स्याङ्जाका हरि चापागाईं सन् २०१४ मा बिजनेस स्टडिज पढ्नका लागि जर्मनी गए। तर उनलाई पढाइमा खासै चासो लागेन। केही समय पढेर उनी स्पेन हानिए। स्पेनबाट उनी फेरि पोर्चुगल गए। पोर्चुगलको राजधानी लिस्बनको एक रेस्टुरेन्टमा झन्डै एक वर्ष उनले काम गरे।
'पोर्चुगलमा काम गर्ने रेस्टुरेन्टमा ग्राहक बस्ने ठाउँ र किचन खुला थियो। हामीले खाना पकाउँदै गरेको ग्राहकले देख्थे भने ग्राहकले खाएको हामीले देख्थ्यौँ,' उनले भने, 'सन् २०१६ मा मैले क्रिस्टियानो रोनाल्डोलाई खाना खुवाउने अवसर पाएको थिएँ। उनले त्यो बेला सुसी र ग्रिल चिकेन खाएका थिए।'
फुटबल स्टार रोनाल्डो झन्डै ४ घण्टा त्यहाँ बसेको उनले बताए। रोनाल्डोले उनले पकाएको खानाको प्रशंसा समेत गरेका थिए भने अन्तिममा हरिले फोटो पनि खिचाए। फोटो खिच्ने बेला आफू नेपालबाट आएको भनेर भन्दा रोनाल्डो एक्साइटेड देखिएको हरिले बताए।

उनका अनुसार त्यो रेस्टुरेन्टमा सेलिब्रेटी, पोर्चुगलका शक्तिशाली राजनीतिज्ञहरू लगायत आउँथे। त्यहाँ काम गर्दैमा उनलाई रेस्टुरेन्ट व्यवसाय आफूले सुरू गर्ने सोच आएको थियो।
९ महिना पोर्चुगल बसेपछि उनी स्पेन नै फर्किए। स्पेन फर्किनुको कारण दिदीभिनाजु थिए। दिदीभिनाजुको स्पेनमा रेस्टुरेन्ट भएकाले काम सिक्ने मौका पनि पाउँथे। तीन वर्षभन्दा धेरै समय स्पेन बस्दा उनले धेरै कुरा सिके। किचनमा काम गर्नेदेखि रेस्टुरेन्टको व्यवस्थापन लगायत सिक्न पाएको उनले बताए।
स्पेनमा काम सिकेपछि उनलाई पोर्चुगल नै फर्किएर रेस्टुरेन्ट चलाउन मन थियो। उनले त्यही गरे।
२०१९ को अन्त्यतिर उनले लिस्बनमा रेस्टुरेन्ट सुरू गरे। तर उनका लागि दुर्भाग्य भयो। किनकि रेस्टुरेन्ट पूर्ण रूपमा सञ्चालनमा नआउँदै कोभिड महामारी सुरू भयो। अनि १५ महिना रेस्टुरेन्ट बन्द गराउनुपर्यो।
महामारीपछि हरि फेरि उठे। त्यसो त उनले कोभिडको समयमै रेस्टुरेन्टभित्रको सबै काम सकेका थिए।
'पोर्चुगलमा मैले नेपाली र इन्डियन खानालाई फ्युजन गरेर रेस्टुरेन्ट सुरू गरेँ। नेपाली खानालाई चर्चित गराउन बाँकी नै रहेकाले इन्डियन खानाको सहारा लिनुपर्ने हाम्रो बाध्यता छ,' उनले भने, 'मैले नेपाली खानालाई बिस्तारै मिलाउँदै गएँ। अहिले मेरोमा पाइने खाना मध्ये ८० प्रतिशत नेपाली खाना पाइन्छ। मैले गर्वका साथ मेरो नेपाली रेस्टुरेन्ट हो भन्छु।'
बिस्तारै उनको ओभन लिस्बन रेस्टुरेन्टमा पोर्चुगलका सेलिब्रेटीहरू पनि आउन थाले। अनि कतिपय अवस्थामा त पहिला नै रिजर्भ गर्न पर्ने भयो।
