पुर्ख्यौली घर विराटनगर भएका दिनेश पौडेल हाल जर्मनीको म्युनिक सहर बस्छन्। उनी त्यहाँ बस्न थालेको ११ वर्ष भयो।
पेसाले उनी रिसर्च डेटा साइन्टिस्ट हुन्।
रिसर्च डेटा साइन्टिस्ट भनेको डेटा अध्ययन, विश्लेषण र अनुसन्धान गरेर त्यसबाट उपयोगी जानकारी निकाल्ने विशेषज्ञ हो।
'हामी विशेषगरी ठूलो मात्रामा भएका डेटालाई कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, तथ्यांक विश्लेषणजस्ता प्रविधि प्रयोग गरेर अध्ययन गर्छौं,' दिनेशले भने।
जर्मनीमा उनले जागिरसँगै आफ्नो पढाइ पनि अगाडि बढाइरहेका छन्।
उनी टेक्निकल युनिभर्सिटी अफ म्युनिकमा विद्यावारिधि (पिएचडी) गरिरहेका छन्।
'बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काम हुन्छ,' दिनेशले भने, 'साँझ तथा बिदाको समय मिलाएर अध्ययन तथा अनुसन्धान गर्छु।'
चालक बिहीन सवारी साधनमा यात्रुको भावनात्मक अवस्था पहिचान गरी सुरक्षा सहजता र स्मार्ट ड्राइभिङ सुधार गर्ने सम्बन्धी प्रविधिको अध्ययन तथा अनुसन्धान गर्नु उनको पिएचडीको मुख्य विषय हो।
उनी पिएचडीको अन्तिम चरणमा छन्।

दिनेश 'क्रेलक्स जिएमबिएच' नामक कम्पनीमा रिसर्च डेटा साइन्टिस्टका रूपमा काम गर्छन्। यो कम्पनीले विशेषगरी नयाँ औषधि विकास र जैविक अनुसन्धानमा काम गर्छ।
यो कम्पनीले प्रोटिन अनुसन्धान, बायोफिजिक्स, डेटा विश्लेषण तथा एआईजस्ता प्रविधि प्रयोग गरेर औषधि विकासमा सहयोग गर्ने काम गर्दै आएको दिनेशले जानकारी दिए।
उनले यहाँ काम गरेको डेढ वर्ष भयो। त्यसअघि टेक्निकल युनिभर्सिटी अफ म्युनिकमा नै कम्प्युटर साइन्स विभागमा रिसर्च साइन्टिस्टका रूपमा काम गर्थे।
स्नातकोत्तर सकिने बित्तिकै आफूले उक्त युनिभर्सिटीमा रिसर्च साइन्टिस्टका रूपमा काम थालेको उनी बताउँछन्।
उनले त्यो काम करिब ४ वर्ष गरे।
'त्यहाँ मेरो फुल–टाइम जब थियो। त्यही आम्दानीले पिएचडीको खर्च व्यवस्थापनमा सहयोग पुर्यायो,' दिनेशले भने।
त्यहाँ काम गर्दा विश्वविद्यालयमार्फत सञ्चालित दुई वटा युरोपियन युनियन परियोजनामा समेत आफूले काम गर्ने अवसर पाएको उनले बताए।
दिनेशले कक्षा १२ सम्म विराट साइन्स कलेजमा पढेका हुन्र
त्यसपछि भारतीय दूतावासको छात्रवृत्ति मार्फत चेन्नईस्थित अन्ना युनिभर्सिटीबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक सके।
स्नातक गरेर सन् २०१५ मा उनी स्नातकोत्तर गर्न जर्मनी गएका हुन्।
'जर्मनीमा स्नातकोत्तर पढ्न खास खर्च लाग्दैन थियो। खाने, बस्ने पैसा युनिभर्सिटीमै गरेको कामले पुग्थ्यो,' उनले सुनाए।
हाल दिनेश काम गर्ने आइटी विभागमा १० जनाको टिम छ। समूहले डेटा प्रोसेसिङ, डेटा व्यवस्थापन तथा एआई मार्फत आवश्यक जानकारी विश्लेषणको काम गर्छ।
'भविष्यमा पनि प्रविधि क्षेत्रमै रहेर काम गर्ने र आफ्नै कम्पनी खोल्ने योजना छ,' दिनेशले भने, 'यसले रोजगारी सिर्जना पनि हुन्छ।'