स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। २० जना दृष्टिविहीन विद्यार्थीलाई पढाउन सहयोग गरेको छ।

त्यस्तै, हरेक वर्ष ३ सय जनाको आँखा शल्यक्रियामा सहयोग गर्दै आएको सविनाले बताइन्।
'एउटा शल्यक्रियाले कसैको जीवनमा उज्यालो ल्याउन सक्छ। त्यसैले यस्तो सहयोगलाई प्राथमिकता दिएका हौं,' उनले भनिन्, मेरो उद्देश्य भनेकै अमेरिकामा व्यवसाय गर्ने अनि नेपालमा समाजसेवा गर्ने हो।'
अमेरिकामा सविना डेन्टिस्टहरूको समुदायमा पनि सक्रिय छिन्।
म्यासाचुसेट्सका गभर्नरले ५ जना डेन्टिस्ट छानेर एउटा बोर्ड गठन गर्छन्। त्यही बोर्डको सिफारिसका आधारमा डेन्टल क्षेत्रका नीति, नियम र कानुन बनाइन्छ। उक्त बोर्डमा उनी तीन वर्षदेखि कार्यरत छिन्। त्यो बोर्डमा पुग्ने आफू पहिलो नेपाली भएको उनले बताइन्।
बोर्डका अरू सबै डेन्टिस्ट अमेरिकी छन्।
सन् २०२० मा सविना म्यासाचुसेट्स राज्यका उत्कृष्ट १० डेन्टिस्टमध्ये पनि परेकी थिइन्।
'सपना देख्न छोड्नु हुँदैन। महिलाहरूले समाजले के भन्ला भनेर सोच्न हुँदैन,' सविना भन्छिन्, 'अमेरिकामा आएका नेपालीले हामी सानो देशको भनेर पनि सोच्न हुँदैन। टाढा भए पनि नेपालकै बारे सोच्न मन लाग्ने रहेछ।'
