जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र समुदायका अगुवाबीच बलियो सञ्जाल निर्माण गर्ने उद्देश्यसहित आयोजित दोस्रो 'नेपाली रुट्स समिट २०२६' जर्मनीको म्युनिखमा सम्पन्न भएको छ।
नेपाली रुट्सद्वारा आयोजित उक्त समिटले नेपाली डायस्पोराको ज्ञान, सीप, अनुभव र व्यावसायिक सञ्जाललाई नेपाल तथा नेपाली समाजको हितमा उपयोग गर्ने विषयलाई केन्द्रमा राखेको थियो।
नेपाली रुट्स जर्मनी तथा युरोपमा रहेका नेपाली मूलका विज्ञ, विद्यार्थी, व्यवसायी तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई जोड्ने उद्देश्यले स्थापना गरिएको सामुदायिक संस्था हो।
संस्थाले नियमित रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै ज्ञान आदानप्रदान, व्यावसायिक सहकार्य तथा नेपालसँगको सम्बन्धलाई अझ अर्थपूर्ण बनाउने प्रयास गर्दै आएको छ।
यसै पहलअन्तर्गत आयोजित दोस्रो 'नेपाली रूट्स समिट २०२६' मा जर्मनीका विभिन्न सहरबाट आएका ९६ जना नेपाली सहभागी भएका थिए।
कार्यक्रमको अध्यक्षता नेपाली रूट्सका अध्यक्ष डा. कृतन गौतमले गरेका थिए।
कार्यक्रममा जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागर प्रसाद फुयालले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाली रुट्स नेपाली डायस्पोराको साझा मञ्चका रूपमा महत्वपूर्ण संस्था भएको बताए।
उनले परम्परागत कूटनीतिबाट आर्थिक कूटनीतितर्फ सरकारको प्राथमिकता बढ्दै गएको उल्लेख गर्दै पर्यटन, व्यापार, उद्योग, ऊर्जा, सूचना प्रविधि, वाणिज्य तथा नवप्रवर्तनजस्ता क्षेत्रमा डायस्पोराको ज्ञान, सीप र सञ्जाल उपयोग गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष लोकमणि ढकालले नेपाली रुट्स र एनआरएनएबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ताको आवश्यकता र सोच बुझ्न नेपाली रुट्सजस्ता संस्थाबाट सिक्न चाहेको बताए।
नेपाली रुट्सका सचिव जितेन्द्र कसौधनले विश्वभर फैलिएको नेपाली डायस्पोरा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेको सन्दर्भमा उनीहरूबीच बलियो सञ्जाल निर्माण गर्नु समयको आवश्यकता भएको बताए।
विदेशमा रहेका नेपालीहरूबीच सहकार्य विस्तार गर्नुका साथै नेपालसँग ज्ञान, प्रविधि, अनुसन्धान, उद्यमशीलता र लगानीका क्षेत्रमा दीर्घकालीन सहकार्य अघि बढाउन समिटले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
समिटमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, स्वच्छ ऊर्जा तथा डायस्पोरा नेतृत्वजस्ता समसामयिक विषयमा छलफल गरिएको थियो। विभिन्न क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै व्यक्तिगत सफलतालाई सामूहिक प्रभावमा रूपान्तरण गर्न बलियो प्रोफेसनल सञ्जाल, मेन्टरशिप र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
छलफलका क्रममा नेपाली डायस्पोराको भूमिका केवल रेमिट्यान्समा सीमित नरहेको उल्लेख गर्दै ज्ञान,अनुसन्धान, प्रविधि, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी सञ्जालमार्फत नेपाल र विश्व समुदायमा अझ प्रभावकारी योगदान दिन सकिने धारणा व्यक्त गरिएको थियो।
साथै, नेपाल र नेपाली डायस्पोराबीच सहकार्यका नयाँ सम्भावना पहिचान गर्दै भावी पुस्ताका लागि बलियो समुदाय निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा सहभागीहरूले नयाँ सहकार्यका सम्भावनाबारे छलफल गर्नुका साथै विभिन्न क्षेत्रका नेपालीहरूसँग अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गरेका थिए।
डायस्पोरालाई नेपालसँग अझ प्रभावकारी रूपमा जोड्न नेपाल सरकारका तर्फबाट रिमोट भोटिङ, प्रवासी नेपाली नागरिकता तथा डायस्पोरा फन्डको प्रभावकारी परिचालनजस्ता नीतिगत पहल आवश्यक रहेको विषयमा पनि विशेष जोड दिइएको थियो।
छलफलमा नेपालमा उद्यमशीलताको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यसको विकासका लागि डायस्पोरा र सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राखिएको थियो।
सहभागीहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याउन डायस्पोरा तयार रहेको पनि बताएका थिए।
आयोजकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विश्वभर रहेका नेपालीहरूलाई जोड्ने र नेपालसँग अर्थपूर्ण सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।