शैलेन्द्र ढकाल अमेरिकाको बोस्टन सहरमा बस्छन्। उनी हाल हार्वर्ड विश्वविद्यालय अन्तर्गत हार्वर्ड मेडिकल स्कुलमा पोस्ट–डक्टरल अनुसन्धानकर्ता छन्।
न्युरोलोजी (स्नायु रोग सम्बन्धी) विभागमा अनुसन्धान गरिरहेका उनले यहाँ काम गरेको साढे दुई वर्ष भयो।
शैलेन्द्र विशेषगरी मस्तिष्क सम्बन्धी रोगको अनुसन्धान गर्छन्। मस्तिष्क सम्बन्धी रोग किन लाग्छ, कसरी फैलिन्छ र यसको उपचार कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्नु उनको मुख्य जिम्मेवारी हो।
'हामी मस्तिष्क सम्बन्धी रोगको कारण र उपचारबारे अनुसन्धान गर्छौं,' शैलेन्द्रले भने, 'ती नतिजा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशनका लागि पठाउँछौं।'
उनका अनुसार न्युरोलोजी विभागमा विभिन्न एकाइ छन्। त्यसमा करिब डेढ–दुई सय जना वैज्ञानिकहरूका टोलीले काम गर्छन्। शैलेन्द्रको एकाइमा करिब २० जना छन्।
यहाँ अन्य ठाउँका मस्तिष्क सम्बन्धी बिरामीको रोगबारे पनि अध्ययन गरिन्छ। युरोपेली देशहरूबाट समेत नमूनाहरू (स्याम्पल) अनुसन्धानका लागि आउने शैलेन्द्रले जानकारी दिए।
शैलेन्द्र सन् २०१८ मा विद्यार्थी भिसामा पिएचडी गर्न अमेरिका गएका हुन्।
स्थायी घर स्याङ्जा भएका उनले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज कलेजबाट फार्मेसीमा स्नातक गरे।
त्यसपछि जनस्वास्थ्य कार्यालय, कास्कीमा एक वर्ष र क्षेत्रीय स्वास्थ्य निर्देशनालय, पोखरामा एक वर्ष काम गरे। ती क्षेत्रमा उनले बाल स्वास्थ्य अधिकृतको जिम्मेवारी सम्हालेका थिए।
'नेपालमै केही अनुभव बटुलेर थप अध्ययनका लागि अमेरिका आएको हुँ,' उनले भने, 'अहिले त्यही ज्ञान अनुसन्धानमा प्रयोग गरिरहेको छु।'
उनका अनुसार विद्यावारिधि गर्न सामान्यतया कम्तीमा पाँच वर्ष लाग्छ। उनले साउदर्न मिसिसिपी विश्वविद्यालयमा करिब साढे पाँच वर्ष अध्ययन गरे।
'विद्यावारिधि गर्ने क्रममा अनुसन्धान नै मुख्य काम हो। त्यसैले विश्वविद्यालयले यस्ता विद्यार्थीलाई बस्न–खान पुग्ने खर्च दिन्छ। अनुसन्धानलाई प्राथमिकता दिइने भएकाले पढाइ शुल्क पनि मिनाहा हुन्छ,' शैलेन्द्रले भने।
आफ्नो काममा रमाएका शैलेन्द्र नेपाल र अमेरिकामा अनुसन्धान फरक फरक तरिकाले गरिने बताउँछन्। नेपालमा जनस्तरमा काम गर्दै रोग कसरी फैलिन नदिने भनेर अनुसन्धान गरेका थिए। अमेरिकामा उपचार विधिमै केन्द्रित भएर काम गरिरहेका छन्।
तर धेरै मस्तिष्कका रोग किन र कसरी लाग्छन् भन्ने स्पष्ट नभएकाले उपचार विधि पनि पत्ता नलागेको उनी बताउँछन्। त्यसैले यस्तोमा बिरामीको जीवन सहज बनाउने उपायमै ध्यान दिइएको छ।
'मस्तिष्क सम्बन्धी धेरै बिरामी एएलएस र अल्जाइमरका छन्। एएलएस त लागेको केही वर्षमै ज्यान जाने जोखिम हुन्छ,' उनले भने।
उनको अध्येता समूह यस्ता रोगको प्रभावकारी उपचार सम्भव छ कि भनेर अनुसन्धानमा केन्द्रित छ।
'मस्तिष्कका धेरै रोग अझै पूर्ण रूपमा निको पार्ने उपचार छैनन्। त्यसैले प्रभावकारी उपाय खोज्न हामी निरन्तर अनुसन्धानमा जुटिरहेका छौं,' उनले भने।
शैलेन्द्र आगामी दिनमा यही क्षेत्रमा अमेरिकामै काम गर्दै अघि बढ्ने सोचमा छन्। भविष्यमा मस्तिष्क सम्बन्धी रोगको उपचारमा केन्द्रित भएर एकेडेमिक क्षेत्रमा प्रोफेसर बन्ने वा औषधि उद्योगमा अनुसन्धानकै काम गर्ने सोच छ।
'मस्तिष्क सम्बन्धी रोगको उपचार खोज्ने काममै निरन्तर लागिरहने र यही क्षेत्रमा योगदान दिने योजना छ,' शैलेन्द्रले भने।