नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेका छन्।
विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा समूहका नेताहरू जमघट र छलफल गर्न नेता खड्काको अगुवाइमा सोमबारदेखि सम्पर्क कार्यालय सञ्चालनमा आएको छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा समूह सहभागी थिएन।
कांग्रेसले असोजमा १५औं महाधिवेशन गर्ने गरी क्रियाशील अद्यावधिक र नयाँ वितरणलाई तीव्रता दिइरहेका बेला खड्काको अगुवाइमा कांग्रेसभित्र समानान्तर गतिविधि अघि बढाउन सम्पर्क कार्यालय खुलेको छ।
अब यही कार्यालयबाट गतिविधिहरू सञ्चालन हुनेछन्।
देउवा उपचारका लागि विदेश रहेका बेला यो समूहको नेतृत्व खड्काले गर्दै आएका छन्।
कांग्रेसले रामेछाप सभापतिबाट निलम्बन गरेका पूर्वऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले चाबी थमाएपछि नेता खड्काले चुनदेवी सम्पर्क कार्यालयको ढोका उघारेका हुन्। त्यसबेला सँगै रहेका नेता शशांक कोइरालाले ताली बजाए, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायत नेताहरूले खड्कालाई साथ दिए।
यही सम्पर्क कार्यालयबाट संस्थापन पक्षलाई दबाबमा राख्ने गरी देउवा समूहले गतिविधि पनि सुरू गरेको छ।
चुनदेवी सम्पर्क कार्यालयको ढोका खोल्नुअघि चाबी (साँचो) पूर्णबहादुर खड्काको हातमा थमाएका कान्छारामलाई हामीले यसबारे थप कुराहरू सोधेका छौं।
आफूलाई सम्पर्क कार्यालय राख्ने भाडाको घर खोज्न र रङरोगन लगायत कामहरू गर्ने जिम्मेवारी नेताहरूले दिएको र सोअनुसार काम पूरा गरेपछि नेता खड्कालाई चाबी दिएको उनले जानकारी दिए।
‘सम्पर्क कार्यालय राख्न मिल्ने घर खोजिदिनुस् र व्यवस्थापन पनि गरिदिनुस् भनेर मलाई साथीहरूले भन्नुभयो, मैले घर खोजेँ, रङरोगन गर्न लगाएँ, यहाँ राख्ने फर्निचर र कुर्सीहरू पनि किनिएको छ, सबै हामी साथीहरूले पैसा उठाएर व्यवस्थापन गरेका हौं,’ कान्छारामले सेतोपाटीसँग भने, ‘चिया खाएको पैसा पनि दामासायीले तिर्छौं।’
सम्पर्क कार्यालय खोल्न मिल्ने गरी घर व्यवस्थापन गरिदिएपछि साँचो नेता खड्कालाई दिएको उनले बताए। ‘रङरोगनसमेत सबै काम गरिसकेपछि मैले जिम्मेवारी पूरा गरेँ भनेर मैले उहाँलाई चाबी दिएको हुँ,’ उनले भने।
सम्पर्क कार्यालय रहेको घर आफ्नो नभएको उनले बताए।
‘त्यो मेरो घर होइन, अर्घाखाँचीतिरका मानिसको घर भाडामा लिएको हो। दुई तले घर हो, ११ कोठा छ, साथमा ६० जनाजति मानिस अट्ने हल पनि छ, केही गाडी पार्किङ गर्न मिल्ने ठाउँ छ,’ उनले भने, ‘मासिक ३ लाख ३० हजार भाडा छ। सबैले पैसा उठाएर तिर्ने हो।’
उनकाअनुसार केही रकम संकलनसमेत गरिसकिएको छ।
‘हामी सबै मिलेर २०/२२ लाख जति रकम संकलन गरिसकेका छौं,’ उनले भने, ‘जति क्षमता छ त्यसअनुसार कसैले १ लाख, कसैले २ लाख संकलन गरेका हौं।’
देउवानिकट कान्छाराम १४ औं महाधिवेशनअघि भएको जिल्ला अधिवेशनबाट रामेछाप सभापति भएका थिए।
उनलाई कांग्रेस केन्द्रीय अनुशासन समितिले गत वैशाख १६ गते पार्टीबाट निलम्बन गरेको थियो।
