अस्ट्रेलियामा अस्पतालको व्यस्त ड्युटी सकिएपछि पनि करूणा राउतको जिम्मेवारी सकिँदैन।
पाँच वर्षयता त्यहाँको एक अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा काम गरिरहेकी उनी आफ्नो पढाइसँगै विभिन्न क्रियाकलापमा पनि सक्रिय छिन्।
नर्सका रूपमा हाल ड्रग एन्ड अल्कोहल क्षेत्रमा काम गरिरहेकी उनी मानसिक स्वास्थ्य सम्बन्धी विषयमा स्नातकोत्तर गर्दैछिन्।
नर्सिङ काम र पढाइ सँगै लैजानुका बाबजुद कहिले विभिन्न नेपाली समुदायका कार्यक्रम होस्ट गरिरहेकी हुन्छिन् त कहिले अन्तर्राष्ट्रिय समुदायका।
कहिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग मानसिक स्वास्थ्यबारे छलफल गरिरहेकी हुन्छिन्, कहिले पोडकास्टको रेकर्डिङ गरिरहेकी हुन्छिन्। उनी 'डायस्पोरा डायरी' नामक पोडकास्ट सञ्चालन गर्दै विदेशमा रहेका नेपालीका कथा संसारभर पुर्याइरहेकी छन्।
त्यस्तै, गैरनाफामूलक संस्थामार्फत बेघर र ज्येष्ठ नागरिकलाई समेत सेवा दिन्छिन्। यति धेरै व्यस्तता र जिम्मेवारीबीच पनि आफ्नो मन सधैं नेपालसँगै हुने उनी बताउँछिन्।
'आफूले सिकेका कुरा आफ्नो देशमा बाँड्न असाध्यै मन लाग्छ। नेपालका लागि अझै धेरै काम गर्न बाँकी छ,' उनले भनिन्।
देशका लागि केही गरौं भन्ने हुटहुटीले नै आफू सन् २०२४ को मिस नेपालमा समेत सहभागी भएको उनले बताइन्।
करूणा सन् २०२४ की मिस नेपाल इन्टरनेसनल हुन्। उनका लागि त्यो उपाधि सौन्दर्यभन्दा पनि जिम्मेवारीको प्रतीक बन्यो। मिस नेपाल इन्टरनेसनल उपाधि हात पारेपछि विद्यालय उमेरका बालबालिकाको मानसिक स्वास्थ्यका सवालमा काम गरिन्।

'नर्चरिङ माइन्ड नामक प्रोजेक्ट गरेँ। युवा र बालबालिकालाई स्कुल–बेस्ड क्याम्पेनहरू गरेँ। हरेक स्कुलमा मानसिक स्वास्थ्य सम्बन्धी कन्सल्टेन्ट हुनुपर्छ भनेर पनि आवाज उठाएँ,' उनले भनिन्, 'हामी शारीरिक स्वास्थ्यको कुरा गर्छौं, तर मानसिक स्वास्थ्यलाई त्यति धेरै महत्त्व दिएका छैनौं।'
स–साना कुरामा पनि खुसी हुने नेपालीहरूको संस्कार बाँकी नै रहेकाले यसलाई विश्वमा चिनाउने सपना रहेको उनले बताइन्।
तनहुँमा जन्मिएर पोखरामा हुर्किएकी करूणा सन् २०१७ मा अस्ट्रेलिया गएकी हुन्। नेपालमा प्लस–टूसम्म पढेर गएकी उनले सुरूआती दिनमा अस्ट्रेलियामा त्यति धेरै असहजता झेल्नु परेन।
'यहाँ कोही नहुँदा जुन आम नेपाली विद्यार्थीले यहाँको परिवेशसँग घुलमिल हुन समस्या झेल्नुपर्छ, मैले त्यो परिनँ। सिड्नीमा मेरा मामामाइजू भएकाले बसाइ सहज भएको थियो,' उनी सम्झिन्छिन्।
उनले वेस्टर्न सिड्नी युनिभर्सिटीमा 'ब्याचलर अफ नर्सिङ' पढिन्। अध्ययन क्रममा आम नेपाली विद्यार्थीले जस्तै काम पनि अघि बढाइन्। पढ्दै गर्दा बच्चा हेरचाहको काम पाएकी थिइन्। त्यसपछि केही समय खाद्यको क्षेत्रमा समेत काम गरिन्।
एजुकेसन कन्सल्टेन्सी, होम केयरदेखि अस्पतालमा असिस्टेन्ट नर्सका रूपमा काम गरिन्।
त्यो बेला विद्यार्थी भिसामा हप्ताको २० घण्टा काम गर्न पाइन्थ्यो। उनले कामसँगै पढाइ र अन्य सामाजिक गतिविधिमा पनि आफूलाई सक्रिय राखिन्।
'मेहनतकै कारण म धेरैतिर सक्रिय भएँ। धेरैलाई लाग्छ, अस्ट्रेलियामा सजिलै पैसा कमाइन्छ,' करूणा भन्छिन्, 'तर पढ्दै गर्दा सीमित समय मात्रै काम गर्ने नियम र यहाँको महँगीसँग सहज भने छैन।'

मानसिक रूपमा बलियो र मेहनती नभए अस्ट्रेलियामा टिक्न गाह्रो पर्ने उनको भनाइ छ।
नर्सिङ पेसामा रूचि भएकाहरूका लागि अस्ट्रेलिया निकै राम्रो गन्तव्य रहेको उनले बताइन्। नेपालको तुलनामा अस्ट्रेलियामा काम र कमाइ निकै राम्रो रहेको करूणाको भनाइ छ।
अस्ट्रेलियामा सिकेको ज्ञान, सीप नेपाल फर्किएर बाँड्न सकिने अवसर समेत रहेको उनी बताउँछिन्।
'मैले पनि जे–जति सिकेकी छु, भविष्यमा नेपालका लागि अझै धेरै काम गर्ने सोचेकी छु। म अझै सिकिरहेकी छु। सिकेको सबै कुरा आफ्नै देशमा प्रयोग गर्न मन छ,' उनले सुनाइन्।
भविष्यमा नेपालमै मानसिक स्वास्थ्य इन्स्टिच्युसन र काउन्सिलिङ हब स्थापना गर्ने सपना उनको छ।
'मेरो आमाबुबाले कहिल्यै तिमी सक्दिनौ भन्नुभएन। त्यही विश्वासले म यहाँसम्म आइपुगेँ। देशका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी पनि जाग्यो,' करूणाले भनिन्।

