ग्लोबल नेपाली
भूषण कक्षपति सन् २००८ मा अस्ट्रेलिया गएका थिए। एक दशकभन्दा धेरै समय उनले विभिन्न खालका काम गरे।
सन् २०१९ मा आएर भने उनलाई आफ्नै केही काम गरौं भन्ने लाग्यो। उनले साथीहरूसँग कुरा गरे। अनि उनीसहित ६ जना मिलेर नेपालबाट अस्ट्रेलियामा सामान लैजाने र बेच्ने व्यवसाय गर्ने सहमति भयो।
सोही वर्ष जुलाइमा कम्पनी दर्ता पनि गरे— सगुन ग्रुप।
'सगुन भनेको उपहार। नेपालबाट ल्याइएको सगुन भन्ने अर्थ लागोस् भनेर यो नाम रोज्यौं,' भूषणले भने।
तर केही समयमै उनका साथीहरू सबैले हात झिके र भूषण एक्लै भए।
भूषणका अनुसार लगानी ठूलो भएकाले साथीहरूले हात झिकेका थिए। त्यसपछि उनलाई श्रीमती सेलिनाले साथ दिइन्। दुई जना मिलेर सगुनलाई अघि बढाए।
कोभिड महामारीपछि निम्तिएको आर्थिक संकटका बेला एक्लै व्यवसाय गर्नुपर्ने बाध्यता उनलाई थियो। तर त्यो समयले आफूलाई धेरै कुरा सिकाएको उनी बताउँछन्।
उनीहरूले सुरूमा अस्ट्रेलियाका नेपाली भान्सामा के के चाहिन्छ भनेर अनुसन्धान गरे। एकातिर अनुभवको कमी, अर्कातिर धेरैतिरको परीक्षण र कडाइले सुरूआती दिनमा धेरै आत्तिएको उनले बताए।

'प्रयोगमा आइरहेका र अभाव भएका सामानको सूची तयार पार्यौं,' भूषणले भने, 'चार–पाँच महिनामा राम्रै तयारी गर्यौं अनि सामानहरू ल्याउन थाल्यौं। सुरूमा केही गाह्रो त भयो। तर अहिले सहज हुँदैछ।'
अहिले उनीहरूले नेपाली भान्सामा चाहिने सबैजसो सामान नेपालबाट अस्ट्रेलिया लैजान्छन्।
साधारण चिउरा, गुन्द्रुक, फुरनदाना, रातो र सेतो टाइचिन चिउरा, आलु चिप्स, दालमोठ, जिम्बु, मुलाको चाना, सिन्की, थकाली दाल, टिमुर, कोदोको पिठो, फापरको पिठो, मकैको च्याख्लाको माग राम्रो छ। सबभन्दा धेरै माग वाइवाइ चाउचाउ र खजुरी पफको हुन्छ। त्यस्तै आमाको अचार, रत्नपार्कको पाउँ (तितौरा), सेन्चुरी मसला पनि धेरैले खोज्छन्।
योसँगै प्रेसर कुकर, मःम पकाउने भाँडा, चरेसको थालदेखि मूर्ति, पूजा सामग्री समेत अस्ट्रेलिया पुर्याउने भूषणले बताए।
नेपालमा उत्पादित पेय पदार्थ र मदिराको पनि अस्ट्रेलियामा राम्रै माग भएको उनले बताए।
सगुन ग्रुपले महिनामा दस वटासम्म कन्टेनर अस्ट्रेलिया पुर्याउने भूषणले बताए। एउटा कन्टेनरमा १५ देखि २० टन सामान हुन्छ। चार टन त वाइवाइ मात्र पुग्छ।
'नेपालबाट हिँडेको सामान पुग्न ४५ देखि ६० दिन लाग्छ। कहिलेकाहीँ बढी पनि हुन्छ। यहाँ खाद्य क्वारेन्टाइनको नियम परिवर्तन भइरहेको हुन्छ। त्यसबारे अध्ययन र अद्यावधिक गर्नुपर्छ। मापदण्ड नमिले सबै सामान फालिदिन्छ,' उनले भने।

यो सबै मिलाउने कामको जिम्मेवारी सेलिनाको हो।
खाद्य सामग्रीमा रहेको ढुंगामाटोदेखि अरू फोहोर फालेर सफा गर्न र व्यवस्थित तरिकाले प्याकिङ गर्न उनले काठमाडौंमा कार्यालय राखेका छन्। यो कार्यालयमा १८ जनाले काम गर्ने उनले जानकारी दिए।
'सबै कुरा काठमाडौंमा ल्याएर छान्छौं, केलाउँछौं र प्याकिङ गर्छौं। यहाँ एउटा ढुंगा देखियो भने सबै फालिदिन्छ। अविश्वास पैदा हुन्छ,' उनले भने, 'हामीले गुणस्तरमा धेरै ख्याल गर्नुपर्छ।'
अस्ट्रेलिया पुगेपछि सामान सिड्नीको गोदामबाट अन्य ठाउँमा पठाउँछन्। पर्थमा बेग्लै शाखा पनि छ।
साना ग्रोसरी पसलदेखि डिपार्टमेन्ट स्टोर, होटल तथा रेस्टुरेन्टमा उनीहरूको सामान पुग्छ। व्यक्तिगत रूपमा भने सगुनसँग सामान किन्न पाइँदैन।
भूषण र सेलिना अझै नेपालबाट नयाँ नयाँ सामान कसरी ल्याउन सकिन्छ भनेर अध्ययन गर्दैछन्।
व्यवसाय सही दिशामा गएकाले थप लगानी गर्न पनि सहज हुने भूषणले बताए।
'मैले व्यवसायसँगै नेपाली पहिचानलाई अस्ट्रेलियामा चिनाउन सफल भएको छु। अहिलेसम्मको उपलब्धिबाट पनि सन्तुष्ट छु,' उनले भने, 'सबै साथीहरूले छाडेको बेला मैले मुटु दह्रो पारेर ठूलो लगानी गरेँ। श्रीमतीको साथले सफल भयो।'