जिल्ला सभापति पदमा रहेर कामकाज गर्न नपाउने गरी उनलाई कांग्रेसले निलम्बन गरेको थियो।
उनले पार्टी नेतृत्वविरूद्ध वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको आरोप थियो।
सभापति गगन थापासँग ३ अर्ब पैसा भएको अभिव्यक्ति दिएको कान्छारामको भिडिओ सामाजिक सञ्जालमा आएपछि अनुशासन समितिले उनीमाथि स्पष्टीकरण सोधेको थियो।
निलम्बनमा परेका उनै कान्छारामलाई व्यवस्थापकीय जिम्मेवारी दिएर देउवा समूहले चुनदेवीमा सम्पर्क कार्यालय खोलेका हुन्।
कान्छारामले पार्टी फुट्यो भने रामेछापमा कार्यालय बनाउन घर दिने पनि बताए। ‘पार्टी फुट्यो भने रामेछाप कार्यालयका लागि म घर दिन्छु,’ उनले सेतोपाटीसँग भने।
कांग्रेसमा नेताहरूले महाधिवेशन नजिकिएपछि सम्पर्क कार्यालय खोल्ने अभ्यास छ।
अहिलेका सभापति गगन थापाले पनि पहिले सम्पर्क कार्यालय खोलेका थिए। विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भइरहेका बेला पनि काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय थियो।
नेता शेखर कोइरालाले पनि बालुवाटारस्थित विशालनगरमा लामो समयदेखि घर नै भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गर्दै आइरहेका छन्।
अरू नेताहरूका पनि साना-ठूला सम्पर्क कार्यालय छन्। त्यसैले सम्पर्क कार्यालय खुल्दैमा पार्टी विभाजन भइहाल्छ भन्ने छैन। तर कतिपयले चुनदेवी सम्पर्क कार्यालय पार्टी कार्यालयमा रूपान्तरण हुन सक्छ भन्ने चर्चासमेत गरिरहेका छन्।
तर नेता मीनबहादुर विश्वकर्माका अनुसार चुनदेवी सम्पर्क कार्यालयबाट अब १५ औं महाधिवेशनकेन्द्रित गतिविधिहरू हुनेछन्।
पूर्णबहादुर खड्का र शेखर कोइरालासँग संस्थापन पक्षले पनि संवाद गरिरहेको छ। विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा र कोइराला समूहलाई असोजको १५ औं महधिवेशनमा भाग लिने गरी मनाउन सभापति गगन थापामाथि चुनौतीसमेत छ।
सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिकबिनै महाधिवेशनमा भाग लिन पाउने अवस्था र १४ औं महाधिवेशनबाट आएका १११ जना नेताहरूलाई विशेष महाधिवेशनबाट आएको अहिलेको केन्द्रीय समितिमा समाहित गर्नुपर्ने खड्का-कोइरालाको प्रस्ताव अस्वीकार गरेका छन्।
यो प्रस्ताव स्वीकार्न विधानले नदिने सभापति थापाको भनाइ छ। साथै यस्ता प्रस्ताव स्वीकार गर्दा विशेष महाधिवेशनकै औचित्य समाप्त हुनेसमेत संस्थापन पक्षका कतिपय नेताहरूको भनाइ छ।
सभापति थापाले महाधिवेशन तिथिमिति, निर्वाचन, अनुशासन, सदस्यता र व्यवस्थापनलगायत विभिन्न समितिमा प्रतिनिधि सहभागित गराउनेबारे छलफल गर्न आफू तयार रहेको सभापति थापाको भनाइ थियो। पार्टीभित्रका मतभेदहरू संवादबाटै समाधान हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
आफ्ना प्रस्तावमा संस्थापन पक्ष लचिलो हुने नदेखेपछि देउवा समूह चुनदेवीमा कार्यालय खोलेर राष्ट्रिय भेला बोलाउनेजस्ता गतिविधि गर्ने तयारीमा छन्। उनीहरूले साउन ६ गते बिपी स्मृति दिवस मनाउने निर्णयसमेत गरिसकेका छन्। साथै देशभरका प्रतिनिधि सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरू पठाउने तयारीसमेत उनीहरूको छ।
