डा. शरद थापा सेमिकन्डक्टर प्रविधि विज्ञ हुन्। हाल उनी जर्मनीको म्युनिखमा बस्छन्।
सेमिकन्डक्टर प्रविधि विज्ञका रूपमा उनी मोबाइल फोन, कम्प्युटर, गाडी, टेलिभिजन लगायत उपकरणमा प्रयोग हुने चिप निर्माण र विकासका क्षेत्रमा काम गर्छन्।
म्युनिखमा रहेको सिल्ट्रोनिक एजीमा ग्यालियम नाइट्राइड सेमिकन्डक्टर प्रविधि प्रमुखका रूपमा उनले काम गरेको १५ वर्ष भयो। उनको नेतृत्वमा जर्मनी, नर्वे, ताइवान लगायत विभिन्न देशका वैज्ञानिक तथा इन्जिनियरहरूको टोली छ।
'हामीले एक दर्जनभन्दा बढी पेटेन्ट र तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय जर्नल प्रकाशन गरिसकेका छौं,' शरदले भने।
शरदले प्रवीणता प्रमाणपत्र तह (प्लस–टू सरह) अमृत साइन्स क्याम्पसमा पढेका हुन्। त्यसपछि बंगलादेश गएर विद्युत तथा विद्युतीय इन्जिनियरिङमा स्नातक गरे।
'फर्केर नेपालकै पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा आइटी लेक्चरर भएँ,' उनले भने।
पछि उनी नेपाल दूरसञ्चार संस्थान (नेपाल टेलिकम) मा काम गर्न थाले। अस्थायी कर्मचारीका रूपमा सेवा सुरू गरेका शरद केही समयमै स्थायी कर्मचारी भए।
टेलिकममा काम गर्दाताका उनले नेपालमा इन्टरनेट सेवा विस्तारको प्रारम्भिक चरण नजिकबाट नियालेका थिए। त्यस बेला नेपाल टेलिकममा 'न्यू सर्भिसेज डाइरेक्टोरेट' मा मोबाइल टेलिफोन र इन्टरनेट गरी दुई विभाग थिए।
शरद इन्टरनेट टोलीमा कार्यरत थिए।
'त्यस बेला मर्केन्टाइल कम्युनिकेसन र वर्ल्डलिंकले इन्टरनेट सेवा सुरू गरिसकेका थिए। तर निजी क्षेत्रको सेवा काठमाडौंमा सीमित थियो। देशव्यापी रूपमा इन्टरनेट सेवा विस्तार गर्नुपर्ने आवश्यकता देखेर दूरसञ्चारले इन्टरनेट सेवा सुरू गरेको थियो,' उनले भने।
उनका अनुसार त्यो समयमा डायल–अप नेटवर्क मार्फत इन्टरनेट चलाइन्थ्यो। कम्प्युटरमा मोडेम जडान गरेर टेलिफोन लाइनमार्फत इन्टरनेट कनेक्ट गरिन्थ्यो। दूरसञ्चारले स्याटेलाइट मार्फत सर्भरसँग नेटवर्क जोड्ने व्यवस्था गरेको थियो।
शरदले टेलिकममा सन् १९९४ देखि २००२ सम्म काम गरे। त्यसपछि दुई वर्ष बेतलबी अध्ययन बिदा लिएर स्नातकोत्तर गर्न जर्मनी पुगे। त्यस बेला सेवा अवधि पाँच वर्ष पुगेपछि अध्ययन बिदा लिन पाइने व्यवस्था थियो।
उनले उल्म विश्वविद्यालयबाट सञ्चार प्रविधिमा स्नातकोत्तर सके। सो क्रममा उनले गरेको कामबाट विश्वविद्यालयका प्राध्यापक प्रभावित भएका थिए। विश्वविद्यालयले उनलाई विद्यावारिधि अध्ययनका लागि प्रस्ताव गर्यो।

यसबारे कुनै निर्णय नगरी उनी बिदामा नेपाल आए। कार्यालयमा विद्यावारिधिका लागि थप बिदा मागे। दुई वर्ष बिदा पाएपछि उनी विद्यावारिधि गर्न गए।