लिस्बनको डाउनटाउनमा राम्रै व्यवसाय चलेपछि उनले यसै वर्ष टाइमआउट मार्केटमा अर्को रेस्टुरेन्ट सुरू गरेका छन्। टाइमआउट मार्केटमा रेस्टुरेन्ट चलाउने आफू पहिलो एसियन भएको उनको दाबी छ।
टाइमआउट मार्केट लिस्बनको सबैभन्दा चर्चित फुड हल र पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। यहाँको रेस्टुरेन्टमा दैनिक ३ सयभन्दा धेरै ग्राहक आउने उनको दाबी छ।
टाइमआउट मार्केटको रेस्टुरेन्टलाई उनले पूर्ण रूपमा नेपाली खाना पाइने भनेर परिचित बनाउने प्रयास गरेका छन्। रेस्टुरेन्टमा दाल भात मःम चाउमिन, छोयला, सेकुवा मात्र होइन खिचडी र क्वाँटी समेत पाइन्छ।
उनले रेस्टुरेन्टलाई जसरी अघि बढाएका छन् उनी सामाजिक रूपमा पनि त्यसरी नै चिनिएका छन्। उनले विभिन्न क्षेत्रबाट सम्मान समेत पाएका छन्।
उनी मिशेलिन गाइड अवार्डबाट समेत सम्मानित भएका छन्। मिशेलिन गाइडले विश्वभरका उत्कृष्ट रेस्टुरेन्ट तथा होटलहरूको गुणस्तर मूल्याङ्कन गर्छ। उनले सन् २०२५ र २०२६ मा लगातार अवार्ड पाए। यस्तो अवार्ड पाउने आफू पहिलो इन्डो-नेपाली रेस्टुरेन्ट सञ्चालक भएको उनको दाबी छ। मिशेलिन अवार्ड पाएपछि आफ्नो रेस्टुरेन्टको चर्चा नै अर्को तहको भएको उनको बुझाइ छ।

'लिस्बन महानगरले उत्कृष्ट रेस्टुरेन्टहरूलाई दिने अवार्ड समेत गएका दुई वर्ष पाइसकेको छु। लिस्बनका उत्कृष्ट ५० रेस्टुरेन्टमा मेरो रेस्टुरेन्ट पर्न सफल भयो। यस पटक पनि म नोमिनेसनमा परेको छु,' उनले भने, 'केही दिनअघि मात्र मलाई पोर्चुगलको होटल, रेस्टुरेन्ट तथा पर्यटन क्षेत्रको सबैभन्दा प्रतिष्ठित व्यावसायिक संस्थामध्ये एक एएचआरईएसपीले उत्कृष्ट युवा उद्यमीको अवार्ड समेत दिएको छ। यो अवार्डका लागि ३५ वर्षमुनिको हुनुपर्छ।'
३४ वर्षीय हरिले दुई वटा रेस्टुरेन्टमा गरेर २७ जनालाई रोजगारी समेत दिएका छन्। अब छिट्टै अर्को रेस्टुरेन्ट खोल्ने सोचमा रहेको भन्दै उनले नेपाली खानालाई परिचित गराउँदै कमाउन पाउँदा छुट्टै आनन्द आउने बताए।
'मैले पोर्चुगलको नियम कानुन मानेर नियमित कर बुझाएर व्यवसाय गरेकै कारण मैले यति धेरै सम्मान पाएको हो। रेस्टुरेन्ट चलाउनेले एकातिर सरसफाइमा ध्यान दिन जरूरी छ भने अर्कोतिर स्वस्थ र स्वादिष्ट खाना पनि चाहियो,' उनले भने, 'सबै मापदण्ड पूरा गरेर म अघि बढेको छु। मेरो चाहना पनि रेस्टुरेन्ट सञ्चालन गर्ने नै थियो। आजको दिनसम्म पछाडि फर्केर हेर्नु परेको छैन।'