देउवा समूहका कतिपय नेताहरूले संस्थापन पक्षसँग सहमति नभए बेग्लै १५ औं महाधिवेशन हुनेसमेत चेतावनी दिइरहेका छन्। यसबीच संस्थापन पक्षले पनि संस्थापनइतर पक्षका नेताहरूसँग संवाद जारी राखेको छ।
उपसभापति विश्वप्रकाश शर्माले नेताहरूलाई ह्वाट्सएपबाट ७ बुँदे प्रस्ताव पठाएका थिए। नेता शेखर कोइरालाले पनि शर्मालाई ५ बुँदे प्रस्ताव पठाएका थिए। महामन्त्री गुरूराज घिमिरेले नेता खड्का, कृष्णप्रसाद सिटौला र कोइरालासँग भेटेरै कुरा गरेका थिए।
गत पुसमा कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने मतभेद थियो। देउवा-शेखर पक्ष विशेष महाधिवेशन पक्षमा थिएनन्। सुरूमा नियमित महाधिवेशन मिति तय गरे पनि सोअनुसार अधिवेशन हुन सकेन।
विधान कार्यान्वयन गर्न भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस मसान्तमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति बन्यो।
यो कार्यसमितिविरूद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा देउवा पक्ष गएका थिए। तर दुवैले विशेष महाधिवेशनलाई आधिकारिकता दिए। विशेष महाधिवेशनबारे कानुनी पक्ष हल भए पनि राजनीतिक विषय र मतभेद अन्त्य गर्न बाँकी रहेको देउवा समूहका नेताहरूको भनाइ छ।
गगन थापा सभापति रहेकोले उनले पार्टीभित्रका मतभेदलाई अन्त्य गर्न पहल गर्नुपर्ने नेताहरूको भनाइ छ।
नेता मीनबहादुर विश्वकर्माले पनि सभापतिले विवाद हल गर्नुपर्नेमा 'बेला बेला टुच्च टुच्च' अभिव्यक्ति दिँदा संस्थापन पक्षले पार्टीको बृहत्तर एकता नचाहेको हो कि भन्ने देखिएको प्रतिक्रिया दिएका छन्।
देउवा समूहका नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, उमाकान्त चौधरी, प्रकाशशरण महत, आनन्द ढुंगाना, रमेश लेखक, एनपी साउद, जितजंग बस्नेत, मीनबहादुर विश्वकर्मा, श्याम घिमिरे, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलगायत एकै ठाउँमा छन्।
देउवा पक्षका केही नेताहरू विशेष महाधिवेशनमै लागेका थिए, उनीहरू पदाधिकारी पनि बने।
विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा-कोइराला पक्षका १९ जना नेतालाई सभापति गगन थापाले केन्द्रीय सदस्य पनि मनोनीत गरेका थिए।
देउवा पक्षका नेताहरूले शेखर कोइरालालाई पनि सँगै लैजान खोजिरहेका छन् तर संस्थापन पक्षलाई कोइरालाले मतभेद अन्त्य गर्न केही समय दिएका छन्। देउवा-कोइराला पक्षभित्र कतिपयले पार्टी एक हुन नसके शशांक वा शेखरलाई सभापति मानेर जानुपर्ने कुरासमेत गर्न थालेको चर्चा छ।
पार्टीभित्र यस्तो मतभेदबीच कांग्रेसले १५ औं महाधिवेशन तयारी गरिरहेको छ। ६ लाख हाराहारी क्रियाशील अद्यावधिक गरेको कांग्रेसले साउन ३ भित्र नयाँ क्रियाशील सदस्यता वितरण गर्दैछ।
यो पनि- पूर्णबहादुर र शेखरका प्रस्तावमा गगनको जबाफ- २ वटा काम भने गर्दिनँ