'विश्वविद्यालय मप्रति एकदमै पोजेटिभ थियो,' शरदले सुनाए, 'यति राम्रो अवसर गुमाउन हुँदैन भनेर तत्कालीन व्यवस्थापन टिमले बिदा दियो।'
त्यो बेला एलइडी लाइट, ब्लू लेजर र डिभिडी प्रविधि सम्बन्धी अनुसन्धान भइरहेको थियो। उनलाई डिभिडी पढ्न प्रयोग हुने ब्लू लेजर प्रविधिसँग सम्बन्धित अनुसन्धानमा संलग्न गराइएको थियो।
तर अनुसन्धान समयमै पूरा हुन सकेन।
यता टेलिकमको व्यवस्थापन टिम फेरियो। नयाँ पक्षले थप बिदा दिन नसकिने भन्यो।
त्यसपछि उनले जीवनकै ठूलो निर्णय लिनुपर्ने भयो।
'आफूले गरिरहेको अनुसन्धान बीचमै छाडेर आउन सकिनँ। जागिर छोडिदिएँ,' उनले भने।
विद्यावारिधिपछि शरदले जर्मनीकै प्रतिष्ठित म्याक्स प्लांक अनुसन्धान संस्थानमा दुई वर्ष अनुसन्धानकर्ताका रूपमा काम गरे।
त्यसपछि सन् २०११ मा सिलिकन चिप उत्पादक कम्पनीले ग्यालियम नाइट्राइड प्रविधिमा उत्पादन विकासका लागि उनलाई नियुक्त गर्यो। त्यसयता उनी यही कम्पनीमा निरन्तर चिप प्रविधिको अनुसन्धान र विकासमा सक्रिय छन्।
सूक्ष्म चिपहरू मोबाइल फोन, कम्प्युटर, सञ्चार उपकरण, सौर्य ऊर्जा प्रणाली तथा अन्य डिजिटल उपकरणमा प्रयोग गरिन्छन्। कृत्रिम बुद्धिमत्ता र सूचना प्रविधिको तीव्र विकाससँगै यसको महत्त्व अझ बढ्दै गएको उनको अनुभव छ।
'यो क्षेत्रमा काम गर्ने नेपाली एकदमै कम छन्। अहिले मैले काम गरेको कम्पनीमा त म मात्रै छु,' उनले सुनाए।
पछिल्लो समय विभिन्न देशमा नेपाली युवा अनुसन्धान, सूचना प्रविधि, स्वास्थ्य, व्यवसाय तथा अन्य पेसागत क्षेत्रमा अघि बढिरहेको देख्दा सरद खुसी हुन्छन्।
जर्मनीमा कामको अनुभव सुनाउँदै उनले भने, 'यहाँ काम गर्ने वातावरण निकै राम्रो छ। सबै काममा केन्द्रित हुन्छन्। तर प्रशासनिक प्रक्रिया र सरकारी संयन्त्रको ढिलासुस्ती छ। निर्णय प्रक्रिया पनि ढिलो हुन्छ। यसले गर्दा नयाँ प्रविधि लागू गर्न समय लाग्छ।'
उनी कार्यालयको कामबाहेक 'नेपाली रूट्स' नामक संस्थासँग आबद्ध छन्। यो संस्थामा रहेर विभिन्न पेसामा रहेका नेपाली युवासँग अनुभव आदानप्रदान गर्न पाउँदा आफूलाई नयाँ ऊर्जा मिल्ने उनले बताए।
'युवा पुस्तासँग नयाँ सोच र फरक दृष्टिकोण छ। उनीहरूबाट धेरै कुरा सिक्न पाएको छु,' शरदले भने।
उनका अनुसार जर्मनीमा ६७ वर्षको उमेरसम्म काम गर्न पाइन्छ। त्यसपछि अनिवार्य रूपमा अवकाश लिनुपर्छ। तर अनुभवका आधारमा परामर्शदाताका रूपमा काम गर्ने अवसर भने रहन्छ।
उनले अवकाशअघि नै नेपाल फर्किने सोच बनाएका छन्।
'विदेशमा आर्जन गरेको सीप, अनुभव र लगानी देशमै उपयोग गर्ने इच्छा छ,' ५७ वर्षीय शरदले भने।